स्वस्थानी व्रतकथा परम्परा

नेसं ६९३ को स्वस्थानीको पुष्पिका

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको व्रतकथा श्रवण गर्ने परम्परा नेपालको एक राष्ट्रिय चरित्र जस्तो भएको छ । नेपालबाट विदेशिएका र त्यहाँ वसोवास गरेका नेपालीहरूको नेपालबाट लगिएको एक सांस्कृतिक परम्परा पनि यो भएको छ । भारतको विभिन्न ठाउँमा पुगेका नेपालीहरूले मात्र होइन समुद्रपार थाइल्याण्ड, अझ फिजी द्वीपमा पुगेका नेपालीहरूले समेत स्वस्थानीको व्रतकथा बर्सेनि सुनेर नेपाललाई बिर्सन नसकेको कुरा पनि सुनिन्छ । 
यस्तो लोकप्रिंय कथा कहाँबाट कसरी फैलियो, सो कुराको सरसरी खोजी गर्ने जमर्को यहाँ गरिएको छ । यस कामको ऐतिहासिक विकास थाहा पाउन नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाले दुई दशक (ई॰ १९७०–१९९०)भित्र छविचित्र (माइक्रोफिल्म) लिइएका ६२६ वटा स्वस्थानीलाई यहाँ आधार बनाइएको छ । हाल प्रचलित स्वस्थानीको आधारशिला भने विश्वराज शर्मा लिखित तथा सर्वहितैषी कम्पनी, वाराणसीद्वारा वि॰सं॰ २०३७ । ई॰सं॰ १९८० मा प्रकाशित श्री स्वस्थानी व्रतकथालाई बनाइएको छ । 
‘स्वस्थानी’ नाम कसरी रह्यो होला भन्ने खुल्दुली प्रायः सबैजसोलाई परेको छ । यो नाम वामन शिवराम आप्टेको प्रसिद्ध व्यावहारिक संस्कृत–अङ्ग्रेजी शब्दकोश (ई॰ १८९० देखि प्रचलित)मा छैन । अझ यो नाम मोनिएर मोनिएर–विलियमको वृहत् संस्कृत–अङ्ग्रेजी शब्दकोश (ई॰ १८९९ देखि प्रचलित)मा पनि छैन । नेपाली साहित्यको इतिहासकार शरद्चन्द्र शर्माले यो ‘स्वस्थानीय’ शब्दबाट विकसित भएको परिकल्पना गर्नु भएको छ । (पहिलो प्रकाशित ‘स्वस्थानी’ र त्यसको शोधक, प्रज्ञा, ४१/वि॰सं॰ २०३९) संस्कृत, नेवारी र नेपाली भाषाका प्राचीनतम स्वस्थानीका प्रयोग हेर्दा ‘स्वस्थानी’ शब्द ‘स्वस्थानपरमेश्वरी’ शब्दको प्रयोगाधिक्यबाट छोटो भएर त्यसो भएको देखिन्छ । ‘स्वस्थान’मा ‘परमेश्वरी’को ईकार गाभ्न गई एक स्वतन्त्र देवीवाचक शब्द बन्न पुगेको देखिन्छ । यो शब्दको पनि तत्कालीन नेवारीको बोलिचाली रूप सुठाहि÷सुठायि वा सुठा मात्र पति भएको पाइएको छ । (ऐश्वर्यधर शर्मा, स्वस्थानी, वि॰सं॰ २०४५, पृष्ठ क)
जसरी संस्कृत शब्दको इतिहासमा ‘स्वस्थानी’ नेपालको एक मौलिक शब्द हो, त्यसरी नै भारतीय संस्कृत पुराण परम्पराका अनेक कथा श्रृङ्खलामा स्वस्थानी व्रतकथा नेपालको एक मौलिक कथा थपनी हो । अहिले सबैजसो स्वस्थानी पुस्तकमा उल्लेख गरिने पुछारको वाक्यांश “श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्त्य संवादे श्रीस्वस्थानी परमेश्वर्या व्रतकथा” — बाट यो स्कन्दपुराण अन्तर्गतको कथा हो भन्ने देखाइएको छ । यसमा आंशिक सत्यता छ । तल यसबारे अरू खुलस्त पारिएको छ । छविचित्रित स्वस्थानीको ६२६ प्रतिमध्ये १३५ प्रतिमा स्रोत पुराणको उल्लेख पाइएको छ । त्यस अनुसार स्कन्दपुराणको मात्र होइन स्वस्थानी लिङ्ग, पद्म र शिवपुराणबाट लिइएको उल्लेख पनि आउने गरेको छ । पुराण उल्लिखित विविध पुराणको छविचित्र संख्या यसप्रकार पाइएका छन् । जस्तो ः–
१. लिङ्गपुराण ५९
२. स्कन्दपुराण ४९ 
३. पद्मपुराण २४
४. शिवपुराण ३

यी चारै पुराणका कथा प्रसङ्गहरू स्वस्थानीमा समाविष्ट भएको कुरा पनि साँचो हो, तर पनि स्वस्थानी नेपालको एक मौलिक कथा देखिएको छ । 
नेपाली स्वस्थानीको स्रोतबारे विद्वानहरूले विचार गरेका छन् । यसतिर पहिले ईश्वर बरालको झ्यालबाट (नेपाली कथा संङ्ग्रह, वनारस, नरेन्द्रप्रसाद रेग्मी, २००६ पृष्ठ १७) मा यस्तो देखाउनु भयो । उहाँको स्वीकारोक्ति छ ः
नेपाली समाजमा सर्वाधिक प्रचारित आख्यान यै (वीरसिक्का) हो । तर गद्यको प्रसङ्गमा स्वस्थानी व्रतकथालाई वाद दिनु हुन्न । यो पनि यसै ताकको प्रकाशन हो । यसको पाठ गर्ने प्रथा नेवारबाट पर्वतेले सिकेको हो, तापनि पुस्तकाकारमा मोतीराम भट्टको युगमा नै गद्यको व्यापक प्रचार भएको हो भन्न सक्छौं । 
यस प्रसङ्गमा ज्ञानमणि नेपालले बढी खोजिनीति गर्नु भयो । “पौराणिक परम्परामा नेपालीभाषाको पुराण भक्तिकाण्ड — रामायण”को परिचय प्रसङ्गमा उहाँले स्वस्थानीबारे विशेष उत्साहित भएर तलका कुरा लेख्न पुग्नु भएको छ । 
संस्कृतभाषामा मात्र पुराण लेख्ने पुरानो परम्परालाई छाडेर कुनै व्युत्पन्न नेपाली पौराणिकले आफ्नै मातृभाषामा पनि पुराणको प्रादुर्भाव गराए । स्वस्थानी व्रतकथालाई यसको उदाहरणमा हामी प्रस्तुत गर्न सक्छौं । स्वस्थानी व्रतकथा एउटा सानो उपपुराणकै रूपमा रहेका हामी पाउँछौं । मल्ल शासनको समयमा यसको उत्पत्ति भएको थियो । यसको मूल नेवारी भाषामा थियो । आज नेपाली भाषामा यसको प्रतिसंस्करण भएको छ । (उदय, २८ः १–४/२०२२ श्रावण)
घटराज भट्टराईले “स्वस्थानी व्रतकथाको राष्ट्रिय मूल्य र महिमा” आँक्ने सिलसिलामा यो नेपालको मौलिक कृति हुनुपर्ने तर्क यसप्रकार दिनु भएको छ । जस्तो ः
हिन्दी आदि अरू भाषामा स्वस्थानी पुस्तक भेटिंदैन । तसर्थ स्वस्थानी व्रतकथा नेपालीहरूको मौलिक चिन्तन हो र आफ्नै उपलब्धि हो । (गोरखापत्र, २०४५ माघ २२ शनिवार, पृ॰ ख)
आखिरमा जगदीशचन्द्र रेग्मीले ईश्वर बराल र ज्ञानमणि नेपालहरूकै विचारको समर्थनमा थप सहीछाप लाउनु भएको छ –”॰॰॰॰नेवारी भाषामा स्वस्थानी व्रतकथा ई॰ १५७३ देखि पाइएको देख्दा यो कथाको परम्परा काठमाडौं उपत्यकाको मल्ल संस्कृतिको देन हो भने तथ्य बुझ्न सकिन्छ ।” (श्रीस्वस्थानी, उपकार, ९ः४÷२०४६ पुस, पृ॰ १६)
माथि उल्लिखित विद्वान्हरूले वर्तमान नेपालमा प्रचलित स्वस्थानीको मूल नेवारी भाषाको स्वस्थानी हो भन्ने ठानेका छन् । यसो हुँदा स्वस्थानी प्राप्त विविध भाषाबारे चासो लिनु आवश्यक भएको छ । छविचित्रित स्वस्थानीका क्याटलग–कार्ड अध्ययन गर्दा विविध भाषाका प्राचीनतम स्वस्थानी निम्नानुसार पाइएका छन् । जस्तो ः–

क्रम भाषा ने.सं./वि.सं. शीर्षक पत्र छविचित्र
१. संस्कृत ६९३/१६२९ स्वस्थानपरमेश्वर्या व्रतकथा ८ बी १३/४२
२. नेवारी ७२३/१६५९ स्वस्थानी परमेश्वरीया व्रत ३४ ए ३४४/५
३. मैथिली ८३१/१७६७ स्वस्थानी परमेश्वरीव्रत चरित्र (नाटक) १०७ ई २१४/२
४. नेपाली ९३०/१८६७ स्वस्थान परमेश्वरका धर्मव्रत ५३ एच ३०/३१
५. हिन्दी ९९२/१९२९ स्वस्थानी कौतुक (नाटक) ४२ ई ११६१/७

यस सूचीबाट स्वस्थानीको मूल नेवारी नभएर संस्कृत भएको र “हिन्दी आदि अरू भाषामा स्वस्थानी पुस्तक भेटिंदैन” भन्ने कुरा आंशिक मात्र सत्य भएको देखिन्छ । 
ने॰सं॰ ६९३ को प्राचीनतम संस्कृत स्वस्थानीको परिचय सर्वप्रथम हामीलाई ऐश्वर्यधर शर्माले आफ्नो स्वस्थानी (२०४५)को भूमिका (पृ॰प॰)मा गर्नु भएको हो । त्यसमा भाषा उल्लेख नगरिदिंदा माथि उद्धृत अंशमा जगदीशचन्द्र रेग्मीले त्यसलाई नेवारी भन्नु भएको छ । १४८ श्लोकमा ताडपत्रमा नेपाली लिपिमा लिखित उक्त “स्वस्थानी व्रतकथाको सबभन्दा प्राचीन स्वरूप”को कथासार शर्माले पछि प्रकाशित गर्नुभयो । (नेपाली आजाव, २०४६ पुस २८) शर्माजीले उक्त स्वस्थानीको देवनागरी आलेखन, त्यसको शुद्धीकृत पाठ र श्लोकबद्ध नेपाली अनुवाद पनि तयार गरी प्रकाशकको खोजमा जानु भएको थाहा भएको छ । (हाल सो प्रकाशित छ ।)
नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाले शुरूमा क्याटलग बनाउँदा भाषा उल्लेख नगरिदिएको र संस्कृत भएमा झन् उल्लेखै नगर्ने नीति बनाएकोले छवि चित्रित स्वस्थानीमध्ये कति संस्कृत भाषाका हुन् यकीन गर्न नसकिने भएको छ । मूल माइक्रोफिल्म हेरी पत्ता लगाइएका मध्ये १४ वटा संस्कृत भएको थाहा भइसकेको छ । संस्कृत मात्रको स्वस्थानी पनि मध्यकालमा प्रचलित भएको तथ्य ने॰सं॰ ६९३ बाहेक ने॰सं॰ ७३०, ७७२, ७९६ को संस्कृत स्वस्थानी पनि पाइएकोबाट चाल पाइन्छ । यो क्रम पछि पछि पनि फाटफुट पाइएको छ । उदाहरणको लागि ने॰सं॰ ९७३ र १००९ को संस्कृत स्वस्थानी अगिसार्न सकिन्छ । शुरूमा संस्कृत स्वस्थानीको लगत्तैपछि नेवारी अनुवाद सहित संस्कृत स्वस्थानी बनिन थाले । छविचित्रित स्वस्थानीहरूमा ३१ वटा त्यस्तो पाइएको छ । संस्कृत साथै दिने चलन शुरूमा मात्र होइन ने॰सं॰ ९७३ । वि॰सं॰ १९२० सम्म पनि रहेको तथ्य भेटिएको छ । संस्कृत भाषा मात्रको स्वस्थानी कुनै पण्डित राखी वाचन गराउने परम्परा रहेको हुनुपर्छ । 
प्राप्त प्राचीनतम संस्कृत स्वस्थानी ने॰सं॰ ६९३ फागुन शुक्ल ५ विहीवार जयन्तदेवले सारेको प्रति हो । यो राष्ट्रिय अभिलेखालय, तेस्रो लगत १९१ संख्यामा पोको पारिएको छ । ताडपत्रमा नेपाललिपिमा लेखिएको यस ग्रन्थलाई नेपाल–जर्मन पाण्डुलिपि संरक्षण परियोजनाले वी १३।४२ संख्यामा छविचित्र लिएको छ । यसैलाई स्वस्थानी परम्पराको मूल ग्रन्थ मान्नु परेको छ । यसको मूल लेखक अज्ञात छ । सामान्यतया पुराणसंग गाँस्ने उद्देश्यले निर्मित कुनै पनि कथाको लेखन व्यासलाई मानिदिने धार्मिक परम्परा नेपालमा रहेको छ । 
स्वस्थानीसम्बन्धी खोजीको सिलसिलामा प्राचीनतम संस्कृत पाठ्य र प्राचीनतम नेवारी पाठ्य तुलना गर्दा सौभाग्यवश मूल संस्कृतको नेवारी अनुवाद भएको थाहा लागेको छ । ने॰सं॰ ७२३ को प्राचीनतम नेवारीको शुरूको २८ श्लोक स्वस्थानी व्रतविधि वताउने प्रारम्भिक कुरा र पछिल्लो ५ श्लोक उपसंहार खण्ड मात्र संस्कृत सहित दिइएको र बाँकी मूल गोमा नवराज कथा अंश चाहिं विना संस्कृत स्वतन्त्र अनुवाद दिइएको छ । यसरी मूल संस्कृतको १४८ श्लोकमध्ये करीव ११५ श्लोक कथा खण्ड भएको देखिएको छ । यसरी स्वतन्त्र अभिव्यक्ति दिन खोज्दा अनुवादकले कुरा स्पष्ट पार्न केही थप्ने अवसर पनि पाएका छन् । राष्ट्रिय अभिलेखालयको प्रथम लगत, संख्या ३८२ मा रहेको कागतमा लेखिएको ३४ पत्र भएको नेपाललिपिको यस ग्रन्थलाई नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाले मे ८ १९७२ मा ए ३४४।५ संख्यामा छविचित्रित गरेको छ । त्यहाँ यसको नाप “लिङ्गपुराणस्वस्थानी व्रतकथा” राखिएको छ । राष्ट्रिय अभिलेखालयको लगत पुस्तकमा “स्वस्थानी भाषा” नाम दिई सो पुस्तक दुईवटा भएको र सो ने॰सं॰ ७१३ को भएको कैफियत जनाएको छ । साँच्चै नै सो पुस्तक एकै लिपिकार “मानसकार राम सुवार”ले सारेको दुईप्रति पाइएको छ । दोस्रो प्रति ३२ पत्रको छ । यो प्रति दुईपटक ए ३४३/९ र ए १०३०/१५ मा छविचित्रित गरिएको छ । राष्ट्रिय अभिलेखालयको मूल प्रथम लगत पुस्तक र डा॰ कमलप्रकाश मल्लको पुरानो नेवारी वाङ्मय ः एक रेखाचित्र (काठमाडौं ः एजुकेशनल इन्टर्प्राइजेज, ई॰ १९८२, पृ॰ ५१) अङ्ग्रेजी पुस्तकमा ने॰सं॰ ७२३ माघ शुक्ल पञ्चमी शुक्रवार लेखिएको प्राचीनतम नेवारी स्वस्थानीको मिति भ्रमवश ने॰सं॰ ७१३/ई॰सं॰ १५९३ लेखिएकोले सो संवत् कतिपय उद्धृतकर्ताहरूले सार्दा भूल हुन गएको देखिएको छ ।

नेसं ७२३ को स्वस्थानीको पुष्पिका

स्वस्थानी एक जनस्तरको व्रतकथा भएको प्रसङ्गमा यहाँ ईशवीको सोह्रौं शताब्दीको अन्त्यमा ई॰ १५७३ देखि प्रचलित संस्कृत स्वस्थानी छँदा ब्राह्मण पण्डितहरूबाट कथावाचन हुने परम्परामा ३० वर्षपछि सत्रौं शताब्दीको शुरूमा ई॰ १६०३ मा नेवारीमा अनुवाद भएपछि यो कथावाचन पण्डितस्तरबाट जनस्तरमा ओर्लेको मान्न सकिन्छ । यसपछि स्वस्थानीकथाले लोकप्रियता हासिल गर्दै गयो । छविचित्रित ६२६ स्वस्थानीमा भाषा थाहा पाइएका ३२९ वटामा नेवारी २७५ (८३ प्रतिशत), नेपाली ३८ (१२ प्रतिशत) र संस्कृत १४ (५ प्रतिशत) स्वस्थानी पाइएका छन् । यसबाट नेवारी स्वस्थानीको लोकप्रियता झल्किन्छ । यहाँ आशा सफूकुथिमा ६२ वटा अलग नेवारी स्वस्थानी रहेको सम्झनु लायक छ । काठमाडौं उपत्यकामा अझै घरघरमा पुराना स्वस्थानी रहेको तथ्य पनि यहाँ विर्सनु हुँदैन । स्वस्थानी पुस्तकको आधिक्यले गर्दा नेपाल–जर्मन पाण्डुलिपि संरक्षण योजनाले ई॰ १९९० देखि सोको छविचित्र नै लिन छोडेको छ । स्मरणीय छ राष्ट्रिय अभिलेखालयमा ९० वटा र अन्य व्यक्तिगत सङ्कलनबाट ५३६ वटा स्वस्थानीको छविचित्र लिइएको छ । 
शुरूमा नेवारी स्वस्थानी संस्कृत सहित लेखिने गरेकोमा क्रमशः स्वतन्त्र र बुट्टा भर्दै लेखिंदै गरेको देखिन्छ । शायद स्वतन्त्र स्वस्थानी लेखन ने॰सं॰ ७५५ देखि भयो । यो “स्वस्थानीव्रत” काठमाडौं असनको धनभाजु तुलाधरले परिवार सहित भई विश्वानन्दनद्वारा लेखाइएको प्रति हो । (चित्तधर ‘हृदय’ — नेपालभाषा साहित्यया जातः, ने॰सं॰ १०९१, पृ॰ ३३–३५)
नेपाली साहित्यको इतिहासमा स्वस्थानीको विशेष महत्व छ । यसको चर्चा शुरूदेखि हुँदै आएको छ । यस सम्बन्धमा ईश्वर बरालले झ्यालबाट तेस्रो संस्करण (२०२५) को पादटिप्पणीमा वि॰सं॰ १६५८को नेपाली स्वस्थानी व्रतकथा केशर पुस्तकालयमा रहेको दावी गर्नु भएको चर्चाको विषय बनेको छ । तर कसैले त्यसलाई अझसम्म त्यहाँ देख्न पाएको छैन । यसो हुँदा नेपाली साहित्यको इतिहासमा दयाराम श्रेष्ठले नेपाली साहित्यको संक्षिप्त इतिहास (ने॰रा॰प्र॰प्र॰, २०३४)मा उल्लिखित वि॰सं॰ १८७८ को केशर पुस्तकालयकै स्वस्थानी व्रत कथाहा पाण्डुलिपिलाई प्राचीनतम नेपाली स्वस्थानीको रूपमा मान्नु भएको छ । यस प्रसंङ्गलाई नेपाली साहित्यका इतिहासकार सबैजसोले अगाडि बढाएका छन् । अहिले यसभन्दा ११ वर्ष अगाडिको नेपाली स्वस्थानी पाइएको छ । 
नेपाल–जर्मन पाण्डुलिपि संरक्षण परियोजनाले गोरखामा डिसेम्बर २४, १९८२ देखि अगस्त १८, १९८३ भित्र ९७३ थान ग्रन्थको छवि चित्र लिएको छ । जुलाई ५, १९८३ मा त्यहाँ पूर्णबहादुर बस्नेतले १० थान पाण्डुलिपि ग्रन्थ छविचित्र लिन लगाउन आए । त्यसमध्ये शक संवत् १७३२ अर्थात् वि॰सं॰ १८६७ को स्वस्थान परमेश्वरका धर्मव्रत (कथा) पनि एक थियो । योजनाका पण्डितले त्यसलाई स्वस्थानी व्रतकथा नाम राखी रील नं॰ एच ३०/३१ म छविचित्र गर्न लगाए । अघिल्लो ३ पत्र नभएको, पत्र ६ डबल रहेको, जम्मा पत्र ५५ सम्म भएको २४॰५×१६ सेन्टिमिटर लामो देवनागरीमा नेपाली कागजमा लेखिएको सो स्वस्थानी पाल्पा, श्रीनगरमा केशरसिंह बस्नेतले सारेको हो । यसमा वर्तमान प्रचलिन स्वस्थानीको प्रायःजसो अङ्ग तथा श्रृङ्खला गुँथिसकिएको छ । कथा गोमा–नवराजको घटनाबाट स्वस्थानी सिद्धिनुपर्नेमा यहाँ पार्वतीले स्वस्थानी धर्मव्रत गरेको कुरामा टुङ्ग्याइएको छ । नेपाली साहित्यको इतिहासमा पाल्पामा यो स्वस्थानी सारिनुको आफ्नै महत्व देखिन्छ । श्रीनगर पाल्पाली राजा महादत्तसेनले वि॰सं॰ १९४४ मा निर्माण गरेका थिए । (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ — पाञ्चाली शासन–पद्धतिको ऐतिहासिक विवेचना, ने॰ए॰अ॰के॰, २०३५, पृ॰ ७३) त्यसबेलादेखि यहाँ विद्वत परम्परा बसेको चाल पाइन्छ । पाल्पाको काठमाडौं (तत्कालीन नेपाल) प्रति विशेष आकर्षण रहेको कुरा ने॰सं॰ ६४५, ६४६÷वि॰सं॰ १५८१–१५८२ मा राजा मुकुन्दसेनले काठमाडौंमा हमला गरेकोबाट बुझ्न सकिन्छ । (पूर्णिमा, पूर्णाङ्क ४२/२०३६ पौष) यसबाट नेवारी सम्पर्कमा रहेको कुनै अज्ञात व्यक्तिले स्वस्थानी नेपालीमा रूपान्तर गरेकोमा त्यसको एक प्रति पाल्पामा पुगी प्रस्तुत प्राचीनतम नेपाली स्वस्थानी पाइएको देखिन्छ । नेपाली स्वस्थानीको पाण्डुलिपि परम्परा त्यति लामो रहन नपाउँदैमा वि॰सं॰ १९४२ मा लिथो रूपमा पहिलो स्वस्थानी परमेश्वरीको कथाहा छापियो । (शरदचन्द्र शर्मा, प्रज्ञा ४१/२०३९) त्यसपछि पाण्डुलिपि परम्परा प्रायः बन्द भयो र थरिथरिका मुद्रित स्वस्थानी देखिन थाले । वि॰सं॰ १९४० को दशकमा मात्रै आधा दर्जन नेपाली स्वस्थानी मुद्रित भएको कुरा यहाँ स्मरणीय छ । 
मैथिली र हिन्दी स्वस्थानी बारेको नाटक पाइएको भएपनि वास्तवमा ती भाषाहरूमा यसको वाचन परम्परा छैन । ती नाटक तत्कालीन नेपालमा विदेशी भाषालाई महत्व दिने मनोवृत्तिको फलस्वरूप नेपालीहरूबाटै निर्मित हुन् । एकातिर स्वस्थानीको व्यापकता विदेशतिर पनि भएको छ भने अर्कोतिर नेपालकै सुदूर पश्चिमाञ्चलतिर यो पुग्न नसकेको देखिन्छ । यसबाट यसको उत्पत्तिस्थल काठमाडौं उपत्यकाको सांस्कृतिक प्रभावक्षेत्रको अनुमान गर्न सकिन्छ । 
माथि एकठाउँ स्वस्थानी विविध पुराणहरूको कथा गुम्फन भएर पनि सो नेपालको एक मौलिक कथा देखिएको चर्चा गरिएको छ । भर्खर माथि उल्लेख गरिएका विविध भाषाका स्वस्थानीका परम्पराले पनि यसको मौलिकताको दसी बक्दैन । ती त कुने पुराण वा पुराणहरूकै अंगको रूपमा पनि प्रचलित हुँदै आएको हुन सक्छ । यसो हुँदा अव हामी नेपालको ऐतिहासिक पौराणिक तथा आख्यायिक प्रसङ्गहरू कोट्याऔं । 
प्राचीन ऐतिहासिक राजा मानदेव (ई॰ ४६४–५०६)को जिजुबाजे वृषदेव (अन्दाजी ई॰ ४००–४२०)को पालामा निर्मित मानिएको चावहिल चैत्यको अभिलेखमा “किन्नरी जातक”को प्रसङ्ग आएको छ । (धनवज्र वज्राचार्य लिच्छविकालका अभिलेख, ने॰ए॰अ॰सं॰, २०३०, अभिलेख संख्या १) काठमाडौं लाजिम्पाट र पशुपति तिलगंगामा मानदेवले आफ्नी आमा राज्यवतीको पुण्य बढाउन ई॰ ४६७ मा अभिलेख सहित त्रिविक्रम अर्थात् विष्णु विक्रान्त मूर्ति स्थापना गराएका छन् । यो मूर्ति श्रीमद्भागवत पुराणको आठौं स्कन्धको १९–२० अध्यायमा वर्णित नारायणको वामन अवतारको त्रिविक्रम रूपको कथाको कलाकारद्वारा अभिव्यक्त चित्ररूप हो भन्ने देखिन्छ । लिच्छवि संस्कृत कवि अनुपरमले ३४ श्लोकको एक दार्शनिक काव्य “भगवतो द्वैपायनस्य स्तोत्र” लेखेको हांडिगाउँ सत्यनारायणस्थानमा एक स्तम्भ अभिलेखको रूपमा रहेको पाइएको छ । ई॰ ५४० भन्दा केही अघि रचेको यो वेद र पुराणका प्रणेता द्वैपायन (व्यास)को स्तोत्रले तत्कालीन नेपालमा उनको पुराणको लोकप्रियतालाई इङ्गित गर्छ । (लिच्छविकालका अभिलेख, संख्या ३५) । यति मात्र होइन द्वैपायनको शिष्य वैशम्पायनको पूजा निमित्त तिनका भक्तहरूले ई॰ ५३० मा गुठी राखेको अभिलेख पनि पाइएको छ । (संख्या २८) अझ वैशम्पायनको पनि शिष्य याज्ञवल्क्यद्वारा विकसित यजुर्वेदका शाखा कृष्णयजुर्वेदको ‘तैत्तिरीय’ शाखाको चर्चा पनि अभिलेखमा आएको छ । यी कुराहरूले प्राचीन नेपालमा भारतीय पुराणहरूको अध्ययन परम्परा बलियो भएको सङ्केत गर्दछ । 
जे॰एल॰ शास्त्रीको सम्पादनमा अङ्ग्रेजीमा प्राचीन भारतीय परम्परा र पुराणको प्रकाशनमाला दिल्ली मोतीलाल बनारसीदासको प्रकाशकत्वमा प्रकाशित गर्दै आएको छ । त्यस अन्तर्गत लिङ्गपुराण (ई॰ १९७३)को भूमिकामा पुरानो पुराणको पाठ्य सामग्रीमा पछि पछि अरू अंश थप्दै जानेक्रम रहेकोमा वर्तमान लिङ्ग पुराण पाँचौं शताब्दीमा आजको कथ्य रूपमा स्थिर भएको हो । 
अब हामी ने॰सं॰ ६९३ को स्वस्थानीको प्राचीनतम प्रतिको पुष्पिका वाक्य एकपटक पढौं — “इति श्री लिङ्पुराणे स्वस्थानपरमेश्वर्य्या व्रतकथा समाप्त” पत्र ८खः, दोस्रो–तेस्रो हरफ) यहाँ लिङ्गपुराणे भनेको लिङ्गपुराणको परम्परामा भनिएको हो, त्यस अन्तर्गत रहेको भनेको होइन । यो कुरा बुझ्न यहाँ जयस्थिति मल्ल (ने॰सं॰ ५०५–५१५)को राजपण्डित माणिक्यवर्द्धन लिखित ने॰सं॰ ५००÷वि॰सं॰ १४३७ को न्यायविकासिनी (नारदसंहिताको नेवारी टीका)को पुष्पिका एकपटक पनि हेरौं । त्यसमा भनिएको छ ः– “इति मानवे न्यायशास्त्रे नारद प्रोक्तायां संहितायां न्यायधर्म पदानि समाप्तानि ।” यहाँ “मानवे न्यायशास्त्रे” भनिएको मानव न्यायशास्त्रको परम्परामा भनेको स्पष्ट छ, किनभने नारदस्मृति बेग्लै संहिताग्रन्थ हो । तर त्यस्तो ग्रन्थ मनुंले शुरू गरेको हुँदा त्यसको परम्परा बुझाउन मध्यकालका ग्रन्थहरूमा पूर्व परम्परा संकेत गर्ने चलन देखिन्छ । यस उदाहरणबाट नारदस्मृति जस्तै स्वस्थानी व्रतकथा पनि एक स्वतन्त्र मौलिक कथा हुन सक्ने देखिन्छ । कति चाहिं हुनसक्छ भने पाँचौं शताब्दीसम्म लिङ्गपुराणमा कथाहरू थप्दे गए जस्ते एउटा अर्को कथा थप्ने सुर भने अज्ञात रचनाकारले गरेको बुझिन्छ । 
अब हामी वर्तमान प्रचलित स्वस्थानीको कथा विश्लेषण गरेर हेरौं । त्यसमा जम्मा चार थरिका कथा श्रृङ्खलाहरू छन् । ती हुन् ः–
१. श्रृष्टि क्रम श्रृङ्खला अध्याय १–२
२. महादेव–सतीदेवी श्रृङ्खला अध्याय २–११
३. शिव पार्वती श्रृङ्खला अध्याय १२–१८
४. गोमा–नवराज श्रृङ्खला अध्याय १९–३१

हनुमानढोका दरवार संग्रहालय, २०१४ः२५

स्वस्थानीमा भूगोल वर्णनलाई ठूलो महत्व दिएको छ । प्रायः जसोमा “श्रीस्वस्थानी कथाको भूगोल” भनेर एक पूरा नापको विशेष चित्र पनि दिने गरेको छ । प्राचीनतम संस्कृत र नेवारी स्वस्थानीमा यो समावेश छैन । पछि कुन बेला थपियो खोज्नुपर्नेछ । उक्त संस्कृत र नेवारी स्वस्थानी लिङ्ग पुराणको परम्परामा लेखिएको कुरा पुष्पिकामा उल्लिखित छ । यसो हुँदा लिङ्ग पुराणको एक विशेषता सृष्टि वर्णन खण्डलाई प्रेरित भई यो सृष्टिक्रम खण्ड पछि कसैले थपेको देखिन्छ । संसारमा मानव मात्रलाई यो संसार कथा व्रम्हाण्ड कसरी सृष्टि भयो होला भन्ने कौतुहलता रहेको देखिएको छ र संसारमा विभिन्न धर्मग्रन्थ र सामाजिक विश्वास अनुसार अनेकथरि सृष्टिको कल्पना गरेको देखिन्छ । यस क्रममा यूरोपमा इटालीवासी ग्यालिलियो ग्यालिली (ई॰ १५४०–१६४२)ले आफ्नो खगोलशास्त्रको संस्थापन गर्दा पृथ्वी गोलो भएको कुरा बताए । करीब त्यसैबेला यता नेपालमा प्रतापमल्ल (ई॰ १६४१–१६७४)ले ई॰ १६५६ मा अनेक पूर्वशास्त्र हेरी पृथ्वीको बारे एक शास्त्र प्रतिपादन गरी हनुमानढोका, मोहनचोकमा धातुबाट एक भूगोल बनाउन लगाए । त्यसमा भूगोल गोलो नभएर च्याप्टो थालजस्तो आकारको छ । प्रतापमल्ल पूर्ववर्ती पुराणहरूबाट प्रभावित देखिन्छ तर त्यसको नाम ‘भूगोल’ नै रहेको छ । यहाँ गोलको अर्थ गोलो नभएर परिधि बुझिन्छ । 
स्वस्थानीमा सृष्टिक्रमको वयान गर्दा आरम्भमा दार्शनिक कुराहरू व्यक्त गरिएका छन् र मधुकैटभको बोसोबाट पृथ्वी, मासुबाट पर्वत र हाडबाट ढुङ्गा बनेको कुरा छ, यो कुनै पुराणको बयान हुनुपर्छ । सृष्टिक्रमको पछिल्लो बयान भने प्रतापमल्लको भूगोलसङ्ग प्रायः मिल्छ । १४ भुवनमा तलतिरको ७ भुवन प्रतापमल्लले साकार रूपमा दिएका छन् । सात सात द्वीप र त्यसलाई परिवेष्टित समुद्र स्वस्थानी र प्रतापमल्ल दुवैमा उही छ । प्रताप मल्लले वर्ष (जस्तो भारतवर्ष)को वयान विस्तारपूर्वक गरेको छ । अष्टपर्वत स्वस्थानीमा छ भने प्रतापमल्लले जाने जति सबै पर्वतको नाम दिएका छन् । सुमेरू पर्वत वरपर सृष्टि गरिएका भनिएका सबै आठै दिशा उपदिशामा पुरीहरू दुवैमा समान छन् । यी समानताले यस्तो लाग्छ प्रतापमल्लको यस प्रभावकारी ‘भूगोल’ निर्माण पछि नै स्वस्थानीमा भूगोलको विशेष वयान गर्ने चलन चल्यो होला, त्यो पनि अहिले सवातीनसय वर्षभन्दा बढी भैसक्यो । 
स्वस्थानीको दोस्रो कथा श्रृङ्खला महादेव र सतीदेवीको विविध घटनावली रहेको छ । लिङ्गपुराणमा दक्षप्रजापतिको प्रसङ्ग पाइन्छ । खास गरी यो कथाको गुम्फन स्कन्दपुराणबाट भएको देखिन्छ । यसैहुँदा स्वस्थानीको प्रारम्भिक कथा अंश भएकोले पनि अचेल स्वस्थानीलाई स्कन्दपुराणान्तर्गत भनी बढी चल्ती भएको देखिन्छ । यस श्रृङ्खलामा सतीदेवीको अङ्ग पतन भएठाउँ पीठ उत्पन्न भएको विशेष चर्चा (अध्याय ९ र १०) छ । यो चर्चा पछि पछि भारतवर्ष तथा जम्बुद्वीप भरिको शैवस्थललाई समग्ररूपमा समेट्ने सूत्रको रूपमा विकास गरेको देखिन्छ । यस पीठोत्पत्तिबाट प्रभावित भएर नेपालमा नेपालमाहात्म्यमा वर्णित चौंसाठी लिङ्ग दर्शन गर्न जाने परम्परा रहेको छ । यो अज्ञात रूपले लिच्छविकालीन वस्ती तथा त्यहाँको शैवस्थल घुम्ने वार्षिक चलन भएको देखिन्छ, किनभने चौसाठी लिङ्गमा लिच्छविकालको नेपाल–मण्डलमा रहेको शिवलिङ्ग नै प्रमुख रहेका छन् । चौसाठी लिङ्गको परिधि पनि नेपाल मण्डल भरि मात्र छ । 
स्मरणीय छ, यो महादेव–सतीदेवी प्रसङ्ग पनि प्राचीनतम स्वस्थानीमा छैन । 
तेस्रो कथा–श्रृङ्खला शिव पार्वतीको प्रसङ्ग पनि प्राचीनतम स्वस्थानीमा छैन । यस श्रृङ्खलामा रहेको मदनदहनको प्रसङ्ग लिङ्गपुराण (अध्याय १०१) र स्कन्दपुराण (अध्याय २१)मा छ । लिङ्गपुराणमा गणेश उत्पत्ति कथा (अध्याय १०५) पनि छ । तारकासुरको प्रसङ्ग स्कन्दपुराण (अध्याय २०) मा छ । यस श्रृङ्खलाको मुख्य घटना जलन्धर–वृन्दाको प्रसङ्ग लिङ्गपुराण, स्कन्दपुराण, पद्मपुराण र शिवपुराणमा पनि रहेको छ । 
स्वस्थानीको चौथो तथा अन्तिम श्रृङ्खला गोमा–नवराजवारेको कथा भने मौलिक कथा हो । यो कुनै पुराणमा पनि देखिएको छैन । संस्कृत र नेवारी भाषाको प्राचीनतम स्वस्थानीमा केवल यही कथा मात्र छ । यसबाट स्वस्थानीमा अहिले विशेष स्थान पाएको सृष्टिकथा, महादेव–सतीदेवीको घटना, शिव–पार्वतीको प्रसङ्गका श्रृङ्खलाहरू पछि थपिंदै गएको स्पष्ट छ । स्वस्थानीका समयक्रमिक अध्ययन गरेको खण्डमा यो कुरा खुलस्त हुनेनैछ । गोमा–नवराजको कथा मौलिक रहेकोबारे एउटा रोचक परम्परा पनि छ, त्यो के भने ने॰सं॰ ६९३ देखिको सो कथा विस्तृत स्वस्थानीहरूमा अद्यापि समावेश गर्ने चलन छ । तर त्यसका पाठभेदहरू भएका छन् । उदाहरणको लागि सर्वहितैषी कम्पनी, वनारसको स्वस्थानीमा ‘श्रीस्वस्थानी व्रतकथा प्रारम्भ” भनी १५३ श्लोकको संस्कृत मूल स्वस्थानी (पृ॰ १०–१७) प्रकाशित गरेको छ । जयनेपाल प्रकाशन, वनारसले पनि आफ्नो असली ठूलो श्रीस्वस्थानी व्रतकथामा १५५ श्लोकको “अथ स्वस्थानीव्रतकथा प्रारम्भ” (पृ॰ ८–२०) भनी मूल स्वस्थानी कथा आफ्नै ढङ्गले दिएको छ । यसमा ७५ श्लोकमा यसको नेपाली श्लोकानुवाद पनि दिइएको छ । यस्ते अरू अरू स्वस्थानीमा मूल संस्कृत स्वस्थानीकथा दिने गरेको देखिएको छ । 
गोमा–नवराजको कथा नेपालको मौलिक कथा हुन सक्ने एउटा अर्को सन्दर्भ पनि छ वेत्तम मणि नामको विद्वानले ई॰ १९६४ मा मलयालम भाषामा पौराणिक विश्वकोश बनाएका छन् । त्यसको अङ्ग्रेजी अनुवाद ई॰ १९७५ मा दिल्लीका मोतीलाल वनारसीदासले प्रकाशित गरेको छ । त्यो भारतीय पुराणहरूमा आएका स्थान तथा व्यक्तिबारेकै विश्वकोश हो । पछि नेपालमा बनेको हुँदा त्यसमा स्वस्थानीको चर्चा छैन । त्यसैले त्यसमा गोमा, शिवभट्ट, नवराज तथा चन्द्रावतीबारे पनि उल्लेख छैन । 
स्वस्थानी सबभन्दा पहिलो पाउँदा कथा र व्रतविधि दुवै गरी ताडपत्रमा केवल ८ पत्र पाइएको थियो । पछि यसमा अनेक प्रसङ्गहरू जोडिंदा जोडिंदा ५७ गुणासम्म बढेर ४५८ पत्रसम्मको बने । सो सबभन्दा मोटो स्वस्थानी ने॰सं॰ १०४०÷वि॰सं॰ १९७७ को देवनागरी लिपि, नेवारी भाषाको भक्तपुरमा छविचित्रित जी ७८÷२० संख्याको हो । लिङ्गपुराणमा पूर्व भागमा १०८ र उत्तर भागमा ५५ गरी जम्मा १६३ अध्याय भएकोमा एक अध्याय अरू जोडुँला भन्ने मनसायले निर्मित १४८ श्लोकको केवल एक अध्याय स्वस्थानी अहिले स्वयं स्वस्थानी सामान्यतया ३१ अध्यायको बनेको छ र त्यसमा गोमा–नवराजको कथा श्रृङ्खला मात्रै १३ अध्यायमा तन्किएको छ ।
मूल स्वस्थानीमा नाङ्गै फूलमा खेलिरहेकी गोमा अहिले आमाबाको लागि अक्षता केलाइरहेकी छिन् । घरमा आमा छँदै जोगी आएकोमा आमालाई अहिले बाहिर पठाइएको छ । पहिले एक जना ऋषि गोमाकहाँ पुगेकोमा अहिले सप्तर्षि पुर्याइएको छ । गोमाले पान किन्न जाँदा अहिले चमत्कारपूर्वक रित्तो भाँडोबाट पनि पान उत्पन्न हुन्छ । नवराजको बाहुनीको पहिले नाम थिएन, अहिलेको चन्द्रावती नाम रहेको छ । ने॰सं॰ ७५५ असनमा प्राप्त स्वस्थानीमा तिनी ‘नन्दिनी’ हुन्छिन् । नवराजहरू बसेको देशको नाम थिएन, अहिले त्यो लावण्यदेश भएको छ । लावण्यदेशकी राजकुमारी मूल कथामा थिएन, अहिले तिनलाई लावण्यवती बनाएर नवराजलाई बहुविवाह गराइदिएको छ । नवराजलाई आमा सहित हात्तीमा चढाएर लगेकोलाई अहिले हात्तीद्वारा राजा छान्ने परिकल्पना जोडिदिएको छ । नवराजको माइत गएको बाहुनी फर्कंदा डुबेको नदीको नाम थिएन, अहिले त्यो शालीनदी भएको छ । कपिलदेव व्राम्हणहरूले दरवारमा एक सुन्दरीको बयान गरेको प्रसङ्गलाई अहिले घुमाएर तिनीहरूले पापिनीलाई खाना माग्दा राजदरवारको खजाना नै सुकेको देखाइएको छ । 
स्वस्थानीको कथा जनस्तरमा ओर्लेकोले यसलाई जनधारणा र जन–आंकाक्षा अनुरूप थप्दै लगेको देखिन्छ । कथालाई प्रभावकारी बनाउन यसमा चातुर्यपूर्ण प्रसङ्गहरू जोडिंदै गए । यसमा जन–भावना अनुसार कामकुराहरू आरोपित गरिंदै गए । यसरी लामो यात्रा गर्दा यसमा समयसमयका धार्मिक–सांस्कृतिक मान्यताहरू पनि घुसिंदै गए । 
गोमा–नवराजका कथा श्रृङ्खला पुराणहरूमा नभएर पनि मूल स्वस्थानीमै “कपिलव्राम्हण” को चर्चा भएको खुल्दुली लाग्दो छ । कथा प्रसंग केही नमिले पनि यो नाम भने पद्मपुराण (चतुर्थ भाग, अध्याय ३१)मा उल्लिखित छ । 
स्वस्थानीको एउटा रमाइलो पक्ष स्थानीयकरण हो । यो प्रक्रिया कहिलेदेखि शुरू भयो खोजी गर्न लायक छ । शिवापुराण र अरूहरूमा महादेवले किरात रूप धारण गरेको र अर्जुनसङ्ग भेट भएको चर्चा छ । स्वस्थानीले ‘किरातेश्वर’ महादेव नै लिङ्ग रूपमा लोकप्रिय बनाइदिए । त्यसको स्थान पनि नेपाल पशुपति क्षेत्र ‘मृगस्थली’ निश्चित गरिदिए । यहीं महादेव मृग रूपले खेल्न आए । त्यसरी नै पार्वतीले गुह्येश्वरीनेर ‘गौरीघाट’मा तपस्या गरे नेपाली भक्तहरूको मनमा साकार देवताको अति चाहना रहेको देखिन्छ । गौरीघाटमा पुलमुनिको एउटा पानीले छियाछिया पारेको शिलाविशेषको एक खास अंशलाई अहिले भक्तहरूले पार्वतीको स्वरूप देख्न थालिसकेको छ । केही महीनाअघि बहिनीसित यहाँ जाँदा उनले मलाई पार्वती तपस्यालीन भएको खास स्थान देखाउँदै गिई । अब चाँडै त्यहाँ कुनै कलाकारले तपस्यालीन पार्वतीको साकार रूप बनाइदिने सम्भावना छ । अहिले सबैलाई थाहा भैसकेको छ नवराजकी पहिली दुलही चन्द्रावती लावण्यदेश फर्कंदा स्वस्थानीलाई निन्दा गरेको फल भोग्न साँखुनेरको ‘शालीनदी’मा खसेकी थिई । शायद लावण्यदेश चाहिं सांखु होला । अनि नवराजले त्यहाँ शासन गरेको होला । 
स्मरणीय छ माथि उल्लिखित पौराणिक विश्वकोशमा किरातेश्वर, मृगस्थली, गौरीघाट, शालीनदी कुनै पनि छैन । यी स्थानहरू स्वस्थानीमा स्थानीयकरण गरिएका हुन् । 
स्वस्थानीमा विविध पाठ्य रूप पाइन्छन् । यसको व्रतविधि मात्र, कथा मात्र र व्रतविधि सहित कथा आदि रूपमा प्रशस्त पाइन्छ । यसको नाटक र कविता रूपमा पनि चर्चा पाइन्छ । नाटकमा सबभन्दा पहिले भाष्कर मल्ल (ने॰सं॰ ८२०–४२) विरचित ने॰सं॰ ८३१÷वि॰सं॰ १७६७ को मैथिली भाषामा स्वस्थानी परमेश्वरी व्रतचरित्र १४ अङ्के नाटक पाइएको छ । नेपाललिपिमा थ्यासफूमा १०७ पत्र भएको ई २१४÷२ संख्यामा छविचित्रित यो ग्रन्थ हाल आशा सफूकुथि, काठमाडौंमा (ने॰प्या॰ ३१ संख्यामा) सुरक्षित छ । आशा सफूकुथिमा ने॰प्या॰३० मा एक अर्को मैथिली नाटक छ । यो उक्त नाटककै संक्षिप्तीकृत टिपोट जस्तो बुझिन्छ र अपूर्ण छ । यसबाहेक मैथिली भाषामा स्वस्थानी व्रतकथा अरू कुनै रूपमा पाइएको छैन । 
नेवारीमा पनि जयप्रकाश मल्ल (ने॰सं॰ ८५६–८८८)लिखित अपूर्ण (पत्र २०) स्वस्थानी व्रतकथा नाटक पाइएको छ । थ्यासफूमा नेपाललिपिमा लिखित यो नाटक पाटनवाट व्यक्तिगत रूपमा सेप्टेम्बर ६, १९७६ मा छविचित्र लिन ल्याइएको थियो । यसको छविचित्र संख्या ई ४५÷१३ हो । यसमा ठाउँ ठाउँ मैथिली वाक्य घुसेको छ । 
हिन्दीमा स्वस्थानी कौतुक नामको सुरेन्द्रविक्रम शाह (वि॰सं॰ १९०४–१९३८)को पालामा थ्यासफूमा त्रिरत्नमुनि गुभाजुले सारेको पत्र ४२ को नेपाललिपिमा लेखिएको वि॰सं॰ १९२९को नाटक पाइएको छ । यो दश अङ्कमा पूर्ण रहेको छ । यसको छविचित्र ई॰ ११६१÷७ हो । हाल यो आशा सफूकुथिमा ने॰प्या॰ ०२९ संख्यामा सुरक्षित छ । प्राय सबैजसो पुराना नेपालभित्र रचिएका अन्य भाषाका नाटकको निर्देशन नेवारीमा भए झैं त्यस्तो व्यवस्था यसमा पनि भएको छ । हिन्दीमा एउटा स्वस्थानी भजन तथा स्तुति आकाश भैरव भजन मण्डलको पुस्तकमा पाइएको छ । (अच्युतानन्द राजोपाध्याय — श्रीस्वस्थानी धर्मव्रत कथा, ने॰सं॰ ११००÷वि॰सं॰ २०३७, पृ॰ ३४९–५० तथा ऐश्वर्यधर शर्मा स्वस्थानी, २०४५, पृ॰ १४४) एउटा अचम्म लाग्ने कुरा छ, त्यत्रो विघ्न स्वस्थानी कथा पाइएको नेवारीमा भजन गीत भएको भने थाहा पाइएको छैन । 
वर्तमान समयमा जनकलाल वैद्यले स्वस्थानीको कथामा आधारित नेवारी नाटक कल्याणी (पाटन, ने॰सं॰ १०८७/वि॰सं॰ २०३७ पृ॰ २०२४) प्रकाशित गर्नु भएको छ । स्वस्थानीको एक प्रभावकारी कथा जालन्धर–वृन्दाको घटनालाई लिएर विजय मल्ललिखित सतीवृन्दा नृत्यनाटिका २०३३ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले मञ्चन गरेको थियो । त्यसलाई “श्रीस्वस्थानी व्रतकथाको आधारमा” निर्मित बताइएको छ । त्यसबारेको पुस्तिका अनुसार सत्यमोहन जोशीले स्वस्थानीको ‘मङ्गलाचरण’ रच्नु भएको छ । स्वस्थानीको लोकप्रियताले गर्दा मूल स्वस्थानीसंग सम्बन्ध नभएपनि यससङ्ग सम्बन्ध गाँस्ने प्रवृत्ति नेपालीहरूमा बढ्दै गइरहेछ । स्वस्थानीमा गाभिएर अन्य विविध कथाले लोकप्रियता हासिल गरेको छ । सती वृन्दाको कथा त्यस्तै भएको हो । वास्तवमा यसको कथाले वीज लिङ्ग, स्कन्द, पद्म वा शिव–पुराणमा पाइन्छ । हालै सयपत्री फिल्म प्रोडक्सनले आफ्नो तिलहरी (२०४६) चलचित्रलाई स्वस्थानीको कथानकमा आधारित भनी प्रचार गरेको छ । तर त्यसमा स्वस्थानी कथाका कथा नभई एक स्वतन्त्र आधुनिक सामाजिक कथाको चित्रण छ । स्वस्थानीको नाममा त्यहाँ स्वस्थानीको व्रतोपासना गर्दा विर्सिएको नायकको भेट हुन्छ । निर्मात्री सुमित्रा पौड्यालको स्वीकारोक्ति छ –”साँचो मनले व्रत अनुष्ठान गरे मनको इच्छा पूरा हुन सक्ने जनविश्वासलाई मात्र दोहराएको हुँ ।” (सुसन मास्के –”स्वस्थानी ः सन्दर्भ एक मिथकको” अस्मिता, २ः७।२०४६ फागुन–चैत्र, पृ॰ ४८) यसरी स्वस्थानी नाट्य रूपमा डबलीदेखि चलचित्र घरसम्म पुगेको छ । 
स्वस्थानीको चर्चा मूर्ति तथा चित्रकलामा यसको स्थानबारे दुई शब्द नकोरी पूरा हुँदैन । नेपालमा स्वस्थानीको व्रतकथा श्रवणका साथै मूर्ति स्थापनाको परम्परा रहेको कुरा चाल पाइएको छ । ने॰सं॰ ७७२/वि॰सं॰ १७०८ को ताडपत्रमा एक संस्कृत स्वस्थानीमा (छविचित्र बी १३÷२७) दैवज्ञ मोतिराजले स्वस्थानी सारेकोमा त्यसमा ने॰सं॰ ७८९ को एक घटना पछि टिपिएको छ । जस्तो ः–
सम्वत् ७८९ माघ शुक्ल पूर्णमासी शुक्रवार थ्वकुन्हु दैवज्ञ मोतिराज भारोन ल्वहोन देवी दयकाव थवछेस थ्व स्त्री रामेश्वरी स्वस्थानी धर्म दनका जुरो । (ने॰सं॰ ७८९/वि॰सं॰ १७२५ माघ शुक्ल पूर्णिमा शुक्रवारका दिन दैवज्ञ मोतिराज भारोले प्रस्तरको देवी बनाई आफ्नो घरमा आफ्नी स्त्री रामेश्वरीका साथ स्वस्थानी धर्म उपासना गरियो ।)
यही परम्परामा ने॰सं॰ ७९४/वि॰सं॰ १७३० मा राजा प्रतापमल्लले काठमाडौं, मखन तारिणीवहालमा अभिलेखसहित “श्री ३ शिवसहितन श्री ३ स्वस्थानीपरमेश्वरी”को प्रस्तर मूर्ति स्थापना गरेको छ । शायद यो स्वस्थानीको नेपालमा प्राप्त प्राचीनतम मूर्ति हो, अरू पाइएको थाहा भएको छैन । सो मूर्ति उक्त स्थानमा जाने वित्तिकै देखिने गरी पश्चिमाभिमुख रहेको छ । स्वस्थानी मूर्तिमा चार हातमध्ये माथि दायाँ खड्ग, बायाँ ढाल समातेको छ भने तल दायाँ अभयमुद्रा बायाँ वरमुद्रमा रहेको छ । आसन सिंहमाथि सुखासनमा रहेको छ । मुकुट पहिरेको र कानमा पुष्पकुण्डल लाएको छ । स्वस्थानीको दायाँ शिव वृषभासनमा अक्षमाला, त्रिशूल, पात्र हातमा लिएर वरमुद्रामा चित्रित छ । शिवमूर्ति परम्परामा शायद यो नौलो मूर्तिलक्षण होला । यी मूर्तिको प्रकाशन ऐश्वर्यधर शर्माले आफ्नो स्वस्थानीको आवरण पृष्ठमा गर्नु भएको छ । 
शिव–स्वस्थानीको यो मूर्तिलाई कोहीकोही विद्वान्हरूले उमामहेश्वरको मूर्ति मानेका छन् । हेमराज शाक्य र तुलसीराम वैद्यहरूले यसलाई उमामहेश्वर मानेर आयुध भने फरक रहेको बताएका छन् । (मध्यकालीन नेपाल पुष्पिका र अभिलेख, ई॰ १९७०, अभिलेख संख्या ३६, अङ्ग्रेजी) गौतमवज्र वज्राचार्यले यसलाई सामान्य उमामहेश्वर मानेका छन् । (हनुमानढोका राजदरवार, २०३३, अभिलेख संख्या ३७) ऐश्वर्यधर शर्माले यसलाई स्वस्थानीको रूपमा विशेष चर्चामा ल्याउनुभयो । यो मूर्तिको तुलना उमामहेश्वरसङ्ग गर्नु वाञ्छनीय छ । 
शिव–स्वस्थानीको मूर्ति कलाकारले स्वस्थानी व्रतकथाको आधारमा बनाएको देखिन्छ । ने॰सं॰ ६९३ को संस्कृत स्वस्थानीमा स्वस्थानीको स्वरूप यसरी दिएको छ । जस्तो ः–
सुवर्ण्ण वर्ण्ण दीप्ताभा त्रिनेत्रा कमलानन ।।
सिंहासनासमासिता सर्व्वालंकारभूषिता ।।
नीलोत्पलाभया वामे दक्षिणे वरदा शुभा ।। 
खड्गचर्मधरा चार्द्ध वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजन्तुमा तत्र पूजयेद् वृषकेतनं ।।
एवं ध्यात्वा महादेविस्वस्थानजगदीश्वरौ ।।
(पत्र १ ख॰ ५–२ क॰ १)
नेवारीमा यसको अनुवाद गर्दा ने॰सं॰ ७२३ को स्वस्थानीमा लेखिएको छ ः– “चतुर्भुज त्रिनेत्र उथ्य थथिगो शिव शक्ति मूर्ति ध्यान याय् जुरो ।” (पत्र ९ ख॰ ४–५/ चारहात, तीन आँखा उस्तै भएको शिव–शक्ति मूर्तिलाई ध्यान गर्नुपर्छ ।)
स्वस्थानीको प्रस्तर मूर्ति मात्र होइन चित्रकलाको परम्परा पनि रहेको छ । स्वस्थानी अभिलेख ग्रन्थहरूमा गाता चित्र तथा ग्रन्थ चित्रका रूपमा स्वस्थानीको चित्र बनाउने परम्परा पनि छ । तिनको अध्ययन गर्न सके स्वस्थानी चित्रकलाको विकास प्रक्रिया थाहा हुनेछ । छविचित्रको क्याटलग कार्डमा ने॰सं॰ ९२८/वि॰सं॰ १८६४ को स्वस्थानी (ई॰ ३८१/३६), वि॰सं॰ १९३८ तिर पृथ्वीवीरविक्रम शाहदेवको पालामा लालसिंहले बनाएको स्वस्थानी (जी ६०/९)मा स्वस्थानीको मुनि अष्टमातृका चित्रण गरिएको पाइएको छ । त्यस्तै वि॰सं॰ १९७२ को स्वस्थानी (जी १९७/१०)मा पनि चित्र रहेको छ । वर्तमान समयमा पनि स्वस्थानीको प्रभावस्वरूप चित्र लेख्ने परम्परा रहेको कुरा स्वस्थानी व्रतः नेपालमा नेवार आइमाई र तिनका रीतिरीवाज विषयमा विस्किन्सन विश्वविद्यालय अमेरिकाबाट पीएच॰डी॰ इ॰सं॰ १९८५ ताका गर्ने श्रीमती लिण्डा लोइसे इल्तिसले आफ्नो अनुसन्धान–प्रबन्धमा सांखुको भूवेन्द्र आर्ट स्टुडियोबाट स्वस्थानी चित्र नामले पार्वतीको तपस्यामा मारले दुःख दिइरहेको चित्रण भएको चित्र (पृ॰४८)प्रस्तुत गर्नु भएको छ । 
ऐश्वर्यधर शर्माले आफ्नो स्वस्थानीमा शुरूमै स्वस्थानीको ‘यन्त्र’ समेत विकास भएको चित्र प्रस्तुत गर्नु भएको छ । 
स्वस्थानीको चित्र बनाउने सिलसिलामा अचेल स्वस्थानी पुस्तकहरूमा एक पूरा पृष्ठ रङ्गीन स्वस्थानीको चित्र दिने गरेको छ । त्यसमा अष्टमातृका पद्मपत्र दलमा चारैतिर चित्रण गरी बीचमा स्वस्थानी रहेको छ । यहाँ स्वस्थानीदेवीले माथि दायाँ त्रिशूल, बायाँ कमलको फूल, तल दायाँ तरवार र बायाँ ढाल समातेको देखाइएको छ । संस्कृत श्लोक पनि सोही अनुसार प्रचलनमा आएको छ । यसरी स्वस्थानीको आयुधमा समय अनुसार केही परिवर्तन पनि हुने गरेको छ । 
विभिन्न विचारधाराका मानिसहरूले स्वस्थानीलाई आफ्नो ढङ्गले व्याख्या गर्ने पनि गरिएको छ । यसको लोकप्रियताले गर्दा बौद्ध जगतमा पनि बौद्ध स्वस्थानी बनाउने प्रयास भएको छ । त्यस्तो एउटा स्वस्थानी सत्यमुनि वज्राचार्य, काठमाडौंबाट प्राप्त भएको जानकारी त्यसको एकपत्र प्रकाशित गरी (पृ.४७) अनुसन्धाता इल्तिसले जानकारी दिनु भएको छ । बौद्ध स्वस्थानीमा केन्द्रीय चरित्र “शाक्यमुनि बुद्ध”को दिइएको छ र स्वस्थानी भने ‘महामाया’लाई बनाइएको छ । महामाया शैव स्वस्थानीमा शिवको आराध्यदेव महाकालीको रूपमा र बौद्ध स्वस्थानीमा बुद्धको आमाको रूपमा चित्रित छ । यो ने.सं. ९५१/वि.सं. १८८७ को अभिलेख–ग्रन्थमा पाइएको हो । (पृ. ४६)
स्वस्थानीको आध्यात्मिक ढङ्गले अध्ययन मनन गरी एक दार्शनिक आधार बनाउने सुर ऐश्वर्यधर शर्माले गर्नु भएको छ । उहाँले आफ्नो “स्वस्थानी–शक्ति” (आर्ष वाङ्मय, १ः१।२०४६, पृ. ३४–४०) लेखमा स्वस्थानीको दार्शनिक व्याख्या दिने प्रयास गर्नु भएको छ । त्यहाँ आयुधहरूको प्रतीकात्मक अर्थ पनि दिइएको छ । 
स्वस्थानी एक सामाजिक चरित्रको व्रतकथा हुनाले वामपन्थी साहित्यकारहरूले विशेष चासो लिन थालेका छन् । यस सम्बन्धमा प्रसिद्ध साहित्यकार तथा वामपन्थी नेता मोदनाथ ‘प्रश्रित’ले स्वस्थानीलाई वामपन्थी दृष्टिले हेरी यसको मूल्याङ्कन निम्नानुसार गर्नु भएको छ । 
स्वस्थानी व्रतकथा मध्यकालीन सामन्ती बिगविगीको बेला सर्वसाधारण जनताको ध्यान राजनैतिक चेतना, आर्थिक अधिकार र सामाजिक प्रतिष्ठाको कामना आदिबाट बहकाएर सबै समस्याको समाधान पूजापाठ जस्ता धार्मिक उपायबाट मात्र संभव हुन्छ भनी उनीहरूलाई असम्भव काल्पनिक भुलभुलैयामा पार्ने सामन्ती स्वार्थले लेखिएको हो ।
(मास्के, २०४६, पृ. ४६)
स्मरणीय छ स्वस्थानी एक ऐतिहासिक घटना नभएर एक परिकल्पित कथा हो । यसलाई धार्मिक अनुष्ठानको बेला व्रतकथाको रूपमा विकसित गराए । यो राजकीय भन्दा बढी जनभावना अनुकूल विकास गर्दै लगेको जनस्तरीय कथा श्रृङ्खला हो । धार्मिक विश्वास अनुसार यो शैव कथा हो तर यसलाई वैष्णव पनि बनाई मूल हिन्दू धर्मको सहिष्णुतायुक्त एक राष्ट्रिय धर्मधाराको रूपमा विकास गरेको छ । यसमा शिव र विष्णुको अन्योन्याश्रित सम्बन्ध कायम गर्न खोजिएको छ । यसमा हरिहरको एकाकार दर्शनलाई कथा रूपमा मूर्तरूप दिन खोजिएको छ । नेपालको सहिष्णुताको इतिहासमा यो दर्शन ई॰ ५६५ मा पशुपति देउपाटनमा स्वामी वार्तले शङ्करनारायण (अर्धशौरीश्वर अथवा हरिहर)को मूर्ति स्थापना गरिएदेखि नै भइसकेको थियो । 
स्वस्थानीको व्यापक जन चासो देखेर हालै नवदर्शनाचार्यहरूले पनि यसमा चासो देखाउन थालेका छन् । यस सिलसिलामा आनन्द योग केन्द्राध्यक्ष विकाशानन्दले अग्निपरीक्षा स्वस्थानी व्रतकथाको (जागृति प्रकाशन, ई॰ १९९०) प्रकाशित गर्नु भएको छ । लेखकले यसमा स्वस्थानीमा चित्रित अवैज्ञाािनक कुराहरूमा बढी आपत्ति जनाएका छन् । 
स्वस्थानीले आज चारसय भन्दा बढी वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा यसले अनेक आरोह–अवरोह पार गरेको छ । संस्कृत साहित्यमा यसले नेपालको मौलिक परम्पराको निर्वाह गरेको छ भने नेवारी साहित्यमा यसले गद्यको एक लामो प्रवाह बहाएको छ । नेपाली उपन्यासको फाँटलाई भने यसले एक प्रारूप प्रदान गरेको छ । नेपाली मात्रलाई यसलाई साहित्यको रसास्वाद गराएको छ र कथावाचनको एक खास लय प्रदान गरेको छ । स्वस्थानीको ऐतिहासिक विकासक्रम पहिल्याउन सके यसले नेपालको सांस्कृतिक इतिहासको एक पक्ष उद्घाटन गर्नेछ । कलाको इतिहासमा पनि यसले आफ्नो एक अलग पहिचान कायम गरेको छ । यसरी स्वस्थानी आज नेपालको एक चासोको विषय बनेको छ ।

परिशिष्ट

१. स्वस्थानी र प्रतापमल्लको भूगोलको केही तुलना

क्रम स्वस्थानीका नाउँ प्रतापमल्लको नाउँ
 १. सप्तद्वीप
 १. जम्वू जम्वु
 २. प्लक्ष प्लक्ष
 ३. शाल्मली (शाल्म)ल
 ४. कुश कुश
 ५. कौञ्च काञ्च
 ६. शाक शाक
 ७. पुष्कर पुष्कल

. द्वीप परिवेष्टित समुद्र
 १. क्षारोद जार
 २. इक्षुरसोद इक्षु
 ३. सुरोद सुरा
 ४. घृतोद घृत
 ५. छारोद/क्षीरोद क्षीर
 ६. दधिमण्डोद दधिमंदोद
 ७. शुद्धोद स्वछोद

. सुमेरू पर्वत वेष्टित पुरी
 चारदिशा
 १. पूर्व अमरावती इन्द्रपुरी/अमरावती
 २. पश्चिम श्रद्धावती वरूणपुरी/श्रद्धावती
 ३. उत्तर अलकापुरी कुवेरपुरी/महोदया
 ४. दक्षिण यमपुरी जमपुरी/सञ्चमनी
चार उपदिशा
 १. आग्नेय शुद्धावती अग्निपुरी/तेजोवती
 २. नैऋत्य कृष्णवती नैऋत्यपुरी/कृष्णशोना
 ३. वायव्य गन्धवती वायुपुरी/गन्धवती
 ४. ईशान यशोमती ऐशानपुरी/जशोवती

२. मितियुक्त नेपाली स्वस्थानी अभिलेख–ग्रन्थ 
 (नेपाल–जर्मनी पाण्डुलिपि संरक्षण योजनाद्वारा छविचित्रित)

क्रम. वि.सं. पत्र प्राप्तिस्थान छवि चित्र
मुद्रण अघि
१. १८६७ ५३ व्यक्तिगत/गोर्खा एफ ३०/३१
२. १८७८ ११४ केशर पुस्तकालय सी ६८/१
३. १८९० ५२ राष्ट्रिय अभिलेखालय ए १०३०/६
४. १८९३ ४२ व्यक्तिगत/पाटन ई २०१९/३
५. १८९६ १ मुठा व्यक्तिगत/गोर्खा ई १६६३/१९
६. १८९८ १११ व्यक्तिगत/(काठमाडौं) ई १६६२/२३
७. १९०४ २२ व्यक्तिगत/(काठमाडौं) ई १२१०/१३
८. १९२२ १२५ व्यक्तिगत/पाटन ई २८९/२२
९. १९३० ३३ राष्ट्रिय अभिलेखालय ए १०२१/१६
१०. १९३३ ९० व्यक्तिगत/काठमाडौं ई १०११/३
मुद्रणपछि
 ११. १९४६ १३८ व्यक्तिगत/काठमाडौं ई १५५४/४
 १२. १९५७ ११६ व्यक्तिगत/काठमाडौं ई ४०९/१३

३॰ मितियुक्त नेवारी स्वस्थानी अभिलेख–ग्रन्थ
 (नेपाली स्वस्थानी शुरू हुनु अघिका मात्र)
 (नेपाल–जर्मनी पाण्डुलिपि संरक्षण योजनाद्वारा छविचित्रित)

क्रम॰ ने॰सं॰वि॰सं॰ पत्र प्राप्तीस्थान छविचित्र
 १. ७२३/१६५९ ३४ राष्ट्रिय अभिलेखालय ए ३४४/५
 २. ७८२/१७१९ २० व्यक्तिगत/? ई ५१७/४
 ३. ८१५/१७५२ १३ व्यक्तिगत/भक्तपुर जी २०४/२३
 ४. ८२४/१७६१ ३० व्यक्तिगत/काठमाडौं ई १५४५/२७
 ५. ८३४/१७७१ १९ व्यक्तिगत/काठमाडौं ई १७५०/१८
 ६. ८७०/१८०७ १४२ व्यक्तिगत/काठमाडौं ई १२८२/३
 ७. ८८०/१८१७ ७० व्यक्तिगत/पाटन एच २९३/१८
 ८. ८८२/१८१९ १९ व्यक्तिगत/नाला आइ २७/१७ 
 ९. ८८३/१८२० ६८ राष्ट्रिय अभिलेखालय ए १०२१/३
 १०. ९०१/१८३८ ४१ राष्ट्रिय अभिलेखालय ए १०३०/११
 ११. ९०६/१८४३ १६४ व्यक्तिगत/भक्तपुर जी १८४/४
 १२. ९०८/१८४५ १३२ व्यक्तिगत/काठमाडौं ई १२६१/११
 १३. ९०९/१८४६ २६८ व्यक्तिगत/बनेपा आइ २०/१४
 १४. ९१३/१८५० ३८ व्यक्तिगत/काठमाडौं ई १२७४/३
 १५. ९१३/१८५० २१२ व्यक्तिगत/काठमाडौं ई ७२/४
 १६. ९२३/१८६० २५ व्यक्तिगत/पाटन ई ७२५/२२
 १७. ९२६/१८६३ १०७ व्यक्तिगत/भक्तपुर जी २३९/१९
 १८. ९२८/१८६५ २२९ व्यक्तिगत/काठमाडौं ई ३८१/३६
 १९. ९२९/१८६६ १४६ व्यक्तिगत/कीर्तिपुर एच २०५/३
 २०. ९२९/१८६६ ९२ व्यक्तिगत/सांखु ई २२२/३८
 २१. ९२९/१८६६ ९३ व्यक्तिगत/काठमाडौं ई ५३१/६

४॰ प्रचलित स्वस्थानी कथा अध्याय
१. सृष्टि प्रसङ्ग
 १. सृष्टिक्रम — १ 
 २. सृष्टिक्रम — २
२. महादेव–सतीदेवी कथा श्रृङ्खला
 २. सतीदेवी उत्पत्ति
 ३. दक्षकन्या विवाह
 ४. सतीदेवी कैलास दर्शन
 ५. त्रिपुर दहन
 ६. सतीदेवी यज्ञकुण्ड प्रवेश
 ७. दक्षसेना विध्वंश
 ८. महादेव पृथ्वी भ्रमण
 ९. सतीदेवी पीठोत्पत्ति — १
 १०. सतीदेवी पीठोत्पत्ति –२
 ११. ज्यातिर्लिङ्गोत्पत्ति वर्णन
३. शिव–पार्वती कथा श्रृङ्खला
 १२. श्री स्वस्थानी व्रतोपदेश (पार्वती व्रतोपासना)
 १३. पार्वती विवाह
 १४. शिव कैलाश गमन
 १५. तारकासुर वध
 १६. विष्णु मानसरोवर गमन
 १७. वृन्दा पतिव्रता धर्महरण
 १८. नागिनी स्वस्थानीव्रत
४. गोमा–नवराज कथा श्रृङ्खला
 १९. गोमा उत्पत्ति
 २०. गोमा कन्यादान
 २१. गोमा पतिगृह गमन
 २२. शिवशर्मा परलोक गमन
 २३. सप्तऋषि व्रतोपदेश
 २४. गोमा स्वस्थानी व्रतकृत
 २५. नवराज राज्याभिषेक
 २६. चन्द्रावती लावण्यदेश गमन
 २७. नवराज व्राम्हण भोजन
 २८. चन्द्रावती व्रतकृत स्वस्थानी
 २९. चन्द्रावती राजगृह प्रवेश
 ३०. चन्द्रावती सवृतान्त कथन
 ३१. गोमा पूर्ववृतान्त वर्णन

. प्राचीनतम स्वस्थानीको कथासार
 (ने.सं. ७२३ को नेवारी स्वस्थानीको आधारमा)

परापूर्वकालमा व्रम्हपुरी नगरमा शिवभक्त व्राम्हण र उनकी स्त्री सती सम्पत्ति कमाई गंगातिरमा बसेका थिए । एकदिन त्यसै बसिरहँदा अकस्मात एउटा गाई आई गोव्य्रायो र त्यस गोवरबाट अति लक्षणवती कन्या जन्मिन् । हाम्रो भाग्यले छोरी पायौं भनी ती दम्पतीले घर लगी आफ्नो मर्यादा अनुसार जातकर्म गरी गोमयजु नाम राखे । केटीको शीलस्वभाव र व्राम्हण परिवारको दानदक्षिणाले इन्द्रासन लिनसक्ने देखेर इन्द्र कैलासमा महादेवकहाँ गई रक्षा गर्न अनुरोध गर्दा महादेव कापालिक भेष धरी व्राम्हणको घरमा भिक्षा माग्न पुगे । यसबेला फूलमा खेलिरहेकी गोमयजुले डमरूको आवाज सुनिनन् र आमाले कराएपछि मात्र सुनी भित्रबाट अन्न ल्याई भिक्षा दिन आइन् । भिक्षुक महादेवले विना वस्त्र नाङ्गै भिक्षा दिन आएकीले अनादर गरी भनी रिसाएर आठ वर्ष हुँदा बूढो लोग्ने पाओस् भन्ने श्राप दिई कैलाश गए । महादेव कैलाश पुग्दा पार्वतीले स्वस्थानी व्रत भर्खर सिध्याएकी थिइन् । महादेवको अगाडि पार्वतीले आसव ऋषिलाई मर्त्यलोकमा गई सो धर्मव्रत पालन गराउन अह्राए । 
गोमयजुको विवाहको वेला हुन लाग्दा पनि कसैले माग्न नआएको र श्राप फलले गर्दा अस्सी वर्षको शिव शर्माले मागेर विवाह गरी गर्भवती भई । शिव शर्मा महिना दिन भित्रै आउँछु भनी देशान्तर गए । त्यसबेला गोमयजुबाट बच्चा जन्मेको नगरवासीले स्याहारे र जातकर्म गरी नवराज नाम राखिदिए । नवराजले एक दिन आमासित आफ्नो बाबुबारे सोधी परदेश खोज्न गई आफ्ना पिता मरेको थाहा पाई गंगामा श्राद्ध — तर्पण गरी फर्के । 
यता बुहारी माइत गई र गोमयजु लाजले नगर छोडी नदी किनार झुपडीमा बसिरहँदा गोठालाहरूबाट उनी दुःखी छिन् भन्ने चाल पाई महादेव–पार्वतीले पठाएको ऋषि आसव त्यहाँ पुगी स्वस्थानी धर्मव्रत विधि वताए । ऋषि घर आएकोमा पिरा आसन दिई स्वागत गर्न घरमा केही नहुँदा काटेको धागो लगी पान किनी घर फर्कंदा ऋषिले पिरा मुनि ‘धन’ छोडी गइसकेको र त्यही धनले सार्जाम जोडी व्रत पूरा गर्दा नवराज आइपुगे र उनलाई नियमानुसा आठ रोटी दिइन् । 
केही कालपछि त्यस देशमा अपुता राजा मरे, राजा विना प्रजा रहनु मनासिव नहुने हुँदा मन्त्रीहरूको सल्लाहले एकमत भई राजचिन्ह भएको एक प्रजा नवराजलाई आमासहित हात्ती चढाई सिन्दुरे जात्रा गरी राज्याभिषेक गरी राजा बनाए । 
राजा भएपछि आफ्नी स्वास्नीको खोजी नवराजले गरे र उनलाई लिन पठाएर फर्कंदा एक नदी तिरमा पुष्पवृष्टि भएको देखी त्यस ठाउँमा भरियाहरू हेर्न गएका र त्यहाँ अप्सराहरूले स्वस्थानीको व्रत अनुष्ठान गरेको कुरा गर्दा नपत्याई वाहुनीले निन्दा गर्दा नदी बढी तीनै जनालाई बगाएको र त्यसबेला स्वस्थानी परमेश्वरी आई दुई जनालाई स्वर्ग लगेको र बाहुनीलाई पाप भोग्न नदीमै बाह्र वर्ष रहन छोडेर गए । बाह्र वर्षपछि माझीहरूले जाल हाल्दा मूढो रूपमा रहेकी बाहुनी बाहिर फ्याँकिइन र वनमा रहेको बाह्र वर्ष वित्न लाग्दा नवराज राजाले सतल बनाएको उपलक्ष्यमा देशभरका व्राम्हणहरू निमन्त्रण गरेकोमा कपिलदेव व्राम्हणहरू आइरहँदा नदी किनारमा स्वस्थानी व्रत गर्न आतुर तर अज्ञान एक आइमाई स्वरूपकीले विधि वताइमाग्दा व्राम्हणहरूले बालुवा–पानीबाटै सब सार्जामको काम लिन सिकाए । व्राम्हणहरूले हेर्दाहेर्दै उनी दिव्य सुन्दरी भइन् । सो घटना राजाकहाँ व्राम्हण–सभा सकेपछि प्रस्थान गर्न लाग्दा गोमयजु र राजाले सुनी आफ्नी हराएकी बाहुनी हुनुपर्छ भन्ने ठम्याई वेद पाठ सहित स्वागत गरी राजदरवार भित्राए र विधिपूर्वक राजसिंहासनमा राखी राज्याभिषेक गरी तीन आमा–छोरा–बुहारी व्राम्हणहरूबाट आशीर्वाद पाई आनन्दले रहे ।

६॰ प्रतापमल्लको भूगोल
 (हनुमानढोका, मोहनचोक ने॰सं॰ ७७७/वि.सं. १७१३)
(सुन)धाराको अगाडि माथि चोकमा राजा प्रतापमल्लले बनाएको धातुनिर्मित भूगोल छ । सो भूगोल गोल नभएर थाल जस्तो च्याप्टो आकारको छ । त्यस भूगोलको सबभन्दा तल्लो भागमा तल, पाताल, रसातल आदि अनेक धरातल देखाइएका छन् । चारैतिर पानीको दृश्य त्यहाँ देखाइएको छ तथा अक्षरद्वारा प्रत्येक धरातलको नाम बताइएको छ । ती धरातलमाथि उत्रिरहेका वराहले आफ्नो काँधले स्त्रीशरीरधारी पृथ्वीलाई बोकेका छन् । थाल जस्तो भूगोलको रूपमा चाहिं वराहको थुतुनोमा अड्याइएको छ । विभिन्न वृत्त र रेखाहरू त्यसमाथि कोरिएका छन् तथा सानसानो अक्षरद्वारा लोकलोकान्तरको नाम त्यहाँ दिइएका छन् । त्यस भूगोलको एक छेउमा राजा प्रतापमल्लले अनेक शास्त्र हेरी त्यसको निर्माण गरेको कुरा लेखिएको छ । त्यस अभिलेख अनुसार वि॰सं॰ १७१३ मार्गमा यस भूगोलको निर्माण गरिएको थियो । राजा प्रतापमल्लको यस कृतिले उनको जिज्ञासु स्वभावको परिचय दिएको छ । साथै तात्कालिक लोक धारणाको पनि ज्ञान गराएको छ । यही धारणा अनुसार लेखिएका यस विषयका ग्रन्थ पनि प्राप्य छन् ।

– गौतमवज्र वज्राचार्य, हनुमानढोका राजदरवार । काठमाडौंः नेपाल र एशियाली अध्ययन संस्थान, २०३३ः१०५

(यो आवरण लेखको रुपमा मधुपर्क (मासिक), २३ः९ः२६० (विसं २०४७ माघ, ई॰ १९९१ जनवरी–फ्रेब्रुवरी), पृष्ठ ५–१६ मा प्रकाशित छ । यो पुनः प्रकाशन मतिना (त्रैमासिक), ७ः१५ (नेसं ११३३ कछला, ई॰२०१२ नोवेम्वर), पृ॰ ३३–४१ मा भएको छ । लेखक)