खिकामाछा टक्सार द्विशतवार्षिक महोत्सव–एक सिंहावलोकन

संसारमा सबभन्दा ठूलो धातुनिर्मित करुवा

पहिले माझकिरात भनिने ठाउँ राणाकालमा जिल्ला बाँड्दा ‘पूर्व ४ नं’ र पछि ७५ जिल्ला बनाउँदा भोजपुर जिल्ला भयो । यसको १७ थूममध्ये एउटा विचमा पर्ने खिकामाछा हो । यहाँ प्रथम विश्वयुद्ध (ई॰ १८१४–१८)ताका नेपालको पूर्वीक्षेत्रका जिल्लाहरु मध्ये माझमा पर्ने माझकिरातमा ई॰ १८१५ (विसं १८७२)मा खानी टक्सार अड्डा स्थापना भयो । त्यहाँबाट त्यस भेगका तामा, फलाम खानी अमानतबाट सञ्चालन हुँदा त्यसको कारोवार बढी एक औद्योगिक केन्द्र नै बन्यो । अड्डा स्थापनाको झण्डै डेढ शय वर्ष यसको धातु उद्योग चुलिंदै गयो । यातायातको समस्या, कच्चा पदार्थको अभाव, पूर्वी तराइमा विकासको लहर चल्दा यहाँका मानिस बसाईं सर्यो र वर्तमान समयमा परित्यक्त खण्डहर जस्तो बन्दै गयो । 
बसाईं सरेका पूर्व टक्सारियाहरू आफ्ना सांस्कृतिक स्थानका गौरवपूर्ण दिनहरू सम्झेर छटपटिन लागे । तिनीहरूले टक्सार स्थापनाको दिन सम्झे–दुई शय वर्ष पुग्न लागेको । यस अवसरलाई तिनीहरूले टक्सारको पुनर्जागरण गर्ने समयको रूपमा प्रयोग गर्ने विचार गरे । टक्सारमै युवाहरु नगण्य मात्रामा भए पनि बाहिर गएकाहरूले साझा संकल्प गरे, साझा प्रयास गर्ने निर्णय गरे । झण्डै साढे चार वर्ष देखि खिकामाछा टक्सार द्विशतवार्षिक महोत्सव मनाउने चर्चा चलाए, समिति बनाए, एक आपसमा लेखापढी गरे, छलफल कार्यक्रम गरे । 
दुई शय वर्ष पुगेको चिह्न के बनाउने भन्ने विचार–विमर्श भयो र निर्णय भयो टक मारेकै ठाउँको त्यही डोली पैसाको स्मारक बनाउने र प्राचीन धातु उद्योगको गरिमाको रूपमा एक विशाल करूवा बनाउने । आर्थिक सङ्कलन शुरू भयो । दाताहरूले करूवा निर्माण, डोली पैसा सङ्कलन, महोत्सव तयारी, स्मारक स्थल सजावट र सुरक्षा घेराको लागि मुठी फुकाएर सहयोग गरे । निर्वाचन क्षेत्र विकास कार्यक्रम, सांसद विकास कोष, जिविस, नगरपालिका, गाविसले आफ्ना बजेट यसमा लगाए । टक्सार सेवा समाज, काठमाडौंले विश्वमा सबभन्दा ठूलो धलौटे करूवा बनाउने जिम्मा लियो । महोत्सव सफल पार्न र स्मारक स्थल सुरक्षित र सुसज्जित बनाउन काठमाडौं, धरान, विराटनगर, सुन्सरी झुम्का, विर्तामोड झापामा सहयोग समिति बने । टक्सार नेवाः खलः, धरानले “उज्यालो टक्सार” कार्यक्रम गरी बजार क्षेत्रलाई सडक बत्तीले झलमल्ल पारे । झण्डै पचास लाख रूपिया उठाए–आवश्यक सडक बनाए, चैत्य मन्दिर सजाए, स्मारक स्थललाई पर्यटकीय गन्तव्यस्थल बनाए । यस पटक टक्सारले नयाँ जुनी फेरे । 
खिकामाछा टक्सार महोत्सव गत १३ फेब्रुअरी, २०१६ (विसं २०७२ फागुन १)देखि एक हप्ता चलेको थियो । त्यसमा भाग लिन पूर्व टक्सारियाहरू काठमाडौं, पूर्वाञ्चलभरिबाट हजारौंको संख्यामा आएका थिए, भोजपुरका भूतपूर्व मन्त्रीहरू, सांसदहरू, विशिष्ट राष्ट्र–सेवकहरू त्यहाँ उपस्थित भए । शुरूकै दिन नेपाल इतिहास संघले आफ्नो राष्ट्रिय सम्मेलन गरेर महोत्सव गौरवान्वित बनाए । देशभरिबाट झण्डै पचास जना इतिहासकारहरु आए । त्यहाँ इतिहासकारहरु र प्रमुख व्यक्तिहरूले खिकामाछा टक्सार स्मारिका, भोजपुरको अभिलेख पुस्तक पाएर सन्तोष व्यक्त गरे । त्यहाँ “सानो पाटन” भनेर चिनिने पूर्वको टक्सार कस्तो रहेछ त भनी काठमाडौंबाट नेपालभाषाका एक साहित्यकार समूह महोत्सव अवलोकन गर्न आइपुगे । 
पूर्वको टक्सारको परिचायक नयाँ स्मारक बनाउनमा केही संघ संस्था र व्यक्तिको उल्लेख्य भूमिका रह्यो । डोली पैसा स्मारक (१४ इञ्च वर्गाकार)मा “टक्सार÷महोत्सव÷२०७२” डोली पैसा नै टाँसी बनाउन धरानका राजेन्द्र–शर्मिला ताम्रकारले ३॰७५ केजी मुद्रा प्रदान गरे । टक्सार सेवा समाज, काठमाडौंले ३५० केजी, ६ फीट ६ इञ्चको कलात्मक करूवा बनाउन लगाए । त्यस स्मारक स्थलमा धम्मसिंङ शाक्य खलः, धरानले २२॰५ किलोको भव्य सुकुन्दा चढाए । सांस्कृतिक उज्ज्वलताको प्रतीक एक जोडी ठूलो पानस देवीमाया शाक्यले आफ्ना दिवंगत पतिको नाममा अर्पण गरे । स्मारक स्थललाई मार्वलमा दाता अभिलेख, टायल र रेलिङद्वारा सुसज्जित गराए । 
यस्तो भव्य महोत्सव सभास्थल महेन्द्र पार्क क्षेत्रस्थित गाविस भवन अगाडि खुल्ला स्थानमा सामान्य ढंगले बनाइएको थियो । त्यसको उद्घाटन गर्न उपप्रधान तथा रक्षा मन्त्री भीम रावल पाल्नु भएको थियो । सुदूर पश्चिमका उहाँ त्यहाँबाट सुदूर पूर्व भोजपुर टक्सार आउँदा नौलो अनुभव गर्नुभयो । अत्यन्त उत्साहपूर्वक कलात्मक, विशाल करूवा वसन्त पञ्चमीको त्यो दिन दिउँसो ठीक एक बजे उहाँले घुम्टो उठाएर उद्घाटन गर्नुभयो । उहाँ मञ्चमा फर्कनु भयो । उहाँले चारैतिर हेर्नुभयो–उत्तरतिर घना सल्लेरी बन छ, त्यसको मुनि कलकल तीनधारा बगिरहेछ, पर पर बाँसका घारी हल्लिरहेछ, सामुन्ने हजारौं मानिस जात्रामा आएका झैँ रमिरहेछन्, ३० रोपनीको फैलावटमा यशोधरा विद्यालयका भवनहरू छन्, नजिक प्रदर्शनी र मनोरञ्जन स्थल छन् । एकजनाले डोकोमा सुन्तला बाँड्न ल्यायो । सो भोजपुरे रसिलो सुन्तला खाँदै मन्त्रीज्यू विचार मग्न हुनुभयो । उहाँले कापी कलम समात्नु भयो, उहाँ कवि हुनुभयो । आफ्नो भाषण गर्ने पालोमा उहाँले सो कविता सुनाउनु भयो –

वसन्त आयो टक्सारमा !
 भीम रावल

टक्सारमा टक्क अडेर हेरें क्या सुन्दर देखियो
टक्मारी गर्ने इतिहास फेरि मन–मनमा लेखियो,
सल्लाको घारी सुसेली खेल्ने बाँसघारी नाचे छ
भोजपुरको छटा सुन्दर कति तनमा साँचे छ ।

गौरव आफ्नो जोगाई राख्ने टक्सारलाई सलाम छ
स्वाभिमान देशको बढाई राख्ने प्रयास यो महान् छ,
वसन्त आयो नेपालैभरि टक्सारमा आयो झन्
मठ र मन्दिर संस्कृति हेर्दा प्रफुल्ल भयो मन ।

जीवन फुलोस् गुराँस झैं सुन्दर फक्रंदै खुशीले
रचना हुन्छ इतिहास पक्कै श्रमको मसीले,
कलाको कृति करुवा हेर मन नै लोभ्याउने 
सफल बनोस् महोत्सव यहाँ भोजपुरैै चिनाउने ।
फागुन १, २०७२, टक्सार, भोजपुर

डोलीपैसाबाट निर्मित स्तम्भ

डोली पैसाको स्मारकको उद्घाटन भने सूचना तथा सञ्चार मन्त्री शेरधन राईले गर्नुभएको थियो । यो महोत्सव साँच्चै पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले भने झैं “पुनर्जागरणको पर्व” सिद्ध भयो । करूवा र पैसा दुवै स्मारक स्थानीय (हाल इमाडोल, ललितपुर) शिल्पकार नन्दराज शाक्यले आफ्नो पचास वर्षे सिद्धहस्त कौशल पोखेर करीव डेढ वर्षमा तयार गर्नुभएको हो । 
यो महोत्सव सफल पार्ने आयोजक समितिका समग्र संयोजक गणेश वज्राचार्य, मध्यमाञ्चल उपाध्यक्ष नरेश ताम्रकार, पूर्वाञ्चल उपाध्यक्ष पुष्पधन शाक्य, कोषाध्यक्ष स्थानीय भरत ताम्रकार, विशेष सल्लाहकार भीम उदास र अनेक अरू सहयोगीहरूको अथक प्रयास प्रशंसनीय एवं स्मरणीय छ ।

Like what you read? Give Kashinath Tamot a round of applause.

From a quick cheer to a standing ovation, clap to show how much you enjoyed this story.