प्रेमा शाहको पहिलो विवाह प्रसंग

Prema Shaha (1944–2017)

आधुनिक नेपाली साहित्यमा एक अलग पहिचान बनाएकी प्रेमा शाहबारे पत्रपत्रिकामा अनेक अन्दाजी कुरा प्रकाश भइरहेछन् । ७४ वर्षसम्म संघर्षशील जीवन विताएकी उनी, वीरगंज, श्रीपुरमा ई॰ १९४४ जुलाई २८ (विसं २००१ श्रावण १३) मा जन्मी पुल्चोक, पाटनमा मामाबाजेकहाँ हुर्की, छोरी जल शाहकहाँ अमेरिका, युटाइ प्रान्तको साल्टलेक सिटीमा वसिरहँदा ई॰ २०१७ डिसेम्वर २२ मा बितिन् । एक समय म उहाँको घनिष्टतम मित्र भएको हुँदा उहाँबारे तत्कालिन समयमा अभिव्यक्त डायरी प्रसंग यहाँ प्रस्तुत छ ।

२४ जून, १९७१, साँझ ५ वजे ।

आज २४ जून, क्यालेण्डर हेर्छु र थाहा पाउँछु । मलाई दिन गन्न मनलाग्छ २५, २६, २७ ॰॰॰॰॰१, २ जुलाई, जम्मा ८ दिन छ । ओह ! त्यो दिन ! कसरी बित्छ होला ! नियमित आकस्मिकताले त्यस दिनलाई कसरी सिंगार्ने होला । के कुनै मानसिक असन्तुष्टीले त्यस दिन मेरी प्यारी दिदीलाई सताउने त होइन ? नहोस् वा ! त्यसो, त्यसो नहोस् ! मलाई त्यस दिन शुभसंग वितेको सुन्न इच्छा भइरहेछ । कुन्नि किन हो — मलाई २ जुलाईमा घाम लागे हुन्थ्यो भन्ने लागिरहन्छ,(अचेल घरिघरि पानी परिरहन्छ, वादल लागिरहन्छ ।) आज २४ जून, उहाँ वाटोमा होला, या घरै त होवैनन् ? भोलि या पर्सि वनारस जान तरखर गर्दै हुनुहोला । होला ! होला ! होला ! म ‘होला’ को कल्पना गरिरहेछु । जे होस्, जहाँ होस्, मेरा कान शुभ समाचार सुन्न उत्सुक छ । म चिट्ठी वा आ–बा को पर्खाइमा छु — यद्यपि मलाई थाहा छ, आज भोलि नै त्यो आउने चाहिं होइन ।

२५ जून १९७१ शुक्रवार राति — १०/४५

विशेष काम थियो, आज शायद तपाईंहरु वनारस पुग्नु भयो होला । आराम गर्दै हुनुहोला । माफ गर्नु होला दिदी, आज त मैले भुसुक्कै विर्सेछु — तपाईंको जापानी भाषा स्कूलमा जेठको फिस र कितावको मूल्य जम्मा ८ रुपिया तिर्न जना । बुधवार पनि प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम हेर्न गएकोले जान सकिन । त्यसभन्दा अघि सोमवार भएपनि अव सोमवार त म अवश्य जानेछु । तपाईंको ‘विषयान्तर’– को कभर तयार भइसकेछ — रत्न पुस्तक भण्डारमा । खै त्यो ‘रत्नश्री’को कथा दिन नभ्याउने भयो । छापिसके जस्तो छ वाँकी । भैहाल्यो अव, के गर्ने ?

२७ जून, १९७१ वसन्तपुर विहान ९/२०

आज २७ जून, १९७१ त्था २०२८ साल आषाढ १३ गते आइतवार नेपालको इतिहासमा विशेष महत्व राख्छ । आज नव युवराजको जन्म भएको छ । तर के तपाईंलाई थाहा भइसक्यो त दिदी ! रेडियोबाट सुन्नु भयो होला, अथवा ढिलो सुन्नु होला ।

हिजो घर जांदा थाहा पाएँ तपाईंहरु राशी दीज्यू समेत वनारस गइसक्नु भएछ । ‘दीज्यू समेत जानु भएको सुनेर तपाईंको दिदीले काम गरे जस्तो लाग्यो । उहाँ आफ्नै कारणले जान लाग्नु भएको भए बेग्लै कुरा ।

हिजो मलाई साह्रै खुशी लाग्यो । तपाईकहाँबाट केही पुस्तकहरु ल्याएको थिएँ । त्यसमा मलाई काम लाग्ने पनि केही रहेछ । सुदूर भविष्यमा भए पनि नेपालको शरहयोजना तथा वास्तुकलाबारे केही लेख्ने उद्देश्य भएको मलाई ‘ज्ञानोदय’ को ‘महानगर विशेषांक’–ले निकै हौस्यायो । पुष्कर समशेर द्वारा सम्पादित “अंग्रेजी–नेपाली शब्दकोश”–लाई म अव जति खर्च लागे पनि राम्रो वाइडिङ्ग गराइराख्छु । त्यो मलाई साह्रै काम लाग्छ । पन्ना पन्ना छुटेको र नभएको A Hand book of INDIA ले मेरो मन्दिर अध्ययनमा सहायता पुर्यायो । यी सव कुराले अहिले मलाई लागिरहेछ — तपाईंले मेरो साहित्यिक सोचाइलाई अथाह प्रौढता प्रदान गर्नु भएको मात्र होइन सामग्री दिएर हुर्काउन पनि लाग्नु भएको छ ।

तपाईंको किताबहरुमा केही कुरा लुकाइराख्ने बानीले गर्दा मैले निकै सचेततासाथ पहिले पत्रिका दिंदा छानविन गर्नुपर्छ । केही पत्रहरु र कविताहरु पाएको छु । कहिले त म अत्यन्त व्यक्तिगत कुरा पनि पाउँछु, म त्यसलाई अत्यन्त सुरक्षित, संरक्षित राख्छु । म मेरो प्यारो ‘दीज्यूका उपलब्धीहरुलाई बचाएर राख्छु ।

तपाईं यहाँ नभए पनि तपाईंका पुस्तक र पत्रपत्रिकाहरुले तपाईंसंग कुरा गरेको सुख योग मलाई दिइरहेछ । कहिलेकाहिं आफ्ना मनका कुरा खुलस्त भन्न नपाउने भएर दुःखी हुन्छु । सांच्चै म पत्रहरुमा सवै कुरा कहाँ लेख्न भ्याउँछु र पाउँछु । एकदिन त भेट होला नै । यही सोचेर, सम्झेर चित्त बुझाउनु पर्ला ।

मुमा (अम्विकादेवी)बाट सुनें — बच्चामा तपाईं मोटो हुनुहुन्थ्यो रे । बच्चाबेलाको फोटो हेर्न मन लागिरहेछ ।

२८ जून, १९७१ राति १२ वजे ।

जुलाई २ जस्तो जीवनमा एकवार गरिने महत्वपूर्ण कामको पनि गोपनीयता हुनुपर्ने स्थिति पर्नु सांच्चै दुःखकै कुरा हो । “प्रेम करना है तो डरना क्या ?” भनिन्छ, तर त्यसो हुँदो रहेनछ । तर एउटा कुरा धेरै सत्य हो — आफूलाई आफूले नै विगारिन्छ, अरुद्वारा होइन । यदि अरुले विगार्न खोज्छ भने त्यो आफ्नै कारणले हो । ‘विरालो’–ले २५ नं॰ मा वसेको कुन्नि कसरी थाहा पाए जस्तो छ । संभवतः उसैले (?) तपाईंको आखिरी असफल उम्मेदवारले ‘मञ्जुर’ गरेको कुरा पहिलेको वुढोले सुनाउन आउँदा वुवा (विज्ञान शमशेर)ले हपारी पठाइवक्सेछ ।

यी सवै कुरा सुनेर, सम्झेर २ जुलाई आजै भइदिए हुन्थ्यो जस्तो लागेर आउँछ । अहो ! मलाई शुभ समाचार सुन्न कति हतार लागेको ! मलाई पनि त ढाँटेर, छलेर वसिरहन यहाँ ‘भार’ भइरहेछ । त्यस दिनको टुङ्गोको समाचार आएपछि हाम्रो वीचको सम्बन्धलाई दुर्भावनासाथ लिइरहेकाहरुलाई जवाफ दिनु छ, उनीहरुका संकुचिततालाई हटाउनु छ । मानिसको जीवनमा २ जुलाईको दिन यस्तो हो, जसले धेरै भ्रमलाई छिनोफानो गरिदिन्छ । अहिले नै आइदिए हुन्थ्यो एउटा तार–”हाम्रो काम राम्रैसंग सम्पन्न भयो ।”

१ जुलाई १०७१

सौगात ! उपहार ! प्रजेन्टेशन १ जे भन्नोस । म पहिलो र एउटै व्यक्ति जसले मेरी प्यारी दिदीको २ जुलाईको लागि केही उपहार दियो । मेरो उपहार सानो र नौलो । चित्रकलाप्रेमी दिदीलाई दृश्य–पत्रहरु । भारत गएकी दिदीलाई नेपालका टुक्राहरु । एक अलवम भरी दृश्य पत्र, आफ्नो फोटो र टिकट मालाहरु । २४ वटा कार्डहरु — मन्दिरहरु, तलाउहरु, हिमालयहरु, अरुहरु । टिकटहरु — कविहरु, फूलहरु, हिमालयहरु, अरुहरु । यसरी एउटैले मात्र दिन पाउनुमा कारण छन् — निरर्थक कारण, वेकारको कारण तर एउटी केटीको लागि महान् कारण भो दिदी चित्त वुझाउनुस् । तपाईंले पाएको एउटै उपहारले सवैको ठानी सन्तोष मान्नोस् ।

एउटा सानो अभिव्यक्ति, जुन मैले त्यस सौगातको अलबममा टाँसेको छु, ले हाम्रो बीचको मधुर र आत्मीय सम्बन्धलाई पनि छर्लङ्ग्याउनेछ ।

सौगात !

यो सानो सम्झनाको सौगात

मेरी प्यारी ‘दीज्यूलाई –

जसले मेरो उमङ्गपूर्ण साहित्यिक सोचाइलाई अथाह प्रौढता प्रदान गर्दै गए ।

यो प्रेमपूण सानो चिनो, पुलचोक, ललितपुरकी प्रेमालाई –

जसले एउटा मान्छेले अर्को मान्छेलाई जस्तै

निस्वार्थ प्रेम गरी मीठो मित्रता जोडे ।

हो, यी मेरा देशका मनोहर सम्झना — मूर्तिहरु

उनै हृदयकी प्रेरणा–मूर्तिलाई

सधैं सम्झनलाई भनेर होइन, बरु –

सम्झेर, सततः सत्यं, शिवं, सुन्दरंको सेवा गर्नेलाई

यी साना साना चित्रण–आतुरी नेपालहरु

मेरी प्यारी प्रेमा ‘दीज्यूलाई !

रचनाकाल — ७ जून, १९७१,

प्रदान — १८ जून, १९७१ (४ असार, २०२८)

(काठमाण्डौबाट प्रस्थान गरेको दिन । तर हवाइजहाज नगएकोले १९ जूनमा मात्र पुग्यो ।)

यस नेपाली कवितालाई उहाँको जीवन–साथी (जेपी शाही, पटना) त सम्झनु हुन्न । त्यसैले मैले अंग्रेजीमा पनि अनुवाद गरिदिएँ । मेरा र उनका विचारहरु कतिपय मिल्छन् । उनको हृदय बिशाल छ । उनी विद्वान छन् । राजनीति शास्त्र र इतिहासमा एम॰ए॰ । उनको लागि भनेर, सम्झेर –

MEMORABILIA

This trifle present for memory

Is to my dear sister –

Who bestowed me unknowingly with maturity

On my budding literary thinking.

This, a small packet of love,

Is to Prema from Pulchok, Lalitpur

Who loved me as a man loves a man.

With unselfish and friendly.

Yes, these splendid images of my country

Are to the very inspiring idol of my heart

Not to remember for ever, but –

To serve always of Satyam, Shivam, Sundaram, instead

These small Nepals, calling to be painted

Are to my dear sister Prema.

18 June, 1971

Kathmandu

भोलि तपाईंको जीवनमा महत्वपूर्ण दिन — महान् दिन ।

विहान १० वजे

आज त्रिभुवन जयन्ति, अफिस विदा छ । म दिउँसभर घरैमा सुतिरहें, वसिरहें । अहिले म नयाँ सडक पुगेर आएको । ‘शिलान्यास’(वर्ष २ अङ्क २) निस्केछ । त्यसको मुखपृष्ठ करीव ८० जना साहित्यिकको हस्ताक्षरको छ । सामग्री त पढेको छैन, राम्रो होला जस्तो छ ।

सम्झिरहेछु प्रेमा, तपाईंलाई । म नयाँ पत्रिका पहिले तपाईंलाई पढ्न दिन्छु, पहिले आफूले नै नपढीकन । अहिले एकछिनपछि तपाईंको पुस्तक पत्रपत्रिका ओसार्ने सिलसिला तथा मुमालाई उडूस मार्ने औषधि पुर्याउन तपाईं नभएको तपाईंको घर (कि माइती ?) जांदैछु । मलाई यो कुरा थाहा हुँदाहुँदै पनि आफूले पढ्न (त्यहाँ गएर) म ‘शिलान्यास’ त्यहां लैजांदैछु ।

कुन्नि किन हो नयाँ पत्रिका तपाईंलाई पढ्न दिन पाउँदा मलाई आनन्द आउँथ्यो, सन्तोष लाग्थ्यो । कहिले त तपाईंकै लागि भनेर पनि म किन्थें । अव तपाईं हुनुहुन्न, तर मेरो पत्रिका किन्ने रोग हटेको छैन । यो एउटा खाजा जस्तो हो जीवनको खाजा, जीवनपथको समाउने एउटा लट्ठी–सहायता ।

हिजो मैले जीवनलाई ६ पृष्ठको चिट्ठी लेखें । कुन्नि म त्यो दिन्छु वा दिन्न वा कहिले दिउँला । त्यसमा मैले उनको अस्पष्टवादी नीतिको विरोध गरेको छु, उनको लक्ष्यहीनताको लागि दुःख प्रकट गरेको छु । शायद उनी मलाई मन पर्ने भएरै होला — त्यति कडासंग भन्न सकेको, उनको भलाइ चाहेर ।

सम्झना भयो ! दिदी मलाई याद आयो — म अरुको दृष्टिमा असभ्य छु, सन्काहा छु, ह्विम्जिकल छु, अव्यावाहारिक छु । मलाई बुझ्ने तपाईं एक हुनुहुन्थ्यो, जानुभयो । (तर मलाई तपाईंको पुतली, पत्र र पुस्तक, पत्रिकाहरुको बीच अभाव अनुभव भइरहेको छैन । मलाई तपाईंसंगै छु जस्तो लागिरहेछ ।) । अव म मेरा मनका उकुसमुकुसहरु निकास विना गुम्स्याइराख्छु । बरु यसरी नै यी पत्रहरुमा कुरा गरिरहन्छु । नबुझ्नेलाई केही भन्दा, बुझ्नु भो, हास्यपात्र बन्नु पर्दो रहेछ । तिनीहरुले सल्लाह दिन सक्तैनन्, सुन्न सक्छन् मात्र, कोही मात्र त्यो पनि । तपाईं साथी भने पछि हुरुक्क हुनुहुन्छ, म पनि त्यस्तै । साथी भएर साथ रहिरहन गाह्रो छ, हाम्रो मित्रता सधैं यस्तै निस्वार्थ र निष्कलुष भइरहोस् । भयो अहिले । अहिले मलाई पुलचोक जानु छ ।

साँझ — ४ वजे काठमाडौं

दुइ झोलामा तीन पटक ओसार्दा पनि तपाईंको एक बाकस पुस्तक, पत्रिकाहरु ल्याउन सकिएन । अवको पालि सकिन्छ । The ministry of Education Government of India ले कुन्नि किन हो Indian Sculpture मा तपाईंलाई प्रदान गरेको 25–10–61 ले मलाई नेपालका युगल मूर्तिहरुबारे पक्का धारणा बनाउन सघाउ पुर्यायो । म त छक्कै परें –”नईधारा” को मार्च देखि जून १९६८ सम्म “नेपाल द्वारा विहार दर्शन” परशु प्रधानको भ्रमण वृतान्त रहेछ — तपाईंहरु पटना जानु हुँदाको । संकलन गरिराख्नाले यी सव कुरा थाहा हुन सक्यो । धन्यवाद छ तपाईंलाई । वास्तवमा तपाईं पनि संकलनकर्ता नै हुनुहुँदोरहेछ ।

“मास्साव तपाईंलाई चिट्ठी आयो ?” वुबाले सोध्नु भयो । यो सोधाइमा धेरै कुराहरु रहेछ । ‘विरालो’–ले हरसंभव प्रयास गरी तपाईं २ जुलाईको लागि जानु भएको पत्ता लगाउन कोशिस गरे । उनले कहींबाट त्यो कुरो सुनेको रहेछ । पुलचोक र जावलाखेल फोन गरी सोधे । अझ तपाईंलाई “पृथ्वीनारायण शाह्” दिनेले प्रयास गर्दैछ । उः कहाँसम्म भन्नसक्छ । पैसामा विकिने अन्धभक्तहरु ! वास्तविकतालाई ख्याल नगर्ने लैलैवालाहरु ! भन्छ –”विरालो त वौलाउन लागेको छ । डिभोर्स गरिसकेको छ । किन हो त्यस्तो ।” मानिससंग घृणा यस्तै कुप्रकृतिले आउँदो रहेछ । ठीक हो दीज्यू तपाईं साहित्यिकहरुको अनैतिक व्यवहारदेखि विक्षुव्ध हुनु भएको छ । संझना भयो — तपाईंसंगको अन्तर्वार्तामा ‘उपत्यका’ — को अन्तिम प्रश्न र उत्तर –

“प्रश्न — साहित्यकारमा हुनुपर्ने गुणहरु तपाईं के के ठान्नुहुन्छ ?

उत्तर — प्रथमतः साहित्यकार एउटा मानिस हो र यदि नैतिकताको मतलब सांग्रो अर्थमा लिइंदैन भने मानिसको भर्च्यु नैतिकता हो ।” (वैशाख २०२८)

आज भोलितिर तपाईंको काम हुन्छ भनेर तपाईंका घर वरपर खूव हल्ला छ । कुन्नि कहाँवाट लिक भएछ कुरा । हामीलाई (मुमा, बुवा र मलाई) २ जुलाई अहिले नै आइदिए हुन्थ्यो जस्तो लागिरहेछ । तर हामीलाई सन्तोष छ, त्यो दिन भोलि नै आइरहेछ ।

सांच्ची, आजभोलि मैले केही पनि लेख्न सकिरहेको छैन । त्यसैले तपाईं सम्बन्धी नै बरु यी कुराहरु लेखेर रात विताउँछु ।

१ वजे राति ५/८२३ वसन्तपुर

सुसम्पन्न भइसक्यो होला अहिले तपाईंको शुभ दिन । जीवनमा आउने एकदिनको क्षण । शायद अहिले उहाँसंग नयाँ वातावरणमा हुनुहोला । भलाकुसारी भइरहेको होला, औपचारिकता । कुराको विषय नपाएर, लाग्छ, मेरो वारे पनि चर्चा गर्दै हुनुहुन्छ होला । प्रशम्सा गर्दै होलान् दुवै । तर मलाई थाहा छ, ती औपचारिकता । भयो, म त आफ्नो कर्तव्य गर्दै जान सकुं ।

मुमा आफूमाथिको भार घटेर हलुकिएको अनुभव गर्दै हुनुहोला । दीज्यू पनि हुनुहुन्छ होला ! होइन ? चिट्ठी लेख्न लाग्नु भएको होला कि ! होइन, भोलि लेखुंला भनेर कुरा गरिरहनु भएको होला । अथवा गर्मी भएर पंखा हम्कंदै हुनुहोला । सन्तोषको सास फेर्दै हुनुहोला ।

आज काठमाडौं झलमल्ल छ । नवयुवराजको छैठीको दिन आज । थाहा छ, आजै विराटनगर जाने तपाईंको बहिनी–साथीको जन्ती जाने । उनीहरुले तपाईंको पनि हिजो वा आज छ भनी सुनिसकेका छन् । यी कुरा थाहा पाएको भए, थाहा पाएर तपाईंलाई Female hypocrazy आउला । झ्याली पिटेर विहा गर्ने रहर जन्मला । भैगो, यी सव कुरा । तपाईं आफ्नै हातवाट आफूलाई घाउ पार्नु हुन्छ र तकलिफ सहनैपर्छ अनि त । विवादमा कोशेली र धनसम्पति भन्दा आपसी सहयोगको आतुरता हुनु र इमान्दार हुनुमा छ भनेर सम्झनु भयो भने सवै घाउ निको हुन्छ ।

खै, तपाईंको चिट्ठी कहिले आउला !

Like what you read? Give Kashinath Tamot a round of applause.

From a quick cheer to a standing ovation, clap to show how much you enjoyed this story.