लेडी च्याटर्ली



यो कथा एउटा त्यस्तो व्यक्तिको हो जसको पहिलो साहित्यिक स्वाद नै डी. एच. लरेन्सको लेडी च्याटर्लीज लभर थियो। कयौं पटक उनले उक्त पुस्तक पढे। जब पहिलो पटक उनले उक्त उपन्यासको फिल्मी भर्सन हेर्न पाए खुशीको ठेगान रहेन। फिल्मी भर्सनमा लेडी च्याटर्लीको भूमिका खेल्ने सिल्भिया क्रिस्टेल रात दिन उनको सपनामा आउँथी।

एकदिन सिल्भिया क्रिस्टेलकी जमुल्ह्या बहिनी देखिने भालेरीलाई एक यात्राको दौरान भेटे। भगवानलाई त्यति नमान्ने उनले त्यसदिन भगवानलाई धन्यवाद दिए। सायद भगवान पनि मुसुक्क हाँस्नु भयो। त्यो रात लेडी च्याटर्लीज लभरमा जस्तै भालेरी उनको कोठामा आई। लेकको चिसोले पनि उनीहरूलाई केही असर पार्न सकेन, कारण ती दुवैको तन मन एक भएको थियो।
यात्रा सकियो, दुवैको विछोड भयो। शुरूमा दुवै तडपिए तर विस्तारै एक अर्कालाई विर्सिए।
तर उसलाई च्याटर्लीज फीभरले छाडेन। हप्तामा एक पटक उ फेरि त्यो फिल्म हेर्थ्यो। महिनामा एक पटक उ फेरि उक्त पुस्तकको केहि विशेष च्याप्टर पढ्थ्यो।

उनले बिहे गरे। घर बनाऐ, काठमाण्डौं देखि टाढा, तराईमा, चितवन नेर। घर देखि तीन मिनेट पर जंगल थियो। जंगल शुरू हुने र खेत सकिने स्थानमा एउटा सानो झोपडी थियो। बाली उठाउने बेला जंगली जनावरले बाली नबिगारोस् भनेर त्यहाँ पालो बस्न सकिन्थ्यो।
प्राय: बेलुकी पख आफ्ननी दुलही सँग उ त्यही टहरोमा जान्थ्यो। आफ्नो फेन्टासी पुरा गर्थ्यो।

काठमाण्डौंबाट चितवन आउने दौरानमा एकदिन उनको गाडी एक्सिडेण्ट भयो। उनको ज्यान त बच्यो तर दुवै खुट्टा काम नलाग्ने भए।
अब उ घरको घरै हुन्थ्यो। खेतमा आएको बाँदर समेेत उनलाई नटेरी मकै टिपेर जान्थे। घर वर पर पनि जंगली झ्याङहरू बढेर गिजिक्क परेको थियो। श्रीमति पनि ‘मेरो त भाग्यनै यस्तो रहेछ’ भन्ने भाव अनुहारमा ल्याएर ठुस्स परिरहेकी हुन्थी। बच्चा पछि जन्माउँला भन्दा भन्दै उनको एक्सिडेण्ट भएको थियो।

घरमा काम गर्ने एकजनाको खाँचो भएको थियो। उनले एकजना चौधरी केटालाई महिनाको सात सय दिने गरि काम गर्न राखे। केटो त्यही सत्र अठार वर्षको होला। दुब्लो। कालो। फुर्तिलो। हरेक आदेश ‘हस् मालिक’ भन्दै पुरा गरि हाल्ने।

शुरूका दिनहरूमा केटोलाई श्रीमतिले देखिसहिन। जहिलै उनको काममा खोट पाउँथी।

केटो बिहान सबेरै आएर बेलुका कामधाम सकि फर्कन्थ्यो। बिहानको कामधाम र दिउँसोको खाना पछि केटोलाइ फुर्सद हुन्थ्यो बेलुकाको खाना नबनाउन्जेल। उक्त समय उ मस्त सुत्थ्यो।

उ त्यसरी मस्त सुतेको देखि डाहा भएर उनले त्यो फुर्सदको समय खेतमा काम लगाउन थाले।
हस् मालिक भनेर उ खेत जोत्न कुदि हाल्थ्यो।

अब जाडो महिना शुरू भएको थियो। पाँच बजे नै अँध्यारो हुन्थ्यो। केटोलाई घरको काम सकेर घर जान ढिलो हुने ठानी त्यही टहरामा राती सुत्ने आदेश दिए। हस् मालिक, भनेर अब उ राती टहरामा सुत्न जान्थ्यो।

एकदिन उनलाई आफ्नी श्रीमति अत्यन्तै राम्री लाग्यो। धेरै दिन पछि यसरी राम्री लागेको थियो। त्यस्तो खासै मेकअप गरेकी थिईन तर मूहार उज्यालो, तथा अनुहारमा मुस्कान छरिएको थियो। उसलाई पनि त्यो देखेर खुशी लाग्यो। तिमी त कस्ती राम्री भएकी भनेर भन्दा उनी हल्का लजाएकी थिई।

आधा रातमा उनको निन्द्रा खुल्यो। प्राय: यस्तो हुँदैन थियो। उ सुतेपछि एकै पटक बिहान मात्र बिउँझिन्थ्यो। तर आज उ मध्यरात बिउँझियो। पीसाब पनि लागेको थिएन। उ कोल्टे फेर्यो। खाटमा उ एक्लै थिए। सायद पीसाब फेर्न गई होली। मनलाई सम्झायो। समय बित्यो तर आफ्नै खाटकी पार्टनर अझै आईन।
सायद पेट दुख्यो होला।
अंह अझै आईन। हैन कहाँ गै त ?

-प्रमिला !

पहिले केही सानो स्वरमा र पछि ठूलो स्वरमा उ चिच्याऐ। तर जवाफमा झ्याउँकीरीको झ्याउँझ्याउँ बाहेक केही सुनिएन।

अचानक उनको मनमा चीसो पस्यो। बल्लतल्ल खाट बाट ओर्लेर बैसाखी टेक्दै झ्याल सम्म पुगे। झ्याल बाहिर निष्पट अन्धकार मात्र देखिन्थ्यो। बलगर्दै ढोका सम्म पुगेर ढोका खोले। बाहिर चीसो बढेको थियो। उनले वास्ता नगर्दै घरको गेट सम्म आफूलाई ल्याई पुर्याऐ। निष्पट अन्धकारको विपक्षमा केवल एकठाउँमा मधूरो उज्यालो देखिन्थ्यो। उनले उज्यालो तीर आँखा तीखार्दै हेरे। उज्यालो टहराबाट आइरहेको थियो। टहरा भित्र दुई शरीर एक हुँदै गरेको प्रष्टै देखिन्थ्यो।

उनको खुट्टा त एक्सिडेण्टले लुलो भएका थिए नै अब पाखुरा पनि लुला भए। उ थचक्क भुईँमा बस्यो। खल्तीबाट चुरोट झिकेर सल्कायो। धुवाँको साथ साथ मुखबाट निस्कियो- साला लेडी च्याटर्ली!


सुरज @surajshakya