बसेर, उठेर गीत गाएको चित्र
हिजो अव्यवस्थित फाइल मिलाउँदा मैले नेया (०१-१२-२००८)ले कोरेको यो चित्र भेट्टाएँ। त्यहाँ मैले लेखेको रहेछु- बसेर, उठेर गीत गाएको- नेया तमोट, १९ जुलाइ २०१५। हेर्दा रमाइलो लाग्यो। चित्रमा अलिअलि रङ्ग पनि भरेको रहेछ। त्यसवेला नेयालाई हात कोर्न आउँदो रहेनछ। दुवै गीत गाउने केटीमध्ये बसेर गाउनेको केश भुइँ छुन्छ, उठेर गाउनेको केश मुठै हावाले उडाएको देखिन्छ। अहिले पनि नेयालाई चित्रमा खुट्टा बनाउन आउँदैन, यसमा एकजनालाई हिल जुत्ता लगाइदिएको छ।
समय हिसाब गर्दा यो चित्र कोर्दा नेया साढे छ वर्षकी रहेछ। मध्य बानेश्वर, मिलनचोकनेरको मन्टेस्सोरी किड्स वर्ल्डमा भर्खर सिनियर केजी (०४-२०१५) सकेर बानेश्वरचोकनेर, नयाँ बानेश्वरको काव्य स्कूलमा कक्षा एकमा पढ्न शुरु गरिरहेकी रहेछ।
यो चित्रमा नेयाको बालसुलभ गाउनुको परिकल्पना झल्किएको छ, बिना नाप, बिना अनुपातले मुक्त हातले कोरेको, गीतको स्वरलाई सङ्गीतको चिह्नहरुले चित्रण गरेको, आवाजलाई नछरेर सर्पिलो मुस्लो बगिरहेको देखाएको क्या राम्रो छ।
-काशीनाथ तमोट
(नेयाको बाजे)