समावेशी ‘छाँगो’मा किराती कविता
ई. १९५१ (२००७ साल)को ठूलो राजनैतिक परिवर्तनपछि भोजपुरमा ठूलो साहित्यिक जागरण आयो। अर्को वर्षमै ‘विद्यार्थी' (हस्तलिखित पत्रिका) निकालियो। साहित्य सिर्जनाको स्रोत विद्योदय हाई स्कूल भयो। त्यहाँको विद्योदय शिक्षक संघले सामाजिक अगुवा नारदमुनि थुलुङको प्रधान संरक्षकत्वमा र शिक्षक ललितबहादुर हलवाईको प्रधान सम्पादन र शरत्चन्द्र शर्माको व्यवस्थापनमा ‘छाँगो' (१ः१/२०१३ वैशाख-जेठ/ई. १९५६, अप्रिल-मे, नेपाली कागजमा लिथो) निस्क्यो।
यो समावेशी ऋतु पत्रिका हो। पहिलो अङ्कमा मूल नेपाली साहित्यबाहेक अंग्रेजी Student शिक्षक लक्ष्मीबहादुर हलवाई बी.ए. र समाजसेवी लालधन शाक्यको नेपालभाषा “झरनाया किपा” निस्क्यो। दोस्रो ‘छाँगो' (१ः२/२०१३ पौष-माघ/१९५७ जनवरी -फेब्रुवरी, छापाकागज लिथो)मा नेपाली अतिरिक्त लक्ष्मी हलवाईको पहिलेको अंग्रेजी बाँकी अंश र लाक्पा ग्यालुको कविता Seeking, बालकृष्ण हलवाईको नेपालभाषा कथा ‘पश्चाताप' प्रकाशित भएको छ। यसमा थप यसपालि किरातीभाषाको कविता ‘?’ भोजपुर, आम्चोकको सु. सेतुमान राईको प्रकाशित भएको छ,जुन यसप्रकार छ:
सङ खोपसि खारिन खोकलिदा।
आन बुकले खायङ भोकलिदा
सिधूर पोतेे युग लागी।
कोदालो धोकमा बुग लागी
यस कविताबारे दिइएको टिप्पणी पुछार च्याटिएकोले नदेखिने भएको छ। केवल बुझिने अंश हो-
यो किरात भाषाको कविता हो……।
जीर्ण अवस्थाको छाँगो १-२ (ई. १९५६-५७) शुभ सफूकुथि, बानेस्वरमा संरक्षित छ। यस कविताको अनुवाद, व्याख्या र अन्य विवरण विस्तार सम्बन्धित जाति-भाषीहरूले गर्नु वाञ्छनीय छ। छाँगोले समावेशी नीति अपनाएको अहिले हेर्दा एक ऐतिहासिक कदम उठाएको रहेछ भन्ने देखियो। पहिलो अङ्कमा आह्वान गरिएको छ-
जातिय भाषाको विकास गर्नोस्
‘छाँगो’को ग्राहक बन्न नभूल्नुहोस्। (पृष्ठ १८)
प्रस्तुत छाँगो संभवतः नेपालको जातजातिको करीब छ दशक अघिको पहिलो समावेशी पत्रिका हो।