प्रेरणाका केही प्रसङ्ग

भवनविभाग, ववरमहलको अवशेष

(यहाँ प्रेमा शाहलाई साहित्यिक अभिव्यक्तिको लागि प्रेरणा नामबाट संवोधन गरिएको छ ।)

१. प्रतिकूलता
प्रेरणा, जुन कुरा आफूलाई मन पर्दैन, त्यससंग सामंजस्य गर्नु धेरै मुश्किल हुने रहेछ । व्यावहारिकता र कर्तव्य भावनाले त्यस प्रतिकूल विचार अनुसार आफूले काम गर्नु परिरहेको हुन्छ तर आफूले गर्न भने साह्रो भइरहँदो रहेछ । यसरी इच्छाविरुद्ध काम गर्दा आफ्नै मनसंग साथै परम्परा र अग्रजहरुसंग संघर्ष गरिरहेको हुँदोरहेछ । आखिर आजको समयमा जन्मेर हामीमा आजको छाप पनि केही न केही परेकै हुँदोरहेछ र हामी ‘हिजो’हरुसंग बाझ्न खोज्दारहेछौं नै । ‘हिजो’ले ‘आज’लाई बुझ्न सकिरहेको हुन्न । उनीहरुको पूर्वाग्रह तथा आत्महीनताको चश्मा लगाएको हुन्छ । उनीहरु ‘हिजो’को परम्परामा लीन भएर आफूलाई बिर्सिरहेको हुन्छ र अरुहरुलाई पनि तान्न खोजिरहेको हुन्छ । तर हामी प्रभुता प्राप्त अधिकारीहरुसंग उनीहरुको प्रभाव पार्नुसंग निरन्तर झगडिरहेकै हुन्छौं । यसमा हाम्रो विरोधमा विरोधको लागि विरोध त छैन ? अथवा हाम्रो नाइँनास्तिमा “आधुनिक पागलपन” मात्र त छैन ? लेख्दालेख्दै विचार आउँछ — शायद हामी आधुनिकवादीहरुले पूर्वाग्रहरहित भएर अरुहरु र आफूहरुलाई पनि आत्मनिरीक्षण गर्नु छ । 
विसं २०२८ भाद्र ४ शुक्रवार
(ई॰ १९७१ अगस्त २०), १२ बजे, ववरमहल ।

२. लुगा र वरको रुख
प्रेरणा, तिमी मलाई बारंबार भन्थ्यौ — अलिक ‘स्मार्ट’ लुगा लगाउनुपर्छ । दाढी बराबर खौरनु पर्छ आदि । अर्थात् तिमी मलाई शारीरिक आकर्षण तर्फ लाउन आग्रह गर्थ्यौ । तिमी आफ्नो पतिको घरतिर जाँदा पनि मलाई शिक्षा देउ भन्दा यही सौन्दर्य सिद्धान्तको शिक्षा दियो । मैले भने — लुगासंग विहा गर्ने हो र ? हाम्रो वीचमा मेरो जीवन साथीको रुपमा ‘वाइ’ लाई हेर्ने प्रसंग थियो — त्यसबेला । अब त उनी पनि मबाट विदा भई । जे होस् तिम्रो शिक्षा प्रत्येक नवयुवतीको पक्षमा साँच्चो ठहरिएला । 
तर म बराबर तिम्रो भनाइहरु पालन गर्न नसकेर आफ्नो कमजोरी छिपाउन खोज्छु — लुगासंग कसैको गुणको सम्बन्ध छैन । तर गुण पहिले कसले देख्छ र हगि ? हैन, पहिले त लुगा नै त हो । बाहिर हेरेर त मान्छे आंकिन्छ — भित्र को घुसिरहन्छ, पहिले, होइन ? मेरो कमजोरी ठान्नुस् अवश्य सादापन, बेवास्ता अथवा असभ्यता, शायद विहा नगरी म सौन्दर्य शास्त्र मुताबिक हिंड्न सक्तिन होला । म आफू एक्लो के मात्र गरुँ । मलाई लाग्छ मैले आफ्नो मुख र शरीरको श्रृंगारमा लागें भने स्वभावत मन र मस्तिष्कको विकासमा कम लाग्नु पर्ने हुन्छ । त्यसकारण सकेसम्म म दोस्रोको लागि मलजल हाल्न प्रयास गर्छु । तर कुन्नि के हुन्छ, शायद वाह्य श्रृंगारसंग पनि भित्री सफाइको सम्बन्ध छ कि, म आफ्नो इच्छित ढंगले मेरो हृदयको विकास पनि गर्न सकिरहेको हुन्न । लाग्छ मलाई स्थायी बसोबासको आवश्यक छ, स्थायी बस्नु, मतलब जीवनको निश्चित लक्ष बनाउने आधार । शायद प्रत्येक नवयुवकको मन विहा अघि निश्चित हुन्न मलाई लाग्छ — म बिना उद्देश्य जीवनको लामो बाटो हिंडिरहेछु, कहिले गाउँदै, कहिले नाच्दै, कहिले हाँस्दै, रुँदै कहिले । तर कहिले लाग्छ, म जस्तै त छ — मान्छेहरु, यस पृथ्वीमा उब्जेका च्याउहरु । तर म बराबर अनुभव गर्छु — होइन म त चौतारोको एउटा ठूलो रुख हुनुपर्छ, जहाँ बटुवाहरुले आराम गर्न पाउँछन् ।
विसं २०२८ भाद्र ६ आइतवार
(ई॰ १९७१ अगस्त २२), ववरमहल, दिउँसो ।

३. राम्रो लाग्नु
अहो ! पौने ११ बज्न लागेछ । काम गर्न मन लागिरहेको छैन । इञ्जीनियरहरु कोठाकोठामा मस्त आफ्नो कुरा गरिरहेछन् । तर प्रेरणा, मलाई तिम्रो कुरा याद आइरहेछ । मलाई मेरो पूर्व धारणा ख्याल भइरहेछ । एकदिन मैले भनेथें, मेरो कल्पनाकी देवी कल्पुको चिन्तनले गर्दा मलाई मोटी केटी मन पर्ने भइरहेछ । मलाई हृष्टपुष्ट तरुनी राम्रो लाग्छ । त्यसबेला तिमीले भन्यौ –”मोटी भएर राम्री हुने हो र ?” ह, अहिले म त्यही प्रश्नमा पुनर्विचार गर्दैछु । आज अफिस आउँदा बाटोभरि यही कुराले मलाई अँठ्याइरह्यो । 
साथीहरु पनि कस्ता कस्ता हुन्छन् । उनीहरुसँग गफ गरिदिनुपर्छ । उनीहरुको मनोरंजन पात्र बनिदिनुपर्छ । म पल्लो कोठा गफ मण्डलीमा हाजिर भएर फर्केर फेरि लेख्दैछु । 
चलचित्रमा विशेष चाख राख्नेहरुले तुलनात्मक दृष्टि राख्ने र प्रचार प्रसार त भएर हो कि उनीहरुको आफ्नो आफ्नो मन पर्ने नायक नायिका हुन्छन् । तर मलाई भने कुनै खास अभिनेत्री विशेष मन पर्ने भएन । कुनै कुनै स्थानमा तिनीहरुको अनुहार र काम आकर्षक हुन्छन् । राम्रो लाग्नु शायद संस्कार, पूर्वाग्रह, कलिलोपनले पनि हुन्छ । तर मलाई चाउरी परेको बूढीमा पनि सौन्दर्य देख्ने राम्रो मनपर्छ । त्यो कस्तो र के जादुगरी होला, जसबाट कि मानिसलाई अर्को मान्छे राम्रो लागोस् । मलाई लाग्छ, मानिसको निर्मल भावना, सत्यपक्षीय झुकाउ, मानवीय मनोवृति आदिबाट वास्तवमा राम्रो हुन्छ । त्यस्तो मन भएको मानिस चाहे त्यो तरुनी होस, बच्चा वा बूढो नै किन नहोस् राम्रो हुन्छ । उनीहरुको मुखमा पनि मनको भाव परावर्तन भएको हुन्छ, जुन देख्नलाई मानिसमा पूर्वाग्रह र झूठो आवरण हुनुहुन्न । आज मानिसको मन्दबुद्धि र विज्ञापनको असरले कृत्रिमतालाई मन पराउने प्रवृति छ । यस झूठोपनको सिकार ठूलठूला विचारकहरु पनि भएका छन् । “सुनलाई खोल हाल्नु पर्दैन” भन्ने उखानमा वास्तवमा निकै सत्यता छ । मानिसहरु त आफूलाई जति पनि सिंगार्छन् बाहिरी रुपले । तर अनन्त सौन्दर्य आन्तरिक सिंगारमा रहन्छ भन्ने कुरा मानिस मात्र सबैलाई थाहा भएर पनि बुझ पचाउँछन् । 
आज मलाई अनुभव भइरहेछ, प्रेरणा, राम्रो हुनु वास्तवमा मोटी र पातली हुनुमा हैन, बरु उनमा भएको सद्गुणको मात्रा र सद्भावनाको भित्री प्रकाशले उनको अनुहारमा परावर्तित उज्यालोपनमा हुन्छ । तिमी कहिलेकाहिं बाहिरी सौन्दर्यमा भुली आन्तरिक आकर्षणको विकास गर्न अल्छी मान्छौ । मेरो विचारमाथि विचार गरिदिन्छौ कि ।
२०२८ भाद्र १० विहीवार
(ई॰ १९७१ अगस्त २६)
११/१५ बजे, ववरमहल

४. नजिकिनु
मलाई थाहा थिएन, प्रेरणा त्यतिको नेपालभाषा बोल्न जान्नु हुन्छ । उहाँ टुटेफुटेको रुपमा सकेसम्म बोल्नु हुन्छ । उहाँलाई त्यसरी बोल्दा मसंगको निकट आत्मीयताले गर्दा अलिकति पनि संकोच अनुभव भएन । उहाँ सकेसम्म नेपालभाषामा कुरा गर्नुहुन्थ्यो । यसरी कुरा गर्नु आवश्यक भइरहेछ–हामीलाई । अरुले नबुझ्ने भाषा । म वीरगंज गएको छु — विशेष कामले । (१८ श्रावण २०२८) । उहाँलाई मेरो आवश्यकता पर्यो । धन्य प्रेरणा, तपाईले मलाई त्यतिको निकट सम्झनु भयो । एउटा अपरिचित व्यक्ति — टाढाको, भोजपुरको । तर एउटा मानिस म, तपाई अर्को मानिस । हामीमा निस्वार्थ आत्मियता हुनुको कारण शायद हाम्रो सदाचारले नै हो । आपसमा बुझ्ने क्षमताले हो । तपाई मलाई आफ्नो जीवनको महत्वपूर्ण प्रश्नको समाधान गर्दा सम्झनु हुन्छ । मैले सल्लाह दिनुपर्छ — म जे अनुभव गर्छु । म आफ्नो विचार खुलस्त भन्दिन्छु । तपाईं आफ्नो विचारलाई मेरो विचारको कसीमा घोटेर त्यसको सहीपन छुट्याउन खोज्नुहुन्छ । जब मेरो अहंलाई पनि तपाईं कहिलेकाहिं आघात पुर्याउन खोज्नुहुन्छ — आफ्नो स्वार्थ सिद्ध गर्न(तर मलाई मारेर होइन, अरुबाट, आफ्नो पक्षको बलियो समर्थन बनाउन — भावनात्मक सहयोग), म तत्काल विरोध गर्छु । मलाई सही नसक्नु हुन्छ । अनि फेरि तपाईं त्यसलाई ‘रियलाइज’ गरेर नरम भइदिनु हुन्छ । तपाईं कि त मलाई सम्झाउनमा सफल हुनुहुनेछ, या त आफूले भूल स्वीकार गरी मेरो आवेग रोक्नुहुन्छ । हामी वीचमा ठूलो विवाद हुन्छ, हामी वीचमा खूबै मेल हुन्छ । त्यसैले त मलाई तपाईं आफूसंग मेल नखाने प्रेरणा, तपाईं मलाई ओल्टाईपल्टाई हेर्नुहुन्छ जसरी हेरे पनि आखिर मलाई तपाईं काशीनाथ तमोट नै पाउनुहुन्छ — माष्टर साहेब !
विसं २०२८।५।११।६ 
(ई॰ १९७१ अगस्ट २७)
१२/४५ राति, वसन्तपुर

Like what you read? Give Kashinath Tamot a round of applause.

From a quick cheer to a standing ovation, clap to show how much you enjoyed this story.