Kashinath Tamot
Nepalmandal
Published in
2 min readAug 25, 2020

--

तीनकुने बुद्धपार्क डिजाइनको आशय

काठमाडौ महानगरपालिकाले बागमति नदी र त्रिभुवन विमानस्थल छेउ, वडा ३२ कोटेश्वरको तीनकुनेमा अन्तर्राष्ट्रियस्तरको पार्क बनाउने भएछ, खुशीको कुरा हो। त्यसको डिजाइन चित्रसहित पत्रकार प्रकाश धौलाकोटीले रिपोर्ट प्रकाश गर्नु भएको छ।(नयाँ पत्रिका, २९ जुलाइ २०२०, पृष्ठ ३)

करीब दुई हजार परिवार आबद्ध रैकर, मोही-‍तल्सिङ, गुठीको करीब ५३ रोपनी जग्गा त्यहाँ पार्क बनाउने सोचका साथ पञ्चायत सरकारले २७ मे १९७४मा अधिग्रहण गर्यो। त्यसलाई लोकतान्त्रिक सरकारले १९९५मा आफ्नो नाउँमा लगत कट्टा गरिलियो। सो जग्गाको मुआब्जा विवाद अहिलेसम्म समाधान भएको छैन, तर गणतन्त्रकालमा काठमाडौ महानगरपालिकाले ई. २०१९/२०को आ.व.मा पार्कको डिजाइन तयार गरेको छ।

४६ वर्षमा शुरुमा “तीनकुने पार्क” , त्यसपछि “आधुनिक बगैंचा”, त्यसपछि “तीनकुने शान्ति मण्डला” बनाउने सोच राख्दै पछिल्लो पटक “अन्तर्राष्ट्रियस्तरको आधुनिक बुद्धपार्क” बनाउने भएछ। रिपोर्ट अनुसार त्यहाँ बिचमा १६.४६ मीटरको तीनतले स्तूप बनाइने छ, जसमा पहिलो तलामा पार्किङ, दोस्रोमा ध्यानकेन्द्र, तेस्रोमा क्युरेटर शप (सौगात पसल) हुनेछ र त्यसमाथि १६ मीटर अग्लो बुद्धमूर्ति रहनेछ। तीनकुनेको तीन कुनामा ब्रह्मा, विष्णु, महेश्वरको प्रतीक राखिनेछ।

म तीनछक परें। वर्तमान महानगरपालिकाको प्रमुखको दिमागले त्यहाँ अलिकति व्यापारिक प्रयोजन घुसाइहालेछ। पार्किङस्थल नै भएपछि त्यहाँ व्यापारिक आवतजावत हुने नै भयो।

फेरि अन्तर्राष्ट्रियस्तरको आधुनिक पार्क बनाउने नाममा तीनकुने त धार्मिकस्थल पो हुने भयो, बुद्धजयन्तीको दिन त्यहाँबाट जुलुस निकालेर तीन सहर घुम्न पायक पर्ने भयो। सार्वजनिक स्वास्थ्यलाभको पार्कमा धार्मिक, राजनैतिक संरचना हुनु नहुने हो, त्यसले जनतालाई विभाजित गर्छ र त्यस स्थानप्रति अपनत्व लिन नसकिने हुन्छ। बरु नेपालीपनको प्रतीक टुँडिखेलमा मासेको चौतारो त्यहाँ ब्युँताए हुन्थ्यो, प्रशिद्ध मूर्ति कलाकारहरुको कलाकृति त्यहाँ ठड्याए हुन्थ्यो।

म अझ तीनछक परें- त्यहाँ तीन कुनामा वेदज (हिन्दु)धर्मका त्रिदेवलाई त तीन कुनामा धार्मिक सहिष्णुताको प्रदर्शनस्वरुप राखिने रे। नेपालको धार्मिक सहिष्णुताको अर्थ एकै देवतालाई आफ्नो आफ्नो आस्थाअनुसारको स्वरुपमा मान्नु हो, अथवा बराबरी स्तरमा आफ्ना धर्मप्रतीक राख्नु हो। यहाँ बुद्धलाई सर्वोच्चस्थान र वेदजदेवतालाई पहरेदारको रूपमा पो राखिने भएछ।

इतिहास-पुरुष बुद्धलाई पौराणिक पात्रको रूपमा चित्रण गर्ने चलन नेपालको बौद्ध साहित्यमा १९औं शदीदेखि देखापरेको हो। वेदजधर्मले बुद्धलाई विष्णुको नवौं अवतार मानेपछि बुद्धधर्मले वेदजदेवताहरुलाई “लोकपाल” (दिक्पाल) बनाइदिए। पाशुपतक्षेत्र कोटेश्वरको तीनकुनेमा बुद्धपार्क बनाउने डिजाइनमा यस्तो आशय झल्किन्छ।

--

--