रेडियो, नारायण दाइ, अनि केही मिठा बात

आजकल रेडियो बिरलै सुन्छु। त्यो बिगत गज्जब थियो जब रेडियो संचार माध्यमको राजा थियो । जब निदरीको पर्खाइमा अल्झिरहँदा अकस्मात नारायण दाई “केही मिठो बात गर” भन्दै टेबुलमाथि राखेको रेडियोबाट गुन्गुनाउँथे, रातको मिठास नै बेग्लै हुन्थ्यो । मन भारी तर निदरी मिठो लाग्थ्यो । मानम् , मौसम नै बदलिएजस्तो । अकश्मात्, हावामा केही जादु तैरिएजस्तो ।
आजकल पनि, यो शहरको कुनै कुना कन्दराबाट जब कतै नारायण दाइ यो गाना गुन्गुनाउँछन्, म सोच्छु, कवि काली प्रसाद रिजाल कुन मुद्रामा थिए होलान्, ति शब्दहरुको रचना गर्दा । अनी कुन स्थितिमा रचे होलान्, नारायण दाइले यसमा सङ्गित । पहिलो पटक “केही मिठो बात गर “ भन्दा कसलाई सम्झिन पुगे होलान्, नारायण दाइले । भन्छन्, मुटु गर्हुँगो हुँदा कालो मसी भएको कलमले पनि अक्सर रातो लेख्छ अरे । यो गीतका शब्दहरु त्यस्तै राता छन् । यो गीतको पछाडि पनि पक्कै कुनै कथा हुनुपर्छ र शायद यो गाना त्यो कथाको कुनै एक हरफ मात्र हुँदो हो।
तपाईंहरु कुन्नी के सोच्नुहुन्छ यो गीत सुन्दा । तर हरेक फेर , जब यो गाना कतै घन्किन्छ, म कल्पना गर्छु, सन्ध्याकालको एउटा क्याफेको । जहाँं, दुई युगल जोडी मधुरो बत्तिको मुन्तिर एक अर्काको हात समातेर बसेकाछन् । शायद, उनिहरु आज एकफेर चुटिन लागेको आफ्नो सम्बन्धका रेशाहरु केलाउँदै केही पलको सामिप्यतामा यो सम्बन्धलाई अन्तिम सलामी चढाउन चाहन्छन् । शायद त्यो समाज नै त्यस्तै थियो, प्रेम बुझेन । टेबुलमाथिको कफीको तितोपन शायद चार नयनबाट तर्किएको आँसुले नुनिलो भैसकेको हुँदो हो । र त, शायद, केटो भन्दै हो, “केही मिठो बात गर, रात त्यसै ढल्किँदैछ । भरे फेरी एकान्तमा रुनु त छँदैछ ।” समाजका अनेकन परिधि, जिन्दगीले निम्त्याएको बाध्यता र परिस्थिती माथि गुनासो पोखीरहेकी आफ्नी प्रेमिकालाई भन्दो हो, “रमाइलो कुरा गर, सपनाको कुरा गर। आज ति यादहरु, मिठा पलहरु , सँगसंगै बिताएका सम्झनाको कुरा गर । आज भैगो, दु:ख छोड । दु:खलाई त जिन्दगानी छँदैछ । “
क्याफेमा मधुरो संगीत बज्दो हो। त्यो मधुरो धुनसंगै, क्याफेको डान्स फ्लोरमा केही पर्यटकहरु नाच्दा हुन् , मधुरा चालहरुमा । केटी हेर्दी हुन्, शायद, छेउको बगैँचामा एक हुल जुनकिरी, आफ्नो पुछारमा टिल्पिले बत्ती बाल्दै सल्बलाइरहेका । अनी शायद केटो उठ्दो हो । अब, मैनबत्तीका उजेलिमा मात्र सजेको त्यो क्याफेमा जुनकिरी नियाल्दै कुनै यादमा डुबेकी आफ्नी प्रेमिकालाई बिस्तारै दुई हातले उठाउँदै फकाउँदै भन्दो हो केटो, “आउ नाचौं अँध्यारोमा, जुनकिरी नाचेजस्तै । यो समाजका परिधिहरु बिर्सेंर बतासमा उडम् आज, सिमलको भुवाजस्तै । आऊ, दुई कदम साथ हिँड, आखिर छुट्टीनु त छँदैछ । भरे फेरी एकान्तमा रुनु त छँदैछ ।”
