काष्ठमण्डपको ताम्रपत्राभिलेख : चित्तहर्ष वज्राचार्यको पाठ र अनुवाद

परिचय
नेपालमा राणाशासन (ई॰ १८४६–१९५१) शुरुआत भएसंगै ई॰ १८५२/विसं १९०९ मा गुठी कचहरी स्थापना भएदेखि गुठीको व्यवस्थित काम हुन थाल्यो । प्राइम मिनिष्टर जङ्गबहादुर राणाले ‘श्री ३’ को पदवी पाएपछि “श्री ५ सरकार तर्फ” र “श्री ३ सरकारतर्फ” का गुठी वाँडिएर परम्परागत सरकारी गुठी र राजपरिवारले राखेको गुठी श्री ५ सरकार तर्फका गुठी बन्दोवस्त, लगत, जाँच अड्डाबाट हेर्ने काम हुँदै आयो । ती दुवै ई॰ १९६१/विसं २०१८ मा एउटै भए । राजा वीरेन्द्रको राज्याभिषेक (१९७५) केही अघि चारैतिर छरिएर रहेका गुठी अड्डाहरु भद्रकालीमा सारिए । त्यसपछि भद्रकालीको गुठी लगत तथा तहबील कार्यालय (गुलतका) गुठीको राष्ट्रिय अभिलेखालयको रुपमा रहेको छ । 
भद्रकालीमा रहेको गुलतकामा संग्रहित अपार गुठी लिखतहरुको छविचित्र (माइक्रोफिल्म) नेपाल — जर्मनी हस्तलिखितग्रन्थ संरक्षण परियोजना (नेजहसंप)ले ई॰ १९८६ नवेम्वर १४ देखि २००१ मार्च ९ सम्म लिएको छ । सो लिखत के–श्रृँखलामा के १/१ देखि के ७२०/६२ सम्म ४८,०१० वटा छविचित्रित गरिएको छ । सो छविचित्र ७२० बट्टा राष्ट्रिय अभिलेखालय र गुलतकामा संरक्षित छ । पशुपति मृगस्थली आधारित गोरखनाथ गुठीको कुनै पोकामा १–२० लगत संख्याका छविचित्र के ५४÷४९–के ५५÷७ उपलब्ध छ । त्यसमा धेरैजसो काष्ठमण्डपसम्बन्धी लिखत छन् । यहाँ ८ वटा लिखत प्रस्तुत छ । 
पहिलो लिखत तत्कालीन हनूमानढोका ढाका बैठकमा रहेको श्री ५ सरकार तर्फ गुठी लगत जाँच अड्डा (वर्तमान गुठी संस्थान)ले तत्कालीन सरकारी पुस्तकखाना/वीर लाइव्रेरी (वर्तमान राष्ट्रिय अभिलेखालय)मा ६ वटा ताम्रपत्र अभिलेख नेपाली अनुवाद गर्न ई॰ १९३४ जून १३ बुधवार (विसं १९९१ ज्येष्ठ ३१)मा प्राप्त भर्पाइ पठाएको छ । सोको पाठ पढी अनुवाद गरी अर्को महिना ‘पुर्जी’ पठाएको छ । पत्रको माथि शुरुमा ठूलो चक्का छापमा “ BIR LIBRARY/NEPAL/ सर्कारी पुस्तकषा÷ना १९५७” छ, तल पुछारमा “श्री÷सिद्धिहर्ष÷८९” सानो छाप छ । 
नेसं ४५४ (ई॰ १३३३) देखि ६३२ (ई॰ १५१२) सम्मका प्राचीन नेवाभाषामा लेखिएका ६ वटा ताम्रपत्राभिलेख नेपालीमा उल्ठा (अनुवाद) गराउनुको उद्देश्य बताइएको छ –”काठमाडों गोरखनाथको महल्दार षडा गर्ने÷श्रीगोरखनाथका गुठिका महलदारि षडा गर्ने” । यो महलदार÷महलदारी भनेको के रहेछ भनी खोज्दा विश्वदीप अधिकारी — विनयकुमार शर्मा नेपालद्वारा सम्पादित कानूनी तथा प्रशासकीय शब्दसागर (काठमाडौंः शब्दार्थ प्रकाशन, ई॰ २००८)मा महलदारको अर्थ पाइयो — a person empowered to operate a government monopoly. पुरानो जमानाको कोठे । एकलौटी अधिकार जमाउन पाएको व्यक्ति । मुहम्मद मुस्तफा खाँ ‘मद्दाह’को उर्दू–हिन्दी शब्दकोश (लखनऊः उत्तर प्रदेश हिन्दी संस्थान, ई॰ १९८०)मा महल्लःदारको अर्थ दिइएको छ — अ॰ फा॰ पु॰ — महल्ले का चौधरी या मुखिया । यसको मतलब “श्री ५ को सरकार”ले गोरखनाथ गुठीको नाममा काष्ठमण्डपको महलदारी (सार्वजनिक स्थान कसैलाई एकलौटी अधिकार दिनु) दिन आधार खोजेको देखिन्छ । तर ती ताम्रपत्रहरुमा त्यस्तो केही स्पष्ट आधार पाइएन । 
प्रस्तुत दुई पत्र (भर्पाइ र पुर्जी) पं॰ सिद्धिहर्ष वज्राचार्य (१८७९–१९५२)ले लेखेको देखिन्छ । पत्रको पुछारमा उनको छाप छ । नागेन्द्रमणि कुलिशाचार्य (फणीन्द्ररत्न वज्राचार्य) अनुसार पं॰ सिद्धिहर्ष वीर पुस्तकालयको पं॰ कुलमान वज्राचार्यको स्थानमा ई॰ १९२९ (विसं १९८६ मा हाकिम भएका थिए ।” (वौद्ध विद्वान् पण्डित सिद्धिहर्ष वज्रचार्य”, नेपाल (ऋतुपौ), ४५ः८३ । नेसं १११७ः३३–३५) पं॰ सिद्धिहर्ष वज्रयानी बौद्ध विद्वान् हुनुको साथै नेपाललिपि विशेषज्ञ हुन् । उनले तिनका समय नेपाल आएका सिल्भान लेभी, टुची, हरप्रसाद शास्त्री, विनयतोष भट्टाचार्य, राहुल सांकृत्यायन आदिलाई विशेष सहयोग गरे । प्रस्तुत ताम्रपत्र अभिलेख र अनुवाद गर्न उनको योगदान रहेको देखिन्छ, तर यहाँ सो उनका पुत्र पं॰ चित्तहर्षले गरेको देखाइएको छ । 
प्रस्तुत ताम्रपत्राभिलेख सजिलो वोधगम्य छैन । त्यसको अनुवाद पनि कठिन छ, तर पनि बाबुछोरा मिली धेरै मात्रामा मिलाई पढिएको छ । मूललाई सुनापत्र÷तामापत्र भनिएको छ भने अनुवादलाई “उल्था कागज” भनिएको छ । प्रत्येक तामापत्र र त्यसको अनुवाद प्रमाणित गरिएको छ –”यो तामापत्र बमोजिम् उल्था गरेका दुरुष्ट छ भनि सहिछाप गर्ने पं॰ चित्तहर्ष वज्राचार्य असन् — १” । यसको शुरुमा छाप छ — श्री÷चित्तहर्ष÷९० । उनी वीर पुस्तकालयका नेवालिपि विशेषज्ञ हुनुका साथै अनुवादक देखिन्छ । यस पद राष्ट्रिय अभिलेखालयमा आजसम्म कायम छ । 
मैले कसैले भनेको सुनेको छु — ई॰ १९४० दशकमा असनका पण्डित सिद्धिहर्ष, चित्तहर्ष, पूर्णहर्ष वज्राचार्य (पछि पुरातत्व विभागका वरिष्ठ अधिकृत, जन्म ई॰ १९२२) बाबु, छोरा र नाति घण्टाघर वीर पुस्तकालयमा संगै जागिर खान जान्थे । 
(अभिलेखयुक्त दलिनको फोटो राख्ने)

(नेसं ६०५) (नेसं ६३२) नेसं ४९९ (नेसं ५८५) नेसं ४५४ नेसं ५४३ 
गुठी लगत जाँच अड्डाबाट वीर लाइव्रेरी पठाएको संलग्न अभिलेख क्रमानुसार संवत्

संलग्न लिखत प्रतिलिपि क्रम
पत्र १ ः गुठी लगत जाँच अड्डाबाट वीर लाइव्रेरीलाई पठाएको पत्र
 गोरखनाथ गुठी लगत संख्या ८÷माइक्रोफिल्म संख्या के ५४÷५६ ।
पत्र २ ः वीर लाइव्रेरीबाट गुठी लगत जाँच अड्डालाई पठाएको पत्र
 गोरखनाथ गुठी ल॰ सं॰ १५÷माइक्रोफिल्म संख्या के ५५÷६ ।
अभिलेख १ ः नेसं ६०५ । गोरखनाथ गुठी ल॰ सं॰ १३÷माइक्रोफिल्म संख्या के ५४÷५७ ।
अभिलेख २ ः नेसं ६३२ । गोरखनाथ गुठी ल॰ सं॰ १४÷माइक्रोफिल्म संख्या के ५५÷१ ।
अभिलेख ३ ः नेसं ४९९ । गोरखनाथ गुठी ल॰ सं॰ १५÷माइक्रोफिल्म संख्या के ५५÷५ ।
अभिलेख ४ ः नेसं ५८५ । गोरखनाथ गुठी ल॰ सं॰ १७÷माइक्रोफिल्म संख्या के ५५÷४ ।
अभिलेख ५ ः नेसं ४५४ । गोरखनाथ गुठी ल॰ सं॰ १६÷माइक्रोफिल्म संख्या के ५५÷३ । 
अभिलेख ६ ः नेसं ५४३ । गोरखनाथ गुठी ल॰ सं॰ १५÷माइक्रोफिल्म सख्या के ५५÷२ ।

श्री १

पुस्तकषानाबाट

१॰ श्री ५ सरकार तर्फ गुठी लगत् जाच अडाबाट काट्माडौं गोरषनाथको महल्दार षडा ग
२॰ र्ने वारेमा तपसील् बमोजींको तामापत्र थां ६ छ उल्था गर्न पठायेको सो अडाको च–
३॰ लानी साथ् बुझी लीञ्यु — — –
६३२ साल् आषाड् कृस्न चतुरदसीको सुंको मोलंवाको सुनापत्र — १
४४९ वैशाष सुल्क दुतीया — — २
५८५ आषाड् कृस्न अमावस्या — — ३
४५४ मागसीर वदी ११ — — ४
५४३ आषाड् सुल्क दसमी — — ५
६०५ आश्वीनी सुल्क चतुर्थी– — ६
ईती सम्वत् १९९१ साल जेष्ठ ३१ गते रोज ४ सुभम् — –

श्री १
पुस्तकखानाबाट श्री ५ सर्कार गुठी लगत् जाचके
 पुर्जी

१॰ उप्रात काठमाडों श्रीगोरखनाथका गुठिका महलदारि षडा गर्ने बारेमा तपसिलमा लेखीया बमोजीं
२॰ तामापत्र थां ६ छको उल्था ग(री ग)र्नुपर्ने भै उल्था गर्नालाई सो तामापत्र यसैसाथ पठाई दियाको छ भंने
३॰ १९९१ साल ज्येष्ट ३१ गते रोज ४ का चलानि बमोजींको तपसिलका तामापत्र थां ६ छ र सोहि
 तामापत्रको उल्था
४॰ कागज थां ६ ज्मा थान् १२ बाह्र तेस अडामा बुझाउन पठायेको छु बुझि भर्पाई पठाईदिन काम 
 भया बेस होला
 तपसिल
४९९ साल वैशाष शुक्ल द्वितीयाको तामापत्र — ? ऐ ऐ को उल्था कागज — — — १
६३२ आषाढकृश्न चतुरदशिको सुन मोलम्बाको सुनापत्र थांन् — — १
६३२ साल ऐ ऐ को उल्था कागज — — — १
५८५ साल आषाढ कृश्न अमावाश्या तामापत्र — — १
ऐ ऐ को उल्था कागज — — १
४५४ मार्गशिर वदि ११ को तामापत्र — — १
ऐ ऐ को उल्था कागज — — १
५४३ आषाढ शुक्ल दशमीको तामापत्र — — १
ऐ ऐ को उल्था कागज — — १
६०५ आश्विन शुक्ल चतुर्थीको तामापत्र — — १
ऐ ऐ को उल्था कागल — — १
इति सम्वत् १९९१ साल आषाढ गते रोज शुभम् —