खिकामाछा टक्सारको छोटो इतिहास

(ई॰ १८१५–१९५१)

वर्तमान नेपालको पूर्वाञ्चल (संख्या १) प्रदेश, कोशी अञ्चल, भोजपुर जिल्ला, भोजपुर नगरपालिकाको वडा ९ मा पर्ने स्थान राणाकालमा पूर्व ४ नं माझकिरात जिल्ला, खिकामाछा थूम, बाँडागाउँ नामले चिनिन्थ्यो । सो ठाउँमा दुई सय वर्ष अघि एक ।र दुई तोला बराबरको पैसाको ढ्याक (धःधेबा–ढक पैसा), डोलो आकारको हुँदा डोली पैसा पनि भनिने, टक काटेको हुनाले अहिले टक्सार नामले बढी प्रशिद्ध छ । टक्सार नेपाल अधिराज्यमा धेरै ठाउँमा हुनाले यसलाई पुरानो र नयाँ नाम जोडी “खिकामाछा टक्सार” भन्नु बढी उपयुक्त हुने देखिएको छ । यो नामले शुरु शाहकाल, राणाकाल र वर्तमानकाललाई बोध गराउँछ ।

हुनत यहाँ खिकामाछा टक्सारको दुई सय (ई॰ १८१५–२०१५) वर्षको इतिहास छोटो रूपमा प्रस्तुत गर्न चाहेको हो, तर अध्ययन गर्दै जाँदा यसलाई पूर्वखण्ड (ई॰ १८१५–१९५१) र उत्तरखण्ड (ई॰१९५१–२०१५)मा विभाजन गरी तत्कालीन मुख्य मुख्य घटना–क्रमलाई समेट्नुपर्ने आवश्यक भयो । त्यसमा पनि अहिले पूर्वखण्ड मात्रको इतिहास कोर्न सकियो ।

प्रस्तुत खिकामाछा टक्सारको छोटो इतिहास (पूर्वखण्ड) निम्न समयक्रमानुसार प्रस्तुत गरिएको छ ।

१॰ पृष्ठभूमि (ई॰ १७६९–१८१५)

२॰ शुरू शाहकाल (ई॰ १८१५–१८४६)

३॰ राणाकाल (ई॰ १८४६–१९५१)

१॰ पृष्ठभूमि

नेपालको सबभन्दा पुरानो वंशावली ई॰ १३०९ (नेसं ५०९)तिर लेखिएको गोपालादि राजवंशावली (पत्र १८ पश्चः लहर १)मा ईश्वीपूर्व ७०० तिर नेपाल उपत्यकामा आई त्यहाँ शासन गरेका किरातहरूबारे लेखिएको छ —

“एते द्वात्रिंश किरातराजाः तामर्ज्जण–कोशकी–टटाद्भवा यः ।”

(यी बत्तीस किरातराजाहरू हुन्, जो तामर्ज्जण नदी तटमा उद्गम भएका हुन् ।)

यहाँ तामर्ज्जण उल्लिखित पछिल्लो वाक्यलाई धनवज्र वज्रचार्य (ई॰ १९३२–९४)ले “जुन किरातहरू (अहिले) तामाकोशी र अरूणकोशी बीचको भूभागमा बस्तछन्” भनेका छन् भने कमलप्रकाश मल्ल (ज॰ई॰ १९३६)ले त्यसैको हुबहु अंग्रेजी अनुवाद गरेका छन् ।(वज्राचार्य–मल्ल, १९८५ः७४ र १२२) यहाँ तामर्ज्जण तामाकोशी र अरूणकोशी नै हो भन्न सकिन्न र काठमाडौं उपत्यकाबाट त्यहाँ गएको पनि अर्थ लाग्दैन । बरू तामर्ज्जण शब्दले माझकिरातको तमर र अरूण बुझाउन सक्छ अथवा यो भोटको कुनै ठाउँको नाउँ हो, जहाँबाट किरातहरू (खम्बु, लिम्बु) बसाइँ सर्दै काठमाडौं उपत्यका र पूर्वाञ्चलभरि फैलिए । किरातहरू चीनको यार्लुङ (भोटमा साङ्गपो, भारतमा ब्रम्हपुत्र) महानदी किनारबाट नेपालमा आएको अनुमान छ । यदि तामर्ज्जणले तमर र अरूण बुझाउँछ भने माझकिरात किरातहरूको आदि थलो हुन्छ र त्यहाँबाट पश्चिमतिर वल्लोकिरात (ओखलढुँगा) हुँदै काठमाडौं उपत्यकासम्म र पूर्वतिर पल्लोकिरात (धनकुटा, पाँचथर) हुँदै सिक्किमसम्म फैलिएको बुझिन्छ । खम्बु(राई)हरूको मूल बस्ती भएको माझकिरातमा १७ थूम थिए र खिकामाछा त्यसमध्ये एक हो ।

माझकिरात ईशापूर्वदेखि आफ्नै जातिले स्वतन्त्र रूपमा शासन चलाउँदै आएकोमा उत्तर मध्यकालमा पाल्पाको सेन राज्य पूर्वतर्फ विस्तारित हुँदै आउँदा मकवानपुर राज्य अन्तर्गत पर्न गयो । मकवानपुरबाट चौदण्डी राज्य माझकिराती खम्बु देवानहरूको बलले ई॰ १७३३ (विसं १७९०)तिर स्वतन्त्र भई जगत्सेन राजा भए । त्यसपछि उनका भाइ विक्रमसेन, उनका छोरा मणिसेनले शासन गरिरहँदा र चौतारा अजितरायले पहाडतर्फ प्रशासन चलाइरहँदा ई॰ १७७३ जुलाइ १६ (विसं १८३० भाद्र १३)मा विस्तारित गोरखा राज्यमा समाहित भयो । (आचार्य, १९६८ः६८२) (घिमिरे,२०००ः ७१–७२ । चौदण्डी राज्य त्यसको दरवारका उच्च कर्मचारी हरिनन्द उपाध्याय (पोखरेल), त्रिलोचन उपाध्याय, स्वरूपसिंह कार्कीका आह्वानमा गोर्खाली सैनिक बख्शी अभिमानसिंह बस्नेत, सरदार पारथ भण्डारीको नेतृत्वमा भावरतर्फबाट राजधानी कब्जा गरेका थिए भने माझकिरातका पहाडी क्षेत्र सरदार रामकृष्ण कुँवर र सरदार अमरसिंह थापाले ई॰ १७७३ जनवरीमा अधिकारमा लिएका थिए ।(घिमिरे, २०००ः७२–७३) ।

२॰ शुरू शाहकाल

पृथ्वीनारायण शाह (ई॰ १७६८–७५)बाट काठमाडौं विजय गरेपछि उनको शासनकालमा पूर्वी र उनका सन्तानहरूबाट पश्चिमी स्थानीय राज्यहरू जितेर गोरखा राज्य विस्तार टुङ्गिएपछि समग्र गोरखा–नेपाल अधिराज्यको मुलुकी व्यवस्थापन गर्न आवश्यक भयो । त्यसबेला कहिले भोट, चीनसंग त कहिले इष्ट इण्डिया कम्पनी सरकारसंग युद्ध भइरह्यो । त्यसै ताका प्रथम विश्वयुद्ध (ई॰ १८१४–१८) पनि भयो । हरकिसिमले नयाँ मुलुकी सरकारलाई देशभर फलाम, तामा, सीसा खानी खोजी त्यसबाट हातहतियार निर्माण र भारततिर ती सामग्री निर्यात गरी अर्थ सञ्चय गर्नुपर्ने अवस्था पर्यो । सरकारले पूर्व र पश्चिमका संभव जिल्लाहरूमा खानी खोल्ने र टक छाप्ने अड्डाहरू खोल्न थाले । यस्तै स्थितिमा माझकिरातको खिकामाछामा खानी र पैसाको टक्सार स्थापना गरे ।

खिकामाछा पैसा टक्सार कसले शुरू गरेको होला भन्ने तात्कालिक खानी र टकसम्बन्धी जारी लिखत हेर्दा नेपालको एक ठूलो इजारादार हनुमन्तसिंहबाट यो शुरू भएको देखिन्छ ।

ई॰ १८१४ (विसं १८७१ आश्विन वदि १)मा जस्लाये नेवारलाई माझकिरातको तामा र फलाम खानी चलाउने इजारा दिइएको थियो । तर लगतै ई॰ १८१५ डिसेम्बर १६ शनिवार (विसं १८७२ मार्ग सुदि १५)मा हनूमन्तसिंहलाई उनलाई दिइएको इजाराको सवाल बमोजिम विजयपुरको शस्त्रागार (मेगेजिन)लाई माझकिरात र पल्लोकिरातको तामा र फलाम खानीबाट आपूर्ति गर्नु भन्ने आदेश जारी भएको छ । (हेर्नुस् परिशिष्ट) हनूमन्तसिंहलाई ई॰ १८१३ मार्च मा उपत्यका पूर्व दूधकोशीसम्मका खानी चलाउन दिइएको थियो, ई॰ १८१४ नवेम्वरमा उनले नाग्रे सहित २२ खानी चलाउन अधिकार पाएको र ई॰ १८१७मा निर्यात मात्रको लागि बाह्र हजारसम्म गोरखपुरी पैसा नाग्रे टक्सारमा उत्पादन गर्न इजाजत पाएको थियो । (ह्रोडस र अरू, १०८९ः१८०)

यस्तो बुझिन्छ — हनूमन्तसिंहले माझकिरातको खानीबाट तामा, फलाम अन्यत्र पठाउनको साथै माझकिरात (खिकामाछा)मै खानी र पैसा निकाल्ने स्वीकृति लिई वरपरका खानीबाट काम लिए, किनभने नेपाल सरकारको आठ–दश वर्षदेखि देशभर स्थानीय टक्सार स्थापना गर्ने नीति रहेको, माझकिरातबाट काभ्रेका नाग्रे तथा विजयपुर खानी सामान पठाइरहन टाढा पनि भएकोले सो स्थापना भएको देखिन्छ । उनले काम शुरू मात्र के गरे सवा एक वर्ष पछि ई॰ १८१७ मार्च ३१ सोमवार (विसं १८७३ चैत्र सुदि १३)मा अर्का ठूला इजारादार कुलानन्द झाले सो अनुमति पाए, यसले १३ वर्षसम्म सो अड्डा चलाएको देखिएको छ । नाग्रे र खिकामाछाको सम्बन्ध पछिसम्म रहेको छ । लप्टन गोपीलाल श्रेष्ठ (कार्य ई॰ १९१५–३०) त्यहाँबाट खिकामाछा आए । लिखत अभिलेखहरूबाट राजधानी नजिक काभ्रेको नाग्रे टक्सार र पश्चिम पाल्पाको तानसेन टक्सारमा गोरखपुरी पैसा निर्माणको लागि टकमारी भएको देखिएको, उन्नाइसौं शदीको मध्यतिर उत्तरी भारतमा अत्यधिक मात्रामा नेपालका पहाडी टक्सारबाट निर्यात भएको देखिंदा खिकामाछा टक्सारबाट पनि निर्यात उद्देश्यले टक काटेको देखिन्छ । देशभित्र तामा, फलामको पाताबाट स्थानीय घरेलु भाँडाकुँडा, औजार बनाइने, टक(पैसा) भने थोरै स्थानीय रूपमा खपत हुने, धेरै निर्यात हुने देखिन्छ । प्रथम विश्वयुद्ध (ई॰ १८१४–१८) र द्वितीय विश्वयुद्ध (ई॰ १९३९–४५) बीचमा देशभित्र र बाहिर, विश्वमै तामा, फलामको अत्यधिक माग बढेको हो ।

एउटा चाखलाग्दो कुरा छ — इजारादार हनुमन्तसिंहले माझकिरात समेतको स्थानीय इजारा पाएको ई॰ १८१५ (विसं १८७२), खिकामाछा टक्सारको प्राचीनतम अभिलेख भएको घण्टा ई॰ १८३० (विसं १८८७) र टक्सारमा पहिलो स्थापित भीमसेन देउतास्थानको तोरण तीन टक्सारीहरूले राखेको समय ई॰ १८७३ (विसं १९३०) एकै तिथि छ — मार्ग सुदि १५ (मंसीर शुक्ल पूर्णिमा÷धान्य पूर्णिमा÷योमरि पुन्हि), जुन दिन गत २५ डिसेम्बर २०१५ मा खिकामाछा टक्सार स्थापनाको द्विशतवार्षिक टक्सार अड्डा रहेको भीमसेनस्थानको प्राङ्गणमा उत्सुक महानुभावहरू जम्मा भई शुभारम्भ गरे ।

खिकामाछा टक्सारको प्राप्त प्राचीनतम अभिलेख भीमसेनस्थानको ई॰ १८३० नवेम्वर ३० मङ्गलवार (विसं १८८७ मार्ग सुदि १५ रोज ३) को दुई हरफे घण्टाभिलेख हो । त्यसमा लेखिएको छ –

स्वस्ति श्री षिकामाछा पैसा टक्सारको श्री ३ भीमसेन पृति गरि श्री सुब्बा कुलानन्द झाका पालामा साहेवसिं प्रमुषन षानिको द्वार्या हट्टी गैरहले यो घंठ चह्राञा ।(तमोट, १९९२ः१)

यसबाट निम्न कुरा स्पष्ट हुन्छ –

१॰ तात्कालिक अड्डाको नाम — खिकामाछा पैसा टक्सार हो ।

२॰ सर्वप्रथम स्थापित देवता — भीमसेन, जसलाई सदर–मोफसलका नेवारहरूले व्यापारिक देवताको रूपमा मान्छन् ।

३॰ सुब्बा कुलानन्द झाका पालामा बनेको ।

४॰ अड्डाका प्रमुख (हाकिम) साहेवसिंह, जसको बारे केही कुरा जानिएको छैन । तिनी शुरू ई॰ १८१५ देखि हाकिम

थिए वा थिएनन्, सो पनि संकेत पाइएको छैन ।

५॰ प्रमुषन (प्रमुख–ले) शब्दले यो काठमाडौं उपत्यकामा नेवारी अभिलेख लेख्ने परम्परा तथा शैलीमा लेखिएको देखिन्छ ।

६॰ अड्डाको एक प्रमुख काम खानीसम्बन्धी काम गर्नु हो, जुन स्थानीय टक्सार र सम्बन्धित गाउँका द्वारे मार्फत्

हट्टीवाल (ठेकेदार)को माध्यमबाट उपलब्ध गराइन्थ्यो ।

यसरी यो घण्टा खिकामाछा टक्सारका शुरूका हाकिम, द्वारे, हट्टीवाल र कामदारहरूको समूहले स्थापना गरेको देखिएको छ । त्यसबेला राष्ट्रिय इजरादार (ठेकेदार) काठमाडौं, किलागलका पशुपतिमा चाँदीको ढोका बनाउने कुलानन्द झा थिए । तिनले ई॰ १८१७ मार्च ३१ सोमवार (विसं १८७३ चैत्र सुदि १३)मा काठमाडौं उपत्यका (चारभञ्ज्याङ)को पूर्वी भञ्ज्याङ सांगादेखि मेची नदीसम्मको क्षेत्रका खानीहरू सञ्चालन गर्न इजारा (ठेक्का) पाएका थिए ।(हेर्नुहोस् परिशिष्ट) प्रस्तुत घण्टाभिलेखबाट उनले १४ वर्ष अघिदेखि सो इजारादारी चलाइरहेको देखिन्छ ।

हजसन (१८५७÷१९७२ ः १०२ र ११९)ले ई॰ १८३१ मा तत्कालीन राजधानी भारतको कलकत्तास्थित इष्ट इण्डिया कम्पनीका राजनैतिक सचिवलाई दिएको प्रतिवेदनमा नेपालको ई॰ १८३०–३१को व्यापारिक आयात–निर्यातको विवरण प्रस्तुत गरेको छ । त्यसमा नेपालबाट समतलभूमि (उत्तरी भारत) निर्यात हुने वस्तुमा सुन, नेपाली रूपिया र तामाको पैसा महशूल नलाग्ने, चाँदी र भारतीय रूपिया निषेधित र फलामको औजार महशूल तिरी निर्यात गर्न पाउने सूची दिएको छ । तामा, फलाम र धातु मिश्रणबारे निम्न विशेष टिप्पणी दिइएको छ –

नेपाल शुद्ध तामाले भरिभराउ छ र सम्पूर्ण समतल क्षेत्र र गंगादेखि पहाड मंघेर(Monghyr) र पिलिभितसम्म यसले तामाको मुद्रा आपूर्ति गर्छ । नेपालमा फलाम पनि प्रशस्त छ र धेरै खस्रो औजार ती समतल क्षेत्रमा निर्यात गर्छ ।

नेपालमा सीसा, गन्धक र जस्ता खानी छ, तर तिनबाट लाभ उठाउने गरी काम गर्ने शिल्प छैन । यी कुराहरू थोकमा समतल क्षेत्रबाट दरो बनाइने टीन र जस्ता हामीबाट आयात गर्छ अनि नेपालीहरूले आफ्ना तामासंग ती मिसावट धेरै थरिका उच्चकोटिका मिश्रित धातुहरू बनाउँछन् ।

चाँदीका नेपाली रूपिया बाहेक सूचीकृत तामाका भाँडावर्तन, पैसादेखि अन्तिम वस्तुसम्म(फलाम, खुकुरी, धलवट भाँडा, हाती, हस्तिहाड, मैन, मह, गाँजा, भाङ, विभिन्न जडिबुटी आदि) नेपालकै उत्पादन हुन् ।

३॰ राणाकाल

अड्डा स्थापनाको तेंतिसौं वर्ष ई॰ १८४८ (विसं १९०५)मा ब्रिटीश रेजिडेन्ट ब्राइन हप्टन हजसन (ई॰ १८००–९४) काठमाडौंबाट दार्जिलिङ २६ दिन लगाएर जाँदा तेह्रौं बास खिकामाछामा परेको थियो । उनले तात्कालिक टक्सारको बयान यसरी गरेका छन् –

यो किरातीहरूको गाउँ हो, जहाँ नेपाल दरवारको तामाको मुद्रा बनाउने टक्सार स्थापना गरेको छ । काम गर्नेहरू नेपाल उपत्यकाबाट आएका बांरा (बन्द्य)हरू हुन्, तिनीहरू ५० वा ६० जति छन् । त्यहाँ एक जना टक्सारी अर्थात् टङ्कशालाधिकारी पनि छ र जमादार अन्तर्गत २५ जनाको एक सैनिक टोली छ ।(हजसन, १८८८ ः७÷तमोट, २०११ः३४)

एक भारतीय लेखकले नेपालबाट प्राप्त एक लिखतको स्रोत बताएर खिकामाछा टक्सार ई॰ १८६१ (विसं १९१८)मा स्थापना भएको हो भनेको छ । त्यहाँ डीठ्ठा कृष्णवीरलाई मुद्रा निकाल्न र त्यहाँ अरू क्षेत्रमा खानीहरूमा काम गर्न अख्तियार दिइएको थियो ।(ह्रोडम र अरू, १९८९ः१८२ पा॰टि॰) यहाँ स्थापना काल गल्ती भएको छ, तर त्यस बेला डीठ्ठा कृष्णवीर खिकामाछा खानी टक्सारको हाकिम रहेको चाल पाइन्छ ।

उन्नाइसौं शताब्दिको उत्तरार्धमा नेपाल र भारतका ताम्र–मुद्राको स्थितिबारे ई॰ १८७६(विसं १९३३)को भारतीय इम्पेरियल गजेटियरमा निम्न बयान गरेको पाइन्छ –

बराइचदेखि चम्पारन क्षेत्रसम्म, प्रचलित मुद्राको सटही दर एक भारतीय रूपियाको ७५ हातले खस्रो काटेको, कमसल, तामाको शोधित वर्गाकार ढिक्का भूतवालिया अर्थात् गोरखपुरी पैसा पर्छ । यी भूतवालिया पैसा नेपालको पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा बनाइन्छन् । सुदूर पूर्व र उत्तर–पूर्वमा चलन चल्तीको मुद्रा कालो अर्थात् लोहिया पैसा एक भारतीय रूपियाको १०७ पर्छ । यी भूतवालिया पैसा भन्दा आकार र बनावटमा राम्रो छैन, र ती धेरै फलाम मिसाइएको कम मूल्यका हुन्छन् । पूर्वी पहाडमा यी उत्पादन गर्ने टक्सार छन्, तिनमध्ये खिकामाछा सबभन्दा राम्रो नाम चलेको हो । ती मुद्रा सामान्यतया उत्तर विहारमा चम्पारनदेखि पूर्णियासम्म भेटिन्छन् ।(ह्रोडस र अरू, १९८९ः१८२)

खिकामाछा टक्सारलाई पछिल्लो समय “खिकामाछा खानी टक्सार” भन्ने गरेकोले रेग्मी रिसर्च सेन्टर (१२ः६, ८१–८२)मा प्रकाशित ‘खानी–टक्सार’मा क्याप्टेन नरवीर सिलवाल क्षेत्रीको जुलाई ई॰ १८८२ (विसं १९३९ श्रावण वदि ३०) को निवेदन यसैसँग सम्बन्धित देखिन्छ । सो अनुसार उनले कौशी तोषाखानालाई दिएको निवेदन अनुसार उनका पूर्ववर्ती हाकिम लप्टन भुवनसिंह थापा क्षेत्रीले सैनिक सरसामान कारखानाबाट प्राप्त गरेको, माल गाउँमा रहेको यान्त्रिक उपकरण पाए, सीसाको धाउ पगाल्न सकिन्थ्यो, विना उपकरण पगाल्न कामी महरहरू दुई दिन काम गर्दा विषालु धुवाँ निल्नु पर्दा तीन दिन बिरामी पर्न गए । क्याप्टेन नरवीरको निवेदनमा सुनवाई भई ई॰ १८८२ अक्टोवर (विसं १९३९ कार्तिक वदि १)मा लप्टन भुवनसिंहलाई आदेश जारी भएको थियो । यसबाट खिकामाछा टक्सारबाट सीसा खानीको काम पनि भएको देखिन्छ ।

खिकामाछा टक्सारबाट ई॰ १९००(विसं १९५७)तिर टिकट पनि छापिएको बुझिएको छ । नेपालमा पहिलोपटक ई॰ १८८१(विसं १९३८)मा जोर खुकुरी माथि श्रीपेच अङ्कित टिकट निस्केको हो । (मानन्धर, १९७२ः१०) यसपछि सरकारी कामकाजमा टिकट दस्तुर लाग्न थाल्यो । ई॰ १८९४ (विसं १९५१ वैशाख वदि ३ रोज ८)मा सनदले के कुरामा कति टिकट लाग्छ भन्ने दस्तुर निर्धारण गर्यो । (ऐतिहासिक सामग्री) हनूमानढोका दरवारमा (हाल नेपाल तथा एशियाली अनुसन्धान केन्द्रमा) रहेको एउटा लेखापढीमा यस्तो लेखिएको पाइएको छ –

सम्वत् १९५७ वैशाख सुदि ५ रोज ६ को खास अमानत खिकामाछा पैसा टक्सार अड्डाबाट यस अड्डालाई चाहिने टिकट चाँदै छपाई पठाइ दिनु भन्ने कौसी तोशाखानाका नाउँमा सनद प्रमाङ्गी होस् भन्ने लेफटेन भारत खड्का क्षेत्रीले चढाएको रिपोर्ट । (गोतामे, १९७५ः६३)

ऋषिराम अर्जेल(१९८५ः३८)ले आफ्नो पुस्तक माझकिरातमा एउटा चाखलाग्दो कुरा लेखेका छन् । उनी भन्छन् –

पैले भोजपुरको प्रारूप टक्सारमा कायम भयो । त्यहाँ कला–कौसलले पूर्ण विकसित भै काठमाडौं, भक्तपुर, पाटनलाई संझाउने भोजपुर श्री ३ चन्द्रकी मुमाको रानी खुवा अमाली हो ।

“रानी खुवा” भनेको रानीलाई खानगीको रूपमा दिइएको जग्गा हो । ‘खुवा’ भन्नाले “धेरै चीजवीज आउने खानगीको जग्गा हो’। (सिंह, १९८८ः१९९) यी कुरा अन्यत्रबाट सुनिएको छैन र अनुसन्धेय छ । चन्द्र शमशेर (ई॰१९०१–२९)ले आफ्नी आमा(नन्दकुमारी ?)को लागि खिकामाछा अम्वल (प्रशासनिक एकाइ)को कुनै किसिमको आम्दानी बुझाउने व्यवस्था थियो कि ?

ई॰ १८३० मा “खिकामाछा पैसा टक्सार” र ई॰ १९२४–२७ मा “खिकामाछा खानी टक्सार” भनिएको टक्सार अड्डाको “किरात जङ्गी गोला अलैंची मयन येकहट्टी अड्डा” नाम ई॰ १९०३ (विसं १९६०)को एउटा रसीदमा पाइएको छ । यो लिखत खिकामाछा टक्सारको इतिहासमा एक महत्वपूर्ण प्रमाण–पत्र हो । टक्सारका बुद्धरत्न शाक्य (पूर्व न्यायाधीश)संग रहेको उहाँको पुर्ख्यौली कारोबारको यस पत्रले निम्न तात्कालिक कुरामा प्रकाश पारेको छ –

१॰ खिकामाछा टक्सारलाई प्रकारान्तरले (माझ)किरात॰॰॰ अड्डा पनि भनिने रहेछ ।

२॰ यस अड्डाले जङ्गी गोला (सैनिक तोपको लागि धातु पिण्ड), अलैंची, मैन सम्बन्धी काम गर्दा रहेछन् ।

३॰ यस अड्डाले गोला, अलैंची र मैनको कारोवारमा एकहट्टी (एकाधिकार ठेक्का) पाएको रहेछ । उत्पादक किसानले अलैंची, मैन सो अड्डालाई बिक्री गर्नुपर्ने र त्यसले जनतालाई निर्धारित भाउमा बिक्री गर्ने गर्थे । ई॰ १९०३मा त्यहाँबाट हर्षराज हस्ते जुधन, ज्योतिमान लगायत १३ बाँडा(शाक्य)हरूले आफ्नो “रोजगार काम चलाउन” प्रति मन ७० रूपिया कम्पनीमा सवा मन किनेको थियो । सो दर अड्डाले ई॰ १८६७ (विसं १९२४ माघ सुदि १४ रोज ६)को रूक्का अनुसार निर्धारण गरेको थियो र ई १८९४ (विसं १९५१ वैशाख वदि ३ रोज २)को सनद बमोजिम टिकट दस्तुर ७ पैसा लिएको थियो । त्यस ताका सुब्बा विजयराम उप्रेती र डीठ्ठा महेश्वर मैनाली थिए ।(हेर्नुहोस् ऐतिहासिक सामग्री)

४॰ यस अड्डाले ई॰ १९०३मा जङ्गी गोलाको आपूर्तिको पनि काम गरेको देखिन्छ । यो काम त्यसले ई॰ १८५९ (विसं १९१५)देखि गर्दै आएको कुरा एउटा लिखत–पत्रबाट थाहा भएको हो । सो पत्रमा शस्त्रागार (गठ्ठाघर) कारखानाको लागि सिन्धुपाल्चोकको नाग्रे र माझकिरातको खानीबाट तामा आपूर्ति गर्नू भन्ने उल्लेख छ । (परिशिष्ट हेर्नुहोस्)

तीनधारा

यो कुरा स्पष्ट छ — खिकामाछामा खानी अड्डा एवं टक्सार बन्नुमा एक त यहाँको कैलाशडाँडा मुनि अविरल बगिरहने सफा, स्वच्छ तीनधाराको पानीले आकर्षित गरेको हो । वस्तीको बीचमा पर्ने यही धारालाई सीमाना मानी आफूलाई ‘वारि’को मानी पूर्वी वस्तीमा बस्नेले पश्चिमी वस्तीलाई ‘पारि’ र पश्चिमकाले आफूलाई वारि मानी वस्तीलाई ‘पारि’ भन्ने चलन छ । यो वारि र पारि व्यक्ति अनुसार प्रयोग हुने हुनाले यहाँ पूर्वी र पश्चिमी टक्सार शब्द प्रयोग गरिन्छ ।

शुरूमा सामान्य ढङ्गले धाराको रूपमा रहेको यसलाई पछि तीनधारा मध्ये पूर्वको महिलाको लागि नुहाउन, पश्चिमको पुरुषको लागि र बीचको मृत्यु संस्कार कर्म वा सामान्य कामको लागि भन्ने सोची तीन धारा बनाइए । यी तीन धारामध्ये बीचको धाराको मकर (हितिमंगः)को टाउकोमा लेखिएको अभिलेख अनुसार तीनधारा ई॰ १९१० (विसं १९६९) मा आशामदु, रघु लगायतका १० तमोट बन्धुहरूले आफ्नो शिपले “धलवतको धारो” बनाइदिए । (तमोट, १९९२ः२२)

तीनधाराको सौन्दर्य बढ्यो । त्यसमा पश्चिम क्षेत्रको शुरूमा गणेश (अभिलेख ई॰ १९१६÷विसं १९७३), पूर्व कुमार (अभिलेख ई॰ १९२७÷विसं १९८४)को सानो चिटिक्कको मन्दिर बनाएपछि सुनमा सुगन्ध थपियो । राणाकालीन कविहरूले त्यसको प्रशंसा गर्न थाले –

पक्की ईंट गरी गारो वरिपरी धारा तिंओटा धरी

हेर्दामा पनि ठीक् दुरूस्त उहि हो नारान्हिटीकै सरी ।

– वैयाकरण नेपाल (ई॰ १८५५–१९२२)(नेपाल, १९६१ः६०)

पुजाका भक्तीले अति खुशि सँधै नाग जलका ।

त्यसै जलका धारा तहि नजिक राम्रा पितलका ।।

–वृद्धिलाल नेपाल (ई॰ १८४७–१९३३)(नेपाल,१९६८ः२०)

धारा छन् तिनटा अती असलका धातू जडेका तहाँ

पानी बग्छ गलल्ल तेस् तरहले गंगाजीको रूपमहाँ ।।

–लीलाकान्त पोख्रेल(२०१५ः२७३)

खिकामाछा टक्सार स्थापनाको सय वर्ष पुग्न लाग्दा टक्सारमा व्यवसाय गरिरहेका साहुहरूले पाटनका आफ्ना कुलदेवतालाई सम्झेर ती देवस्थलहरूमा महत्वपूर्ण वस्तु चढाएको चाखलाग्दो कुरा देखिएको छ । सर्वप्रथम पहिले टक्सारी भएर गएका हर्षनारायण तमोट (ई॰ १८४० दशक–१९०७)का छोरा सिद्धिप्रसाद (ई॰ १८६० दशक–१९२१)ले जाउलाखेल उग्रचण्डीस्थानमा आफ्ना कुलदेवताको नाममा ई १९१३ मार्च (विसं १९६९ फाल्गुन शुक्ल १३)मा एक आकर्षक घण्टा संरचना चढाए । त्यसको चौध महिनापछि जुजुमान तमोट (ई॰ १८७० दशक–१९१४ पछि)ले बीचमा सुनमोलम्बा गरेका तीन देवता ई॰ १९१४ मे १ (विसं १९७१ वैशाख सुदि ६)मा समर्पण गरे । त्यसै महिनाको वैशाख पूर्णिमाका दिन साहु मानबहादुर हलवाई (ई॰१८६० दशक–१९४३)तिर पाटन हौगल टोलमा आफ्ना कुलदेवतालाई ठूलो घण्टा संरचना बनाई समर्पण गरे ।

यस बेलासम्म टक्सारमा निकै देवस्थलहरू बनेको र पुराना मन्दिरहरूमा पर्व पर्वमा दाफा भजन गाउने परम्परा भएको थाहा भएको छ । थाहा पाएसम्म पुरानो विद्याधरी अजिमाको ई॰ १९१५ (विसं १९७२)को स्थानीय भजनियाँले नै रचेको भजन हो । क्रमशः अन्य देवस्थलमा पनि भक्ति गीत पर्वहरूमा गाउन थाल्यो । ई॰ १९३० (विसं १९९०) दशकसम्म टक्सारमा अजिमा, वितलय गणेशथान, वरमा विष्णुटोल, शाक्यमुनि विहार र करूणामय स्थानहरूमा भजन खलः (समूह) बनिसकेको थियो ।

पाटन स्वथ टोल निवासी लप्टन गोपीलाल श्रेष्ठको टक्सारखानीमा निकै प्रभाव जमेको छ । उनी पाटनबाट पहिले काभ्रेपलाञ्चोकको नाग्रे टक्सारमा काम गर्न नियुक्त भएका थिए । उनलाई खिकामाछा खानी टक्सार अड्डाको हाकिम बनाई ई॰ १९१५ (विसं १९७२)तिर सरुवा गरिएको थियो । उनले माझकिरातको सिरसे फलाम खानी धोदले र पैरेको तामाखानीका जिम्मावाल भई काम गरेथे । उनी हाकिम हुँदा सिद्धिलाल श्रेष्ठ ई॰१९२४ (विसं १९८१) र यज्ञबहादुर श्रेष्ठ ई॰१९२६ (विसं १९८३) तहवीलदार लगनबहादुर सिंह मुखिया थिए ।(स्मारिका–ऐतिहासिक सामग्री) । लप्टन गोपीलाल धार्मिक प्रवृत्तिका थिए । उनले टक्सार रणेश्वर शिवालयसंगैको राधाकृष्णस्थानमा पत्नी पुत्र सहित भई ई॰ १९२७ (विसं १९८३ मार्ग सुदि १५)मा घण्टा चढाएको पाइएको छ ।(हाल सो घण्टा संगैको हनूमानस्थानभित्र छ ।(तमोट १९९२ः४६)

लप्टन गोपीलाल टक्सारको मुखिया पनि हो । उनका नाति परशुराम श्रेष्ठ (ज॰ई॰ १९४६)का अनुसार उहाँहरूको टक्सारको ठूलो घर ई॰ १९२७÷२८ तिर बनाएको हो । लप्टनको मृत्यु ई॰ १९३० तिर गुराँसे गाउँको सिरसे खानी र त्यसैको आफ्नो खेतीपाती हेरी फर्कंदा बेहरेश्वर पिखुवा दोभानको पानीमा घोडाको खुट्टा चिप्ली लडेर भएको कथन छ । उनीकहाँ उनका छोरा मीनबहादुर श्रेष्ठ (ई॰ १९१९–२००८)को पाला ई॰ १९६८ (विसं २०१५) सम्म स्थानीय टक्सारबासी तिरो तिर्न जान्थे ।

रणेश्वर शिवालय

यो ईश्वी १९०० दशकतिरको कुरा हो रणध्वज कार्की क्षेत्री (ई॰ १८६२–१९४६) नेपालको पूर्वतिरको सरकारी ठेक्का लिएर कुस्त पैसा कमाइरहेका थिए । त्यसै वेला कुभिंडेका मेघनाथ आदिहरूले खिकामाछामा एउटा गाउँ जत्रो अमाल (स्थानीय मुद्दा हेर्ने र तिरो आउने अधिकार प्राप्त जग्गा) वितलप बिर्ता भोग गरिरहेको (भीमेन्द्र कार्की,ई॰ २०१५ः२७८) । यो विर्ता दरबारमा उपस्थित रही चाहिएजति सेवा पुर्याउने व्यक्तिले पाउने हो । (सिंह, १९८८ः४५९) दरबारले यस्तो वितलप विर्ता कुनै पनि बेला अर्कोलाई दिन सक्छ, त्यहाँ बस्ने रैतिलाई कुरिया भनिन्छ । (दान कार्की, १९९६ः५) । सो वितलप रणध्वज कार्कीले किने र अझ पश्चिमी टक्सारमा अरू रैकर जग्गा किनी ठूलो जमीनदार बने । ती जग्गा विस्तारै भाँडाव्यापारी साहु, कालिगडहरूलाई बेच्दा एउटा सहरै बन्यो ।

रणध्वज कार्की बडो धार्मिक प्रवृत्तिका व्यक्ति थिए । उनले तीनधारा छेउ, कैलाशडाँडाको काखमा रहेको ठूलो फाँटको आफ्नो बारीमा वाहनसहित शिव पाञ्चायतन मन्दिर थलो र बहुउदेशीय शिवालय बनाए । कार्की खलकका कुलगुरू कवि लीलाकान्त पोख्रेलले आफ्नै काव्य “शिवालय वर्णन” मा सो मन्दिर “छयेहत्तर साल फागुनमहाँ” प्रतिष्ठा भएको बयान गरेका छन् । (भीमेन्द्र काकी, २०१५ः२७३) । तत्कालीन पात्रो पल्टाउँदा सो ई॰ १९२० फेव्रुवरी १८ बुधवार (विसं १९७६ फागुन ७, शिवरात्री)का दिन पर्दो रहेछ । अर्को साल दाताले शिवालयमा घण्टा राखे र ई॰ १९२३ (विसं १९८०)तिर शीरमा शिवजीको कलात्मक मूर्ति कोरी गुठी व्यवस्था गरेको तामापत्र (२०×१२ इञ्च) राखे । दानपत्र अनुसार उनले पाञ्चायतन देवता बीचमा इष्टदेवता शिव, आग्नेयमा सूर्य, नैऋत्यमा गणेश, वायव्यमा भवानी र ईशानमा विष्णुको पूजा अर्चना खातिर प्रशस्त जग्गा गुठी राखे । सो अनुसार उनले देवता, पुजाहारी, नगर्ची र जगेडाको लागि खेत ११ कित्ता (नटुक्रिएको सग्लो), ३ खला (वहुउद्देश्यीय कामको) गुठी जग्गा राखे । उनले यसको चिताइको लागि सातजनाको एक गुठियार समूह बनाई अभिलेखमै उल्लेख गरेका छन् । तिनमा आफ्ना साहिंला छोरा रविध्वज कार्की (ई॰ १८९३–१९५३), जेठो नाति बालक दानबहादुर कार्की (ई॰ १९२२–२००४), पाँचजना प्रतिष्ठित स्थानीय साहुहरू देवबहादुर हलवाई (ई॰ १८५३–१९७६), सिद्धिराज तमोट (ई॰ १८९५–१९६८), बुद्धिमान तमोट (ई॰ १८७५–१९६४), हर्षधन बाँडा(शाक्य) (ई॰ १९०४–८२) र बद्रिनाथ श्रेष्ठ छन् ।

रणेश्वर शिवालय बनाएपछि खिकामाछा टक्सारमा एक किसिमले धार्मिक–सांस्कृतिक जागरण आयो । पर्व पर्वमा सम्बन्धित धार्मिक क्रियाकलाप हुन थाल्यो । चतुर्मास, मलमासमा पुराण वाचन हुन थाल्यो । वाद्यवादन सिक्ने थलो भयो । भषा (एवं संस्कृत) पाठशाला त्यहीं चल्न थाल्यो, त्यो ठाउँ टक्सारको शैक्षिक केन्द्र पनि बन्यो । देशविदेशमा यसको गौरव गरिमा बढ्यो । पुजारीबाट दैनिक पूजा पाठ हुँदा पूर्वको पशुपतिनाथ जस्तै भयो ।

(अर्को चार वर्षमा रणेश्वर महादेव स्थापनाको शताब्दि पुग्दैछ । ई॰ २०२० फेब्रुवरी २१ शुक्रवार (विसं २०७६ फागुन ९, शिवरात्रीको दिन सो मनाउन दाता रणध्वज कार्कीका र शुरु गुठियार साहुजीहरूका देशभरि छरिएका सन्तान जुर्मुराउने बेला आएको छ र त्यसको लागि रणेश्वर संरक्षण समिति बनाई सो स्थलको पुनरुत्थान गर्नु वाञ्छनीय छ ।)

आगलागी, अड्डा, शिक्षा

ई॰ १९२१ जून ५ (विसं १९७८ ज्येष्ठ वदि १४ आइतवार) खिकामाछा टक्सारमा ठूलो आगलागी भयो । त्यसको सजीव वर्णन सवाई भाकामा एक काव्य कवि हर्षराज शाक्य (ई॰ १८७६–१९४४)ले गरेको छ । त्यसमा ४५ व्यक्तिको यथास्थिति घटलाग्दो ढंगले गरिएको छ । घटनाको ६ महिना कुराकानी गरी लेखेको त्यस काव्यले आगलागीले गरेको विनाश मात्र होइन, तत्कालीन समाज, वजारको पनि झलक दिएको छ ।

मल्लकालमा काठमाडौं उपत्यकामा चार अड्डा थिए — कोटिलिङ्ग, येताचपली (इटाचपली), धन्सार र टक्सार । यी केही शुरू शाहकालमा पनि कायम भयो । टक्सारले टकसम्बन्धी मात्र काम नगरी आर्थिक कारोवार र स्थानीय न्यायालयको काम गर्थ्यो । पछि आ–आफ्नै काम कार्वाहीका कार्यालयहरू खुलेपछि काठमाडौं उपत्यकामा परम्परागत टक्सार ई॰ १९०१ (विसं १९५८ भाद्र सुदि १२)मा खारेज भयो ।(सिंह १९३१ः२५९) जिल्लामा भने यो पछिसम्म परम्परा अनुसार नै अदालती अधिकार सम्पन्न थिए । खिकामाछा खानी टक्सार अड्डाले जग्गा लेनदेन मुद्दामा मिलापत्र गर्ने काम हाकिम लप्टन गोपीलाल श्रेष्ठले ई॰ १९२४ (विसं १९८१ भाद्र १७ गते) गरेका थिए ।(स्मारिका ऐ॰सा॰)

भोजपुर बजारमा राणाकालीन पूर्व ४ नं जिल्लाका अड्डाहरू खुलेपछि खिकामाछा खानी टक्सार अड्डा नाम क्रमशः घट्दै गयो । ई॰ १९२६–२७ (विसं १९८३–८४)मा यसले भोजपुर बजारको माल गोश्वारासंग मिली काम गरेको देखिएको छ । त्यसबेला यसले मूलतः तामा, पत्रु सम्बन्धी काम गर्दथे । यसले निर्धारित मूल्यमा तामा, मैन खरिद गर्दथे अथवा जगेडा भए बढाबढ गरी विक्री गर्दथे । हर्षराज बाँडा(शाक्य)ले ई॰ १९२६ र १९२७ मा लीलाम बढाबढको तामा प्रति धार्नी रु॰ ५ र ४।५० मा किनेको थियो ।(ऐ॰सा॰)

नेपालमा भाषा पाठशाला शिक्षाप्रेमी जयपृथ्वीबहादुर सिंहको सल्लाह अनुसार देव शमशेर (१९०१ मार्च ५–जून७)बाट ई॰ १९०१ मार्च (विसं १९५७ चैत्र)मा खड्गनिशाना भएर व्यवस्थित रूपमा शुरू भएको हो ।

नायव बडागुरूज्यू हेमराज शर्माको निर्देशनमा सञ्चालित पाठशाला बन्दोवस्त नागरी फाँट अन्तर्गत टक्सार शिवालयमा ई॰ १९२१÷३० (विसं १९८६÷८७)तिर भाषा (एवं संस्कृत) पाठशाला सञ्चालन भएको देखिन्छ । यहाँ टक्सारका सर्वसाधारणले प्राथमिक नेपाली शिक्षा र गाउँगाउँका ब्राह्मण पुत्रहरूले प्राथमिक संस्कृत शिक्षा हासिल गरेका थिए । त्यसवेला त्यहाँ दुई मध्यमा उत्तीर्ण शिक्षक र एक पालेबाट पाठशाला सञ्चालित थिए ।

भोजपुरको दिङलामा षडानन्द ई॰ १८७५ (विसं१९३२)मा स्थापित संस्कृत पाठशाला पछि खिकामाछा टक्सारको यो पाठशाला राणाकालमा सञ्चालित भोजपुरमा दोस्रो विद्यालय हो । यो ई॰ १९७२ (विसं २०२९)सम्म चल्यो ।

बौद्ध जागरण

खिकामाछा टक्सारमा गाइजात्रा ताका श्रावणदेखि भीमसेनजात्रा (काठमाडौंमा इनद्रजात्रा), भाद्र दुइ महिना डबली नाटक मञ्चन गर्ने परम्परा छ । यस्तो नाटक कहिलेदेखि शुरू भयो थाहा नभए पनि पुराना पुस्ताका मानिसहरू ई॰ १९२१–२२ दुई वर्ष नचाएको सर्वार्थसिद्ध नाटकको चर्चा गर्छन् । खिकामाछा पूर्वी टक्सारमा शाक्य जाति बहुल र पश्चिमी टक्सारमा ताम्रकार–तुलाधर जाति बहुल छन् । यो नाटक शाक्यमुनि विहार निकट प्रदर्शित गरिएको र दुवै वर्ष सात रात निरन्तर देखाइएका थिए । त्यो हेर्न वारि पारि टक्सारका गृहस्थी–गृहिणीहरू झुम्मिएका थिए । सर्वार्थसिद्ध (बुद्ध)को अभिनय गर्ने विमलज्योति उपासक (कुलराज शाक्य) पछि ई॰ १९३७ (विसं १९९४)मा थेरवादी भिक्षुमा प्रवजित भई सुबोधानन्द महास्थविर(ई॰ १९१६–२००६)को रूपमा बौद्धधर्मलाई योगदान दिए । त्यस्तै नाटक हेर्न गएका आशामाया शाक्य ई॰ १९४४ (विसं २००१)मा प्रवजित भई अनागारिका सुशीला (ई॰ १९१६–२००१)भएर महिला भिक्षुनीहरूको नेतृत्व लिए । उनले सो नाटक हेरेर बुद्धजीवनीबारे ज्ञान प्राप्त गरेको कुरा आफ्नो ‘आत्मकथा’ (१९९५ः५)मा अभिव्यक्त गरेका छन् । सबभन्दा महत्वपूर्ण कुरा ई॰ १९३७ (विसं १९९३)मा शाक्यमुनि बुद्ध मूर्ति स्थापना गर्न भोजपुर–टक्सारमा जात्रा गर्दा यही नाटकका ५० जना जति पात्रहरू आ–आफ्नो भेषमा सजिएर अग्रिम पंक्तिमा घुमेको अत्यन्त प्रभावकारी भयो । (भिक्षु, १९७३ःङ)यस्तै पछि पछि अन्य नाटक मञ्चन हुँदै गए ।

रणेश्वर शिवालय ई॰ १९२० (विसं १९७६) स्थापना भई शैवमार्गीका बढोत्तरी हुँदै गएपछि खिकामाछा टक्सारका बौद्धमार्गीहरूले पनि आफ्नो एक विशिष्ट बुद्धालय होस् भन्ने चाहिरहेथ्यो । खिकामाछा पूर्वी नेपालको त्यसबेला जागरुक समाज भएको स्थान थियो । बनारसका बाबाजीहरू त त्यहाँ जान लालायित हुन्थ्ये । त्यहाँ ई॰ १९३० (विसं १९८७)मा भिक्षु महादान पुगे । उनको बौद्ध धर्मोपदेशले चक्रधन शाक्य उनकै साथ लागी गए र अर्को वर्ष श्रामणेर शाक्यानन्द (ई॰ १९१०–९७) भए । टक्सारमा केही पहिलेदेखि वज्रयानी वज्राचार्य(गुभाजु) थिए, तिनले उपासकहरूलाई पर्वहरूमा अष्टमीव्रत धर्म गराउँथे, षडक्षरी करूणामयको दीक्षा दिन्थे, महायानी बुद्धजीवनी ललितविस्तरका कथा सुनाउथे । यस्तैमा ई॰ १९३४ (विसं १९९०)को महाभूकम्प गयो । त्यसले शाक्यमुनि विहार वरपरका शाक्य–वज्राचार्यहरूलाई एक सामूहिक बौद्ध धर्म स्थान बनाई धर्मकर्म गर्न वातावरण बनायो । कुलधन शाक्यको त्रिबन्धुले पहिले बनाइराखेको धर्मशालामाथि ठूलो कोठा थपे । त्यहाँ वहुउद्देश्यीय काम गर्न सकिन्थ्यो ।

पाल्पाको लालकाजी शाक्य ई॰ १९३५ हिउँदमा भोजपुर आएका थिए र यहाँको शाक्य समाजको आत्मीयताले आकर्षित भइरहेथ्यो । उनी अगस्त, १९३६ मा कुशीनगरमा गई श्रामणेर अमृतानन्द (ई॰ १९१८–९०) भए, उनको उपाध्याय ऊ चन्द्रमणिले उनलाई नेपालमा पहिलो थेरवादी भिक्षु महाप्रज्ञा (ई॰ १९०१–७९) कहाँ कालिम्पोङ पठाए । भिक्षु महाप्रज्ञा प्रवज्या ई॰ १९२८ मे ४ (विसं १९८५ वैशाख पूर्णिमा)का दिन रंगुनको एक विहारमा आएका थिए । (तुलाधर, २०१३ः६४) त्यहाँ गई १८ वर्षे भिक्षुले अर्को गुरु भेटी खिकामाछा टक्सारमा धर्म प्रचार गर्न डिसेम्वरको शुरुमा पुगे, त्यसैको चौथो हप्तामा भिक्षु महाप्रज्ञा पनि पुगे र धर्मशालाको माथिल्लो तलामा संगै राखे । त्यहाँ थेरवादी बुद्धधर्मको महत्ता र व्यावहारिक उपायोगिताको ज्ञान उपासकहरूले पाए । त्यहीं राखिएको कुलधन शाक्यको आगमको सानो धलवत बुद्ध मूर्तिले चित्त नबुझी उपासकहरूले ठूलो मूर्ति बनाउन भिक्षु महाप्रज्ञालाई अनुरोध गरे । उनले दुई हात (३ फीट)का मृत्तिका मूर्ति १९ दिनमा बनाई दिए । त्यस मूर्तिलाई रथमा राखी पहिले नचाएको सर्वार्थसिद्ध नाटकको करीव ५० पात्रहरूलाई त्यसकै भेषभूषामा अगाडि राखी, स्तोत्र पाठ गरी, वाद्यवादन समूहका साथ अभूतपूर्व रूपले भोजपुर–टक्सार बजार परिक्रमा गरी ई॰ १९३७ जनवरी १३ (विसं १९९३ पौष ३० गते, पौष शुक्ल प्रतिपदा)का दिन उक्त धर्मशालामाथि स्थापित गरियो र नाम दिइयो — शाक्यमुनि विहार । यो नेपालको पहिलो थेरवादी विहार हो । यसपछि काठमाडौं उपत्यकामा ई॰ १९४३ (विसं २०००)मा भिक्षु धम्मालोक (१८९०–१९६६)बाट आनन्दकुटी विहार बनेको हो । (भिक्षु, १९८२ः८)

अर्कोवर्ष वैशाख पूर्णिमामा रथमा मूर्ति राखी वजार परिक्रमा गरी बुद्धजयन्ती मनाउने चलन चल्यो, जुन नेपालमा पहिलो पटक भयो ।

राणाकालमा सनातनभन्दा भिन्न नयाँ धर्मलाई दबाउने नीति लिने गर्दथ्यो । सो अनुसार नेपालमा सनातनी रूपमा चलिआएको महायान वज्रयान बौद्धधर्मभन्दा भिन्न आधुनिक समयमा श्रीलंकातिरबाट प्रचार हुँदै आएको थेरवादी (हीनयान) बौद्धधर्ममा मार आएको उल्लेखनीय छ । ई॰ १९३७ जनवरी १३ (विसं १९९३ पौष ३०)मा शाक्यमुनि बुद्ध स्थापना भई भोलिपल्ट माघे सङ्क्रान्तिका दिन भिक्षु महाप्रज्ञा, श्रामणेर अमृतानन्द र उपासक उपासिका १४ जनालाई बडाहाकिम गरूडध्वजको आदेशले भोजपुर वजारस्थित अड्डामा पक्रेर लगिए । यसो गर्नुको कारण थियो पहिले चन्द्र शमशेरको पालामा ई॰ १९२७ जुलाई १ (विसं १९८४ असार १७)मा देशनिकाला गरिएका पाँच ध्येलुं केरुङ (लामा भिक्षु) मध्ये काठमाडौका प्रेमबहादुर(नानीकाजी) श्रेष्ठ (घ्येलुं, ई॰ १९२४ जनवरी २१ (विसं १९८० माघ शुक्ल १५, )– भिक्षु महाप्रज्ञा नेपाल पसी भोजपुरमा धर्म प्रचार गर्न आएको र नेपालमा चलन नभएको थेरवादी धर्म स्थापना गरेको । (अन्तर्राष्ट्रिय मञ्च ः १०७) भिक्षुहरूलाई तीन महिना जेलमा राखी धनकुटा पठाए, त्यहाँ एक महिना राखी भारतको जोगबनी कटाई पुनः देश निकाला गरे । उपासक–उपासिकालाई नौ दिन माल–अड्डाको थुनामा राखी छोडिदिए तर तीन महिना तारीखमा झुलाए । (भिक्षु, १९७३ः ङ–छ) यो घटना टक्सारवासीको मनमा अमिट छाप भएर बसेको छ ।

सामाजिक जागरण

राणाकालको अन्त्यतिर ई॰ १९४१(विसं १९९७)को शहीद हत्याकाण्डले नेपाली जनतामा भित्रभित्रै राणा विरोधी भावना बढिरहेको थियो । त्यसमा सुधारवादी पद्म शमशेर ई॰ १९४५ नवेम्वर २९मा प्रधानमन्त्री बन्नु, ई॰ १९४७ जनवरी २५मा भारतमा नेपाली (राष्ट्रिय) कांग्रेस जन्म भई विरोधी जनता संगठित हुनु र त्यसै साल भारत बेलायती उपनिवेशबाट १५ अगस्तमा मुक्त हुनुले नेपालमा सामाजिक परिवर्तनको उत्साह थपियो । भोजपुर र टक्सारमा पनि त्यसकोअसर प्रत्यक्ष पर्यो ।

सरकारी क्षेत्रमा व्यावसायिक विषयमा जोड दिने आधार शिक्षाका विद्यालय टक्सार शिवालय परिसरमा खुल्यो । दानबहादुर कार्की (ई॰ १९२२–२००४) आफ्नो खेतीपातीको काममा तराई जाँदा धरानमा उत्साही युवक जगदीश नेपाली (ई॰ १९२३–८१)भेटे र टक्सारमा अंग्रेजी शिक्षा दिन आउन राजी भए । उनको अगुवाइमा ई॰ १९४७ (विसं २००४)मा टक्सारमा किशोरहरूले शुरुमा वितलप गणेश मन्दिरको पाटीमा, त्यसपछि तीनधारा छेउ मुण्डापाटीमा पहिलोपटक अंग्रेजी शिक्षा सार्वजनिक विद्यालयबाट पाए । त्यसवेला नारदमुनि थुलुङ (मृ॰ १९९१) द्वारा सञ्चालित उदय मीडिल स्कूलले ई॰ १९४८ नवेम्वर १३ (विसं २००५ मंसीर २८)मा स्वीकृति पाई सञ्चालन भइरहेको थियो भने टक्सारमा विद्याधरी मीडिल स्कूल चल्यो पछि यी दुवै मीडिल स्कूल मिली ई॰ १९५१ (विसं २००२)मा भोजपुर–टक्सार वजार बीचमा डांडागाउँमा विद्योदय हाईस्कूल जन्म्यो ।

खिकामाछा टक्सारको नवयुवकहरूमा ज्ञानको उज्यालो भर्न विद्याधरी सार्वजनिक पुस्तकालय स्थापनाको ठूलो भूमिका रह्यो । सो पुस्तकालय विद्याधरी स्कूलमै शिक्षक जगदीश नेपालीको सक्रियतामा दानबहादुर कार्कीबाट २०० पुस्तक प्रदान भएर शुरू भएको थियो । त्यसमा तत्कालीन नेपाल–भारतमा प्रशिद्ध पत्रिकाहरू आउँथे । नवयुवकहरूमा नयाँ नयाँ विषय ज्ञान, राजनैतिक चेतना बढाउने खुराक त्यहाँबाट पाउँथे । सो पुस्तकालय अहिलेसम्म सञ्चालनमा छ । यसको लागि शुरुमा ई॰ १९५१ (विसं २००८)मा सञ्चालक समितिका सभापति बनेका पूर्णबहादुर ताम्रकार (ई॰ १९२३–९०)को निधन २५ अगस्त १९९० (विसं २०४७ भाद्र ९)मा भएपछि उनको माता–पिताको नाममा देव–मान भवन परिवारबाट महेन्द्रपार्कमा बनाइदिए पछि सो पुस्तकालयले स्थायी घर पाएको छ । नेपालको वर्तमान अवस्थामा समाजमा केही प्रतिष्ठा कमाएका बालकृष्ण हलवाई (ई॰ १९५१–३), काशीनाथ तमोट (ई॰ १९५७–६२), भीमकृष्ण उदास (ई॰ १९६३–४) तत्कालीन समयमा पुस्तकालयाध्यक्ष थिए ।

नेपालमा ई॰ १९५१ (विसं २००७)को राजनैतिक परिवर्तनमा भोजपुरको विशिष्ट भूमिका छ । नारदमुनि थुलुङ्गको राजनैतिक नेतृत्व, रामप्रसाद राईको सैनिक नेतृत्वले ई॰ १९५० डिसेम्वर ९ (विसं २००७ मंसीर २४) मै नेपाली कांग्रेसको मूल नेर्तृत्वले वीरगञ्ज कव्जा गर्नु अघि भोजपुर आफ्नो हातमा लिइसकेको थियो । त्यसमा टक्सारतर्फबाट प्रजातन्त्रवादी दानबहादुर कार्की, खड्गबहादुर कार्की, पूर्णबहादुर ताम्रकार आदि र वामपन्थी विचारधाराका पूर्णलाल उदास, केदारनाथ श्रेष्ठ, देवराज शाक्यहरुको योगदान रह्यो । त्यसवेला भूमिगत नेता, कार्यकर्ताहरूलाई टक्सारले सुरक्षा प्रदान गरेको थियो भने ई॰ १९५१ फेब्रुवरी १८ (विसं २००७ फागुन ७)मा प्रजातन्त्र घोषणा अघि विविध व्यवस्था गर्न स्थानीय सरकारलाई टक्सारका युवा, साहुमहाजनहरूबाट विशेष सहयोग मिलेको थियो ।

खिकामाछा टक्सारका इतिहासका उकाली ओराली यस्तै रह्यो । ई॰ १८१५ देखि शुरु भई ई॰ १९६१ सम्म उकालो लागेको त्यसपछि ओराले लागेको लाग्यैछ । बजार सुनसान हुँदैछ, पुराना गौरव गरिमा कथा बन्न थाले । टक्सारवासी जहाँ रहे पनि बन्दिपुरेहरूले आफ्नो ठाउँको विकास गरे जस्तै यसको पुररुत्थान गर्न सक्छ । यसको लागि ई॰ २०१६ फेव्रुवरी १३–१९ (विसं २०७२ फागुण १–७)को खिकामाछा टक्सार द्विशतवार्षिक समारोह पुनर्जागरणको आरम्भ विन्दु हुन सक्नेछ ।

सन्दर्भ–सूची

अनागारिका सुशीला, ई॰ १९९५ (अनागारिका सुशीलाया) आत्मकथा । यल ः अनागारिका अनुपमा, नेसं १११५ ।

अर्जेल, ऋषिराम, ई॰ १९८५ माझकिरात । भोजपुर ः राजेन्द्र प्रधान, विसं २०४२ वैशाख ।

आचार्य, बाबुराम, ई॰ १९६८ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (संक्षिप्त जीवनी, ईसं १७२३–७५),

भाग ३ । काठमाडौं ः श्री ५ महाराजाधिराजकार प्रमुख संवाद सचिवालय,

राजदरवार, विसं २०२५ विजयादशमी ।

आचार्य भिक्षु अमृतानन्द, ई॰ १९८२ नेपालमा थेरवाद बुद्धधर्मको संक्षिप्त इतिहास । काठमाडौं ः आनन्दकुटी विहार

गुठी, विसं २०३८÷नेसं ११०८ ।

“ऐतिहासिक सामग्री”(बुद्धरत्न शाक्य), टक्सार रैकर, हाल विशालनगर काठमाडौं । खिकामाछा टक्सार स्मारिकामा

प्रकाशित ।

कर्माचार्य, हरेराम, ई॰ २०१० “कुशल वक्ता स्व॰ लक्ष्मीबहादुर हलवाई र नेवाः देय् दबू” । रमना श्रेष्ठ–श्रृजन

श्रेष्ठ (सं॰) — हाम्रो पूजनीय बुवाको पुण्यस्मृति (धरान ः इन्दिरा हलवाई र अरु,

विसं २०६७), पृ॰ १९–२१।

कार्की, दानबहादुर, ई॰ १९९६ भोजपुर रोइरहेछ । काठमाडौं ः प्रल्हाद कार्की, (विसं २०५३ असोज) ।

कार्की, भीमेन्द्रबहादुर, ई॰ २०१५ भोजपुरका दाख । विराटनगर ः शान्ता कार्की, विसं २०७२ श्रावण ।

गोतामे, श्याम (सं॰), ई॰ १९७५ नेपाल ः केही ऐतिहासिक प्रलेखहरू, खण्ड १ । कीर्तिपुर ः नेपाल र एशियाली

अध्ययन संस्थान, विसं २०३२, संख्या १९६, पृ॰ ६३ । (लिथो प्रकाशन)

तमोट, काशीनाथ, ई॰ १९६६ “भोजपुरका दुइ अज्ञात दाजु–भाइ” । हिमानी (त्रैमासिक), २ः३, (विसं २०२१

आश्विन–२०२२ फागुन), पृ॰ ८७–९९ ।

तमोट, काशीनाथ, ई॰ १९९२ भोजपुरया अभिलेख । यल (ललितपुर) ः रामबहादुर तुलाधर परिवार, विसं

२०४९ असोज ।

तमोट, काशीनाथ, ई॰ २०११ “ई॰ १८४८ या खिकामाछा टक्सार” । झीगु स्वर्ण स्मारिका, २०६७ (धरान ः

झीगु समाज, नेसं॰ ११३१), पृ॰ ३३–३४ ।

तुलाधर, लाभरत्न, न्हूसम्पादन ई॰ २०१३ बौद्धर्षि महाप्रज्ञाया आत्मकथा । सिद्धार्थनगर ः पूगताभूमि जेतवन

विहार, नेसं ११३३ ।

नेपाल, वृद्धिलाल, ई॰ १९६८ “तीनधारे पाठशाला” । ज्ञानमणि नेपाल (सं॰) — वनका फूल (भोजपुर ः ने॰इ॰

विकास समिति, विसं २०२५), पृ॰ २०–२१ ।

नेपाल, ज्ञानमणि, ई॰ २०१५ “मन्तव्य” । भीमेन्द्र कार्की, ई॰२०१५ मा, पृ॰ क–ढ ।

नेपाल, वैयाकरण, ई॰ १९६१ “टक्सार वर्णन” । ज्ञानमणि नेपाल (सं॰)– पुराना कविता (भोजपुर ः नेपाल

इतिहास विकास समिति, विसं २०१८), पृ॰ ५९–६०, “टक्सार परिचय” –

सम्पादक, पृ॰ ५६–५८ ।

“न्याम्ह भिक्षु पित्युंगु (पाँच भिक्षु निष्काशन)” । अन्तर्राष्ट्रिय मञ्च, ८ः५७ (नेपालसम्बन्धी वार्षिक अङ्क, २०४९ तथा

नेपाल विश्वकोष) । सम्पादक नवराज अधिकारी, शैलेश भट्टराई, काशीनाथ

तमोट । (नेवारी शब्दकोश), पृ॰ १०७ ।

पोख्रेल, लीलाकान्त, ई॰ २०१५ “शिवालय वर्णन” । भीमेन्द्र कार्की, ई॰ २०१५ मा संलग्न, पृ॰ २७३–२७५ ।

पोख्रेल, लीलाकान्त, ई॰ २०१५ “कविता”(रणध्वज–सन्तान–वर्णन) । भीमेन्द्र कार्की, ई॰ २०१५ मा संलग्न, पृ॰

२७६–२८६ ।

भिक्षु, सुबोधानन्द, ई॰ १९७३ “शाक्यमुनि विहारया ऐतिहासिक परिचय” । भिक्षु सुबोधानन्द–सप्तबोध्यंग धर्म

भावना (टक्सार ः पुण्यधन व मेपिं, नेसं १०९३), पृ॰ क–ङ (लिउने) ।

मानन्धर, जीतबहादुर, ई॰१९७२ “हुलाक टिकट र फिलाटेली” । ह्ुलाक (द्वैमासिक, सं॰ उद्धवप्रसाद काफ्ले(

बवरमहल ः हुलाक प्रशिक्षण केन्द्र, विसं २०२९ पौष १४÷डिसम्वर२८), पृ॰९–

१५ ।

राजवंशी, लक्ष्मण, ई॰ २०११ “लुमन्ति–छपाः किपा” । झीगु स्वर्ण स्मारिका, २०६७(धरान ः झीगु समाज, नेसं

११३१), पृ॰२७–३१ ।

वज्राचार्य, गणेश, ई॰ १९९५ “विद्याधरी सार्वजनिक पुस्तकालय (संवत् २००५ देखि २०५१ सम्म)” ।

विद्याधरी स्मारिका, २०५२, टक्सार ः विद्याधरी सार्वजनिक पुस्तकालय), पृ॰ ६–

१३ ।

वज्राचार्य, गणेश, ई॰ २००९ टक्सार (एक चिनारी) । टक्सार ः यशोधरा माध्यमिक विद्यालय, विसं २०६६

वसन्त पञ्चमी ।

शाक्य, लालधन, ई॰ १९९४ “टक्सार बजारको संक्षिप्त शैक्षिक इतिहास” । गणेश वज्राचार्य (प्र॰सं॰) — नयाँ

किरण (वार्षिक मुखपत्र, २०५१), (टक्सार ः यशोधरा माध्यमिक विद्यालय), पृ॰

१–५ ।

श्रेष्ठ, श्यामगोविन्द, ई॰ २०१० “स्मृतिमा मात्र लक्ष्मीबहादुर हलवाई” । रमना श्रेष्ठ–श्रृजन श्रेष्ठ(सं॰) — हाम्रो

बुवाको पुण्यस्मृति (धरान ः इन्दिरा हलवाई र अरू, विसं २०६७), पृ॰ २२–२४ ।

हलवाई, ललितबहादुर र

सत्यनारायण ताम्रकार, ई॰२०१० देवबहादुर हलवाई र भोजपुर–टक्सार । काठमाडौं ः शुभ सफूकुथि प्रकाशन,

विसं २०६७ ।

सिंह, टोपबहादुर, ई॰ १९८८ कानूनी शब्दकोष । द्वि॰ संस्करण (प्र॰ १९८१) । कीर्तिपुर ः पाठ्यक्रम विकास

केन्द्र, विसं २०४५ ।

कुराकानी

बालकुमारी ताम्रकार–श्रेष्ठ (ई॰ १९३०–२००८) — टक्सार, भोजपुर ।

परशुराम श्रेष्ठ (ज॰ ई॰ १९४६), बवरमहल, काठमाडौं ।

नन्दराज शाक्य (ज॰ई॰ १९५५), इमाडोल, ललितपुर ।

वसन्त उदास (ज॰ई॰ १९३२), शान्तिनगर, नयाँ बानेश्वर ।

बालकृष्ण तुलाधर (ज॰ १९४६॰), महालक्ष्मीस्थान, ललितपुर ।

Cavenagh, O., Captain, 1851 Rough Notes on the State of Nepal, Calcutta, p. 77. As quoted in

Rhodes et al., p. 182.

Hodgson, B.H., 1972 Essays on the Languages, Literature and Religion of Nepal and

Tibet. Reprint(First 1874). New Delhi: Manjusri Publishing

House. “On the commerce of Nepal”, pp. 91–121.

Hodgson, B.H., 1988 “From Kathmandu to Darjeeling”. Regmi Research Series,

20:1(Janaury), 2–11. Reprinted from journal of the Asiatic Society

of Bengal, 17,2 (July-Dec. 1948, pp. 634–46).

“Kulananda Jha”. Regmi Research Series, 12:11(Nov. 1980), 166–168.

“Lead-Mining in the Eastern Hills”. Regmi Research Series, 12:6 (1 June,1980), 81–82.

Manandhar, Tri Ratna, 2002 Date Conversion Chart : Bikram/Christian Era, 1808–1963/1752-

1906 AD. Kirtipur : CNAS, TU.

Nepal Residency Records, 1876 quoted in W.W.Hunter, ed.(London, 1886), vol. x, p.283. As

quoted in Rhoes et al., p. 182.

Sen, Jahar, 1977. Indo-Nepal Trade. Calcutta, pp. 94–101. As quoted in Rhodes et al.,

p.182.

Rhodes, N.G., K. Gabrisch, C. Vadettaro P.D.R., 1989 The Coinage of Nepal from the earliest

times until 1911. London : Royal Numismatic Society.

Vajracarya, Dhanavajra and Kamal P. Malla, 1985 The Gopalrajavamsavali. Wiesbaden: Franz

Steiner Verlag.

Appendix

English Extracts

1. It is a village of Kirantis in which a mint for coining copper is established by the Durbar of Nepal. The workmen are Banras (Bandyas) of the valley of Nepal, of whom there may be 50 or 60. There is also a Taxsari, or mint master, and a squad of 25 soldiers under a jamadar.

(Hodgson, 1848\1988:7)

2. Nepal is full of fine copper, and supplies copper currency to the whole tract of the plains between the Ganges and the Hills, Monghyr and Pilibheet. Iron too abounds in Nepal, and much coarse Hardware is exported to the same tract of the Plains.

There are Lead, Sulphur and Zinc mines in Nepal, but no skill to work them profitably. A deal of each is imported from the plains and also of Tin, with which last, and with the Zinc got from us, the Nepalese mix their own copper, and make a great variety of mixed metals in s superior style. From the article Copper Pots to the end, the whole are the produce of Nepal, except the silver of the Nepal Rupees.

(Hodgson, 1857\1972 : 119)

3. Along the tract from Baraich to Champaran, the current coin of exchange is the Bhutawaliya or Gorakhpuri pice, a square lump of purified copper, roughly cut by hand with an apology for a stamp; 75 of those go to the Indian rupee… These Bhutawaliya pice are made at Tansen, the Palpa district of Nepal. In the extreme east and north-east, the common coin is the black, or Lohiya pice, of which 107 go to the Indian rupee. These are of no better shape or manufacture them the Bhutaliya pice, and they are of less value owning to the large admixture of iron. There are several mints for their production in the eastern hills, the best known being at Khika Maccha. They are commonly met with in North Behar from Champaran to Purniah.

(Rhodes et al., 1989:182)

परिशिष्ट

माझकिरात÷खिकामाछा सम्बन्धी लिखत सूची

(महेशचन्द्र रेग्मीद्वारा रेग्मी अनुसन्धान परियोजनामा सङ्कलित)

(आर्थिक इतिहासकार महेशचन्द्र रेग्मी (ई॰ १९२९–२००३)ले आफ्नो जीवनकालमा मूलतः नेपाल सरकारका कार्यालयबाट र अन्य विविध स्थानबाट आधुनिक नेपालको इतिहास सम्बन्धी ९० ठेली लिखतहरू सार्न लगाएर जम्मा गर्नुभएको छ । सो रेग्मी अनुसन्धान सङ्ग्रह (रेअसं Regmi Research Collection) लिखत नेपाल–जर्मनी हस्तलिखित ग्रन्थ संरक्षण परियोजना (ई॰ १९७०–२००१)ले ई॰ १९८९ अगस्तदेखि १९९८ मेसम्म ई श्रृंखला (E Series)मा माइक्रोफिल्म गरी राष्ट्रिय अभिलेखालयमा सुरक्षित गरिएको छ । यहाँ माझकिरात र खिकामाछा साथै कुलानन्द झा सम्बन्धी लिखतहरू छानी सूची प्रस्तुत गरिएको छ । — लेखक)

१॰ विसं १८७१ आश्विन वदि १ — जस्लाये नेवारलाई माझकिरातमा तामा र फलाम खानी चलाउन इजारा स्वीकृत । रेग्मी अनुसन्धान सङ्ग्रह (रेअसं), ठेली ४१, क्रमसंख्या ६२४, पृष्ठ ६१५, नेजहसंप ई २४५१÷१।

२॰ विसं १८७२ मार्ग सुदि १५ — हनूमन्तसिंहलाई विजयपुरको शस्त्रागार (गट्टाघर÷म्यागजिन)मा माझकिरात र पल्लोकिरातका खानीबाट फलाम र तामा आपूर्ति गर्न आदेश । रेअसं ठेली ४२, क्रम २५९, पृ॰ १५१, ई २४५१÷२–२४५२÷१ ।

३॰ विसं १८७३ चैत्र सुदि १३ — कुलानन्द झालाई सांगादेखि मेची नदी बीच क्षेत्रका खानीहरू सञ्चालन गर्न इजारा स्वीकृति । रेअसं ठेली ३६, क्रम ४३०, पृ॰ ५२१, ई २४४१÷२ ।

४॰ विसं १८७४ वैशाख वदि १० — श्रीकृष्ण चौधरीलाई खिकामाछा भोजपुरमा बाँझो जग्गामा सिँचाइ कुलो बनाउन र मर्मत गर्न झारा लगाउन स्वीकृति । रेअसं ठेली ४१, क्रम ६६३, पृ॰ ६५१, ई २४५१÷१ ।

५॰ विसं १८७४ ज्येष्ठ वदि ४ — कुलानन्द झालाई स्वीकृत इजारा अन्तर्गत सांगादेखि मेची नदीसम्मका बीचका क्षेत्रमा तामा खानी र अरुण नदी पूर्व क्षेत्रमा फलाम खानी सञ्चालन गर्न नियमावली जारी गरेको । रेअसं ठेली ४१, क्रम ६७८, पृ॰ ६६६, ई २४५१÷१ ।

६॰ विसं १८७५ कार्तिक सुदि ३ — कुलानन्द झालाई खानी (गोश्वारा)को डीठ्ठा नियुक्त । रेअसं ठेली ४२, क्रम ६६६, पृ॰ ३९८, ई २४५१÷२–२४५२÷१ ।

७॰ विसं १८७५ कार्तिक सुदि ३ — कुलानन्द झालाई पहाडी क्षेत्रका नेवारहरूसंग कारोवार गर्न चौधरी नियुक्त । रेअसं ठेली ४२, क्रम ६६७, पृ॰ ३९९, ई २४५१÷२–२४५२÷१ ।

८॰ विसं १८८० श्रावण सुदि ८ — कुलानन्द झालाई टक्सारी नियुक्त । रेअसं ठेली ३०, क्रम ५१७, पृ॰ ४६२, ई २४३६÷२४–२४३७÷१ ।

९॰ विसं १८८१ माघ सुदि १ — ज्योतिखर पाध्यालाई खिकामाछा बिहरेश्वर मन्दिरको गुठी जग्गा प्रदान । रेअसं ठेली २९, क्रम १९, पृ॰ २१, ई २४३५÷२ ।

१०॰ विसं १८८४ फाल्गुण सुदि १० — टक्सारी कुलानन्द झालाई गुठी जग्गा दानसम्बन्धी ताम्रपत्र अभिलेख उत्कीर्ण गर्न आदेश । रेअसं ठेली ३४, क्रम १९१, पृ॰ १७२, ई २४३९÷२ ।

११॰ विसं १८८५ आषाढ सुदि ३ — खिकामाछा र धनकुटाका खानी(अड्डा)लाई धातु आपूर्ति गर्ने खानीकामदारहरूलाई हटाउन निषेध गरिएको । रेअसं ठेली ४३, क्रम ११४, पृ॰ १०६, ई २४५२÷२–२४५१÷१ ।

१२॰ विसं १८८५ चैत्र वदि ८ — खिकामाछाका खानीहरू सञ्चालन गर्ने सम्बन्धी आदेश । रेअसं ठेली ४३, क्रम १९१, पृ॰ १९५, ई २४५२÷२–२४५३÷१ ।

१३॰ विसं १८८८ वैशाख सुदि १२ — बान्का थापालाई खिकामाछामा छाप जग्गा प्रदान । रेअसं ठेली २७, क्रम ९८, पृ॰१०८, ई २४३३÷२ ।

१४॰ विसं १९०४ वैशाख वदि ३० — अम्वरसिंह कार्कीलाई खिकामाछामा जागिर जग्गाको ठेकवन्दी स्वीकृति । रेअसं ठेली ३५, क्रम ११६, पृ॰ २९९, ई २४४०÷२–२४४१÷१ ।

१५॰ विसं १९०४ वैखाश वदि ३० — धनकर्ण राईलाई खिकामाछामा प्रदान गरिएको किपट सदर गरिएको । रेअसं ठेली ३५, क्रम ११२, पृ॰२९६, ई २४४०÷२–२४४१÷१ ।

१६॰ विसं १९०४ आश्विन सुदि २ — दलवीर खत्रीलाई खिकामाछा माझकिरातमा कूत तिर्ने गरी जागिर जग्गामा खेती गर्न अख्तियारी दिएको । रेअसं ठेली ३५, क्रम १९०, पृ॰ ४६६, ई २४४०÷२–२४४१÷१ ।

१७॰ विसं १९०७ द्विवैशाख वदि १० — माझकिरात खिकामाछा दात्यागौडो ठेक आदेश । रेअसं ठेली ६४, पृ॰ ६९४, ई २४७०÷२ ।

१८॰ विसं १९०७ फाल्गुन सुदि १४ — खिकामाछाका जागिर जग्गाबाट राजस्व असुल गर्न ठेक स्वीकृति । रेअसं ठेली ८१, क्रम ४३, पृ॰ ८१, ई २५२५÷२ ।

१९॰ विसं १९१५ पौष सुदि १ — नाग्रे र खिकामाछाका खानीबाट सैनिक सामान कारखानालाई तामा आपूर्ति गर्ने । रेअसं ठेली ८१, क्रम २२४, पृ॰ ५२७, ई २५२५÷२ ।

२०॰ विसं १९३१ वैशाख सुदि १ — खिकामाछामा मुखिया नियुक्ति । रेअसं ठेली ६८, क्रम ३३, पृ॰ १९५, ई २४९९÷३–२५००÷१ ।

२१॰ विसं १९५७ आश्विन वदि ९ — नाग्रे र खिकामाछा क्षेत्रमा सीसा र तामा खानी चलाउने सम्बन्धमा । रेअसं ठेली ८२, क्रम १० र ७०, पृ॰ ६८ र ४५१, ई २५२५÷३–२५२६÷१ ।

२२॰ विसं १९५८ फाल्गुन सुदि १३ — खानी गोश्वरालाई तामाका मुद्रा र अरू कुराहरू टकमारी गर्न आदेश । रेअसं ठेली ८७, क्रम २, पृ॰ ५९४, ई २५२९÷२–२५३०÷१ ।

थपनी बुद्धरत्न शाक्यको सङ्कलनमा रहेको लिखत

१॰ विसं १९६० फाल्गुण १२ गते रोज ३ — किरात जङ्गी गोला अलैंची मयन एकहट्टी अड्डाको पत्र, कागज, नाप २२×१९॰५ सेन्टिमिटर ।

२॰ विसं १९८१ भाद्र १७ गते रोज २ — खिकामाछा खानी टक्सार अमानत अड्डाबाट भएको मिलापत्र, कागज, नाप ४४×१९॰५ सेन्टिमिटर ।

३॰ विसं १९८१ भाद्र १७ गते रोज २ — खिकामाछा खानी टक्सार अमानत अड्डाको रसीद, कागज, नाप २०×८॰३ सेन्टिमिछर ।

४॰ विसं १९८३ श्रावण ५ गते रोज ३ — खिकामाछा खानी टक्सारको तामा पत्रु खरिदको रसीद, कागज, नाप १९॰३×८॰५ सेन्टिमिटर ।

५॰ विसं १९८४ भाद्र १० गते रोज ६ — खिकामाछा खानी टक्सार अड्डाबाट जारी पूर्जी, कागज, नाप १९×१२ सेन्टिमिटर ।

(बुद्धरत्न शाक्य टक्सार रैकर हाल बालुवाटार, काठमाडौंद्वारा प्रस्तुत यी पाँच लिखतको पूर्ण विवरण खिकामाछा टक्सार द्विशतवार्षिक महोत्सव स्मारिका, २०७२)को पृष्ठ १६१–१६३ मा प्रकाशित छ ।)

(नेपाल इतिहास संघको दुईदिने राष्टिय सम्मेलन ई॰ २०१६ फ्रेबु्रवरी १३–१४ (विसं २०७२ १–२)मा भोजपुर टक्सारमा सम्पन्न पहिलो दिन खिकामाछा टक्सार भोजपुरको द्विशतवार्षिक समारोह अवसरमा प्रस्तुत गोष्ठीपत्र — लेखक)

One clap, two clap, three clap, forty?

By clapping more or less, you can signal to us which stories really stand out.