प्रेमा शाहको साहित्यसम्बन्धी धारणा

(ई॰ १९७० को वरपर नेपाली साहित्य–सङ्गीतमा केही गरौं भन्ने युवा साहित्यकारहरू जुर्मुराए । त्यस बेला नवजागरण ल्याउन राल्फा, अस्वीकृत जमात र लेकाली विचार धारा प्रस्फुटन भयो । त्यस बेलाका लेकाली समूहले खास गरी हिरण्य भोजपुरे र गणेश रसिकले आफ्ना मुखपत्र प्रकाशन ‘उपत्यका’मा तत्कालीन जिउँदो जाग्दो साहित्यकार प्रेमा शाह (१९४४–२०१७) संग कालजयी अन्तर्वाता लिइराखेको छ । यसमा प्रेमा शाहले आफ्नो साहित्यसम्बन्धी स्पष्ट धारणा प्रौढताका साथ अभिव्यक्त गरेकी छिन् । उनका यौन धारलाई मात्र उचाल्न खोज्नेहरूले उनका यहाँ अभिव्यक्त खास धारणाहरू मनन गर्न आवश्यक छ । विवाहपूर्व अभिव्यक्त उनका मान्यताहरू विवाहपछि पनि पालन भएको यहाँ स्मरणीय छ । — काशीनाथ तमोट)

प्रश्न — तपाईले कहिलेदेखि कथा लेख्न थाल्नु भएको ? र प्रथम प्रकाशित कथा कुन हो ? 
उत्तर — स्कूलमा पढ्दादेखि नै मलाई लेख्ने सनक चलेको थियो । त्यसै बेला मैले ‘प्रतिक्रिया’ लेखें र
गुरू रत्नध्वज जोशीज्यूले त्यो ‘शारदा’ (२०१८)मा छापिदिनु भयो । मेरो पहिलो कथा त्यही हो 
। पछि ‘पँहेलो गुलाफ’ संग्रह निकाल्दा त्यो कथामा मैले केही हेर फेर गरेकी छु ।

प्र — के तपाईंलाई लाग्छ तपाईंको परिश्रम अनुसारको प्रतिष्ठा पाइरहनु भएको छ ?
 — म यसपट्टि सजग छैन । लेखकको मूल्यांकन उसको कृतिले गर्छ । एउटा कुरा भनुँ ! ख्यातिलाई
हेतु बनाएर शायदै कुनै लेखकले लेख्ला । आफ्नो विषयमा म आफुमाथि गर्व गर्ने स्थितिमा 
पुगेको छैन । ख्यातिलाई फर्केर हेर्ने एउटा ठाउँ हुन्छ र त्यहाँ सम्म पुग्नलाई मैले आफूभित्रको
लेखकलाई जजेर तुल्याइदिनुपर्छ । प्रतिष्ठा वा ख्याति नसोध्नुहोस्, म आफूलाई ‘लेखिका’ भनेर
लोभ पनि गर्दिन । लेख्नु मेरो एउटा क्रेज मात्र हो तथापि लेख्दाका क्षणमा म आफूमाथि
विश्वस्त हुन्छु र आफू भित्रको इमान्दारीलाई ठग्ने सामर्थ्य मेरो छैन ।

प्र — तपाईलाई आफ्नो सबैभन्दा मन पर्ने कथा कुन हो ? 
 — अहिलेसम्म लेख्न सकेको छैन ।

प्र — हाम्रो देशमा लेख्नुलाई पेशा बनाउने नगन्य छन् । मलाई लाग्छ जीविकाको लागि तपाईं 
 लेखिरहनु भएको छैन । त तपाईं केको लागि लेख्नु हुन्छ ? 
 — जीविकाकै लागि लेख्नलाई प्रोफेशन बनाउने हो भने न त यहाँ बांच्नै सकिन्छ न त एउटा
 गतिलो लेखक बन्न । प्रोफेशनल लेखक आफैमा एउटा खतरा हो विशेषतः हाम्रो देशमा र
 जीविकाको निमित्त लेख्नुमा म विश्वास पनि गर्दिन । यसमा निःसन्देह नै लेखकले आफूभित्रको 
 नैतिकतालाई कतै न कतैबाट मिनिमाइज गर्नुपर्छ । म स्वतंत्र लेख्छु । हो, लेख्नु कसै कसैका
 निमित्त उद्देश्य (पेशा) पनि हुनसक्छ, म यसमा छैन । न त आत्मसन्तुष्टिकै निमित्त लेख्छु 
 लेख्नुको वोध मलाई हुन्छ । लेखिसिध्याएर पनि म हलुङ्गिन्न बरू अघोरी मनले आफू जहिले
 पनि थिचिएकी हुन्छु । थाहा छैन किन लेख्छु, लेख्नु शायद मेरो सनक हो ।

प्र — नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कवि श्री केदारमान व्यथितको कुलपतिको रूपमा कस्तो 
 भूमिका रहिआएको छ ? वहाँको प्रशासनिक र साहित्यिक दक्षतामा कुनै शंका छ ?
 — भन्नेको दाँत कुंड्याउने र सुन्नेको मुटु कुंड्याउने प्रश्न हो यो । आफै बुझ्नुहोस् ।

प्र — प्रतिष्ठानमा गत केही महिना अघि प्रतिष्ठापित सहसदस्यहरू श्री व्यथितको सिफारिसमा
 आएका हुन् भन्ने चर्चा छ । कसै कसैको भनाइमा यस छनौटमा केही अति अहंवादी कट्टर
 सदस्यहरू पनि परेकाछन् र केही चाहिं सदस्य हुनको निम्ति निक्कै नयाँ व्यक्तिहरू परेकाछन् ।
 यस सम्बन्धमा तपाईंको धारणा ?
 — प्रज्ञा प्रतिष्ठान साहित्य संस्था नभएर गुटवन्दी र पहलवानीको अखाडा भएको छ र त्यसको
 डिप्लोमेसी र दाउपेचको विषयमा केही बोल्नु खालि यौटा चित्त दुखाइ र वकवास बाहेक केही
 हुन आउंदैन । एउटा व्यक्तिको मोनोपोली र ह्विममा चलेको कामलाई के गंभिरता संग लिने ।
 र सदस्यताको विषयमा हेर्दा नभन्दै त्यो खोटो पैसा हो जसलाई बिना महत्व त्यसै फाल्दै हिंड्न
 सकिन्छ अर्थात् सकिंदोरहेछ । तपाईलाई यो अनुभव भएन र ?

प्र — भविष्यमा प्रज्ञाप्रतिष्ठानबाट नेपाली साहित्य र कलाको विकासमा कस्तो आशा गर्न सकिन्छ ? 
 — अहिलेसम्म त प्रज्ञा–प्रतिष्ठान खालि बहाना जस्तो लाग्छ । वर्षैपिच्छे जस्तो साहित्य सेमिनार,
 गोष्ठी, चर्चा–परिचर्चा र फाट्फुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता (अनुचित हुँदैन भने)
 देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेकोछ तर यत्ति नै 
 वास्तविकता हो त ? यसको उत्तर प्रतिष्ठानले कार्यरूपमा दिन सक्नुपर्छ, खाली योजना र
 संभाव्यलाई सत्य मान्न सकिन्न । भनुँ भने अहिलेसम्म प्रज्ञा–प्रतिष्ठान एउटा अन्धविश्वास हो
 र यस आधारमा खालि भ्रान्त हुनु र शंका पाल्नु बाहेक नेपाली साहित्य र कलाको कस्तो आशा 
 गर्नु ।

प्र — स्वास्नीमान्छे पनि सहसदस्यको निमित्त छानिनु पर्ने बारेमा तपाईंको के विचार छ ?
 स्वास्नीमान्छेहरू नछानिनुमा कति कारणहरू हुन सक्छन् ?
 — हाम्रो प्रज्ञा–प्रतिष्ठानको चलन त अपूर्वको छैन र ? फेरि सहसदस्य नै किन सदस्यको रूपमा
 स्वास्नीमानिस छानिन्न ? बौद्धिकताले लिङ्ग भेद मान्दैन । प्रज्ञा–प्रतिष्ठान भने निश्चय नै 
 विद्वान्हरूको ठाउँ बुझाउँछ । यसैले त्यहाँ विद्वान् स्वास्नीमानिसहरूका प्रवेश निषिद्ध हुन्न । यहाँ
प्रज्ञा–प्रतिष्ठानमा लेखक र विद्वान्को नाताले लोग्नेमानिस सदस्य र सहसदस्य हुन सक्छन् भने 
तिनैका स्तर या ती भन्दा माथिका र विद्वान् (हाम्रा विद्वान् सहसदस्यहरूका तुलनामा)
स्वास्नीमानिसहरू प्रज्ञा–प्रतिष्ठानको सदस्यतामा आउन नसकेको कारण प्रतिष्ठानको उपेक्षा
पनि हो । यो एउटा रीजन मात्र दिएको मैले । यसको अतिरिक्त स्वास्नीमानिसलाई सदस्य वा
सहसदस्यमा छान्नु नछान्नुमा प्रतिष्ठानको पोलिसी कस्तो छ कुन्नि तर स्वास्नीमानिसका
पक्षमा बौद्धिक कमजोरी या प्रशासनिक अयोग्यताको खोट लाएर भाँजी हाल्ने काम चाहिं
अर्थहीन हो । त्यसो त एकेडेमी जस्तो ठाउँमा लोग्नेमानिस होस् या स्वास्नीमानिस योग्य व्यक्ति 
नै हुनुपर्ने हो र यस आधारमा स्वास्नीमानिस छानिनु र नछानिनुमा कारण छन् पनि छैनन् पनि

प्र — तपाईंको सबै भन्दा मन पर्ने नेपाली कथाकार को ? र विदेशका नि ?
 — कट्टरतासँग मनपराउनु पर्ने त्यस्तो कोही छैन । विशेष पारिजात र शैलेन्द्र साकारका कथा
 मलाई राम्रा लाग्छन् । राम्रा लाग्ने विदेशी लेखकमा दुइवटाको नाउँ कम्ती हुन्छ ।

प्र — डि॰एच॰ लरेन्सको ‘लेडि चेटर्लिज लभर’ एमिल जोलाको ‘नाना’, मोरावियाको ‘ओमेन अफ रोम’ र ब्लादिभिर नबोकोबको ‘लौलिता’ उपन्यासहरू मध्ये कुन चाहिं सबै भन्दा राम्रो लाग्छ ?
 — यी चारैवटा राम्रा लागेका हुन् तर राम्रो लाग्नुको प्रभाव अहिले उठ्दैछ ।

प्र — तपाईंले उपन्यास लेख्नु भएको छ कि छैन ? भविष्यमा लेख्ने कुनै योजना छ कि ?
 — लेखेको छैन, लेख्छु होला ।

प्र — कथा बाहेक साहित्यको कुन विधामा लेख्न तपाईं बढी रूचाउनु हुन्छ ?
 — लेख्ने गरेको त गद्य विधामै हो यसलाई रूचि भन्नुहुन्छ भने भन्नुहोस् र कथाबाहेक कहिले
 कहि एकाङ्कीहरू लेख्छु ।

प्र — नविनता बोध भएका कथाकारहरूमा धु्रवचन्द्र गौतम, पारिजात, प्रेमाशाह, आदिलाई मानिन्छ । 
 आफ्ना समकालीनका प्रवृत्तिहरू कता गइरहेको अनुभव गर्नु भएको छ ? अनि तपाईं कता नि ?
उ — यथार्थ कुरा भन्ने हो भने आजको लेखन प्रवृत्ति एकै तिर दोब्रिएको छ । वास्तवमा सत्य हो
 आज हामीले सामना गर्नु परिरहेको आर्थिक, सामाजिक, राजनैतिक व्यवस्था र विसंगतिमय
 परिवेशको विरूद्ध खालि कुंठा, संत्रास; यौन जस्तै मात्रै लेखिरहेछौ । जीवनका महत्तम पक्षहरू
 पट्टि हामी जानी जानी उदासिन भइदिएकाछौं जसले गर्दा हाम्रो लेखाइ सीमित र शिथिल
 भइदिएकोछ । संत्रास र कुण्ठा हामीसित जन्मजन्मान्तर सम्बद्ध छ र अवश्यै हाम्रा भित्र बाहिर
 तीदेखि आक्रान्त छन् तर यसको अर्थ यो होइन कि हामी आफ्ना कलम लिएर यसैमा आकण्ठ
 डुबिरहौं । विद्रोहको पक्षमा आफैभित्र कुंडिएर र आफैलाई सिध्याएर हामी झन् नियतिवादी पो
 बन्दै गइरहेछौं । चेतनशील लेखक भाग्य र व्यवस्थाको कमारो होइन । मलाई लाग्छ हामी
 निस्क्रिय र पानीमरूवा भएर लेख्दछौं । लेखन हाम्रा सोचाई मात्र होइन हाम्रा वाह्य
 कार्यकलापको वास्तविक भूमिका हो । खै अहिले हामी आफूलाई कता भन्ने ?

प्र — कस्तो कथालाई तपाईं सफल कथा भन्नु हुन्छ ?
 — कथा कस्तो हुनुपर्छ भन्ने कुनै निर्धारित नियम छैन र परंपरावादी दृष्टिकोण वा स्थापित
 मान्यताको आधारमा कथालाई सफल वा असफल भन्न सकिन्न र त्यसको फर्ममा नै म
 विश्वास पनि गर्दिंन । परंतु सामयिक परिप्रेक्ष्यमा कथा (कथ्य)लाई स्वीकार्ने हाम्रा केही स्वतन्त्र
 वौद्धिक धारणाहरू छन् । यी धारणा आजको सन्दर्भमा कथ्यहीनताका विरूद्ध निश्चय नै कट्टर
 हुन्छन् । कथ्य र Sensibility का अतिक्रमणलाई एकछिन परै सार्ने हो भने पनि कतै न कतै
 हेतुमा कथाको सार्थकता युगवोध र कथाकारले टेकेको त्यसको हदको इमान्दारीपूण भोगाईको
 अभिव्यक्तिमा छ । यस्तो अभिव्यक्ति बोल्ड हुनुपर्छ ।

प्र — ‘पहेंलो गुलाफ’ ‘लोग्ने’ र अरू यस्तै कथाहरूमा तपाईं नै यौनलाई साधन तुल्याएर मनुष्य
 चरित्रको सुन्दर मनोविश्लेषण गर्नु भएको छ । तर यता केही कथाकारहरूले मानव चरित्रलाई
 साधन बनाएर यौनलाई उदाङ्गो पार्ने प्रयत्न गर्नु नै आफ्नो कलाकारिता ठानिरहेकाछन् ।
 मनुष्यको सम्पूर्ण कार्यकलाप यौनद्वारा प्रेरित हुन्छ भन्ने फ्रायडवादी कथाकारहरू एकातिर छन्
 भने अर्को एकथरी यिनीहरूलाई अश्लील छाडावादी फटाहा ठान्दछन् ? यसबारे तपाईंको
 दृष्टिकोण ?
 — अन्य प्राकृतिक प्रवृति सरह सेक्स पनि सहजता हो तर प्रवृतिहरुदेखि व्यक्ति सर्वोपरि हुन्छ ।
 सेक्स नै जीवनको मूल समस्या होइन । यो मान्छेको कन्सेप्शनमा भरपर्ने कुरा हो । आज
 सेक्सको स्थिति जति पातलिंदै गएकोछ उति यसले विकटताहरू संग्रहण गर्दैछ, यो प्रत्यक्ष छ ।
 यो स्थिति अर्थात् गोलमाललाई हाम्रा Sensitive Mass ले बुझेका छन् । यो मान्नै पर्छ
 सेक्स घृणित, अति र विवादास्पद तुल्याउनुमा आजका छितरिएका पीढीका कार्यकलाप र अन्ध
 दृष्टिका दोष हुन् । परिणामस्वरुप आजका भ्रान्त युवापीढी र तथाकथित यौनवादी
 साहित्यकारलाई लिन सकिन्छ जो विद्रोहको नाउँमा Obscene साहित्य प्रस्तुत गर्छन् र त्यस्तै
 Propaganda मा विश्वास राख्छन् । 
हो, मैले यौनकथाहरू लेखेकी छु तर मनुष्य जीवनका मूल्यांकन खालि सेक्सको माध्यमबाट मात्र
हुनसक्दैन र म सेक्सलाई नै साहित्यको उद्देश्य मान्दिन । 
एक तरहले लेख्नलाई सेक्स पर्याप्त भइसक्यो । जहिले पनि एउटै विषयमा के लेख्ने कति लेख्ने
? इमान्दारीसंग भन्ने हो भने खालि एउटा पुनरावृतिको भरमा लेखकले आफूलाई कहांसम्म
कायम राख्न सक्छ ? अर्को कुरा आजका सेक्सविषयी कथाहरु पुनरावृतिलाई लिएर परंपराग्रस्त 
देखिन्छन् — एउटा तिनका वाह्य फर्मलाई छोडिदिउँ । सेक्ससम्बन्धी मान्यता केवल कुण्ठाग्रस्त
छन् र एउटा विकृति र जुगुप्सा बाहेक आजको कथामा नौलो कुरा पाइन्न । सेक्ससम्बन्धी
हाम्रो विचार र दृष्टिकोण आधुनिक, बौद्धिक र सुल्झिएको हुनुपर्छ खालि तर्क र कुण्ठाले कुनै
दर्शन दिनसक्दैन । सैद्धान्तिक आदर्शवादको संदर्भमा साहित्यमा सेक्सलाई छाडावाद र अश्लील
भन्नेहरु चाहिं मुकुन्डो भिरेर टिन ठटाउँछन् ।

प्र — यौन स्वतन्त्रतालाई तपाईं कुन अर्थमा लिनु हुन्छ ? के व्यवहारिक दृष्टिकोणले आजको हाम्रो
 समाजमा यो स्वीकार्य हुन सक्ला ? 
 — सेक्स अवैध होइन तर यौन स्वतन्त्रताको तात्पर्य समाजमा जथाभावी नग्नताको प्रदर्शन र
 अश्लीलताको पराकाष्टा पनि होइन । यौन जीवनमा एक प्रकारको मर्यादा हो र यसलाई
 नियंत्रित र शीष्ट बाटोले उपभोग गरिनुपर्छ । अर्को कुरा हाम्रो आर्थिक व्यवस्था र संस्कारशील
 नेपाली जनजीवन निश्चय नै यसको अत्यधिक स्वच्छन्दता र उच्छृङ्खलताको अभ्यस्त र
 अनुकूल छैन । यौनस्वतन्त्रताको नाउँमा यहाँ निकै सामाजिक भ्रष्टाचार भएकाछन् । वास्तवमा
 हाम्रो देशमा सेक्सको समस्याभन्दा काम र मामको समस्या विराट छ जसले हाम्रा जीवनका
 विकासलाई रोकिदिएको छ । अँ त्यसो त सेक्स समस्याको निदान यहां विवाह, विधवा विवाह,
 तलाक–पुनर्विवाह र डेटिङ्ग (विवाहका निमित्त तत्पर हुनेहरुका) बाट सरल भएको छ र यी 
व्यवहारिक छन् ।

प्र — प्रयोग सधैं सफल नै हुन्छ भन्न सकिन्न । तैपनि यो एउटा ठूलो आँट हो । राल्फेली आयामेली
 र अरू विभिन्न प्रायोगिक साहित्यको रचना गर्नेहरू आफ्नो प्रयासमा कति सम्म सफल छन् ?
 — प्रयोग निश्चय नै कुनै विचित्रको सज्जाको वस्तु या रङ्गाउने रङ्ग होइन । प्रयोग भन्दा म हाम्रा
 सामयिक र समकालीन अन्तर्वोध र युगवोधका अभिव्यक्तिका टे«न्डलाई संझन्छु ।

प्र — प्रेम र विवाह सम्बन्धी तपाईंको कस्तो धारणा छ ?
 — जन्माउने र जन्मनेको बीच अनि पति र पत्नीको बीच एउटा प्रवृतिको रुपमा केही हदसम्म
 प्रेम सार्थक जस्तो देखिन्छ । यो स्थिति बाहिर प्रेम एक Genuine अवस्था हो मान्छेको
 अन्डरस्टैन्डिङ्गको । अन्डरस्टैन्डिङ्गको यस छेउमा आएर प्रेम र व्यक्ति छुट्टिन्छ आफ्नो आफ्नो 
 सहजतामा । यी दुइ तथ्य एक अर्काका क्लेम होइनन् । 
एक अर्थमा विवाह व्यवस्था हो पराश्रयीको निमित्त र स्वावलम्बीका बीच एउटा कम्प्रोमाइज र
एड्जस्टमेण्ट मात्र हो ।

प्र — कवितामा तपाईंको कत्तिको चाख छ ? तपाईंलाई सबै भन्दा मन पर्ने गीतकार, संगीतकार र
 गायक को को हुन् ? 
 — कविताले हाम्रो भावनालाई कम्यूनिकेट गर्छ यसैले मलाई यसमा विश्वास लाग्छ । 
मनपर्ने संगीतकार र गीतकार लेकाली र राल्फाहरु हुन् । 
गायक ? राम्रा स्वर भएका त धेरै छन ।

प्र — साहित्यकारमा हुनुपर्ने गुणहरू तपाईं के के ठान्नु हुन्छ ? 
 — अवश्य साहित्यकार एउटा मानिस हो र यदि नैतिकताको चलन बांङ्गो अर्थमा लिइंदैन भने
 मानिसको Virtue नैतिकता हो ।

साभार
“अन्तरवार्ता — कथाकार प्रेमा शाह सित” उपत्यका (लेकाली प्रकाशन–सम्पादक हिरण्य भोजपुरे, गणेश रसिक), २ (विसं २०२८ वैशाख), पृ॰ १४–२१ । (ई॰ १९७१ अप्रिल)