Kashinath Tamot
Nepalmandal
Published in
Oct 22, 2020

राष्ट्रपति उद्घाटित रानीपोखरीको ताम्रपत्रमा निर्माण मिति मिलेन

रानीपोखरी प्रताप मल्लकै मौलिक ग्रन्थकूट शैलीमा निर्माण गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनभावनालाई कदर गरेको छ र मल्लकालिक वास्तुकलाप्रति आस्था देखाएको छ। यसले चारैतिर खुशी छाएको छ। रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२० अक्टोबर २१/विसं २०७७ कार्तिक ५मा उद्घाटन भयो।

तर दुर्भाग्यवश प्राधिकरणको इतिहासप्रति हेलचक्राइँले राष्ट्रिय कलासङ्ग्रहालय, भक्तपुरमा रहेको रानीपोखरीसम्बन्धी ग्रन्थ (पूर्णिमा १३७:५१), दिल्लीरमण रेग्मीको. मेडियभल नेपाल, तेस्रो, सन् १९६६:१०२को ठ्यासफू (घटनावली)को आधारमा विज्ञटोलीले दिएको रानीपोखरी जीर्णोद्धारसम्बन्धी अध्ययन प्रतिवेदन, २०७४ माघमा दिएको रानीपोखरी निर्माण मितिलाई बेवास्ता गरेर उक्त ताम्रपत्रमा नेसं ७९०/विसं १७२६ लेखेर खेलांची गरिएको छ। प्रतिवेदनमा स्पष्ट लेखिएको छ-

“ई.सं. १७६९ फेब्रुवरी (ने.सं. ७८९ सिलाथ्व १३) अर्थात् वि.सं.१७२५ माघ शुक्ल १३का दिन पोखरीको बिचको देवलको अग्निहोत्र प्रतिष्ठा गरियो।” (पृष्ठ २)

पत्रपत्रिकामा निर्माण सम्पन्न गरी एक वर्ष नौ महिना पछि नेसं ७९०/विसं १७२७ आश्विन शुक्ल पूर्णिमामा राखिएको चारकिलाको शिलापत्रको मितिलाई रानीपोखरी निर्माण मिति भनी प्रचार गरिएको पनि पत्रकारहरुले सच्याउन वाञ्छनीय छ।

रानीपोखरी निर्माण वर्ष नेसं ७८९को मुद्रा प्राप्ति र हातीमा सवार रहेकोले राजा प्रताप मल्ल र रानी अनन्तप्रियाका छोरा दातिम्ह (माहिला) चक्रवर्तीन्द्र मल्लको स्वास्थ्य लाभको लागि निर्मित पोखरी उनको मृत्युशोकमा बनाएको भन्ने भ्रम पनि हटाउनु अत्यावश्यक छ।

--

--