नेवार समुदायको धर्म र संस्कार

१. धर्म
नेवार समुदायलाई धर्मको दृष्टिले कुनै एक धर्मसंग सम्बद्ध गर्न सकिंदैन । मूलतः भोटवर्मेली भाषाभाषी हुँदा यस समुदायमा शामानी (शामानिजम् परम्परागत भूत प्रेत मान्ने) धर्मको अवशेष पनि हुनुपर्ने हो, तर ती छन् भने कुन रूपमा छन् यसै भन्न सकिन्न । अहिले नेवार समुदाय मूलतः आर्य धर्म मान्दछन् । तिनमा हिन्दू र बौद्ध दुई शाखा छन् ।

नेपालको इतिहासमा वर्णित र ईशापूर्व सहस्राब्दिभित्रका गोपाल, महिषपाल, किरात र प्राचीन कालका वर्मा, लिच्छवि, गुप्त आदि र मध्यकालका मल्ल, राउत, प्रधान, अमात्य, महापात्र आदि सबै अठारौं शदीसम्मका नेपालमण्डलमा रहेका सम्पूर्ण समुदाय नेवार भएकाले झण्डै २५ सय वर्षभित्रका नेपाल–मण्डलवासीहरूले अपनाएको धर्म नै वर्तमान नेवारहरूको धर्म हो । यसो हुँदा प्राचीन, मध्यकालिक नेपालको धार्मिक समन्वयको इतिहास भन्नु नै नेवारहरूको धर्मको इतिहास हो ।

वर्तमान नेवार समुदायमा हिन्दू धर्मावलम्बीहरूमा राजोपाध्याय पुरोहित छन् भने बौद्धहरूमा वज्राचार्य पुरोहित छन् । नेपालको बौद्धधर्म महायानी हो । यसभित्र वज्रयानी प्रमुख छन् । यस शताब्दिको शुरुदेखि थेरवादी बौद्धधर्म पनि श्रीलंका–वर्माबाट नेपालमा प्रवेश गरेको छ । अहिले यसले नेवार समुदायमा गहिरो जरा गाड्दै कतिपय नेवारहरूको यो जीवनपद्धति बन्न गएको छ । नेवारहरूमध्ये कतिपय भोटिया (लामा) बौद्ध धर्मावलम्बी पनि रहेका छन् ।

नेपाल पसेका अन्य धर्महरूले पनि नेवारहरूलाई आकर्षित गरेको छ । त्यसमध्ये ईशाई झण्डै अढाइ सय वर्ष अघिदेखि कतिपय नेवारहरूले अपनाउँदै आएको छ । नेवारहरूमध्ये मुसलमानी धर्म मान्ने पनि छन् । मल्लकालमा नेपाल पसेका मुसलमानहरू नेवार समुदायभित्र आफ्नै जातिगत पहिचान कायम राखी बसेका छन् ।

नेवारहरूको धर्म सम्बन्धमा स्वदेशी तथा विदेशी अनुसन्धाताहरूले अध्ययन गर्न थालेका छन् । ती मध्ये ‘नेवार बौद्ध धर्म’ विशेष नाम दिई सबभन्दा बढी अध्ययन गरिएको छ । यो खास गरी वज्रयान धर्म हो । यो धर्म भारत तथा तिब्बत (भोट)को महायानी बौद्ध धर्मभन्दा भिन्न छ । यस्तै बौद्ध तथा हिन्दू, शाक्त धर्ममा पनि विद्वान्हरूको चाख बढेको छ । नेवार हिन्दू धर्म पनि अलग अध्ययन हुनुपर्ने विषय छ । राजोपाध्याय नभएका ठाउँ खस ब्राम्हणहरूद्वारा नै आफ्ना सबै पौरोहित्यको काम नेवारहरूले गराउँदै आएकोले नेवार हिन्दू धर्मको फरक रूपमा अध्ययन गर्ने परम्परा नै बस्न सकेको छैन । वास्तवमा खस र नेवार हिन्दू धर्म कतिपय संस्कार तथा कर्मकाण्डहरूमा भिन्न छन् ।

नेवार हिन्दू तथा बौद्ध धर्मलाई यसरी स्थूल रूपमा छुट्याउन सकिए पनि सूक्ष्म रूपले हेर्दा छुट्याउन नसकिने गरी यी दुई समन्वित रहेको छ । नेपालमा देखिएको अन्यत्र नदेखिने किसिमको धार्मिक सहिष्णुता नेवारहरूले अपनाएको नेपालको स्थानीय सिर्जना हो । बाहिरबाट खास गरी उत्तर भारतबाट नेपाल पसेका विविध धर्मावलम्बीहरूले आ–आफ्नो धार्मिक कट्टरता छोडेर यहाँ समन्वय गरेर बाँच्न सिके र एक विशिष्ट धर्मको निर्माण भयो । यो विशिष्टता हिन्दू र बौद्ध दुवै धर्ममा रहेको छ । ती अरुभन्दा भिन्न नेवार हिन्दू धर्म तथा नेवार बौद्ध धर्म हुन्, जसलाई नेपाली हिन्दूधर्म तथा नेपाली बौद्ध धर्मको मूलधारा मान्न सकिन्छ ।

२. संस्कार
नेवारहरूको जीवन तथा मृत्यु संस्कार मूलतः हिन्दू संस्कारमा आधारित छ । मनु (अन्दाजी ई॰पू॰ २००–१००) ले आफ्नो स्मृति (धर्मनीति ग्रन्थ) मा बाह्र संस्कारको उल्लेख गरेकोमा पछि ती सोह्र पुर्याइए । हिन्दूहरूको ‘सोह्र संस्कार’ भन्ने भनाइ प्रसिद्ध छ । यी संस्कार खास गरी ब्राह्मण जातिका लागि बनाइएको हो । नेपालमा त्यसले शास्त्रीय परम्परा ‘दश कर्म’ पद्धतिले ठाउँ लियो । शास्त्रीय परम्पराभन्दा भिन्न नेवार समुदायमा फेरि आफ्नै किसिमले परम्परामा थप लौकिक संस्कार र कर्महरू गर्ने परम्परा बस्यो । तर सोह्र, दश र नेवार लोक प्रचलित समान संस्कारको तुलना प्रस्तुत गरिन्छ । जस्तो :–

नेवारहरूको साझा संस्कार मध्यम जातका नेवारहरूले अपनाउने संस्कार हो । यिनीहरूको लागि काम गर्न उच्च पुरोहित वर्ग र निम्न च्यामे–पोडे अछूत वर्गका नेवारहरूमा तथा साझा संस्कार नहुन पनि सक्छ, जस्तो उच्च जातमा राजोपाध्याय र निम्नमा च्यामेहरूको ‘इही’ कार्य गर्ने नै चलन छैन । संस्कारहरूमध्ये उच्चवर्गमा केही बढी र निम्न वर्गमा केही घटी संस्कार हुने गर्दछ । यहाँ मध्यमवर्गमा प्रायः सबैले मान्ने संस्कार कर्मको नै उल्लेख गरिन्छ । नेवार संस्कार कर्मलाई जीवनकालको अवस्थाअनुसार तीन कालमा विभाजन गर्न सकिन्छ । जस्तो :–
१. गर्भकाल
२. जीवनकाल
३. मृत्युकाल

यिनमा पनि जीवनकाललाई उमेरको हिसाबले लोक प्रचलित पाँच तहमा बाँड्न सकिन्छ । जस्तो :–
२.१ शिशु–संस्कार
२.२ बाल–संस्कार
२.३ किशोर संस्कार
२.४ प्रौढ–संस्कार
२.५ वृद्ध–संस्कार

नेवार असमान जातहरूको समुदाय हुनाले यसको साझा संस्कार कर्म हुन मुश्किल पर्न सक्थ्यो, तर यिनीहरूमा ऐतिहासिक क्रममा बहुसंख्यक जातहरूले मान्ने साझा संस्कार विकसित भएको छ । अन्य जाति भन्दा भिन्न यी संस्कार कर्महरू नेवार समुदायको साझा संस्कार मान्न सकिन्छ । यी साझा पद्धति संस्कारकर्म घटी वा बढी हुनु नेवार समुदायभित्र पनि कुनै खास खास जातको वैशिष्ट्य मान्नु पर्दछ ।

नेवार संस्कारकर्ममा निम्न संस्कारहरू जात, धर्म, लिंग भेद नगरी प्रायः सबैमा सामान्यतया मिल्दछ । जस्तो :–
१. गर्भ संस्कार — धौबजि नकःवने (दहीच्यूरा खुवाउन जाने)
२.१ शिशु–संस्कार
क) सिचुपालु क्यने (जिफ्वः, चि, पालु ‘जाइफल, नून, अदुवा’ देखाउने)
ख) मचाबू ब्यंके (छैठी तथा न्वारान)
ग) मचा जंको (जानक्व ‘भात खुवाएको’ बच्चापासनी, अन्नप्राशन)
घ) योमह्रि क्वखाय्के (योमरि भिराउने) (निदँ बुन्हि– १२ वर्षभित्र दुई वा जोर वर्षको जन्म दिन)
२.४ प्रौढ संस्कार — इहिपा (विवाह)
२.५ वृद्ध संस्कार — ज्याजंको (बूढोपासनी)
३. मृत्यु संस्कार — सीगु (अन्त्येष्टि)

यसको बीचमा बाल संस्कारको बेला भने लिङ्ग भेद गर्ने गरिएको छ । जस्तो ः

२.२ बाल संस्कार
मिजंमचा (छोरामान्छे) — बुसखा (॰॰॰)
मिसामचा (छोरीमान्छे) — इही (बेलविवाह)
 
फेरि किशोर संस्कारको बेला अझ लिङ्गभेदको साथै धर्म भेद पनि गरिन्छ । जस्तो :–

२.३ किशोर संस्कार
मिजंमचा (छोरामान्छे)
 — हिन्दू
 — — कय्तापूजा
 — — (उपनयन)
 — बौद्ध
 — — बरे छुये
 — — (उपसम्पदा)

मिसामचा (छोरीमान्छे)
 — हिन्दू /बौद्ध
 — — बाह्रा तये
 — — (रजस्वला पूर्वकर्म)

बाह्रा शब्द द्वादशादित्य (१२ सूर्य)बाट विकसित भएको बुझिन्छ ।

नेवार संस्कार कर्ममा शिशु, किशोर र विवाह कर्मताका केही दिन किसिम किसिमका अन्य कर्महरू गरिन्छन् । नेवार संस्कारमा ज्यादा औपचारिक कार्यहरू गर्नु पर्दा जनसाधारणलाई निकै मर्का पर्न गएको र तत्कालीन अन्य व्यवस्था हेतु राणाकालमा “नेवार जातको ऐन” (२००५) र “द्योभाजु ब्राम्हण र श्रेष्ठको रीतिस्थिति” (१९९३) को इस्तिहार जारी गरिएको थियो ।

नेवार संस्कारहरूमा बालिकाको इही (बेलविवाह), बाह्रा (गुफा) र बूढाबूढीको पासनीलाई अन्य जातिको भन्दा भिन्न विशेष संस्कार कर्म मानिन्छ । बूढोपासनीमा न्हापांगु जंको (पहिलो पासनी) भीमरथारोहण ७७ वर्ष ७ महिना, ७ दिन आदिमा, निकःगु जंको (दोस्रो पासनी) देवरथारोहण ८८ वर्ष, ८ महीना, ८ दिन, आदिमा र स्वकःगु जंको (तेस्रो पासनी) महारथारोहण ९९ वर्ष, ९ महीना, ९ दिन, आदि पुगेको मुहूर्तमा गरिन्छ । अर्को, सय वर्षभित्र पाँच पटक बूढोपासनी गर्ने पद्धति पनि रहेको छ । नेपालीमा चौरासी भनिने सहस्रचन्द्रदर्शन नेवारहरूमा ८१ (अधिकमास गनी÷ वा ८४ (नगनी) वर्षमा गरिन्छ । यसलाई निकः (दोस्रो जंको पनि भनिन्छ) ।

नेवार मृत्यु संस्कार पनि आफ्नै किसिमले विकास भएको छ । यसको लागि सीगुठी, सनांगुठी, आदि बनाइएको हुन्छ । काठमाडौं बाहिर गएका नेवारहरूले सबभन्दा पहिले आफ्नो समाजमा समान जातकाहरू मिली सीगुठी (मृत्युसंस्कार समाज) बनाउने गरेको देखिन्छ । यी गुठीहरू खास गरी लास उठाउने कामको लागि हो । सनां गुठी मलामी जान बनाइएको समाज हो । नेवारहरूमा तेह्र दिन (बौद्ध मार्गीमा सात दिन) “दशक्रिया” को विधि कार्य गरिन्छ । त्यस्तै एक वर्षभरि मासिक, पैंतालीस दिन, ६ महिने, बर्खी र दुईबर्खे काम गरेपछि मृत्त व्यक्तिलाई ‘पितृ’ मान्ने चलन छ ।

पूर्व प्रकाशन
यो लेख नेपाल नेवाः समाज, काठमाडौंद्वारा चन्द्रमान वज्राचार्यको सम्पादन–संयोजनमा राजा वीरेन्द्रको स्वर्ण–जन्मोत्सवको उपलक्ष्यमा विसं २०५२ (ई॰ १९९५) मा प्रकाशित स्मारिका (पृ॰ २१–२४)बाट सामान्य संशोधन गरी यहाँ प्रस्तुत गरिएको छ । लेखक ।

Like what you read? Give Kashinath Tamot a round of applause.

From a quick cheer to a standing ovation, clap to show how much you enjoyed this story.