पत्राचारमा शिक्षा

Kashinath Tamot
Nepalmandal
Published in
12 min readDec 19, 2018
Budhanilakantha School

यो यलम्बर तमोट, मेरा छोरा, बूढानीलकण्ठ स्कूल १० वर्ष पढ्दा (ई= १९८५ फेबु्रअरी/विसं २०४१ फागुन — १९९४ नवेम्वर/२०५१ मंसीर) भएका पत्राचारको संगालो हो । तर चिठ्ठीहरु कक्षा ४ देखि ८ सम्म पढ्दा ई= १९८५-८९/विसं २०४१-४६ भित्र मात्र लेखिएको रहेछ । कक्षा ९ देखि ए लेभल पढ्दा पत्राचारको आवश्यकता परेन ।

ई= १९८०/विसं २०४० को दशकमा बूढानीलकण्ठ स्कूलका विद्यार्थीहरुले आआफ्नो घरमा हुलाकबाट चिठ्ठी पठाउनु पथ्र्यो । यो पत्राचार शिक्षाको एउटा तरीका थियो । बूढानीलकण्ठ स्कूलमा देशभरिबाट छानेर ल्याइएका विद्यार्थी पढ्थे ।

यलम्वरको यी चिठ्ठीहरु र उनलाई पठाएका चिठ्ठीहरुले त्यस बेलाको नेपालको सामाजिक अवस्था र विद्यार्थीहरुको मनोदशा देखाउँछ । खासगरी यसमा उनले कक्षा ६ को परीक्षाफलबारे लेख्दा आफूले आफैले कसरी प्रेरित गरे भन्ने चाखलाग्दो अभिव्यक्ति पाइन्छ ।

पत्राचार १

प्यारो छोरा यलम्बर,

शुभ–आशीष

तिमीलाई त्यहाँ सञ्चै होला । हामीलाई यहाँ सञ्चै छ ।

हाम्रो घरको ढलान माघ २९ गते भयो । त्यस दिन हामीले गाउँघरकालाई ढलान भोज खुवायौं । ओखलढुङ्गाको बाजेबजैलाई पनि खुवायौं ।

हाम्रो गेटनेरको गुलाफको बोटदेखि माथिल्लो बाटोसम्म धाराको सोझै पश्चिमतिर एकातिर पर्खाल बनाउँदै छौं । दयाराम अङ्कलको बारितिर र त्यहाँ जाने बाटोभरि भने टारले बार्ने योजना छ ।

तिम्रा साथीहरु धमाधम स्कूल जाँदैछन् ।

शनिश्चरबार तबा, तमा आउनु भयो । तिमीले राम्ररी पढ्दैछौ भन्ने सुन्दा खुशी लाग्यो । तबाले तिमीलाई इन्सट्रुमेन्ट बक्स ल्याइदिनु भएकै होला ।

तिमीले हाम्रो घरको ठेगाना वा पाटन संयुक्त क्याम्पस, पाटनढोकाको ठेगानामा चिठी पठाए हुन्छ ।

तिमीलाई म फागुण २५ गते लिन आउँछु ।

२०४१ पmगुन ६

तिमीलाई माया गर्ने

काशीनाथ तमोट

पत्राचार २

प्राप्त — २०४१ पmागुन २०

श्री पुज्य पिताज्यु,

तपाईहरुलाई त्यहाँ सन्चै होला । मलाइ पनी यहाँ संचै छ । तर इंग्लीसमा कम्जोर भएकोले इंग्लीस आउँदैन मेरो स्टाम्प कलेक्सन गरेको २ वटै किताब पठाइदिनुहोला । मइले जाच दिएको घरको नाम एसेम्ब्ली हल, रकेट, त्यहा नाटक, फ्लीम, गित गाउने ठाउ रहेछ मैले सबै चिज हेरे दिपेन्द्रलाई पनी देखें । र हाम्रा राजालाइ पनी देखे । मेरा साथीहरु पनि राम्रा छन् । मेरो ग्रुपको क्यापटन रेसम रहेछ । कुनै कुनै मात्र गाउँको आएको रहेछन उ त अमेरीका नाइजेरीया हङकङबाट आयका रहेछन र इङ्लीस आउदो रहेछ । म इङ्लीसमा कम्जोर भएपनी अरुमा राम्रै छ । र मेरो स्वाभावले गर्दा सबै म संग मिल्छन् । मलाइ मलम वाटरकलर पठाइ दिनु । र नवराज दाइलाई पनी पहिले ल्याइदिएको जस्तो वाटरकलर दाइलाई पनी पहिले ल्याइदिएको जस्तो वाटरकलर पनी दिनु आजलाई यती तपाइको छोरा यलम्बर ।

बुढानीलकण्ठ स्कुल नारान्थान काठमाण्डौ ।

प्रा कासिनाथ तमोट

ठेगाना पाटन क्याम्पस, पाटनढोका,

काठमाडौं

पत्राचार ३

२०४१ पmागुन ३०

प्यारो छोरा यलम्बर

शुभ आशीष छ

तिमीलाई त्यहाँ खोकी पनि नलागेको होला भन्ने आशा गर्छु ।

तिमीले पहिले पठाएको चिठ्ठीमा मिति लेख्न बिर्सेछौ । अबदेखि लेख ।

चिठ्ठी लेख्दा मैले यो चिठ्ठी लेखे जस्तै ‘प्याराग्राफ’ छुट्याएर लेख ।

तिम्रो साथी गुण्डुहरु फागुन ३० गते नारायणथान हेर्न आए ।

तिमीले मेरो अफिसमा बनाएको दृश्यावली (SCENERY) चित्र तिमी सुत्ने खाटको सिरानी नेर टाँगेको छु । त्यो जति हेर्यो त्यति राम्रो लाग्दो रहेछ । Micky Mouse चित्र कहाँ राखुँ भनेर विचार गर्दैछु ।

नवराजले टिकट पचास पैसा जाने ल्याइदिएछ, तिमीलाई दुइवटा पठाएको छु ।

नवराजहरुको स्कूल र अरु स्कूलहरु चैत ६ गतेसम्म बन्द छ, पढाउनेहरुको हडताल भएकोले ।

हाम्रो घरको ढलानको फर्मा झिक्यो ।

तिमीले त्यहाँ गृहकार्य अटूट गर्ने गरेकै होला ।

पुस्तकालयको पुस्तक ल्याएर पढ्ने पनि गरेकै होला । जति पुस्तक साट्न सक्यो उति अंग्रेजी बलियो हुन्छ ।

चल्ला खाने लुटी कुकुर्नीले तीनवटा बच्चा पाएकी छ ।

राजेन्द्र दाइको बिहा २८ गते फागुनमा भयो । दुलही थानकोटनेर मच्छेगाउँकी हुन् ।

आज मामुले भन्नुभयो — यलु बूढानीलकण्ठ पढ्न पाएको बेशै भयो, नभए टन्टलापुर घाममा स्थानीय स्कूलमा पढ्न जानुपथ्र्यो ।

आजलाई यति नै ।

तिमीलाई माया गर्ने

काशीनाथ तमोट

पत्राचार ४

२०४२ भाद्र ८ शनिवार

प्यारो छोरो यलम्बरकै,

शुभ–आशिर्वाद

त्यस दिन म कान्ति अस्पतालमा (वेड ७६) तिमीलाई हेर्न आएँ, तिमी गइसकेछौ । त्यसपछि राजु दाइ घरमा आउँदा तिमी पढ्न गइसकेको कुरा थाहा पायौं ।

तिमी विरामी भएर पनि धैर्यपूर्वक अस्पतालमा बसी निको भई फर्केको र त्यसबेला घर आउन नपिरेकोमा तिम्री आमा साह्रै खुशी हुनु भएको छ ।

म थाइलैण्ड भाद्र १० गते विहीवार १.४० बजे उड्दैछु र भाद्र १९ गते फर्कन्छु । म तिमीलाई थाइलैण्डबाट चिठ्ठी लेख्छु होला र तिमीलाई लुगा, आदि के के सक्छु ल्याउँछु । तिमी घरमा भाद्र्र १३ गते आउँदा ज्ञानी भएर बस्नू ।

तिमी विरामी हुँदा पढ्न नपाएको पाठ दिनको अलिअलि बढी बढी पूरा गर्नुपर्छ, मैले अस्पतालमा भनेको याद गरेकै होला । सकेसम्म तिमीले डायरी लेखिरहे बेश हुन्छ ।

हाम्रो गाउँमा बाटो साह्रै फोहर छ, सार्की केटाकेटीले बाटैमा हगिदिएर हैरान गरेको छ । आमाले गरिरहेको च्याउखेतीको मल अब कोठाभित्र लाने बेला भइरहेछ । अचेल हाम्रो बारीमा काँक्रा फलेको छ, राजु दाइले पनि शनिवार आउँदा खानु भयो । दाइले भन्नुभयो बूढानीलकण्ठमा एउटा बाँदर आएर बारीको काँक्रो र फर्सी आधा टोकेर फालिदिएर खानै नपाउने बनाएको छ ।

भोजपुरको तःमांलाई आमाले धरान पुर्याई आउनु भएकै दिन तिमीलाई अस्पतालमा भेट्न आएको हो ।

तिम्रो माया गर्ने

काशीनाथ तमोट

पत्राचार ५

मिति २०४२ भाद्र १२

August 28, 1985

Bangkok

INDRA REGENT HOTEL

Rajaprarob Road, Bangkok, Thailand Tel 2520111 Cable Address “INDRA HOTEL” Telex 82723 INDRA TH

प्यारो छोरा यलम्बर,

शुभ — आशिर्वाद

म थाइलैण्डमा सञ्चै आइपुगें । यहाँ हामी आएको सम्मेलन साह्रै भव्य किसिमको छ । काठमाडौं र यहाँको समय १ घण्टा १५ मिनेट फरक छ र चाँडो छ ।

अहिले हामी आएदेखि अहिलेसम्म एअर–कन्डिसन्ड होटेलमा बसेको हुनाले बाहिर गर्मी–जाडो के छ, राम्ररी थाहा पाएको छैन । दिनभर सम्मेलनमा जानुपर्छ । हामी सत्र तलामाथि २८ नं कोठामा बसेका छौं । यति माथि बसेर पनि गाडीको आवाज रातभर भने जस्तो आइरहन्छ ।

सम्मेलन सकेर पछि हामी “एशिया होटेल” मा बस्न जान्छौं र तीनवटा विश्वविद्यालयमा भएका कामहरु हेर्न जान्छौं, दिनभर कार्यक्रम छ ।

तिमीलाई म के ल्याइदिन सक्छु, अहिले भन्न सक्दिन आएदेखि ४ दिनसम्म होटेलबाट बाहिर निस्कन पाएको होइन । हाम्रो सम्मेलन उद्घाटन गर्न थाइलैण्डको राजकुमारी गल्यानी वाताना आउनु भयो । हामीलाई साह्रै राम्रो सम्मानपूर्वक राखेको छ, दिनको पैसा पनि थुप्रै पर्छ । यहाँको पैसालाई भाट भन्छ । एक डलरको २६ भाट आउँछ, नेपाली रुपिया एक डलरको १७ रुपिया ४० पैसा जति पर्छ । हामी बसेको होटलको सबै कोठामा एक एक वटा टी.भी. पनि छ, अहिले म टीभी हेर्दै यो लेख्दैछु । अहिले रातीको १०÷४५ बजिसक्यो । हामीलाई हेर्न सिल्पकोर्न विश्वविद्यालयको मान्छे राति ११ बजे भेट्न आउँछु भनेको हुनाले पर्खिरहनु परेको हो ।

तिमीले विरामी भएको बेलाको पाठ पूरा गरिसक्यौ होला । तिमीले मनमा ‘हिम्मत’ राखेर ‘कोशिस’ गरेर सबै साथीलाई जित्ने मनमा लिएर पढ्न बिर्सनु हुँदैन । कोशिस गर्ने आफ्नो काम हो, जित्न सकिने नसकिने त ‘कम्पिटिशन’ का कुरा हो ।

आजलाई यति नै । यो चिठ्ठी एकपटक राजु दाइलाई देखाउ र पछि आपूmसंगै राख ।

तिम्रो माया गर्ने बाबा

काशीनाथ तमोट

राजु,

माथिको यलुलाई लेखेको चिठ्ठीबाट केही कुरा बुझ्नेनै छौ । सामान किन्न त केही पैसा बच्ला जस्तो छ, मार्केट गर्ने पो कहिले, कहाँ, कसरी हो । कार्यक्रम दिनभरजसो दिनहुँजसो छ जस्तो सकिन्छ, त्यही गरुँला । साहुलाई ३५००÷– काकीसंग लिई दिइसक्यौ नै होला ।

काशी ।

पत्राचार ६

THE 18TH INTERNATIONAL CONFERENCE ON SINO-TIBETAN LANGUAGES AND LINGUISTICS

The Indra Regent Hotel

27–29 AUGUST 1985

भाद्र २०, २०४२

प्यारो छोरा यलम्बर,

शुभ — आशिर्वाद छ

म बैंककबाट भाद्र १९ गते र।ाति ८ बजेतिर काठमाडौं फर्कें । सबै कुरा बेश छ । मलाई लिन राजु दाइ, राजेन्द्र दाइ र आमाहरु आउनु भएको रहेछ ।

बैंककबाट मैले टाइपराइटर (अंग्रेजी) र क्यामेरा (फोटो खिच्ने) किनेर ल्याएको छु, अरु सामान खास केही ल्याउन पाइन, किन्न जान नै भ्याइन ।

टाइपराइटर भएकोले कहिलेकाहिं म तिमीलाई अंग्रेजीमा चिठ्ठी लेख्छु होला, तर तिमीले नेपालीमा लेखे पनि हुन्छ ।

तिमीले घरमा MODERN SCIENCE part 3 खोजे छौ, तर चाङ लाएर राखेको र खोल राखेकोले चिनेन छौ, मैले खोजेर तःमांलाई दिइपठाएको छु ।

अचेल तिम्रो स्कूलमा Video game खेलेको चाल पायो भने हाउस माष्टरले खोसेर राख्छ भन्ने सुनेको छु, हो होइन कुन्नि !

आज बिहान सुत्ने कोठाको झ्यालमा तिम्रो चिठ्ठी पाएँ, पढेर साह्रै खुशी लाग्यो । चिठ्ठी कसले सच्याइ दिएछ कुन्नि ! तिमीले सबै विषयमा राम्रो गर्दैछौ भन्ने चाल पाएँ, सामाजिक र विज्ञानमा अझै कोशिश गर्नुपर्ने रहेछ, कोशिश गर्नेनै छौ भन्ने आशा छ ।

घरको हालखबर सबै राम्रो छ । च्याउ खै के हुन्छ कुन्नि । गाउँमा बाटै राम्रो छैन । म घर नभएको बेला हाम्रो घरमा विष्णु सुत्न आएछ । आजलाई यति नै ।

तिम्रो माया गर्ने

काशीनाथ तमोट

पत्राचार ७

२०४२ मंसीर १८

भीमसेनगोला, बानेश्वर

प्यारो छोरा यलम्बर,

शुभ प्यार र आशिर्वाद छ

तिम्रो मंसीर ५ गतेको चिठ्ठी मैले क्याम्पसमा टेबलमा राखेको पाएँ, पढेर साह्रै खुशी लाग्यो ।

म शनिवार भात खाने गरी त्यहाँ आउँदै छु, राजु दाइहरुको त्यता लिएको जग्गा नाप्नु छ । त्यसै बेला म टिकट, ग्रामर, गम र सेलोटेप लिएर आउँछु । अहिले पठाउन मान्छे छैन ।

तिमीले कक्षाको पढाएको कार्य दोहर्याउँदै पढेको कुरा सुन्दा खुशी लाग्यो । तिम्रो जाँच नजिकै आएकोले यो समयमा एक मिनेट पनि बेकारमा खर्च नगरी ध्यान दिएर पढ्नुपर्छ भन्ने कुरा शायद तिमीलाई सम्झाउनु नपर्ला । यस बेला जति पढ्यो, लेख्यो त्यो नै भविष्यको लागि बिरुवा हुन्छ ।

हाम्रो पसल राम्ररी चल्दैछ ।

मंसीर २४ मा जापानी एक जना फेरि आउने भएकोले मैले अफिसमा धेरै काम गर्नु परेको छ ।

आजलाइ यति नै । हामी सबैलाई सञ्चै छ ।

तिम्रो माया गर्ने –

काशीनाथ तमोट

खाममा ठेगाना

Mr. Yalambar Tamot

M 424

Budhanilakanth School

P.O. box 1018

Kathmandu, Nepal

पठाउनेको नाम र ठेगाना

काशीनाथ तमोट

भीमसेनगोला

बानेश्वर

पत्राचार ८

२०४२ पुष ७ आइतवार

मीनभवन, बानेश्वर

काठमाडौं

प्रिय दाइ मुकेश,

नमस्कार

तपाइ त्यहाँ सञ्चै हुनुहुन्छ होला । म पनि यहाँ संचै छु । म यहाँ राम्रोसंग आएँ । मलाई यहाँ ठिकै छ तर पेट दुख्ने गरेको छ । जुगा हो कि केही थाहा छैन । म घरमा आउन पाएकोले खुशी छु । म घरमा आउनासाथ बुबालाई मेरो तपाँइहरुले लेखेको (Auto) देखाएँ । यो देखेर मेरो बुवा आमा खुसी हुनुभयो । यो Autoबाट धेरै फाइदा हुँदो रहेछ, जसबाट मैले तपाँइलाइ चीठ्ठी लेख्ने मौका पाएँ ।

मैले यसपछि मि. पिउ (Mr. Pugh) लाइ पनि चिठ्ठी पठाउने भन्ने सोचेको छु । हिजो मेरो पुरानो मन पर्ने साथीहरु मेरो घरमा आए । मैले उनीहरुलाई राम्ररी स्वागत गरें एकछिन पछि कुरा गर्दै संगै खाजा खायौं । उनीहरुले संगै घुम्न जाऔं भन्दै थियो म चाहीं गइन किनभने पेट अलिक खराब थियो ।

म आज मेरो बुवाको अफिस गएँ । त्यहाँ कम्प्युटर (computer) रहेछ । मलाई बुवाले अलिकती सिकाइ दिनु भयो । कम्प्युटर पनि टाइप गरे जस्तै टाइप गर्नु पर्दोरहेछ । त्यसमा मैले मिस्टर पिउलाई चिठ्ठी लेख्न रफ गरें । खाजा खाने बेलामा होटलमा गई समोसा र गुँडपाक खाएँ । त्यसपछि दुइता किताब र एउटा कमिक किनी मागें । किताबको नाम “पाँच प्रशिद्ध वैज्ञानिकहरुको जीवनी” र “इन्द्रधनुष” र कमिकको नाम “इन्द्र और वृत्र” अर्थात इन्द्र र वृत्रासुर दैत्य ।

आज किन हो कुनि पेट चैं ठिकै छ ।

म कुनै दिन बुबाको विदाको दिन पारेर तपाइँको घरतिर आउन पनि सक्छु । हिजो खसि काटेको थियो । त्यसैले आज विहान मासुभात खाएँ र हिजो मेरो बुबाले मेरो साथी संजिब मेरो फोटो खिचिदिनु भयो । आज धेरै लेख्ने फुर्सद छैन, किनभने सरहरुले दिएको होमवर्क जारी नै राख्नुपर्छ । आज धेरै कुरा लेख्ने कुरा पनि गर्ने गरिएन । लौत आजलाई यति ।

तपाइँको प्यारो

यलम्वर

मेरो ठेगाना (

यलम्वर तमोट

मार्फत् काशीनाथ तमोट

१०/५०३ केल, मासंगल्ली, काठमाडौं ।

(च्वसापासा अफिस)

पत्राचार ९

२०४२।१०।१

श्री पुज्य पिता तथा माताको चरणकमलमा

षाष्टांङ्गग दण्डवत ।

तपाइहरु त्यहाँ संचै हुनुहुन्छ भन्ने थाहा पाएर आभारी छु । म पनी यहाँ संचै छु । मइले चीठि पठाइन त्यो मेरो भुल थियो । मइले कक्षा ५ मा गएपछि धेरै गृहकार्य हुन्छ भन्ने थाहा नपाएर अथवा नसोचेर मइले आउदा नवराजलाइ पनी म चार पाँच दिनमा चीठि लेखौंला भनेको थिए । त्यसैले मइले गृहकार्य पठ्ठि लागेर चीठि लेख्न पाइन । तपाइहरुले पनी भन्नु भएको थियो, गृहकायृ जसरी भए पनी गर्नु पर्छ भनेर ।

म यहाँ खुशि साथ पढिरहेछु । तर पनी कहिले काहिँ आँसु आउन खोज्छ । तर फेरी सम्झन्छु आँसु झारेर नै पनी के पाइन्छ कोहि सहारा बन्न आउदैन । तहिपनी कुसुमे रुमालत अवस्य पनी बनीदिन्छ सहारा । पिङ्ककि बिरामि छ भन्ने थाहा पाएर दुखि पनी छु किनकि त्योत मेरो स्यानो छँदाको पहिलो साथि थियो । त्यसकारण त्यसलाइ चाँडै उपचार गराउनु ठिक छ ।

म यहाँ आउँदा खुसि नै थिएँ । यहाँ इस्कुलको कुरा त महारानी एलीजावेत आउने भनेर कक्षा जाने बाटो राम्रो बनाएछ । मेरो साथि पनी माघ २६ गते आयो उनको नाम शुभास रहेछ नम्बर ५५४ रहेछ । अब कती लेखौ अरु नवराज, प्रदिप र राकेस सकललाइ पनी लेख्नु छ, आजलाइ एती नै ।

यलम्बर तमोट

पत्राचार १०

२०४३ भाद्र १२

प्यारो छोरा यलम्वर,

शुभ प्यार छ

तिमीले राम्ररी नै पढ्दै होलाउ भन्ने आशा छ । यहाँ विशेष समाचार छैन ।

तिमीले “इन्सट्रुमेन्ट बक्स” बिर्सेर गएको पठाएको छु । हाम्रो कुखुरा तीन महीना पुग्न लाग्यो । दशैंमा अण्डा पार्न शुरु गर्ला ।

नवीन किशोर काका अचेल हाम्रो घरमा बस्नु भएको छ । अब एक दुइ दिन मात्र बस्नु हुन्छ ।

अबदेखि तिमीलाई काम लाग्ने छोटो छोटो पत्रात्मक (चिठ्ठीको रुपमा) निबन्ध लेख्दै पठाउने बिचार गरेको छु ।

कृष्णाष्टमीमा तिमीहरुको नाच–नाटक कस्तो भयो ? तिमीहरुले जाँचमा पाएको नम्बर हामीलाई असोज ३ गते आउँदा दिन्छन् क्यार !

तिमीले सकेसम्म बढी गतिविधिमा भाग लिए राम्रो होला ।

भारतमा पठाउने चित्रको टुङ्गो लागेको छैन ?

मलाई च्वसापासाको ठेगानामा चाँडो चिठ्ठी पठाउनु ।

आजलाई यति नै !

तिम्रो मायाँ गर्ने–

काशीनाथ तमोट

पत्राचार ११

२०४४ वैशाख ४ शुक्रवार

प्यारो छोरा यलम्वरकै,

शुभ आसिक

तिमीलाई सञ्चै होला भन्ने ठानेको छु ।

नगर पञ्चायतको चुनावमा हाम्रो बानेश्वरको हरिबोल भट्टराई प्रधानपञ्च चुनिएको थाहा पाएकै होला ।

दोलखाको मेरो साथी तीर्थ जोशीले दोलखा भाषामा चिठ्ठी पठाएको थियो । त्यसमा तिमीलाई पनि प्यार भनि पठाएको छ ।

नवराज — प्रदीपहरु क्ुमाले सार्कीको घरमा पसल थाप्न छोडी चाँडै हाम्रो घरमाथि सार्किनीको घरमा पसल थाप्न लागेको छ ।

सानो कुखुरालाई बढाइएको टहरामा बारेको ईंट झिकी खुल्ला छोडिएको छ, झ्याल एकातिर तालेका थियौं, एकातिर जाली ठोक्यौं ।

अचेल घरैमा अण्डा लिन आउने मान्छे बढ्दैछ ।

रामदाईको घरमाथि नयाँ घर उठ्दैछ ।

यसपालि तिमी आउँदा चल्लाको कोठामा बिजुली लानु पर्ला ।

म बिहान पढ्ने कोठामा पढ्छु (होइन खास गरी लेख्छु । र बेलुकी सुत्ने कोठामा ‘डाइरेक्ट’ निभाउन हुने टेबल ल्याम्प बाली पढ्छु ।

तिमीले मनमा राम्ररी पढेमात्र आफ्नो भविष्य बन्छ भन्ने कुरा बुझी पढिरहेको होला जस्तो लाग्छ, कि कसो

तिम्रो मायाँ गर्ने–

काशीनाथ तमोट

पत्राचार १२

बूढानीलकण्ठ स्कूल

२०४५।१ गते साउन

काठमाण्डौ

श्री पुज्य मातापिताका चरणकमलमा

शाष्टाङग दण्डवत

कुशल छु कुशलताको कामना गर्दछु । हजुरहरुको चिठी नपाएको धेरै भयो त्यस्कारण म ज्यादै दुःखी छु । हाम्रो अर्ध वार्सिक परीक्षा भर्खरै सकियो । मैले यो पालीको परीक्षा नराम्रो गरेछु । सवै विषयको परीक्षाफल प्राप्त भैसकेको छ । मेरो परीक्षा फल यस प्रकार छ ।

विषय पूर्णांक उत्तीर्णांक प्राप्तांक स्थान

नेपाली १०० ४० ५४ १६

अंग्रेजी १०० ४० ४९

गणीत १०० ४० ७०

विज्ञान १०० ४० ८२

काष्ठ–कला १०० ४० ८२

सामाजिक शिक्षा १०० ४० ७४

मैले सवैभन्दा राम्रो विज्ञानमा गरेको छु । नेपाली र गणीतमा पनि कम नम्बर ल्याएको छैन । नेपाली ठिकै छ तर गणीतमा ७० ल्याएपनि स्थान पछि पर्न गएकोले र पहिलेको हेरेर म बी (B) सेटबाट सि (८) मा झरेको छु । यसरी झर्नु पक्कै राम्रो होइन र म यो पनि मान्छु कि यो मेरै कारण हो । मलाई दुःख लागेको छ । अंग्रेजीमा सबैभन्दा कम नम्बर आएको छ तर झर्न सक्ने संभावना छ र डर लागी रहेको छ अहिले सम्म केहि खवर छैन ।

म यी दुईवटा विषयमा ज्यादै चिन्तित छु । साथिहरु फेरी चढ्ने हौसला दिन्छन् र मलाई लाग्छ म हौसिदै छु । म राम्रो गर्छु म गणीतमा र अंगे्रजीमा चढ्छु, चढ्छु । मेरो यो अठोट छ ।

तपाँइहरु मेरो पढाइमा चिन्ता नलीनु होला । मैले यो पाली विगारे विगारें तर तपाँइलाइ थाहै छ विगार ज्ञानको शिक्षा हो जो विगार गर्दैन उस्ले ज्ञानको शिक्षा विगार गर्नेले भन्दा कम पाउँछ । मैले यो विगारलाई अव चिन्ताको विषय नलीइ सुधार्ने तर्फ लग्दैछु । अरु विषयहरुलाइ पनि उचाल्ने प्रयत्न गर्दैछु ।

यता तिरको वातावरण त्यति नराम्रो छैन । पानि पर्छ गर्मि हुन्छ जुन गर्मी याममा स्वाभाविकै हो । मच्छरले दुःख दिन्छ । गर्मीले गर्दा अल्छि लाग्छ तर म अल्छि भगाउन वरावर नुहाउँछु ।

खान यता ठिकै छ । एकै किसिमको खाना सँधै खाँदा दिक्क त लाग्छ तर ठूलो समुहसंग मिलेर खाँदा दिक्दार हराउछ र मिठो लाग्छ ।

अभिभावक दिवस आउँदैछ । यसदिन हामिले गरेको, वनाएको कामहरु प्रदर्शन हुन्छ । पुरस्कारहरु पाइन्छ । यसदिन आउन नभुल्नु होला । आज लेख्दा लेख्दा कलमै थाकेको छ त्यसैले बन्द गर्दैछु ।

तपाईहरुको प्यारो छोरा

यलम्बर

पत्राचार १३

२०४५।१२।२८।२

प्यारो छोरा यलम्बर,

आमाबाको प्यार छ

यसपालि हामी तिमीलाई लिन आउन पाउँदैनौ । आमालाई अलिक सन्चो छैन र बस, ट्याक्सी पाउन मुश्किल छ र तिमीलाई लिन आउनुपरे धेरै समय खर्च गर्नुपर्ने हुन्छ । त्यसकारण आफै साथीहरुसंग मिली आउनू ।

हाउस — माष्टरलाई चिठ्ठी लेखेको छु, आउने बेला वा अघि दिनू ।

तिम्रो माया गर्ने

काशीनाथ तमोट

पत्राचार १४

प्यारो छोरा

यलम्बरकै,

आमा र बाको प्यार छ

तिमीले त्यहाँ राम्ररी नै पढिरहेका हौला भन्ने आशा गर्छु ।

यस पालि म लिन आउन भ्याउँदिन । तिनी आफै आउनू । आवश्यक परे यो पत्र हाउस माष्टरलाई देखाउनू ।

तिम्रो कोठामा प्लास्टर गर्न र खापा राख्न कोशिस गर्दैछौं । तिमी आउँदा सिद्धिन पनि सक्छ, नसिद्धिन पनि ।

आजलाई यत्ति

तिम्रो माया गर्ने –

काशीनाथ तमोट

पत्राचार १५

२०४६।३।१८

मेरो प्यारो छोरा

मामु र बाबाको प्यार आसिक छ ।

हामिहरु यहाँ सन्चै छौ तिमीलाई कस्तो छ । केहि थाहा पाउन सकिन । तिमीले पत्र नलेखेकोले फेरि पनी विरामीत भयेको छैन बराबर पत्र लेख्नेगर है । मलाई पिर लागि रहन्छ । पढाई कस्तो छ रामरी मन लगायेर पढ्ने गर । राम्रो साथीको संगत गर्ने गर नराम्रो साथिको संगतलाई चटक छाडिदेउ । साथिहरुसित खुलेर बातबिवात गर्ने र आबो तिमी घर आउने दिन पनी धेरै छैन च्याउ पनी उमरिन लागिरहेछ तिमी आउंदा ठिक हुन्छ । अं साचि अस्ती म हजुरआमाकाँ गयेको थिये योपाली बिनुदादा त फेल भयेछ यो कुरा सुनेर मलाइत सारै नराम्रो लागेछ । फेरी त्येहि किलासमा एक वर्ष पढ्नुपरेछ । रामरी पढेन भने एकवर्षको दुःख सितैनै जान्छ पनी लाज पनी हुन्छ । फेल भयेर पो हाम्रो घरमा लाजले नआको रहेछ । मैले त किन योपालि आयेन भनेको त कुरा अर्कै परेछ र पो तिमीले पनी खुब मन लायेर पढ है पढनुमा हेल्चक्राई गरेउ भने फेल हुने डर हुन्छ । आबो धेरै लेखिरहनु सकदिन आजलाई यतिनै

तिम्रो प्यारो मामु

--

--