रानीपोखरीमा पुरातत्वद्वारा प्रताप मल्लको दफन

Kashinath Tamot
Nepalmandal
Published in
4 min readAug 1, 2018
Ranipokhari art by Hariprasad Sharma, Jan. 2018

ई॰ २०१५ अप्रिल २५ मा आएको महाभूकम्पले नेपालको धेरै सम्पदास्थल भत्किए । त्यसमध्ये मध्यकालीन राजा प्रताप मल्ल (ई॰ १६४१–७०)ले रानीपोखरीको बीचमा बनाएको अहिले बालगोपालेश्वर नामले प्रशिद्ध मन्दिर पनि भत्कियो । सो मन्दिर ई॰ १६६९ फेब्रुवरी (नेसं ७८९ माघशुक्ल १३)मा पोखरी खन्न शुरु गरेको पाँचौं वर्षमा ललितपुरका राजा श्रीनिवास मल्लको समुपस्थितिमा प्रतिष्ठा गरेको थियो । मन्दिर प्रतिष्ठाको आठ महिना पछि ई॰ १६७०मा स्थापित शिलापत्रमा सो क्षेत्र “श्रीश्रीश्री परमेश्वर–परमेश्वरी ब्रह्मभूमि” भनिएको छ । सो मन्दिरमा नेपालीकलाको नौलो आविष्कार लक्ष्मी र पार्वतीको अर्धाङ्ग स्वरुपको हरिशङ्करी (झङ्केश्वरी) मूर्ति स्थापना गरिएको छ ।

प्रताप मल्लनिर्मित हरिशङ्करी मन्दिर स्थापनाको ५२ वर्षमा काठमाडौं आएका इटालीयन पादरी इप्पोलिटो डेसिडेरीले ई॰ १७२१मा देखेर त्यसको बयान गरे — भव्य सिंढीमाथि अडिएको एउटा ठूलो स्तम्भ (ए टल कलम्न) पोखरीको बीचमा छ । स्थापनाको १७६ वर्षमा ई॰ १८४५ फेब्रुवरीमा प्रुसियाका राजकुमार वाल्डमर आउँदा उनका साथ आएका चित्रकारले त भोटाहिटी क्षेत्रबाट देखिने रानीपोखरीको भूदृश्य चित्रमा उतारे, जसमा हरिशङ्करी मन्दिर शिखर (ग्रन्थकूट) शैलीमा बनाएको स्पष्ट छ । सो मन्दिर ई॰ १८५०मा ब्रिटीश रेजिडेन्सी सर्जन ओल्डफिल्ड आउँदा देखेका थिए, जसलाई अर्को वर्ष प्राइममिनिष्टर जङ्गबहादुरले जीर्ण भयो, घाँसपात उम्रियो भनी भत्काई गुम्बज शैलीमा बनाए । पुरानो शिखर मन्दिर साह्रै सुरम्य वस्तु (भेरी पिक्चरस्कु अब्जेक्ट) बिगारी कुरुप (‘अग्ली’) मन्दिर बनाएकोमा ओल्डफिल्डले चित्त दुखाएका छन् । (स्केचेज फ्रम निपाल, भाग १ ई॰ १८८०, पृ॰ १११ जङ्गबहादुरको गुम्बज मन्दिर ८३ वर्षपछि ई॰ १९३४को महाभूकम्पले भत्क्यो र ई॰ १९३६तिर जुद्ध शमशेरले अर्को शैलीको गुम्बज मन्दिर बनाए जुन ई॰ २०१५को भूकम्पले भत्कियो र अहिले बनाउने क्रममा छ ।

पुरानो सम्पदा रानीपोखरीलाई आधुनिक सिमेन्टेड पोखरी बनाउन खोज्दा जनविरोध उभार भइ आन्दोलन हुँदा गत सालको मन्त्रीपरिषद्ले सम्बन्धित निकाय पुरातत्व, प्राधिकरण विभाग महानगरपालिकालाई सुझावको रुपमा कार्यादेश दिए — “रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने सम्बन्धमा अध्ययन” गरी प्रतिवेदन पेश गर्ने । यस कार्यादेशलाई ११ सदस्यीय विज्ञ समिति २८ डिसेम्वरमा गठन भई मिटिङ बस्दा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर र डिभिजनल इञ्जीनियर सम्पत घिमिरेले ठाडै अस्वीकार गरे । उनीहरुको तर्क छ — एउटा चित्रको भरमा “प्रताप मल्लकालीन शैली, स्वरुप”को मन्दिर बनाउन सकिंदैन । संयोजक विष्णु कार्की, पूर्वमहानिर्देशक, पुरातत्व विभागले कार्यादेश अनुसार बनाउन सकिन्छ वा सकिंदैन भनी तीन हप्ता खोजी, उत्खनन कार्य गराए । त्यो गर्न सकिने र गर्नुपर्ने सुझाव सहित विज्ञ समितिले २१ जनवरी २०१८मा महानगरपालिकालाई प्रतिवेदन बुझाए । पुरातत्वका तीन प्रतिनिधि कुँवर, घिमिरे र स्ट्रक्चरल इञ्जीनियर पुरुषोत्तम डंगोलले त्यसमा सही गरेनन् । तिनीहरुले मौखिक रुपमा पोखरी निर्माण प्रक्रिया मान्ने तर मन्दिर शैली नमान्ने भए र सोही अनुरुप काम गर्दै आएको छ । यसमा सर्वोच्च अदालतले “मौलिक स्वरुप नबिग्रने गरी बनाउन” भनेकोलाई तिनीहरुले जुद्ध शमशेरको गुम्बज शैली हो भनी अर्थ लाएको छ र हौसिएको छ । मन्त्रीपरिषद्ले जस्तो “प्रताप मल्लकालीन शैली र स्वरुप” भनिदिएनन् । पुरातत्वका जागिरे पुरातत्व अधिकृतहरु सम्पदाको बदलिंदो स्वरुप पनि पुरातात्विक हुन्छ भनी सैद्धान्तिक कुरा तेर्स्याउँछन्, उनीहरुलाई प्रताप मल्लकालीन शिखर शैलीको मन्दिरको चित्र पाएको मतलब छैन ।

Harishankari image of Ranipokhari, 1669 CE

प्रताप मल्लको हरिशङ्करी/बालगोपालेश्वर (राणाकालमा गौरीशङ्कर) मन्दिर तीन शैलीका पाइएका छन् — शिखर (ग्रन्थकूट), गुम्बज १, गुम्बज २ । मल्लकालीन छाने (पेगोडा) र स्तूप (चैत्य) शैली नेपालको राष्ट्रिय शैलीको रुपमा स्वीकार्य छ । तेस्रो शिखर शैली मल्लकालमा लोकप्रिय छ । स्वयं प्रताप मल्लले स्वयम्भूमा प्रतापपुर, अनन्तपुर बनाई सो क्षेत्रको सौन्दर्य बढाएको छ । ती मन्दिर पनि भूकम्पमा भत्किएकोमा पुरातत्व विभागले नै बनाई उद्घाटन गर्न तयारी गर्दैछ ।
प्रताप मल्लको प्रिय शिखर वास्तु शैलीलाई जङ्गबहादुरले ई॰ १८५१मा गुम्बज शैलीले विस्थापित गरे, ई॰ १९३६मा फेरि जुद्ध शमशेरले अर्को गुम्बज शैलीले प्रताप मल्ललाई बिर्साइदिए । अब प्रताप मल्लको शैली र स्वरुपमा मन्दिर बनाउन सुनौलो अवसर पाएर पनि कुन्नि के स्वार्थले हो प्रताप मल्लको आत्मालाई रानीपोखरीको बीचमा पुरातत्व विभागले जुद्ध शमशेर शैलीको मन्दिरमुनि दफन गर्न लागेको छ । जुद्धको गुम्बज शैलीलाई फोटो प्राप्तिको आधारमा पाटनमा भाइदेगः र भक्तपुरमा फसिदेगःलाई मौलिक स्वरुपमा निर्माण गरिएको कुरा यहाँ स्मरणीय छ । काठमाडौं उपत्यकाको सभ्यतालाई चित्रमा कोर्न सिपालु कलाकार हरिप्रसाद शर्माले शिखर शैली मन्दिर सहितको रानीपोखरकीको परिदृश्य कोरेकोलाई पनि जुद्ध शमशेरको गुम्बज शैली मन्दिर रानीपोखरीमा ठडिए खल्लो हुनेछ । (कान्तिपुर–कोसेली, २७ जनवरी २०१८)

रानीपोखरीको निर्माणको जिम्मा सेनालाई दिने कुरा सुनिएको छ । यो अर्को भूल हुन लागेको छ । वास्तवमा कुनै पनि सम्पदा दक्ष डकर्मी, सिकर्मीबाट वास्तुकलाविद्को नक्शाङ्कन, निर्देशन र स्थानीय सम्वद्ध सम्पदा संलग्न व्यक्तिको निगरानीबाट हुनुपर्ने हो । यो कुनै कार्यालयबाट ठेक्का दिएर वा राजनैतिक जनप्रतिनिधिबाट विज्ञ र सल्लाहकारको लर्को लगाएर बन्ने होइन । नेपालको वास्तुकलामा छाने र स्तूप शैलीको लेखोट पाइन्छ तर पोखरी वास्तु प्रविधिबारे लेखेको पाइँदैन, त्यसैले यसबारे सम्पदा स्थलकै गहिरो व्यावहारिक अध्ययन गरी सम्बन्धित दक्ष व्यक्तिबाट विकास गर्नुपर्छ । सम्पदा निर्माण ढिलो भएर केही हुँदैन, सही विस्तृत विवरण तयार गरेर मात्र गर्नुपर्छ, हचुवाको भरमा गरिए त्यो काम बालुवामा पानी हाले जस्तो मात्र हुन्छ । रानीपोखरीमा पानी अड्याउने उपाय चुनौतिपूर्ण छ, किनभने त्यो महानगरपालिकाको फोहरा र सिमेन्ट वाल बनाउँदा क्षत–विक्षत भइसकेको छ । मल्लकालीन पोखरी निर्माण प्रविधिबारे व्यापक अध्ययन आवश्यक छ, ढिलो भएर केही हुँदैन दुरुस्त हुनु आवश्यक छ ।

रानीपोखरीको बीचमा मन्दिरको रुपमा प्रताप मल्लको सट्टा जुद्ध शमशेर ठडिए रत्नपार्क क्षेत्रमा जाने प्रत्येकलाई मानसिक ‘टर्चर’ हुनेछ । सो रोक्न सम्पदाप्रेमीहरु लागिहाल्ने कि ?

--

--