आइमाई साथीहरुका कुरा

गधेपच्चिसीको अघिपछि केटा÷केटीलाई के के गर्न मनलाग्छ, के के मनमा आउँछ , त्यस बेला २७ वर्ष हुँदा म, काशीनाथ तमोट (ज॰ १९४५)लाई साथीहरुबाट आफ्नो विचार लेखाइराख्न मन लाग्यो । मैले सानो (१५॰५×९ सेन्टिमिटर) अटोग्राफ (स्वहस्तलिपि नोटबुक) किनें र ई॰ १९७१ अक्टोवर १३ (विसं २०२८ आश्विन २७ बुधवार) आफ्नो दुई शब्द लेखी त्यस बेलाका मेरा आइमाई साथीहरुलाई आफ्नो विचार लेख्न लाएँ । 
त्यसै दिन प्रेमा शाह (१९४४–२०१७)ले भर्खर २ जुलाइमा विहा गरेकी हुनाले मलाई विवाह गर्न सुझाए । केही कुरा लेख्दा चित्र कोर्ने बानी भएर उहाँले मलाई गुलाफको फूल कोरी मास्टर साहेव भनी सम्बोधन गरेकी छिन् । उहाँलाई म दीज्यू भन्छु, तर औपचारिक मान गर्ने चलन छैन । मनमा आएको जे कुरा पनि ‘शेयर’ गरिन्छ । 
त्यसबेला असन बालकुमारीकी शिक्षिका, नेपालभाषाकी कवयित्री जीवन मल्ल (१९४६–?) मेरो मन मिल्ने साथी थिई । उनले आफ्नो कुरा प्रेमा शाहसंगै अलिक कडासँग राखी — ब्रह्मचारी बस्नु श्राप हो । 
प्रशिद्ध साहित्यकार ‘स्वास्नीमान्छे’ पत्रिकाका सम्पादक आदरणीय शशिकला शर्मा (१९३१–२००६) दिदीले भने मलाई जीवन दर्शन सुनाई सचेत गराउनुभयो । 
विवाहपूर्वका यी आइमाई साथीहरुका कुरा सुनेर त होइन होला, समय भैसकेकोले मैले २९ वर्ष हुँदा ई॰ १९७३ नवेम्वर ३० (विसं २०३० मंसीर १५ शुक्रवार)मा विवाह गर्न पुगें ।

स्वहस्ताक्षर

तिम्रो शब्द ! 
साथी, मलाई तिम्रो हार्दिक शब्द, अनुभूत सत्य तथा शुद्ध विचारले ठूलो सहायता गर्न सक्छ । त्यसैले यस वितेर जाने क्षणमा दुइ शब्द कोरेर अमरता प्रदान गरिदेऊ — त्यो शब्द, मलाई लाग्छ, तिम्रो जीवनको सारांश हुनेछ, त्यो शब्द, हुन सक्छ, मेरो मार्ग निर्देशक हुनेछ ।
केही नभए पनि यस क्षणको तिम्रो शब्द हाम्रो मैत्री र हार्दिकताको सम्झनाको पुल हुनेछ ।
२०२८ आश्विन १७ बुधबार 
काशीनाथ तमोट
५÷८२८ वसन्तपुर

मास्टर सोहव !
चाँडो विहा गर्नुहोस निकै रमाइलो हुँदोरहेछ । 
प्रेमा
 13th oct’ 71

ब्रह्मचारी हुनु वैज्ञानिक युगको एक सराप हो ।
जीवन

जीवन तीतो मिठो दुबै छ । तीतोदेखि नडराउनू । मीठोदेखि नमात्तिनू । 
दिदी ः शशिकला
२०२८.७.१३