नेवार परिचायक मूल चाडपर्व

सामान्य परिचय
नेवार समुदायको निर्माण उत्तर र दक्षिण एशियाको मानिसहरुको सम्मिश्रणबाट भएको हो । त्यसैले नेवारहरुमा एक विशिष्ट पहिचान बोकेको संस्कृति विकास भएको छ, जुन अन्य उत्तर वा दक्षिण एशियाइ जातिको भन्दा भिन्न छ । हिमालको काख नेपालको मध्यपहाडी भूभाग नेपालमण्डलमा विकसित यो जाति प्राचीन कालदेखिनै व्यापार र कामको सिलसिलामा एशियाका कतिपय देशहरुमा छरिए । तिनीहरु जहाँ गए पनि तिनीहरुले आफ्नो मूल संस्कृति सानो, ठूलो रुपमा बचाइ राखे । आफ्नो मूल वासस्थान नेपालमण्डलमा नेवारहरुको वर्चस्व त हुने नै भयो, तर उनीहरुले नेपाल अधिराज्यका विभिन्न जिल्लामा अझ अन्तर्राष्ट्र भारतको सिक्किम, दार्जिलिङ्ग, चीनको तिव्वतमा संगठित भई आफ्नो स्थानको पहिचान कायम राख्ने काम गरिरहेछ । ती स्थानहरुमा धेरथोर रुपमा आफ्नै स्थानीय स्वरुपमा मूल नेवारी चाडपर्व मनाउने गरेको पाइन्छ । सिक्किममा त मूल स्थानवासी नेवारहरुसंग सम्पर्क राखी आफ्नो संस्कृतिको पुनर्जागरण 
गर्ने जमर्को समेत गरेको पाइन्छ । 
दक्षिण एशियाइ विविध जाति तथा समुदायहरु मध्ये नेवार बढी मात्रामा चाडपर्व मनाउने समुदायमा पर्छ । यस समुदायमा विभिन्न स्थानमा झण्डै प्रति पक्ष (१५ दिन) एक न एक चाडपर्व मनाइरहेको हुन्छ । नेवार उत्तर र दक्षिण छिमेकी देशको विभिन्न स्थानबाट आई घुलमिल भएर रहेका समुदाय हुनाले यो असमानतामा समानता रहेका जाति हो । त्यसैले यस समुदायका संस्कृतिमा विविधता र विस्तृति पाइन्छ । अरु भन्दा भिन्न नेवार परिचायक मुख्य साझा चाडपर्वहरु निम्नानुसार हुने देखिन्छ । 
१॰ पौराणिक जातिको चाड
(१) घण्टाकर्ण चतुर्दशी÷गथांमुगः चःह्रय्
(२) पिशाच चतुर्दशी÷पाहां चःह्रय्
२॰ विशेष देवता पूजा
(३) इन्द्रजात्रा÷यंयाः
(४) दशैं÷मोहनि 
(५) कुमार षष्ठी÷सिठीनखः 
३॰ आमा–बाबुको सन्मान
(६) बाबुको मुख हेर्ने÷बौया ख्वाः स्वये
(७) आमाको मुख हेर्ने÷मांया ख्वाः स्वये
४॰ विशेष चान्द्र दिन
(८) आत्मपूजा÷म्हपूजा
(९) जनैपूर्णिमा÷गुंपुन्हि
(१०) धान्यपूर्णिमा÷योमरिपुन्हि
५॰ विशेष सौर दिन
(११) मकर संक्रान्ति÷घ्यःचाकुसंल्हु
(१२) मेष संक्रान्ति÷खाइसंल्हु

संक्षिप्त परिचय
१॰ घण्टाकर्ण चतुर्दशी (गथांमुगः चःह्रय्)
पुराणहरुमा देवता र मनुष्यको विच देवयोनि प्राणीको अस्तित्व स्वीकारिएको छ । ती देवता र मनुष्यको सहायक हुन्छन् । ती दश थरि मानिएका छन् — विद्याधर, अप्सरा, यक्ष, राक्षस, गन्धर्व, किन्नर, पिशाच, गुह्यक, सिद्ध र भूत । घण्टाकर्ण (कानमा घण्टा झुण्ड्याइएको) भूत महादेवको एक गण हो । नेपालसंवत्को महिना शुक्लपक्षबाट शुरु भई औंसीमा अन्त (अमान्तमान) हुन्छ । विक्रमसंवत्को महिना कृष्णपक्षबाट शुरु भइ पूर्णेमा अन्त (पूर्णान्तमान) हुन्छ । घण्टाकर्ण भूतको पूजा अमान्तमान आषाढ (पूर्णान्त श्रावण) कृष्ण चतुर्दशीमा हुन्छ । नेवारहरु यस दिनदेखि वार्षिक चाड शुरु हुने मान्छन् । यसलाई काय्मचा नखः (छोरोमान्छे चाड) भनिन्छ । यो चाड रोपाइँ सकेको खुशियालीमा खेत, वारी, बाटो, घरमा लुकेर बसेका भूत पन्छाउने कामको रुपमा मनाइन्छ । यस दिन दोबाटोमा घण्टाकर्ण भूतको चित्र निगालो तीन मुठामा बाँधेर ठड्याई राख्ने काम गरिन्छ । साँझ त्यसलाई नदी किनारमा लगेर सेलाइन्छ । टुहुरा केटाहरुले टोलमा जगात उठाई सो काम सम्पन्न गर्छन् ।

२ पिशाच चतुर्दशी (पाहांचःह्रय्)
पिशाच दश देवयोनि मध्ये एक हो । यो पौराणिक पिशाचहरुको चाड हो । यसलाई नेवारहरुले निरन्तरता दिए । यो चाड फाल्गुण (पूर्णान्त चैत्र) कृष्ण चतुर्दशीका दिन मनाइन्छ । पिशाच चतुर्दशी शब्दको विकास नेवारीमा पहिले पासाचःह्रय्, पछि त्यसको महाप्राण रुपमा पाहांचःह्रय्को रुपमा विकास भयो । यस चतुर्दशीमा पिशाच रुप महादेवलाई पूजा गरिन्छ । फोहर डंगुरमा लुकेर बसेको महादेवको पूजा गर्ने अभिप्रायले यस दिन नेवारहरु आगनमा खनेर लुकाइएको शिवलिङ्गको प्रतीक पत्थरलाई पूजा गरिन्छ । भोलिपल्ट औंसीमा घोडेजात्रा गरिन्छ, विहान टोलटोलमा बालबच्चालाई कुमारीभोजन (मरःजा) खुवाई नीरोगको आशा गरिन्छ । पिशाच चतुर्दशी एक किसिमले चान्द्रमान नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव हो । यस दिन र भोलिपल्ट ठाउँ ठाउँ अजिमा (मातृकादेवी)को जात्रा गरिन्छ ।

३ इन्द्रजात्रा (यंयाः)
वर्षाको देवता इन्द्रको नाममा यो चाड मनाइन्छ । यो एकहप्ते चाड हो । यस अवधिमा नाचगान, देवीदेवता प्रदर्शन, समयबजि खाने खुवाउने काम आदि गरिन्छ । नेपालसंवत्को एक महिनाको नाम इन्द्रला छ, जुन एन्दला हुँदै वर्तमानमा यंला (भाद्र महिना) भएको छ । इन्द्रयात्रा — एन्दयात हुँदै यंयाः भएको छ । यो चाड भाद्र शुक्ल द्वादशीमा इन्द्रध्वजोत्थान (लिंगो गाड्ने) गरेपछि शुरु हुन्छ । काठमाडौंको अन्तिम राजा जयप्रकाश मल्लले नेसं ८७७ (ईसं १७५७)मा कुमारीघर बनाई भाद्र शुक्ल चतुर्दशीमा कुमारीको भव्ययात्रा गरेदेखि यस दिनलाई खास इन्द्रजात्रा दिन मान्ने परम्परा बस्यो र कुमारीजात्रा गर्ने परम्परा पनि बस्यो । 
इन्द्र स्वर्गको राजा हुनाले इन्द्रजात्रामा पितृको नाममा बत्ती बाल्ने, शहर घुम्ने आदि पनि गरिन्छ । यस्तो काम खासगरी इन्द्रजात्रा शुरु दिन द्वादशीमा गरिन्छ । इन्द्रजात्रा सप्ताहमा अनन्त चतुर्दशी पनि पर्दछ । अनन्त अर्थात् विष्णुको नामको यो दिन विष्णुृलोक वैकुण्ठको महिमासंग सम्बन्धित छ ।

४ दशैं (मोहनि)
नेपालीहरुले दशैंलाई ठूलो चाडको रुपमा मनाउँछन् । दशैं शब्द दशमीको विकसित रुप हो । नेवारहरुले भने महानवमीको विकसित रुप मोहनि नामले यसलाई चिन्छन् । यस दिन भवानी दुर्गालाई पशुवलि दिइन्छ । नेवारहरु यस दिनलाई स्याक्वत्याक्व (मार हान्ने) भन्छन् । कुमारी फेर्ने बेला भयो भने यसै दिन फेर्छन् । 
हुनत दशैं आश्विन शुक्ल पक्षभरि नै मनाइन्छ, तर यसको मुख्य दिन महाष्टमी, महानवमी र विजयादशमी हो । नेवारहरुमा प्राचीन वस्तीहरुमा विजयादशमीका दिन खड्गजात्रा (पायाः) निकालिन्छ । दशैंमा नेवारहरु दुर्गाका विविध रुपमध्ये उग्रचण्डी (चण्डिका) रुपको आराधना गर्छन् । 
दशैंको शुरुवाट घटस्थापनामा जमराको बिउ छरी गरिन्छ । नेवारहरु यसलाई नलाः स्वने (नवरात्र स्थापना) भन्दछन् । यस दिनदेखि नौ दिन विभिन्न तीर्थस्थलहरुमा बाजा बजाउँदै, गीत गाउँदै तीर्थ सेवा जान्छन् । जमरालाई नेवारहरु नःलाःस्वां (नवरात्र फूल) भन्दछन् । दशमीमा घरका तथा कुलका थकालिबाट टीका थाप्छन् भने अन्य दिन चेलीबेटीहरुलाई नखत्या (चाडको उपलक्ष भोज) खुवाउने गर्छन् ।

५ कुमारषष्ठी (सिठीनखः)
महादेवको जेठो छोरो कुमारको जन्म तिथिको रुपमा यो ज्येष्ठ शुक्ल षष्ठीमा मनाइन्छ । उनलाई कृत्तिका नक्षत्रमा ६ कृत्तिका आमाबाट पालिएकाले उनलाई कार्तिकेय पनि भनिन्छ । स्कन्द उनको अर्को नाम हो । कुमारको जन्म तारकासुरलाई मार्न जन्मेको मानिन्छ । उनलाई सेनानी तथा सेनापति पनि भनिन्छ । प्राचीन कालदेखि उनलाई युद्धका देवताको रुपमा मानिआएको छ । राजदर्वारमा उनलाई इष्टदेवताको रुपमा पुजिन्थ्यो । 
षष्ठी तिथिमा जन्मेको हुँदा नेवारहरु कुमारलाई सिठीदेवताको नामले पुकार्छन् । यो दिन वार्षिक चाडपर्वहरुमा अन्तिम दिन मानिन्छ र म्ह्याय्मचा नखः (छोरीमान्छे चाड)को रुपमा लिन्छन् । सिठीमा विभिन्न थरिका गेडागुडीबाट वःमरि बनाई देवतालाई चढाउँछन् र खान्छन् । संस्कृत वटक शब्दबाट नेवारीमा वः (पुरानो नेवारीमा वह्र÷वल) र हिन्दीमा बारा शब्द विकास भएको छ । यो एशियामै प्रशिद्ध खाना परिकार हो । 
सिठीलाई नेवारहरु आआफ्नो कुलको देवताको प्रतीक रुपमा पनि मान्छन् । सिठी भन्दा अगाडि देवाली (देगुपूजा) सम्पन्न गर्न सकिएन भने यस दिन अन्तिम दिनको रुपमा देवाली पूजा गर्छन् । नयाँ दुलहीलाई यस दिन देवालीपूजामा भित्र्याउँछन् । यस दिन नेवारहरु पानीको स्रोत (धारा, कुवा, जलाशय आदि) सरसफाइ गर्ने दिनको रुपमा लिन्छन् ।

६ बाबुको मुख हेर्ने (बौया ख्वाः स्वये)
आर्य परम्परामा अमान्तमान श्रावण (पूर्णान्त भाद्र)कृष्ण औंसीलाई दिवंगत पितृलाई पिण्ड दिने दिवस मानिएको छ । नेवारहरुले भने जीवित पितृलाई सेवा सत्कार गर्ने दिनको रुपमा विकास गरे । पिता नभएकाहरुले देवस्थल, व्राह्मणहरुलाई सिदा दिने गर्छन् । वर्तमान समयमा यस दिन बाबुको नाममा असहायहरुलाई खानेकुरा र लत्ताकपडा बाँड्ने चलन बढ्दो छ । 
नेवारी नाम “बौया ख्वाः स्वये” मुहावरालाई अनुवाद गरी नेपालीमा “बाबुको मुख हेर्ने” भन्ने गरिएको हो । त्यस दिन बाबुको सेवा, सत्कार, स्मरण गर्ने गरिन्छ । सो दिन छोराछोरी आफ्नो गच्छे अनुसार बाबुको आवश्यकता अनुसार उपहार प्रदान गर्छन् । प्रेम स्वरुप मिठाइ फलफूल र सगुन दिई त्यस दिन बाबुको ‘मुख’ हेर्छन्, अर्थात् विशेष सेवाभाव प्रकट गर्छन् । विवाहित छोरीहरुले त्यसदिन बाबुको लागि माइतमा ‘कु’ (उपहारको भारी) लिएर आई सेवा प्रकट गर्ने विशेष चलन नेवारहरुमा छ ।

७ आमाको मुख हेर्ने (मांया ख्वाः स्वये)
अमान्तमान चैत्र (पूर्णान्त वैशाख) कृष्ण औंसीमा दिवंगत आमाको नाममा श्राद्ध गर्ने आर्य परम्परा चल्दै आएकोमा नेवारहरुले यसमा जीवित आमाको सेवा गर्ने चलन चलाएर सुनमा सुगन्ध थपेको छ । संस्कृत परम्परामा पनि माता, पिता, गुरु, अतिथिलाई देव स्वरुप मान्नु भन्ने आर्ष (ऋषि) वाणी छँदैछ । यस दिन आमालाई सकेसम्म खुशी पार्ने काम गरिन्छ । मिठाइ फलफूल सहित अन्य उपहार प्रदान गरिन्छ । विवाहित छोरी ‘कु’ लिएर माइत आमा भेट्न आउँछन् । 
नेवारहरुमा विशेष प्रचलित जीवित आमा बाबुको सेवा गर्ने मातृ÷पितृ दिवस अहिले राष्ट्र, अन्तर्राष्ट्रमा दिनानुदिन ग्रहण गर्ने क्रम बढ्दो छ । नेवार समाजसंग परिचित विदेशीहरु यस प्रचलनबाट प्रभावित भएको पाइन्छ ।

८ आत्मपूजा (म्हपूजा)
दक्षिण एशियाइ देशहरुमा यमपञ्चक पूजा विशेष महत्वका साथ मनाइन्छ । यमपञ्चक पूजा निम्नानुसार हुन्छन् — 
अमान्त आश्विन (पूर्णान्त कार्तिक) कृष्ण त्रयोदशी — काग पूजा (काग — यमराजको सन्देशवाहक)
 चतुर्दशी — कुकुरपूजा (कुकुर — यमद्वार रक्षक)
 अमावासी — गाई÷लक्ष्मीपूजा
कार्तिक शुक्ल प्रतिपदा — गोरु÷गोवर्धन पूजा
 द्वितीया — भाइ (दाजुभाइ) पूजा
नेवारहरुले यसमा कार्तिक शुक्ल परेवाको दिन म्हपूजा गर्ने मौलिक परम्परा थपिदिएको छ । यो दिन सूर्य भूमध्यरेखातिर हुने दिन रात बराबर हुने शरद ऋतुकालीन चान्द्र दिन हो । यो सो समयको सबभन्दा रमाइलो मौसम हुने दिन हुनाले उत्सव मनाइएको हो । 
नेपालमा ऐतिहासिक कालमा कार्तिक शुक्ल प्रतिपदाका दिन शकसंवत् (ई॰ ७८), मानदेवसंवत् (ई॰ ५७६) र नेपालसंवत् (ई॰ ८७९) शुरु भयो । यसो हुँदा यो दिन झण्डै दुइ हजार वर्षदेखि नयाँ वर्ष मनाउँदै आएको छ । ठूलो खुशियाली तथा नयाँ काम थाल्दा नेवारहरु सगुन लिन्छन् । म्हपूजा त्यही सगुन लिने परम्परा हो । मण्डल बनाई विविध सांस्कृतिक 
सामग्रीले सजाएर घरको महिला मूलीले सबै परिवारलाई शरीर (म्ह) पूजा गरी सगुन लिने हुनाले यसको नाम जनसाधारणमा म्हपूजा (आत्मपूजा) हुन गयो । म्हपूजाको आफ्नै विशिष्ट पद्धति विकास भएको छ ।

९ जनैपूर्णिमा (गुंपुन्हि)
दक्षिण एशियाका आर्य मूल जातिहरु श्रावण शुक्ल पूर्णिमाका दिन विभिन्न धार्मिक काम गर्छन् । तागाधारी जाति सो दिन जनै (यज्ञोपवित) फेर्छन् । सो दिन ब्राह्मणहरु आफ्ना यजमान तथा इच्छुक व्यक्तिहरुलाई रक्षाबन्धन सूत्र (धागो) बाँधिदिन्छन् । भारत र नेपाल तराइमा सो दिन दिदीबहिनीहरुले दाजुभाइलाई राखी (रक्षाबन्धन) बाँधिदिन्छन् । 
ब्राह्मणहरु सो दिन सप्तऋषिलाई तर्पण दिन्छन् र सो दिनलाई ऋषितर्पणी पनि भनिन्छ । 
नेवारहरुले भने नेपालसंवत्का दशौं महिना गुंला (श्रावण)को पूर्णिमा गुंपुन्हिका दिन विशेष स्वास्थ्यवर्धक क्वाँटी (क्वाथ+ति “पाख गरेको रस”) पिउने गर्दछ । यो विभिन्न गेडागुडी मिसाएर टुसा आएको अन्नको पकाइ हो । 
यो समय वाली लगाइराखेको फसल आउनु अघिको अवधि हुनाले नेवारहरुले सो दिन वर्षाका आह्वानकर्ता भ्यागुटालाई खाना खुवाउँछन् । त्यसलाई नेवारहरु ब्याँजा नके (भ्यागुटालाई भात खुवाउने) संस्कृतिको रुपमा लिन्छन् । 
इन्द्रजात्रा जस्तै गुं(ला)पुन्हि साप्ताहिक चाड हो । यस महिनाको द्वादशीदेखि एकहप्ता देवस्थल, विहारहरुमा चढाइएका 
प्राचीन सम्पदा प्रदर्शनीमा राख्छन् । पूर्णिमाका दिन उपर्युक्त धार्मिक कार्य गर्छन् । श्रावण (पूर्णान्त भाद्र) कृष्ण प्रतिपदामा गाइजात्रा (सापारु) सम्पन्न हुन्छ जसमा एक वर्ष भित्र दिवंगत भएका पितृहरुको नाममा जात्रा निकालिन्छ । काठमाडौं उपत्यकाभित्र पाटनमा भने भोलिपल्ट दीपयात्रा (मतयाः) गरिन्छ । बौद्धहरुको पञ्चदान पर्व र गुंला (श्रावण) महिनाभर बाजा बजाई देवस्थल घुम्ने गुंलासेवा पनि यसै बेला हुन्छ ।

१० धान्यपूर्णिमा (योमरिपुन्हि)
मार्ग शुक्ल पूर्णिमा (थिंलापुन्हि), यस दिन पहाडी कृषकहरु आफ्नो गोठ, घर, वरपर सरसफाइ गरी गोठ रक्षक देवता गैंडुको पूजा गर्छन् । त्यसैले यसलाई गैडुपूर्णिमा पनि भन्दछन् । 
यो समय बाली भित्रिएर भकारीमा अन्न भरिराखेको वेला हुने हुनाले नेवारहरु यस दिन अन्न भकारीमा पूजा गर्छन् । सो पूजामा योमरि र धनसंपत्तिका प्रतीक देवी देवता लक्ष्मी, कुवेर, गणेश आदिको मूर्ति पीठोबाट बनाई पूजा गर्छन् । यसलाई कू (भण्डार) पूजा भनिन्छ । कू — किरातकालीन अड्डा कुथेरको विकसित रुप हो । धानको भकारीमा पूजा 
गर्ने हुनाले यसलाई धान्यपूर्णिमा भनिन्छ । यसमा मुख्य योमरि प्रयोग गर्ने हुनाले योमरिपुन्हि भनिन्छ । यो कृषक दिवस 
हो । त्यसैले यसदिन कृषि औजारको पनि पूजा गरिन्छ । यस दिन वलभद्र देवतालाई योमरि माला पहिर्याइ पूजा गरिन्छ । 
घरमा अन्न भरिएर खुशी छाइरहने वेला हुनाले यस दिन टोल वस्तीका केटाकेटी घरघरमा योमरिपुन्हिको गीत (त्यःछिंत्यः) गाउँदै योमरि माग्न जान्छन् । 
मंसीर पूर्णिमाको यस दिन चान्द्रमासको हिसाबले सबभन्दा लामो रात र सबभन्दा छोटो दिन हुने दिन हो । 
नेवारहरुको योमरि परिकार अन्य चाडपर्व, संस्कार संस्कृतिमा पनि व्यापक रुपले प्रयोग गरिन्छ । बफाएर पकाइने स्वास्थ्यवर्द्धक र मिठास हुनाले अचेल यो व्यापारिक प्रयोजनमा पनि लोकप्रिय हुँदै गएको छ ।

११ मकर संक्रान्ति (घ्यःचाकु संल्हु)
दक्षिण एशियाइ देशहरु मुख्यतया पृथ्वीको उत्तरी गोलार्धमा पर्छन् । यस ठाउँका मानिसहरुको लागि सूर्य उत्तरायण हुने दिन अत्यन्त महत्वपूर्ण छ । सूर्यको गति बाह्र मध्ये मकर र मेष राशिमा सर्ने दिन नेवारहरुले ठूलो चाडको रुपमा मनाउँछन् । सौर दिन माघ १ गने सूर्य दक्षिण गोलार्धको मकर रेखाबाट भूमध्येरेखातिर सर्छ । यसलाई मकर संक्रान्ति भनिन्छ । माघ महिनाको नामबाट थारु जाति यसलाई माघी पर्व मान्छन् । प्राचीन समयमा यो नयाँ वर्षको दिन थियो । मकर संक्रान्ति दक्षिण एशियाइ देशभरि नै विशेष महत्वका साथ मनाइन्छ । यस दिन जलाशय, नदी संगमहरुमा स्नान गर्छन्, मेला भर्छन् ।
नेवारहरुले काठमाडौं उपत्यकामा बन्ने चाकु घिउसंग खान्छन् । यसैको नामबाट नेवारीमा यसलाई घ्यःचाकु संल्हु (घिउ र चाकु संक्रान्ति) भनिन्छ । यस दिन हामो (तिल) को लड्डु (तौला) पनि खाने गर्छन् । त्यसो हुँदा यस दिनलाई हामो संल्हु (तिल संक्रान्ति) पनि भनिन्छ । यस दिन तरुल, सुठुनी आदि कन्दमूल खान्छन् । यस दिन खिचडी पकाई खाने परम्परा छ । 
माघे संक्रान्तिको दिन नेवारहरु आफ्ना आमाहरुबाट तालु र कानमा तेल हाली मायालु वातावरणमा आनन्दसंग बस्छन् । विवाहित चेलीबेटी यस दिन माइती बोलाई घिउ चाकु खाई शरीर तन्दुरुस्त बनाउँछन् । प्राचीन समयदेखि यस दिन दानधर्म गने परम्परा छ । यस दिन तिलमाधव देवताको पूजाअर्चना गरिन्छ ।

१२ मेष संक्रान्ति (खाइसंल्हु)
मकर संक्रान्तिको दिन भूमध्यरेखातिर गतिमान हुने सूर्य मेष संक्रान्तिका दिन त्यहाँ पुग्छ । मेष राशिहरुमा पहिलो हो । चान्द्रमान अनुसार यस दिन दिन–रात बराबर हुन्छन् । महिनाहरुमा यस दिन वैशाख १ गते हो । यस विषुवत् दिवस (भूमध्यरेखामा सूर्य पुगी दिन रात समान हुनेदिन) दक्षिण एशियाइ मानिसहरुको लागि उत्सव मनाउन लायक दिन हो । तिनीहरु यस दिन विषुवत्–केतु (विषुवत्–ध्वज, लिङ्गो) उठाई आफ्ना धार्मिक, सांस्कृतिक केन्द्रमा गई उत्सव मनाउँछन् । विषुवत्केतु शब्दको विकास हुँदा हुँदा अहिले विस्केट भएको छ, अझ नेवारीमा बिस्काः मात्र भएको छ । 
वसन्त ऋतुको यस मेष संक्रान्तिको रमाइलो दिनमा नेवारहरु बकैनाको मुजुरा, सुकाएको मुलाको चाना, केराउ, कोइरालो, भुटेको चामलको पिठो मिसाई खायुक्वाटी (तीतो क्वाटी) खाने गर्छन् । यसैको नामबाट यस दिनलाई खाइसंल्हु (तीतो 
संक्रान्ति) भनिएको हो । यस समयको यो परिकार खानु स्वास्थ्यवर्द्धक मानिन्छ । 
नेपालमा मल्लकालीन समयदेखि, खास गरी भक्तपुरमा मेष संक्रान्ति धुमधामले् मनाउने चलन छ । यसको सांस्कृतिक कार्यक्रम एक हप्ताभरि हुन्छ । विषुवत्केतुको विकसित रुप विस्केट शब्दलाई अहिले अन्दाजी जनव्युत्पति अर्थ लगाएर व्यापक भ्रम सिर्जना गरिएको छ । 
मेष संक्रान्ति वैशाख १ गते विक्रम संवत्को नयाँ वर्ष शुरु हुन्छ ।

(यो लेख दक्षिण सिक्किम, जोर्थाङका ध्रुव प्रधान (भतिजा)को अनुरोधमा ई॰ २०१२ जनवरीमा सिक्किमी नेवारहरुलाई लक्ष्य गरी लेखिएको हो । — लेखक)

One clap, two clap, three clap, forty?

By clapping more or less, you can signal to us which stories really stand out.