दोषी टिन्डर कि समाज र राज्य?

Babita Rai
6 min readSep 26, 2021

बबिता राई

भर्खरै शिलापत्र अनलाइनमा मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका महिलाहरुको विषयलाई समेटेर तयार पारिएको रिपोर्ट प्रकाशित भएको थियो । शीर्षक राखिएको थियो- “टिन्डरबाट उनले १५ जनालाई भेटिन्, गर्भनिरोधक चक्की धेरै खाइन्, अहिले डिप्रेसनमा छिन् ।“

झट्ट सुन्दा मानसिक स्वास्थ्यसँग सम्बन्धित रिपोर्टजस्तो सुनिएपनि रिपोर्टको शीर्षक र त्यसभित्र उजागर गर्न खोजिएका पक्षहरुलाई नियाल्दा मानसिक स्वास्थ्यको विषयलाई संवेदनशीलताका साथ उठाउनु यसको उद्देश्य नै देखिदैन ।

यसमा समेटिएका महिलाहरुको पृष्ठभूमिका रुपमा उनीहरुले डेटिङ साइटको प्रयोग गर्दै विभिन्न पुरुषहरुलाई भेट्ने गरेको, यौन सम्बन्ध राख्ने गरेको र बिस्तारै मानसिक स्वास्थ्यमा समस्या आउन थालेको उल्लेख गरिएको छ । सम्भवतः यसमा उल्लेख गरिएका घटनाक्रम र विवरणमा केकस्तो सत्यता छ कि छैन भनेर प्रश्न उठाउन जरुरी छैन। तर यसको प्रस्तुतिकरण र उद्देश्यलाई हेर्दा विभिन्न समस्याका तहहरु छन् जसको सामाजिक सञ्जालमा केही हदसम्म आलोचना पनि भएको देखियो ।

हुन त आजको सयमसम्म आइपुग्दा डेटिङ एप भनेको के हो भनेर उल्लेख गरिरहन पनि नपर्ला । सजिलो भाषामा भन्नुपर्दा डेटिङ एप अन्य सामाजिक सञ्जालजस्तै मानिसहरु आपसमा संवाद गर्न, भेटघाट गर्न, मित्रता, प्रेम सम्बन्ध कायम गर्न सघाउने डिजिटल माध्यम हो । यसको प्रयोगकर्ताहरु प्रायजसो शहरी क्षेत्रमा बसोबास गर्ने युवापुस्ता हुने गरेतापनि यसमा कुनै पनि उमेर र लैंगिकताको बन्देज राखिएको हुँदैन । यसको प्रयोग गर्नुपछाडि यौन, मित्रता, प्रेम, विवाह, व्यापार वा जुनसुकै उद्देश्य पनि हुन सक्छन् तर नेपाली मिडियाले अतिरन्जित गर्दै बारम्बार सावित गर्न खोजेजस्तो यो यौन साथी खोज्ने थलो मात्र पनि होइन । यौन साथी खोज्ने थलो मात्रै भएको भएपनि ठूलै आकाश खसेर नेपाली समाजलाई थिचिहाल्ने पनि होइन ।

सामान्यतया व्यक्तिहरुले आफू के को खोजीमा रहेको हो स्पष्ट रुपमा बताएर आफ्नो उद्देश्य मिल्ने व्यक्तिहरुलाई जोडिरहेका पनि हुन्छन् । कसले कुन उद्देश्यको लागि चलाउछ त्यो नितान्त नीजि विषय हो । अरुलाई हानी पुर्‍याउने क्रियाकलाप नभएसम्म यसमा भएभरका नैतिक शिक्षा थोपर्न आवश्यक पनि छैन ।

शिलापत्रमा प्रकाशित रिपोर्टमा विभिन्न समस्याहरु छन् । यस ब्लग मार्फत प्रमुख रुपमा म महिला र यौन स्वतन्त्रताको दृष्टिकोणबाट आफ्ना धारणाहरु प्रस्तुत गर्न गइरहेको छु ।

रिपोर्टमा उल्लेख गरिएको विवरणअनुसार महिलाहरुले डेटिङ साइटको प्रयोग गर्दै विभिन्न व्यक्तिहरुसँग सम्पर्क बढाउन थाले । यौन सम्बन्ध राख्न थाले । वयष्क व्यक्तिहरुले आपसी सहमतिमा भेटघाट गर्नु यौन सम्बन्ध राख्नु कुनै समस्या या गम्भीर विषय पक्कै पनि होइन ।

टेलिफोनबाट, चिट्ठीपत्रबाट, पारिवारिक चिनजानहरुबाट, सामाजिक सञ्जालबाट या जुनसुकै माध्यमबाट जोडिनु, मित्रता हुनु, प्रेम सम्बन्ध हुनु, विवाह हुनु, यौन सम्पर्क हुनु जिवनका सामान्य र स्वभाविक घटना र प्रक्रिया हुन् । आजको पुस्तासँग स्मार्ट फोन र इन्टरनेटको सुविधा छ भने उसले व्यक्तिहरुसँग सञ्चार गर्ने माध्यम त्यही हुन सक्छ । उसले विभिन्न व्यक्तिहरुसित शारीरिक, भावनात्मक जस्तो सम्बन्ध पनि स्थापित गर्न सक्छ । डिजिटल युगअघि परिवार र आफन्तले हिसाब गरेर यो तिम्रो लागि उपयुक्त मान्छे हो भनेर व्यवस्था गरिदिएका सम्बन्ध मात्र वास्तविक हुन् भन्ने मान्यतामै अल्झिरहनु पर्ने बाध्यता यो पुस्तालाई छैन । डिजिटल युग आरम्भ भएपछाडि मात्र जन्मेर हुर्कदै गरेको पुस्ताले त झन् भोलि सम्बन्धहरु के को माध्यमबाट कसरी विकास गर्ला सायद हामी कल्पना पनि गर्न सक्दैनौँ ।

आजसम्म पनि परिवारले सबै हिसाब गरेर तोकिदिएको पुरुषसँग विवाह गर्नुपर्ने अनि मात्र यौन जिवन प्रारम्भ हुन्छ भन्ने मान्यताका साथसाथै किन कोही महिला हिडिरहनु पर्ने? उसले आज डेटिङ साइट चलाएर होस् कि अरु कुनै तरिकाले आफ्नो लागि साथी खोजोस् वा यौन साथी मात्रै भनेरै खोजोस् यति ठूलो चासोको विषय बन्नुपर्ने किन ? कुन चाहिँ युग र समाजमा पुरुष यौनबाट बन्चित हुनु परेको छ ? आफ्नो पत्नीको निधन भएको अवस्थामा जे भएपनि पुरुषलाई त यौनको आवश्यकता हुन्छ भनेर अर्को विवाह गराइदिन दुनियाँ लागिपर्ने उदाहरणहरु नदेखिएको होइन । घर सम्हाल्ने, भावनात्मक साथ जेको नाम दिएपनि यौन विवाहको एक तत्व हो नै ।

छोरीलाई पछि लोग्नेको आवश्यकता पूरा गर्नुपर्छ भन्ने जिम्मेवारी बुझाउदै हुर्काइने समाजले आफ्नो सम्पूर्ण व्यवस्था नै पुरुषको यौन आवश्यकताको अनुकुल निर्माण गरेको छ । एउटा पुरुषको यौन आवश्यकता अनुरुप विकास गरिएका यौन सम्बन्धि प्रत्यक्ष अप्रत्यक्ष ज्ञान महिलाले सानै उमेरबाट प्राप्त गर्न थाल्छन् । एउटा बच्चा हुर्कने प्रक्रियाबाटै पुरुषको यौन आवश्यकताको सम्बोधन हुन थाल्छ । तर महिलालाई आफ्नै स्वायत्तता सहितको यौनिक प्राणी भनेर कहाँबाट कसरी स्विकार गरिन्छ ? आज प्रविधिको प्रयोग गरेर आफ्ना लागि यौन साथी भेटिरहेको कुरालाई किन यति उचालिन्छ ?

शिलापत्रको रिपोर्टमा प्रकाश पारेर राखिएको अर्को पक्ष भनेको गर्भनिरोधक चक्की हो । आकस्मिक गर्भनिरोधक चक्की प्रयोगलाई लिएर खासगरी अविवाहित महिलाहरुलाई लज्जित बनाउने गरिन्छ तर धेरै सुरक्षित र कम हानी गर्ने गर्भनिरोधक साधन पुरुषले प्रयोग नगरेर किन महिलाले नै बारम्बार चक्की खानुपर्ने अवस्था आउछ भन्नेतिर छलफलहरु नै हुँदैनन् । अझैपनि कण्डमको प्रयोगलाई लिएर पुरुषहरुमा यति नकारात्मक भ्रमहरु छन् कि आफ्नो पार्टनरले यसको प्रयोग गर्न नमानेको अनुभव बताउने कैयौँ महिला हुन्छन् । विवाहित पुरुषहरुको हकमा पनि श्रीमानले साधन प्रयोग गर्न नमान्ने हुँदा महिलाहरुले नै प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ ।

नेपाली समाजमा आजसम्म पनि यौन महिलाहरुको रोजाइ बन्न पाएको अवस्था छैन । वर्तमान समयमा विवाह नगरी आपसी सहमतिमै कायम हुने यौन सम्बन्धहरुमा पनि पूर्णतया महिलाको रोजाइ हुन नसक्ने अर्को तीतो यथार्थ पनि छ । जसको विषयमा हामी अहिलेसम्म खुलेर छलछल गर्न तयार भइसकेका छैनौँ ।

रिपोर्टमा एक विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानलाई उल्लेख गर्दै भनिएको छ- “टिन्डरले प्रोत्साहन गरेको शारीरिक सम्बन्धका कारण यौनजन्य रोगको समेत जोखिम बढेको बताइएको छ ।“

यौनजन्य रोगहरुको जोखिम टिन्डरको कारण बढेको भन्ने तर्क कतिको उपयुक्त हो ? यौनजन्य रोगहरुको जोखिम फेसबुक, ट्विटर र टिन्डरले भेटाइदिने मान्छेसँग यौन सम्बन्ध राखेर बढ्ने हो कि प्रभावकारी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा, सूचना, सेवा र परामर्शको अभावमा बढ्ने हो ? हाम्रो समाजमा त अविवाहित महिलाको पहुँच त्यहाँसम्म पुग्न पनि कठिन छ । यस्तो सेवा लिने क्रममा अविवाहित महिलाले त थप मानसिक यातना झेल्नुपर्ने हुन्छ ।

सुरक्षित यौन व्यवहारबारे कुरा गर्दा पनि यौनलाई नै बन्देज लगाउने किसिमका समाधान देखाउने हो भने समस्या कम हुने होइन झनै बढेर जान्छ । सुरक्षित यौन व्यवहार र स्वास्थ्य सम्बन्धि प्रभावकारी शिक्षा र जानकारी उपलब्ध गराउन नसक्ने राज्य र समाजको अकर्मण्यता छोप्न टिन्डर र हुकअप सँस्कृतिमा दोष थुपारेर कुनै सकारात्मक नतिजा आउनेवाला छैन ।

अब मानसिक स्वास्थ्यको विषयतर्फ लागौँ । रिपोर्टमा उल्लेख गरिएअनुसार महिलाहरुले धेरैजना व्यक्तिसँग यौन सम्पर्क राखिसकेपछि बिस्तारै कतै जाँदा पनि त्यही व्यक्तिहरु भेट हुन्छन् कि भनेर डराउन थालेको भनिएको छ । विवाह गर्ने व्यक्ति टिन्डरमा भेटेकै पर्‍यो भने भन्ने किसिमको डर भइरहने बताइएको छ ।

यसमा सुरुमै आइहाल्ने प्रश्न चाहिँ किन महिलाहरुले नै डर मान्नुपर्ने अवस्था आयो होला ? महिला नै लज्जित हुनुपर्ने अवस्था किन हुन्छ ? यौन मानिसहरुको नितान्त व्यक्तिगत विषय हो तरपनि आफ्नो यौन सम्बन्धि गोपनियता सुरक्षित नहुने डर किन महिलाले नै बोकेर हिड्नु परेको छ ? एउटै कार्यमा संलग्न हुँदा पनि गोपनियता भंग हुने चिन्ता किन महिलाकै भागमा पर्छ ? यौन पुरुषको लागि एउटा क्षणिक घटना बन्छ तर महिलाको लागि चाहिँ किन सोचिरहनु पर्ने, चिन्ता लिइरहनु पर्ने विषय बन्छ ? हाम्रो चासो यसमा केन्द्रित हुनुपर्ने होइन ?

सम्बन्ध कायम हुँदा व्यक्तिहरुबिच आदानप्रदान भएका सामाग्री, बिताएका क्षणहरु कतिपय पुरुषका लागि अविस्मरणीय क्षण, कतिका लागि गर्वका साथ गफ दिन सक्ने विषय, कतिका लागि महिलालाई नियन्त्रणमा राखिरहने चाबी हुन्छ भने महिलाका लागि चाहिँ डर बन्छन् । आफ्नो नाम जोडिने, चरित्रहिनका रुपमा चिनिने डर, आफ्नो व्यक्तिगत, सामाजिक जिवनमा असर पर्ने डर महिलाले बोकिरहनु पर्ने हुन्छ । यसले महिलाहरुलाई मानसिक रुपमा विक्षिप्त बनाउन पनि सक्छ । तर के यसको जिम्मेवार महिला हुन् त ? महिलाको यौन जिवनलाई नैतिकता र इज्जतसँग जोडेर उसलाई आफ्नो यौन स्वतन्त्रता अभ्यास गरेकै कारण ग्लानीमा डुबाइदिने समाजतिर हाम्रो प्रश्न तेर्सिनु पर्छ कि अगाडि नै मानसिक भावनात्मक उतारचढावको सामना गरिरहेका महिलालाई नै उल्टो दोषी ठहर गर्ने ?

जबपनि महिलाका विषयमा छलफल हुन्छ किन उसले स्वतन्त्रता उपभोग गर्दा भोग्नु परेका परिणामहरुको मूल कारक तत्वलाई ध्यानमा नराखी उल्टै ग्लानी महशुस गराइन्छ ? किन उसले ती अधिकार अभ्यास गर्नुलाई नै कारकको रुपमा चित्रण गरिन्छ ? त्यस्ता परिणामहरुलाई किन उनीहरुलाई पाठ सिकाउने कुराको रुपमा लिइन्छ ? के अधिकार र स्वतन्त्रता उपभोग गर्नु नै महिलाको गल्ती हो ? पुरुषप्रधान समाजले सिर्जना गरेको डर र असुरक्षाको जोखिम मेरो स्वतन्त्रता खुम्चाएर कम गरिदिन पर्ने ? मैले गर्दै नगरेका गल्तीहरुको लागि म होसियार हुनुपर्ने नै किन?

हामीले आफ्नो सामान्य अधिकार उपभोग गर्न पनि होसियार बनिरहनु पर्ने समाजलाई प्रश्न गर । हामीले कैयौ डर, बन्देजको सामना गर्दै अभ्यास गरिरहेको सामान्य स्वतन्त्रतामाथि प्रश्न गरेर हतोत्साहित बनाउन बन्द गर । महिलाको सुरक्षा र राम्रो अवस्था उसका अधिकार र स्वतन्त्रताको मूल्यमा मात्र कायम हुन्छन् भने सबैभन्दा पहिला प्रहार गर्नुपर्ने समाज र राज्यमाथि हो । महिला सुरक्षाको नाममा सधैं उनीहरुको स्वतन्त्रतालाई नै खुम्च्याउने र महिलाद्वेषी समाज र राज्यलाई जोगाउन बन्द गरौँ ।

--

--

Babita Rai

Write occasionally. Angry feminist. Gender. Sexuality.