भेञ्चर क्यापिटलको व्यवस्था आवश्यकता
लगानी कुनै पनि मुलुकको निरन्तर विकास तथा समृद्धिका लागि निकै महत्वपूर्ण तवो मानिन्छ । नेपालमा लगानीको प्रशस्त सम्भावना भए पनि विभिन्न नीतिगत तथा कानूनी प्रक्रियामा रहेका जटिलताका कारण नेपालले अपेक्षा गरेअनुरूप लगानी तथा लगानीकर्ता आकर्षित गर्न सकेको छैन । संयुक्त राष्ट्रसङ्घ व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी) द्वारा प्रकाशित विश्व लगानीका लागि दिगो विकास प्रारूप रिर्पोटका अनुसार नेपाल १३ कम विकसित देशहरूको अनुसूचीमा समावेश भएको देखिन्छ । यसैगरी विश्व बैङ्कले जारी गरेको व्यापार गर्न सहज वातावरण भएको राष्ट्रहरूको अनुसूचीमा, नेपाल १ सय ८९ राष्ट्रमध्ये १०७औं स्थानमा सूचीकृत भएको छ ।
नीतिगत रूपमा हेर्ने हो भने २०३० सालसम्ममा नेपालले हाल सूचीकृत रहेका कम विकसित देशहरूको अनुसूचीबाट माथि उठी विकासोन्मुख देशहरूको सूचीमा सूचीकृत हुने उद्देश्य तय गरेको छ । यसका लागि आजैदेखि दक्ष र नवीनतम सोचका साथ व्यवसाय गर्ने युवा उद्यमी उत्पादन तथा परिचालन गर्न लगानी गर्नुपर्छ । नेपालमा हाल विभिन्न इन्नोभेटिभ स्टार्टअप उद्यमीहरूले विभिन्न व्यवसाय शुरू गरेको भए तापनि पर्याप्त पूँजी लगानीको कमीका कारण यी उद्यमीहरूको व्यवसाय फस्टाउन सकेको छैन ।
हालको अवस्थामा कुनै उद्यमीले पूँजी जुटाउन सक्ने स्रोतहरू भनेको बैङ्क, प्राइभेट इन्भेष्टर र भेञ्चर क्यापिटल हुन सक्छन् । नेपालको परिवेशमा यी स्रोतलाई हेर्ने हो भने बैङ्कबाट ऋण प्रवाह गरी, पूँजी जुटाउन धितोको आवश्यकता पर्ने हुन्छ, जुन उद्यमीसँग नहुन सक्छ । त्यसैगरी प्राइभेट इन्भेष्टरहरूले स्टार्टअप व्यवसायमा लगानी गरी सफल भएका उदाहरणीय उद्यमीहरू नभएका कारण यस्ता इन्भेष्टरहरू जोखीम उठाउन तयार भएका छैनन् । यस्तो अवस्थामा भेञ्चर क्यापिटल एक उत्तम र महत्वपूर्ण पूँजी जुटाउने स्रोत हुन सक्छ ।
भेञ्चर क्यापिटलसम्बन्धी कानूनी प्रावधान विदेशी लगानीसम्बन्धी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफा ८ मा उल्लेख गरिएको छ । यसअनुसार विदेशी लगानीकर्ता वा विदेशी लगानीकर्ताहरूले कम्पनी स्थापना गर्ने र पूँजी लगानी कोष खडा गरी लगानी गर्न सक्ने प्रावधान भएको देखिन्छ । तर, सोसम्बन्धी आवश्यक कानूनी व्यवस्था कम्पनी ऐन, २०६३ मा समावेश भएको देखिँदैन ।
विदेशी लगानीका साथै स्थानीय लगानीमा भेञ्चर क्यापिटल स्थापना गर्नुपर्ने समान महत्त्व हुने भएको र सो अनुकूल कुनै कानूनी प्रावधान हालसम्म छैन । त्यसो हुँदा यस विषयलाई प्राथमिकताका साथ हेरी सोसम्बन्धी कानूनी प्रावधानहरू समावेश गर्नुपर्ने र एउटा ठोस कानूनी रूपरेखा तथा कार्यविधि विकास गरी अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।
भेञ्चर क्यापिटल एउटा सस्ंथा हो, जसले नवीनतम सोचका साथ उदीयमा नवयुवा उद्यमीलाई अगाडि बढ्न आवश्यक पूँजी दिनुको साथै परामर्श, व्यावसायिक सल्लाह तथा मार्गदर्शन दिने काम गर्छ । भेञ्चर क्यापिटलले उद्यमीको कम्पनीमा लगानी गरेबापत केही प्रतिशतको स्वामित्व पाउँछ । यस्ता भेञ्चर क्यापिटलहरूले उद्यमीलाई सक्षम बनाउन मद्दत गर्छ । नेपालमा पनि यस्तो उद्देश्यका साथ केही कम्पनीहरू स्थापना भएका छन् र अन्य व्यक्ति र संस्थाहरू पनि स्थापना गर्ने सोचसहित आउन थालेका छन् । बद्ढो युवा उद्यमीहरूको सङ्ख्या हेर्दा भेञ्चर क्यापिटलको उपस्थिति अझै बढाउनुपर्ने देखिन्छ । वर्षमा कैयौं उद्यमीले नवीनतम सोचका साथ नेपालमा व्यवसाय शुरू गर्छन् । उद्यमीलाई साथ दिन स्थानीय र विदेशी संस्था तथा व्यक्तिहरू इच्छुक छन् । तर, स्पष्ट कानूनी नीतिनियमन नभएका कारण भेञ्चर क्यापिटलका रूपमा अगाडि बढ्न कठिनाइ भएको छ । यसै सन्दर्भमा भेञ्चर क्यापिटललाई आकर्षित गर्न सरकारले कम्पनी ऐन, २०६३ मा केही संशोधन गर्नुपर्ने हुन्छ ।
१. संस्थागत रूपमा दर्ता गर्दा भेञ्चर क्यापिटलको वर्गीकरण वित्तीय संस्थामा पर्छ वा लगानी संस्थामा पर्छ भन्ने कुरा उल्लेख गरिनुपर्छ ।
२. भेञ्चर क्यापिटलको स्थापनाका लागि कानूनी कार्य, नियामक र परिचालक निकायको व्यवस्था मिलाउनुपर्छ । यस्तो गर्नाले भेञ्चर क्यापिटलमार्फत हुने पूँजीबजार व्यवस्थित र नियन्त्रित रहन्छ ।
३. भेञ्चर क्यापिटलको कानूनीरूपमा दर्ता गर्न सम्बन्धित विभागको भूमिका तथा कर्तव्यको जानकारी गराइदिनुपर्छ ।
४. भेञ्चर क्यापिटललाई लगानी गर्न कुन क्षेत्र खुला छ र कुन क्षेत्रमा प्रतिबन्ध लगाइएको छ भन्ने कुरा स्पष्ट खुलाइदिनुपर्छ ।
५. यसै गरी भेञ्चर क्यापिटलले कुन वित्तीय उपकरण शेयर पूँजी वा ऋण पूँजी कसरी प्रयोग गर्न पाउने कुरा स्पष्ट हुनुपर्छ ।
६. भेञ्चर क्यापिटलको कुल कोषको कति प्रतिशतसम्म एउटै उद्यमीलाई लगानी गर्न पाउने कुरा खुलाउनुपर्छ ।
७. भेञ्चर क्यापिटलका लागि प्रवेश नीति र निकास नीतिको खाँचो भएको पाइन्छ । भेञ्चर क्यापिटलले सीमित अवधिका लागि लगानी गर्ने हो । त्यसैले निकासको अनुकूल प्रक्रिया बनाउन सरकारले उपयुक्त नीति बनाउनुपर्ने हुन्छ ।
माथि उल्लिखित बुँदाहरू समावेश गरी कम्पनी ऐन समयसापेक्ष बनाउन सकियो भने पक्कै पनि नेपालमा भेञ्चर क्यापिटल स्थापना गरी युवा उद्यमीहरूले पूँजी जुटाउन र आफ्ना व्यवसाय विस्तारका लागि आवश्यक पर्ने परामर्श र मार्गदर्शन पाउन सक्नेछन् ।