रेडियो, नारायण दाइ, अनि केही मिठा बात

Rahul Pradhan
Sep 1, 2018 · 2 min read

आजकल रेडियो बिरलै सुन्छु। त्यो बिगत गज्जब थियो जब रेडियो संचार माध्यमको राजा थियो । जब निदरीको पर्खाइमा अल्झिरहँदा अकस्मात नारायण दाई “केही मिठो बात गर” भन्दै टेबुलमाथि राखेको रेडियोबाट गुन्गुनाउँथे, रातको मिठास नै बेग्लै हुन्थ्यो । मन भारी तर निदरी मिठो लाग्थ्यो । मानम् , मौसम नै बदलिएजस्तो । अकश्मात्, हावामा केही जादु तैरिएजस्तो ।

आजकल पनि, यो शहरको कुनै कुना कन्दराबाट जब कतै नारायण दाइ यो गाना गुन्गुनाउँछन्, म सोच्छु, कवि काली प्रसाद रिजाल कुन मुद्रामा थिए होलान्, ति शब्दहरुको रचना गर्दा । अनी कुन स्थितिमा रचे होलान्, नारायण दाइले यसमा सङ्गित । पहिलो पटक “केही मिठो बात गर “ भन्दा कसलाई सम्झिन पुगे होलान्, नारायण दाइले । भन्छन्, मुटु गर्हुँगो हुँदा कालो मसी भएको कलमले पनि अक्सर रातो लेख्छ अरे । यो गीतका शब्दहरु त्यस्तै राता छन् । यो गीतको पछाडि पनि पक्कै कुनै कथा हुनुपर्छ र शायद यो गाना त्यो कथाको कुनै एक हरफ मात्र हुँदो हो।

तपाईंहरु कुन्नी के सोच्नुहुन्छ यो गीत सुन्दा । तर हरेक फेर , जब यो गाना कतै घन्किन्छ, म कल्पना गर्छु, सन्ध्याकालको एउटा क्याफेको । जहाँं, दुई युगल जोडी मधुरो बत्तिको मुन्तिर एक अर्काको हात समातेर बसेकाछन् । शायद, उनिहरु आज एकफेर चुटिन लागेको आफ्नो सम्बन्धका रेशाहरु केलाउँदै केही पलको सामिप्यतामा यो सम्बन्धलाई अन्तिम सलामी चढाउन चाहन्छन् । शायद त्यो समाज नै त्यस्तै थियो, प्रेम बुझेन । टेबुलमाथिको कफीको तितोपन शायद चार नयनबाट तर्किएको आँसुले नुनिलो भैसकेको हुँदो हो । र त, शायद, केटो भन्दै हो, “केही मिठो बात गर, रात त्यसै ढल्किँदैछ । भरे फेरी एकान्तमा रुनु त छँदैछ ।” समाजका अनेकन परिधि, जिन्दगीले निम्त्याएको बाध्यता र परिस्थिती माथि गुनासो पोखीरहेकी आफ्नी प्रेमिकालाई भन्दो हो, “रमाइलो कुरा गर, सपनाको कुरा गर। आज ति यादहरु, मिठा पलहरु , सँगसंगै बिताएका सम्झनाको कुरा गर । आज भैगो, दु:ख छोड । दु:खलाई त जिन्दगानी छँदैछ । “

क्याफेमा मधुरो संगीत बज्दो हो। त्यो मधुरो धुनसंगै, क्याफेको डान्स फ्लोरमा केही पर्यटकहरु नाच्दा हुन् , मधुरा चालहरुमा । केटी हेर्दी हुन्, शायद, छेउको बगैँचामा एक हुल जुनकिरी, आफ्नो पुछारमा टिल्पिले बत्ती बाल्दै सल्बलाइरहेका । अनी शायद केटो उठ्दो हो । अब, मैनबत्तीका उजेलिमा मात्र सजेको त्यो क्याफेमा जुनकिरी नियाल्दै कुनै यादमा डुबेकी आफ्नी प्रेमिकालाई बिस्तारै दुई हातले उठाउँदै फकाउँदै भन्दो हो केटो, “आउ नाचौं अँध्यारोमा, जुनकिरी नाचेजस्तै । यो समाजका परिधिहरु बिर्सेंर बतासमा उडम् आज, सिमलको भुवाजस्तै । आऊ, दुई कदम साथ हिँड, आखिर छुट्टीनु त छँदैछ । भरे फेरी एकान्तमा रुनु त छँदैछ ।”

Welcome to a place where words matter. On Medium, smart voices and original ideas take center stage - with no ads in sight. Watch
Follow all the topics you care about, and we’ll deliver the best stories for you to your homepage and inbox. Explore
Get unlimited access to the best stories on Medium — and support writers while you’re at it. Just $5/month. Upgrade