लुम्बिनी मन्दिरमा जान नेपालीहरुलाई पनि शुल्क !

Enntrace of Mayadevi Temple of Lumbini, where the Buddha was born. (Photo : Razen Manandhar)

राजेन मानन्धर

बुद्ध नेपालमा जन्मेको भनेर सबैले गर्व गर्ने गरेपनि त्यो अब बुद्धको जन्मस्थल लुम्बिनी उद्यान धार्मिक स्थल नरहने भएको छ । अब त्यहाँ पनि संग्रहालय सरह प्रत्येक नेपालीले धर्म वा पुजा आराधना गर्नको लागि प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

लुम्बिनी विकास कोषले २०७५ श्रावण १० गते लुम्बिनी क्षेत्रको योजनावद्ध विकासको लागि भनेर भाद्र १ गतेदेखि लागु हुने गरी लुम्बिनीमा आउने तीर्थयात्रु वा अन्यहरुसँग शुल्क उठाउने निर्णय लगतै पछाडि नेपालका बौद्धहरुमा आश्चर्य छाएको छ ।

यस अर्थमा अब नेपालकैे बौद्धहरु यहाँ आएर पूजा पाठ गर्न पनि पैसा तिर्नुपर्ने भएको छ । यस नयाँ नियम अनुसार यहाँ मायादेवी मन्दिरमा आउने सबै बौद्ध तीर्थयात्रुहरु (भिक्षु भिक्षुणीहरुलाई बाहेक)लाई लुम्बिनी विकास कोषले प्रतिव्यक्ति २० रुपैंया अनि विद्यार्थीहरुसँग १० रुपैंया लिने छ । यस बाहेक क्यामेराको शुल्क ५० रुपैंया , भिडिओ क्यामेरा शुल्क ५०० रुपैंया अनि छायांकन शुल्क ५००० रुपैंया पनि लिने छ । यद्यपि यो शुल्क रुपन्देही, कपिलवस्तु व सुस्ता पश्चिम नवलपरासी, जहाँ निकै थोरै मात्र बौद्धहरुको बसोबास छ, त्यहाँका जनतालाई भने नलिइने भनिएको छ ।

यहाँ अब आएर लुम्बिनी भनेको के हो अनि अहिलेसम्म राज्यले यसलाई कसरी लिइरहेको छ भनेर खोतल्नुपर्ने बेला आएको छ । हामी सबैले भन्दै आइरहेको कुरा हो — लुम्बिनी भनेको शाक्यमुनि गौतम बुद्धको जन्मभूमि हो भनेर । यो बौद्धहरुले विभिन्न थेरवादी तथा महायानी ग्रन्थको आधारमा भन्दै आइरहेको कुरा थियो, भनेकै नबुझेपनि, लुम्बिनी कहाँ छ भन्ने नै थाहा नभए पनि पाठ त गरिरहेकै थिए । पछि सन् १८९६मा अकस्मात् त्यहाँ अशोक स्तम्भ भेटिएपछि उत्खनन्को काम बढ्यो, त्यो नै बुद्धको जन्मस्थल हो भनेर विश्वभर चर्चा भयो । पहिले कहिल्यै सरकारले लुम्बिनी वा बुद्धजन्मस्थलको बारे चासो नदेखाएपनि क्रमशः यस स्थललाई अन्तर्राष्ट्रिय क्षेत्रले सम्मान र श्रद्धा दिन थालेपछि यहाँ पैसाको वर्षा हुनेछ भनेर बुझेपछि सरकार वा त्यसबेलाको शाही खानदानका मानिसहरुका साथै सरकारपक्षका मानिसहरु एक एक गर्दै यहाँ आफ्नो हक जमाउन आए । मन परेपनि नपरेपनि विदेशी संस्थाहरुका दबावले मात्र भएपनि, अनि बेला मौकामा लुम्बिनीको नाम लिएर सित्तै विदेश भ्रमण गर्ने मौका मिल्नथालेदेखि जिन्दगीमा कहिल्यै एकपल्टसम्म पनि बुद्ध, धर्म र संघको नाम लिनुनपर्नेहरु पनि दुइचार अक्षर बुद्धधर्मका बारेमा सिकेर पढेर यसबाट फाइदा लिन थाले ।

यसै क्रममा विभिन्न चरणमा लुम्बिनी विकास कोषले आफ्नो रुप लियो । नामैले देखाउँछ, यो लुम्बिनीलाई धार्मिक क्षेत्रका रुपमा मान्यता दिन होइन, न त यहाँ धार्मिक आस्था र श्रद्धा लिएर आउने श्रद्धालु तीर्थयात्रुहरुलाई नैे सम्मान दिन यसको गठन गरिएको हो । यो त यहाँ विश्वभरका बौद्धहरुले श्रद्धाले पठाउने पैसा यहाँको विकासको नाममा थाप्नलाई अझ भनौं त्यसलाई लुम्बिनीबाटै सोरेर लानलाई बनाइएको हो । त्यसैले अहिले पनि त्यस्ता मानिसहरुले नै यहाँका विभिन्न परियोजनामा आफ्नो हात घुसाइरहेका हुन्छन्, त्यसमा रजाइँ गरिरहेका हुन्छन् ।

Prime Minister of Nepal in Lumbini garden. (Photo : found in social media)

लुम्बिनी नेपालमा भएरै मात्र कोही अबौद्ध्रले बुद्धको शरणमा गएको र अन्य धर्म त्यागेको कुरा सुन्नुभएको छ ? भारतको नागपुरमा एकै दिन छ लाख अबौद्धहरुले अरु धर्मका देउताहरु छ भन्ने विश्वास छैन भनेर बाइस प्रतिज्ञा गरेर बुद्ध धर्म अवलम्बन गरे । त्यस्तै किसिमले पहिले बुद्धको नामसम्म पनि नसुनेका देशहरुमा अहिले बौद्धहरुको जनसंख्या बढिरहेको छ । यता नेपालमा बुद्ध जन्मेको हो भनेर उफ्रने नयाँ फेसन त आयो, तर बुद्धको शरणमा गएँ, धर्मको शरणमा गएँ, संघको शरणमा गएँ भनेर भन्नेहरु देखिएनन्, बौद्धहरुको जनसंख्या बढेको पनि सरकारले देखाउन सकेन । यसको एकमात्र कारण भनेको उनीहरुलाई बुद्ध धर्म, बुद्ध दर्शनसँग कुनै लिनुदिनु छैन, छ भने विदेशमा बस्ने बौद्धहरुले लुम्बिनी भन्ने बित्तिकै पैसा खसाल्छ भन्ने लोभी मनोवृत्ति मात्र छ । त्यसैले त लुम्बिनीमा पैसा राख्ने अन्तर्राष्ट्रिय संस्थाहरु फेला पर्यो भने युद्ध गरेर सरकारमा जाने पार्टीका नेताहरु पनि लुम्बिनीको विकासमा आफ्नो नाम जोड्न चाहन्छन् अनि त विकास कोषको नाम सँधै भ्रष्टाचार, हडताल, तालाबन्दी र विरोधका कुरासँग मात्र जोडिने गर्छ । त्यहाँ एक एक जना पदाधिकारीको नियुक्तिसँग करोडौंको लेनदेन र चलखेलको गाइँगुइँ त्यतिकै सुनिने होइन । गर्न मिल्दैन भन्दै यहाँ केके भइरहन्छ, त्यो यहीँ पुगेपछि मात्र थाहा हुन्छ । एकातिर यहाँ गर्न मिल्दैन भनेर नियमहरुको अड्चन राख्ने अनि त्यही काम किन खुरुखुरु भइरहन्छ भनेर दिनदिनै भ्रष्टाचारका समाचार पढेर वाक्क भएका नेपालीहरुलाई बुझ्न कठिन छैन । कोषमा उनीहरुको आँखा नै पैसामा मात्र अड्केको हुन्छ, जे जस्तो नाममा बजेटको पैसा सिध्याउन नै उनीहरु कोषसँग टाँसिन आउँछन्, जुकाले जस्तो कोष च्यापेर बस्छन् । त्यसैले त यहाँ आउने, बसिरहने विदेशी बौद्धहरु कोषका पदाधिकारीहरुसँग बोल्न डराउँछन् । कोषमा पैसा नभई केही हुँदैन, पैसा दियो भने जे पनि हुन्छ भनेर यहाँका विदेशी भिक्षु र लामाहरु पनि अनौपचारिक रुपमा भन्न पछि पर्दैनन् ।

लुम्बिनीमा दशकौंदेखि निरन्तर उत्खनन् भएकोमा यसको उपलब्धि यहाँ होइन उता देखिन्छ भन्ने गाइँगुइँ आउनु, गर्नुपर्ने संस्थाले काम नगर्नु, अनुसन्धानको प्रतिवेदन प्रकाशित नहुनु इत्यादिमा पनि कोष प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भइरहेको हुन्छ । दिनको पाँच पल्ट बिजुली गइरहेको हुन्छ, यस्तो संवेदनशील क्षेत्रमा लठ्ठामा टाँगिएको टेलिफोनको तार चोरीहुँदा पनि कोषलाई पत्ता हुँदैन । दिन नपर्नेलाई विहार बनाउने जग्गा दिने, एकै देशले धेरैवटा प्लट पाउने, ठुल्ठुला बिहार बनाउने, गेष्टहाउस बनाउने, देश नभएका संस्थालाई प्लट दिनेदेखि लिएर हाल आएर काठ तस्करी, नक्कली टिकट बेच्ने, पवित्र उद्यानमा अस्थि गाड्ने, सुन्दरी प्रतियोगिता गराउने जस्ता कार्यमा समेत होइन भन्दै विकास कोष संलग्न भइरहेको हामी सबैलाई थाहा छ । कोषले गर्नपर्ने काम नगर्ने अनि नगर्नुपर्ने काम गरेकोको एउटा पुस्तकै तयार होला, म अहिले त्यता जान्न ।

अब सिधै प्रवेश शुल्कमा आउँ । दानपात्रमा तीर्थयात्रीहरुले राखेको गएको पैसा पारदर्शी गर्न नसकिरहँद्या यहाँ फेरि तीर्थयात्रीहरुसँग प्रवेश शुल्क लिने निर्णय गरिएको छ । शुल्क कहाँ लिइन्छ ? आफ्ना व्यक्तिगत जग्गामा आफ्नो लगानीको मुनाफा उठाउनको लागि लिइन्छ । लुम्बिनी त्यस्तो ठाउँ पक्कै होइन । यदि धार्मिक महत्व नभएको धरहरामा शुल्क लिन नमिल्ने भए लुम्बिनीमा मिल्छ ? संरक्षण गर्न भनौं भने त्यो पैसाबाट त्यहाँ संरक्षण हुने होइन, यो सबैलाई थाहा छ । संरक्षणको नाममा विदेशबाट आएको पैसा खर्च गर्न नसकेर उकुसमुकुस भइरहेको कोषलाई पैसा नै किन चाहियो ? यदि प्रवेश शुल्कबाट नै त्यहाँ खर्च गर्ने भए सरकारले वार्षिक बजेट किन दिन पर्यो ? त्यहाँ २० रुपैंया तिरेर धर्म गर्ने बौद्धहरुले पहिल्यै राज्यलाई कर तिरिसकेको हुन्छ, जुन यहाँको वार्षिक बजेट भएर जमिरहेको हुन्छ । अनि अब दोहोरो कर किन ? जब राष्ट्रपतिको दुई घण्टा बस्ने टहरा बनाउन चार करोड खर्च गर्नसक्ने कोषले काठमाडौं उपत्यकाबाट, मनाङ्गबाट वा सोलुखुम्बुबाट पुण्य कमाउन आएका बौद्धहरुसँग २० रुपैंया जगात लिइराख्नु पर्ने हो र ?

अर्कोतर्फ, लुम्बिनी जस्तै अर्को पनि एउटा धार्मिक स्थल छ नेपालमा, त्यो हो पशुपति । दुबै धार्मिक स्थललाई विकास गर्न सरकारले उस्तै उस्तै विकास कोष बनाएको छ, दुबै उस्तै उस्तै ऐन मार्फत सञ्चालन हुन्छ । तर के पशुपतिमा आउने नेपालहरु र भारतीयहरुसँग प्रवेश शुल्क भनेर पैसा लिने कसैले आँट गर्ला ? पशुपतिमा संरक्षण गर्न भने राज्यले पैसाको खोलो बगाउने (अनि त्यहाँ तीर्थयात्रीहरुले चढाएको पैसा विदेशी पुजारीलाई बोकाएर पठाउने) यहाँ भने तीर्थयात्रीहरुसँग पैसा मागेर संरक्षण गर्नुपर्ने ? एकातिर एउटा धार्मिक स्थलमा हजारौं गैरनेपाली जोगी बाबाहरुलाई पनि निशुल्क पठाउने र जथाभाबी अश्लिल हर्कत गर्ने छुट दिने, अर्कोतर्फ कुनै गलत क्रियाकलाप नगर्ने विदेशीहरु मात्र होइन जम्मा जम्मी भएको त्यही ९ प्रतिशत नेपाली बौद्धहरुलाई पनि जगात लिनुपर्ने बिचार सरकारले किन गर्छ ? यसैबाट स्पष्ट छ यो भनेर पैसा आवश्यक भएर भन्दा पनि लुम्बिनीमा धरै तीर्थयात्रुहरु दर्शन गर्न आएकोमा डाहा गरेर उनीहरुलाई हतोत्साही बनाउन बुनिएको षडयन्त्र मात्र हो, बुद्धको जन्मस्थल भएको देशमा बौद्धहरुलाई अचेतन तहमा बौद्ध हुनु भनेको अपराध हो भनेर मानसिक यातना दिन मात्र हो ।

सरकारी पदमा बस्ने नेपालीको मागेर खाने मानसिकता आज पलाएको होइन । आज भन्दा दश बर्ष पहिलेनै २०६५ सालमा लुम्बिनीमा नेपालीहरुलाई समेत प्रवेश शुल्क लगाउनु पर्छ भनेर निणर्य गरेको थियो । यो कुरा सर्बोच्च अदालत पुग्यो र कसैलाई पनि शुल्क नलगाउनू भन्ने निर्णय आयो । त्यसबेला यसको विरोध गर्नेमा भिक्षु सुदर्शनको नाम आउँछ । त्यसमा पनि अत्तेरी भएर कोषले विदेशीसँग भने कानून विपरित नै शुल्क लिइरहेकोमा त्यसमा पनि लोभ जागेर हालै नेपालीहरुलाई पनि निचोर्ने नियतले यो निर्णय दोहर्याएको मात्र हो । अब पनि यहाँ दर्शन गर्न आउने तीर्थयात्रीत मध्ये ८० प्रतिशत त नेपालीहरु नै हुने भएकोले उनीहरुलाई मात्र किन सित्तै भित्र जान दिने भन्ने मानसिकताले गाँजेका लुम्बिनीलाई आफ्नो पुख्र्यौली सम्पत्ति भन्ने कोषका पदाधिकारीहरुको नै यो काम हो भनेर भन्दा अत्युक्ति ठहर्दैन ।

अझ अर्को कुरा पनि छ । आफ्नो धर्म, पहिचान अनि आस्थाको केन्द्रविन्दु लुम्बिनीमा निर्बाध जाने बाटो बन्द गरिदिँदा पनि लुम्बिनी लुम्बिनी भनेर महिनैपिच्छे विदेश घुमेर लुम्बिनी बेच्न हिँड्ने नेपालका बौद्ध भिक्षु र धर्मगुरुहरुले आजसम्म यसबारे एक शब्द पनि नराखेको अर्को रहस्यको कुरा हो । उनीहरुलाई थाहै छ, अब त्यहाँ उनीहरुलाई राखेर परित्राण पाठ गराउन पनि प्रत्येक उपासक उपासिकाहरुले गेटमा बीस रुपैंया झार्नुपर्छ । उता आफ्ना बौद्धहरुले आफ्ना दीवंगत आमाबुबाको नाममा दीयो मात्र पनि बाल्न पाउँदैन, जजमानहरुले वज्राचार्य गुरु राखेर सत्वपूजा गराउने कसरी ? उता महायानीहरुले पनि ठुल्ठुलो पूजा कसरी गराउन आउलान् ? एकातिर भारतका महायानी बौद्धहरु यस्तै कारणले यहाँ लुम्बिनीमा मोलम पूजा गर्न आउन छोडिसके भने अब नेपाली बौद्धहरु नै नेपालको लुम्बिनी जानुभन्दा भारतको बोधगया, सारनाथ वा कुशीनगर जानु सजिलो छ भन्ने अवस्था आइरहेको छ ।

कुनै बेला सुनसान लुम्बिनीलाई झिलिमिलि लुम्बिनी बनाउन नेपालका बौद्धहरुले कति योगदान दियो त्यो इतिहासमा उल्लेख छ । उनीहरुले यहाँ आफ्नो पसिना बगाउन घर भनेन, छोराछोरी परिवार भनेन । अब हिजो भरखर खान पाइने भएर आएका एक हुल अबौद्ध अभिजात मानिसहरुले बौद्धहरुलाई यहाँ भित्रै आउन नपाउने नियम बनाउँदा नि यहाँका बौद्ध भनाउँदाहरु चुपचाप केही थाहा नपाएको जस्तो गरेर बसिरहेका छन् । उनीहरुलाई देखेर कसैले नेपालका बौद्धहरु भनेको को को सत्तामा पुगे उनीहरुको चाकरी चाप्लुसी गरेर दुइचार रुपैंया मागेर जीविका चलाउनेहरु हुन् भनेर भनेमा कसैले दिल दुखाउने नपर्ने अवस्था छ ।

यो निर्णय भनेको समस्त बौद्धहरुका लागि पहिले कहिल्यै नआएको नदेखेको चुनौति हो । कि अब यो कुरामा सचेत भएर अधिनायकवादीहरुका अगाडि आफ्नो आवाज राखेर लड्न सक्नुपर्यो, कि देशै छोडेर जानु पर्ने भयो । नेपालका बौद्धहरुलाई नेतृत्व दिइरहेको भनेर एकदुइवटा संस्था बोकेर भाषण गर्ने तथा मान सत्कार खाइरहेकाहरुले विचार नगरी नहुने आवस्था आएको छ ।

अन्तमा । बुद्ध नेपालमा किन जन्मनुभयो ? यसको उत्तर विभिन्न विद्वानहरुसँग आआफ्नै होला । तर एउटा कुरा हामी भन्न सक्छौं, उहाँ तथागत बुद्धले नेपालमा आफु सत्तामा बसिरहनेहरुले लुम्बिनी देखाएर दुइचार पैसा मागेर खान पाउन् भनेर पक्कै जन्मनुभएको थिएन ।

Like what you read? Give Razen Manandhar a round of applause.

From a quick cheer to a standing ovation, clap to show how much you enjoyed this story.