चालिसौं जन्मोत्सव मनाउँदा

अहिले त्रिहत्तरौं जन्म दिन (२ जनवरी २०१८) आउन लाग्दा मलाई मेरो चालिसौं जन्म दिन मनाउँदाको कुरा सम्झना भइरहेछ । मेरो जन्म दिन मनाउने चलन त छैन, तर किन हो चालिसौं जन्म दिन भने मनाइयो — नेसं ११०५ पोहेलागा ५÷ विसं २०४१ पौष २८÷ ईसं १९८५ जनवरी ११ । त्यस बेला घर–परिवार छरछिमेक बाहेक नेपालभाषा शब्दकोश निर्माणका सहायक सरस्वती तुलाधर र उनका श्रीमान्, छोरा पनि आएका थिए । त्यस बेला बूढानीलकण्ठ स्कूलमा पढिरहेका छोरा यलम्बर पनि घरमा थियो । उनले मेरो जन्म दिनमा एउटा कविता सुनायो — ‘कोशिस’ ।

जन्म दिनमा खुशी हुनु पर्ने हो, तर मेरो मनमा भने आज म मर्ने दिन हो भन्ने लागेर कता कता डर डर लागिरह्यो । छोराको कवितामा भनिएको कुराको पनि नकारात्मक अर्थ लाग्न थाल्यो –

म पनि एक बाबुको र आमाको छोरा हुँ

मलाई टुहुरा पनि नभन

उसको ‘टुहुरा’ नभन भनेको त उ भोलिदेखि टुहुरा हुन लागेको अभिव्यक्ति जस्तो लाग्यो । मलाई मनोरोग लागेछ । कहिं जाँदा पनि लडिएला, ठोकिएला, दुर्घटनामा परिएला जस्तो लाग्यो । म क्याम्पस पढाउन जसोतसो जान्थें तर नेपालभाषा शब्दकोश निर्माण गर्न मैतीदेवी अफिस दिउँसो एक्लै जान डर लाग्यो । केही दिन छोरा भए छोरा, नभए श्रीमती साथमा जाने गरें ।

मनोरोग लाग्यो, उपचार त गर्नु पर्यो । त्यस बेला मध्य बानेश्वरमा युवा–बाल निर्देशन केन्द्र सञ्चालन गरिरहनु भएका मनोविश्लेषक श्री सरोजकुमार शाक्यकहाँ गएँ । उहाँ मैले चिनेको तेह्रथुमको साहित्यकार एवं मनोविज्ञानवेत्ता हुनुहुन्छ । उहाँसंग मैले १६ जनवरी देखि ६ अप्रिलसम्म पौने ३ महिना मनोवैज्ञानिक साहुति लिएँ र निको भएँ । त्यस बेला बुझेको मनोविश्लेषण मलाई जीन्दगीभर काम आयो, केही घटना विशेषको मनोविश्लेषण गर्ने बानी बस्यो ।

सरोजकुमार शाक्य (१९२८–२००८)ज्यूले मलाई बच्चादेखिको आफ्नो जीवनी भन्न लगायो । मैले भनें — मेरो बाजेले बाहरुलाई ऋण बोकाएर गयो । बाहरु मामाघर पालिएर हुर्के, हाम्रो परिवार ठूलो छ, खान — लाउन मुश्किल छ, ढिलो पढाइ भयो । मानिसहरु मेरो कान सानो छ, चाँडै मर्छस् भन्थे, आदि । उहाँले मलाई यो “टीन–एज” को नराम्रो प्रभाव परेर पलायन प्रवृत्ति भएको बताए ।

मैले २० नभेम्बर १९७३ मा एसओएएस बालग्राम, सानो ठिमीमा कार्यरत मञ्जु (याक्थुम्बा)संग वैवाहिक बन्धनमा बाँधिए पछि, उनले अत्यन्त मान्ने बालयोगीश्वरको आत्मज्ञान धर्मका कुरा सुन्दै आएको थिएँ । सो धर्ममा दीक्षित व्यक्तिहरुले अवतारवाद, पुनर्जन्म, आत्मा अमर छ, यो भौतिक संसार क्षणिक हो आदि कुरामा विश्वास गर्छन् र श्रीमतीले त्यस धर्ममा दीक्षित हुन प्रत्यक्ष–अप्रत्यक्ष दवाब दिइरहन्थे । म ती कुनै कुरा नमान्ने, यही संसार सत्य हो, यहीं गरेका कर्मको फल भोगिन्छ, परलोक, परजन्म आदि सब धर्मको खोल ओढेको भ्रम हो भन्ने मान्छु । श्रीमती मैले गरिरहेका सिर्जनात्मक कामहरु अर्थहीन मान्ने, म अर्थयुक्त र समाजलाई अगाडि लाने काम गरिरहेको भन्ठान्ने वीच ११ वर्षसम्म संघर्ष गरिरहेको रहेछु । यसरी भावना दबाइराखेकोले मेरो चालिसौं वर्षमा त्यो मनोवैज्ञानिक रुपले विस्फोट भएको रहेछ । मेरो किशोरावस्थामा परेको नराम्रो छापले गर्दा मैले मेरो आयु ४० वर्ष तोकेको रहेछु !

सरोजकुमार शाक्यज्यूले मलाई उहाँले विकास गर्नुभएको “मनोविश्लेषणात्मक तालिका” देखाई पूर्वीय र पाश्चात्य मनोविज्ञानको कुरा बताउनु भयो । उहाँले मानिसलाई कामतत्व (क्ष्म), अहं (भ्नय), पराहं (क्गउभच(भनय) कसरी प्रभाव परिरहन्छ भन्ने बुझाउनु भयो । सपनाको महत्व अर्थ्याउनु भयो । पाश्चात्य फ्रायड, युंगहरुको मनोविज्ञान र पूर्वीय दार्शनिकहरुको धर्मोपदेशमा लुकेको मनोविश्लेषण सुनाउनु भयो । उहाँले मेरो मनोरोगबारे गरेको विश्लेषण लेख्न भन्नु भयो । मैले जनवरी १६ देखि ३०, १९८५ सम्म सो डायरी लेखें । अहिले पढ्दा आश्चर्य लाग्छ । मलाई मृत्यु–भय (त्जबलबतयउजयदष्ब) मनोरोग लागेको रहेछ । त्यस बेला नेपालभाषा प्राचीन शब्दकोश निर्माण गर्दाको अमेरिकी साथी इयन अल्सपले भन्थ्यो — ४० वर्षमा मर्छ भनेको, अब अरु ४० वर्ष बाँच्छ ।

कोशिस

– यलम्बर तमोट, वर्ष १०

म पनि एउटै रगतको मानिस हुँ

मलाई लजालु भनी नहेप

म पनि पढ्न सक्छु

मलाई नपढ्ने पनि नभन

म पनि एक बाउको र आमाको छोरा हुँ

मलाई टुहुरा पनि नभन

म परिश्रमी बनेर देशको विकास गर्नेछु

म परिश्रमी बने पछि नेपाल आमा खुशी हुनेछिन्

त्यसकारण नै अहिलेदेखि म कोशिस गरिरहेछु

कोशिस गरेपछि के नै पो नहुने हो र

अल्बर्ट आइन्स्टाइन जस्तो वैज्ञानिक

मार्टिन लुथर जस्ता ठूला मास्टर बन्न सकिन्छ

साँच्चै नै हो रहेछ यो संसार कोशिसमै अडिरहेछ

त्यसै कारण हेर्नुहोस् दाजुभाइ जुवा तास

जस्ता खराब चीज त्यागेर यो कोशिसतिर लागौं ।

(बालसंगालो, अंक ५ । विसं २०४७ भाद्र, पृ॰ २४ । अनिता शर्माद्वारा सम्पादित हस्तलिखित मासिक प्रकाशन, शुभ सफूकुथि, बानेश्वर ।)

One clap, two clap, three clap, forty?

By clapping more or less, you can signal to us which stories really stand out.