हनुमानढोका नासलचोकको डबली

Bishnu Pradhan, India, 1994 February on Nasalchok Dabali

हनुमान्ढोकाको प्राचीनता
राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शुभराज्याभिषेक परम्परा अनुसार हनुमान्ढोकाको दरवारको नासलचोकमा रहेको डबलीमा सुसम्पन्न हुन्छ । हनुमान्ढोका भनेर ने॰सं॰ ७९२ (ई॰ १६७२) मा राजा प्रताप मल्लले दरवारको मूलढोकाको दायाँपट्टि र दरवारतिर जाने बाटोमा ठूलो घण्टा अगाडि हनुमान् स्थापना गरेदेखि प्रसिद्ध भएको हो । काठमाडौं, भक्तपुर र पाटनको राजदरवारमा पनि हनुमान् स्थापना गर्नुको कारण तत्कालीन राजाहरूमा “यी हनुमान्ले डरलाग्दो लडाइँमा शत्रुको नाश गरिकन लडाइँ जिताइदिन्छन्, घरमा रक्षा गरिदिन्छन्’’ भन्ने विश्वास भएकोले हो । (१) त्यसबेलादेखि उपत्यकाका राजाहरूले आफ्नो प्रशस्तिमा ‘हनुमत्ध्वज’ (ध्वजामा हनुमान् भएका) भनेर लेख्न पनि गौरव मान्ने गर्दथे । (२) हनुमान्ढोका नामले त्यसवेलातिरदेखि मात्रै प्रशिद्ध भए पनि मल्ल राजाहरू यक्ष मल्लको पालासम्म तीनै सहरको राज्यका संचालन भक्तपुरबाट भइरहेकामा उनको माहिलो छोरो रत्नमल्लले वि॰सं॰ १५४१ (ई॰ १४८४) काठमाडौंमा स्वतन्त्र रुपले शासन गरेदेखि यहाँको कुनै दरवारमा रहन थालेको देखिन्छ । यसभन्दा अघि काठमाडौंमा पुस्तैनी अधिकार पाएका वैश्य महापात्रहरूद्वारा भक्तपुरका ‘नेपालमण्डलेश्वर राजाको हुकूम मानी शासन गर्दथे । (३) रत्नमल्ल (ई॰ १४८४) देखि जयप्रकाश मल्ल (ई॰ १७६८) सम्म २४८ वर्ष मल्ल राजाहरूले हनुमान्ढोकाबाट शासन चलाएपछि पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण वि॰सं॰ १८२५ (ई॰ १७६८) मा गरेदेखि सुरेन्द्र वीर विक्रम शाहका समय वि॰सं॰ १९३८ (ई॰ १८८१) सम्म शाह राजाहरू यहाँ ११३ वर्ष जति राज भएको देखिन्छ । राजा सुरेन्द्र पछि राजा पृथ्वीवीरविक्रम शाहका पालादेखि अहिलेको नारायणहिटीको राजदरवारमा सरेको देखिन्छ । (४)
लिच्छवि राजाहरूले नै यहाँ बसी राज गरेको स्पष्ट प्रमाण नपाइए पनि यहीं हनुमान्ढोकाको देगुतले मन्दिरको पेटीमा पाइएको अंशुवर्मा (ई॰ ५९४–६२१) ताकाको शिलाभिलेखमा (“॰॰॰ ॰॰॰ किरात ॰॰॰ लिच्छवि राजाले बनाएको पुरानो (दरबार) वृत्ति (जागीर) पाएका पुराना सैनिकहरूले वास्ता नगर्दा जीर्ण हुन थाल्यो ।)” (५) भन्ने उल्लेख पाइएकोले यहाँ लिच्छवि राजाहरूको पालामा मात्र होइन किरातकालदेखि नै कुनै किसिमको राजदरवार रहेको अनुमान हुन्छ । यसै अभिलेखमा सर्वप्रथम नेपालको इतिहासमा ‘किरात’ शब्द पाइएको हो । काठमाडौं जैसी देवलबाट लगनतिर जांदाको सडकछेउ ज्याबहालको सं ५३५ (ई॰ ६१३) को शिलाभिलेखमा जग्गाको चारकिल्ला छुट्याउँदा उल्लिखित ‘दक्षिणराजकुलस्य दक्षिणपश्चिमेन “(दक्षिणराजकुलको दक्षिण पश्चिमतिर बाटो) भन्ने उल्लेख आएकोले श्री धनवज्र वज्राचार्यले यहीं हनुमान्ढोकानिर यो ‘दक्षिणराजकुल’ नामक राजदरवार रहेको अनुमान गर्नु भएको छ । (६) हुन पनि काठमाडौंको नक्सा हेर्यौं भने दक्षिणराजकुलको दक्षिण — पश्चिमतिर रहेको भनिएको ज्याबहालको ठीक उल्टो उत्तर पूर्वतिर हनुमान्ढोका पर्दछ । यो राजदरवारको आफ्नो केही जग्गा रहेको पनि चाल पाइएको छ । चांगुमा शिवदेव–अंशुवर्मा (ई॰ ५६४–६१३)ले राखेको शिलाभिलेखमा गुङ्दीमक ग्रमको कोट्टको उत्तर–पूर्वपट्टि तलतिर दक्षिणराजकुल र पुण्डिराजकुलका जग्गासंग साटी अघिदेखि खाईपाई आएको पनि संगै गाभी खुशी साथ सनद शिलापत्र गरी दिएको उल्लेख आएको छ । (७) । यति मात्र होइन ज्ञानेश्वरको चौबाटोको दक्षिणमा रहेको नारायण मन्दिरको सामुन्नेको न्याय–व्यवस्था सम्बन्धी आदेश जारी गरेको शिलालेखमा द्वितीय जयदेव (ई॰ ७१३–७३३)ले ‘दक्षिणराजकुलस्य पूर्वाधिकरण’ (दक्षिणराजकुल (दरबार) को पूर्वाधिकरण) भन्ने वाक्यांश प्रयोग गरेकोबाट लिच्छविकालमा प्रचलित केही अधिकरणहरू मध्ये कुनै कुनै यस दरवारमा पनि रहेको थाहा हुन्छ । (८) 
इतिहास — शिरोमणि बाबुराम आचार्यले हनुमान्ढोकादेखि केही दक्षिणमा रहेको अहिलेको यंगालतिर संभवतः ई॰ ४२५ तिर इन्द्रगृह (जसको अपभ्रंश यंगल भयो भन्ने उहाँ ठान्नुहुन्छ) मानदेव (ई॰ ४६४–५०५)ले स्थापना गरेको गरेको अनुमान गर्नु भएको छ । (९) यसरी हामी यस क्षेत्रको प्राचीनता आजभन्दा १५५० वर्ष अघिसम्म मान्नसक्छौं ।
नासलचोक 
हनुमान्ढोका दरवारको मूलढोकाबाट पस्ने वित्तिकै नासलचोक पुगिन्छ । यो स्थानलाई नेपालको प्राचीन गौरवमय कलात्मक वातावरणले शोभायमान बनाएको छ । यसको दक्षिणमा पृथ्वीनारायण शाहले वि॰सं॰ १८२६ (ई॰ १७७०) मा बनाएको नेपालको सबभन्दा अग्लो ७२ हातको पुरानो दरवार वसन्तपुर बुर्जा रहेको छ, पूर्वमा दक्षिणतिर त्यसैसंग जोडिएको धातुको कोणदार गुम्वज छाना भएको ४९ हातको बङ्गला (१०) नामको बुर्जाले रामशाहको गोरखा दरवारको शैलीको प्रतिनिधित्व गरिरहेछ । (११) उत्तर–पूर्व कुनामा मूलचोक पस्ने ढोकातिरको गोलो पाँचतले हनुमान्को मन्दिर नेपालको अर्को आफ्नो किसिमको वास्तुकला हो । उत्तरको गद्दी बैठकमा पहिले राजाहरू रहँदा सरसल्लाह सभा, न्याय निसाफ वा वसन्तश्रवण आदि कार्य सुसम्पन्न गर्ने स्थान थियो । अहिले त्यहाँ शाह राजाहरूको चित्र प्रदर्शित गरिएका छन् । यस चोकबाट बाहिर निस्कंदा ढोकैनेर राजा प्रतापमल्लले स्थापना गरेको नृसिंहमूर्तिले जसको पनि ध्यान आकर्षित गर्छ । 
मल्लकालमा नासलचोक खुल्ला दरबारी आङ्गनको रुपमा थियो । ई॰ १७७० मा पृथ्वीनारायण शाहले बसन्तपुर दरवार र ई॰ १९०८ मा पृथ्वी वीरविक्रम शाहको पालामा चन्द्र शंशेरले बेलायती दरवार कुमारीघर अगाडि बनाएर त्यस बीचमा अर्को घर जोडेपछि यसले चोकको रुप लिएको देखिन्छ । यसको दक्षिण पश्चिम कुनामा संवत् २०७ (ई॰ ७८३) को आषाढ कृष्ण सप्तमीको दिन अमृतवर्माले दान गरेका जलद्रोणीले यस चोकको आसपासमा लिच्छविकालमा धारा भएको संकेत गरिरहेछ । (१२) अहिले भने त्यहाँ ई॰ १८९० अंकित भएको यूरोपको ग्लास्गोमा बनाएको मोटो पाइपको ‘वीरधारा’ छ । वि॰सं॰ १८८२ फागुनमा यस नासलचोकमा ढुङ्गा छाप्ने काम राजेन्द्र विक्रम शाहबाट भएको थियो । त्यसैबेला यसको बीचतिर रहेको पुरानो डबलीमा पनि राम्ररी पत्थर छापिएको थियो । (१३) यस चोकको जीर्णोद्धार रणबहादुर शाहबाट पनि भएको थियो भनिन्छ । (१४) 
डबली
हनुमान्ढोका नासलचोकको डबलीको ठूलो ऐतिहासिक महत्व छ । यो करीव २० फीटको वर्गाकारको जमीनबाट अढाइ फीट जति अग्लो छ । यसै डबलीमा मल्ल कालदेखि नेपालका राजाहरूको शुभराज्याभिषेक सुसम्पन्न हुँदै आएको छ । यसमा मल्लकालका अनेक नाटकहरू खेलिए र अरू अनेकौं शुभकार्यहरू सम्पन्न भए । इन्द्रजात्रा ताका आठ दिनसम्म नचाइने विभिन्न देवदेवी नाचहरू पहिले यहाँ नचाउनु पर्ने व्यवस्था भएको कुरा आजसम्म यहाँ त्यस बेलादेखिको सम्बन्धित नृत्यमण्डलले हाजिर–बुझाउन आइरहेकोबाट चाल पाइन्छ । काष्ठमण्डप अगाडि नासल देवतास्थानमा प्रतापमल्लले आफू नरसिंह अवतार भएर नाचेको बयान गरी शिलालेख लेखाएका छन् । (१५) हनुमान्ढोका दरवारमा उनी बस्ने हुनाले उनी नाचेको डबली यही नासलचोकको हुनसक्छ । यो डबली शुरूमा राजकीय नृत्य रङ्गमञ्चको लागि बनाएको होला भनी हामी यसको नामबाट अनुमान गर्न सक्छौं । नृत्येश्वर महादेवलाई नृत्यनाथ वा नाट्येश पनि भनिन्छ त्यसमध्ये नाट्येश वा नृत्येश्वर शब्दबाट नेवारी उच्चारण नासल, नासर वा नासः बनेको देखिन्छ । कसैको भनाइमा यो चोक नै कलाप्रिय मात्र नभै स्वयं नाच्ने राजा प्रतापमल्लले बनाउन लगाका थिए । (१६) 
१०४ वर्षपछि राणाशासनबाट नेपाली जनतामुक्त भएपछि यस डबलीमा केही सार्वजनिक समारोह पनि सम्पन्न भए । तिनमा २००९ साल माघ ९, १० र ११ गते च्वसापासाको तत्वावधानमा नेवारी भाषाको विराट साहित्य — सम्मेलन भएको (१७) र २०१६ साल आश्विन १२ गते शान्ति रक्षा स्वयंसेवक संघले सरकारी सहायताद्वारा ‘गोयात्रा–इन्द्रजात्रा कला पुरस्कार समिति’को कार्यक्रममा चिन्तामुनि नृत्य प्रतियोगिता गरेको (१८) स्मरणीय छ । 
हनुमान्ढोका नासलचोकको यसै डबलीमा शाह राजाहरूले पनि परम्परा अनुसार मुकुट पहिरँदै आएका छन् । सोही अनुसार वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको पनि २०३१ साल फाल्गुण १२ गते सोमबार तद्नुसार २४ फेब्रुवरी १९७५ तथा माघ शुक्ल त्रयोदशीका तिथिमा वैदिक विधिपूर्वक दशौ शाह राजाका हैसियतले शुभराज्याभिषेक सुसम्पन्न हुँदैछ । पृथ्वीनारयण शाह (ई॰ १७४३–७५) को शुभराज्याभिषेक हुनलाई नरभूपाल शाह (ई १७१६–४३) को मृत्युपछि ई॰ १७४३ को अप्रिलको तेस्रो साता तिर (राज्यारोहण ३ अप्रिल) गोरखामा सुसम्पन्न भएको थियो, (१९) तर विशाल नेपालको राजाको रूपमा उनले काठमाडौंलाई जितेपछि ई १७६८ सेप्टेम्वर २६ मा नासलचोकको यस डबलीमा मुकुट पहिरेका थिए । यसलाई इतिहास शिरोमणि बाबुराम आचार्य यसरी बताउनु हुन्छ — “यता राजदरवारमा गोर्खालीको अधिकार भएपछि पूर्णातिथि (पूर्णिमा) स्थिरवार (रवि), स्थिरनक्षत्र (उत्तराभाद्र) र स्थिर लग्न ‘सिंह’ पारी राजदरवारका अगाडिका चौतारामा रहेका कान्तिपुरका राजसिंहासनमा श्री ५ पृथ्वीनारायण शाह विराजमान भए । (२०) पछि वसन्तपुर दरवार बनाएर २१ मार्च ई॰ १७७० (वि॰सं॰ १८२६ चैत्र शुक्लपञ्चमी) मा वसन्तोत्सव गरी प्रवेश गर्दा गोर्खाको राजसिंहासन पनि ल्याईयो र त्यस बेलादेखि औपचारिक रूपले काठमाडौं नेपाल अधिराज्यको राजधानी भयो । (२१)
अहिले राजा वीरेन्द्रको शुभराज्याभिषेकको अवसर हुनाले यहाँ नासलचोकको यस डबलीमा सुसम्पन्न भएका पृथ्वीनारायण शाहदेखि महेन्द्रसम्मका शाह राजाहरूको राज्याभिषेक सम्पन्न भएको दिनको तालिका दिनु उपयोगी नै होला भनी प्रस्तुत गरिएको छ ः–
श्री ५ प्रतापसिंह शाह (ई॰ १७७५–७७) — २५ जनवरी ई॰ १७७५ (२२)
श्री ५ रणबहादुर शाह (ई॰ १७७७–९९) — १ डिसेम्वर ई॰ १७७७ (२३)
श्री ५ गीर्वाणयुद्धविक्रम शाह (ई॰ १७९९–१८१६) — ८ मार्च १७९९ (२४)
श्री ५ राजेन्द्रविक्रम शाह (ई॰ १८१६–४७) — ८ डिसेम्वर ई॰ १८१६ (२५)
श्री ५ सुरेन्द्रविक्रम शाह (ई॰ १८४७–८१)– १२ मे ई॰ १८४७ (२६)
श्री ५ पृथ्वीवीरविक्रम शाह (ई॰ १८८१–१९११) — १ डिसेम्वर ई॰ १८८१ (२७)
श्री ५ त्रिभुवनवीरविक्रम शाह (ई॰ १९११–५५) — २० फेब्रुवरी ई॰ १९१३ (२८)
श्री ५ महेन्द्रवीरविक्रम शाह (ई॰ १९५५–७२) — २ मे ई॰ १९५६ (२९)
प्रासंगिक टिप्पणीहरू 
१. नयराज पन्त — हनुमान् स्थापना गर्नामा हेतु, पूर्णिमा १÷२०२१ वैशाख, पृष्ठ २६–३० ।
२. टी॰ आर॰ वैद्य — मल्लकालमा राज–नेतृत्व ‘Kingship during the Malla Period’, Journal of the Tribhuvan University, IV : I (June 1968), p. 19.
३. धनवज्र वज्राचार्य, (प्र॰सं॰) — इतिहास–संशोधनको प्रमाण–प्रमेय (पहिलो भाग) २०१९, पृष्ठ १३३ ।
४. नयराज पन्त — श्री ३ महाराज रणोद्दीपसिंह, पूर्णिमा २५÷२०२८ मार्ग, पृष्ठ ४७ ।
५. धनवज्र वज्राचार्य — लिच्छविकालका अभिलेख, २०३०, पृष्ठ ३७४ ।
६. ऐजन, पृष्ठ ३४२–४४ ।
७. ऐजन, पृष्ठ २३–३५ ।
८. ऐजन, पृष्ठ ५७४–७५ ।
९. किरात नाम, नेपाली — १६÷२०२० साउन–असोज, पृष्ठ २७–२८ ।
१०. ‘नाम र उच्चारणबारे’, त्रिरत्न — सौन्दर्य — गाथा, २०१९, पृष्ठ १३६ ।
११. डा॰ प्रयागराज शर्मा — नेपाली कला र वातुकलाको परिचय ‘Introduction to Nepalese Art and Arctitecture’, माथिकै संख्या २ ‘J. T. U.’, पृष्ठ ९३ ।
१२॰. माथिकै, सं॰ ५, पृष्ठ ५९४ ।
१३. धनवज्र वज्राचार्य (सं) — त्रिरत्न–सौन्दर्य–गाथा, २०१९, पृष्ठ ३०८ ।
१४. प्रेमबहादुर कंसाकार — हाम्रो नाटक परम्परा, हिमानी, १ः१ (२०१९ आश्विन — कार्तिक), पृष्ठ १३१ । अथवा प्रेमबहादुर कसा (सं॰) — रत्नेश्वर प्रादुर्भाव, ने॰सं॰ १०८४, झीगु नाटक परम्परा, पृष्ठ ३ ।
१५. शंकरमान राजवंश (सं॰) — कान्तिपुर–शिलालेख–सूची, पृष्ठ ०७ ।
१६. लीलाभक्त मुनकर्मी — मल्लकालीन नेपाल, २०२५, पृष्ठ ११५ ।
यहाँनेर राष्ट्रिय चित्र संग्रहालय भक्तपुरको ने.सं. ७८९ (ई॰ १६६९) को प्रतापमल्ल नाच्दै तीर्थ गइरहेको र पछिपछि आइमाईहरू जाँड रक्सीको भाँडा बोकी पछ्याइरहेको चित्र भएको पुस्तकको पनि सम्झना हुन्छ । 
१७. पासा, १ः१३ (२०१० जेष्ठ), पृष्ठ ८८ ।
१८. माथिकै, सं॰ १४ (अथवा), पृष्ठ ३३ ।
१९. बाबुराम आचार्य — श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह संक्षिप्त जीवनी, भाग १, पृष्ठ 
 १५९–६० ।
यस सम्बन्धमा योगी नरहरिनाथले यसरी लेख्नु भएको छ — “पृथ्वीनारायण शाहको राज्याभिषेक शाके १६६४ चैत्र शुदि रामनवमीका दिन २० वर्षका अवस्थामा गोर्खा राजधानी कैलासकुट भवनका रामशाहका सिंहासनमा समस्त गोर्खाली नरनारीहरूबाट वैदिक विधिपूर्वक भयो ।” (दिव्य उपदेश पृथ्वीको अर्ति, २०१६, पृथ्वीको परिचय, पृष्ठ ४ र ५)
२०. ऐजन, भाग ३, पृष्ठ ५०३ ।
२१. ऐजन, भाग ३, पृष्ठ ५१९ ।
२२. बाबुराम आचार्य — नेपालको संक्षिप्त वृत्तान्त (खण्ड १), पृष्ठ ७२ ।
“पिताका अन्त्येष्ठि काममा रहेका बहादुर शाहले नजरबन्दीमा नै यो क्रिया समाप्त गरेपछि काठमाडौंमा प्रतापसिंह शाहको राज्याभिषेक सिंहासनारोहण र मुकुट धारणका काम सुसम्पन्न भए, २५ जनवरी १९७५ ।
२३. ऐजन, पृष्ठ ७७ ।
(क) “प्रतापसिंह शाहको देहान्त भएको एक महीनापछि रणबहादुर शाहको राज्याभिषेक गरियो”, १७ 
 डिसेम्वर १७७७ ।
(ख) “१८५१ ज्येष्ठ २७ गते रणबहादुर शाह गद्दीमा” ृबाबुराम आचार्य गोरखा विजयकालका घटना,
 पूर्णिमा — २७÷२०२९ आश्विन, पृष्ठ १७१ ।े
२४. (क) पूर्णिमा — २०२२ वैशाख पृष्ठ अघिल्लो चित्र र माथि २३ (ख) को बाबुराम, पृष्ठ १७१ ।
“श्री ५ गीर्वाणयुद्ध विक्रम शाह ‘तात्कालिन चित्र,’ राज्याभिषेक वि॰सं॰ १८५५ फाल्गुण २८ गते, डेढ वर्षमा ।”
(ख) “उनले ृश्री ५ रणबहादुर शाहे १८ महीनाका गीर्वाणयुद्ध विक्रम शाहको राज्याभिषेक पाल्पाली राजा पृथ्वीपाल सेनद्वारा वि॰सं॰ १८५५ फाल्गुण सुदी २ — का दिन सुसम्पन्न गराए” ृढुण्डिराज भण्डारी — नेपालको ऐतिहासिक विवेचना २०१५, पृष्ठ २े (८ मार्च १७९९ शुक्रवार — काशीनाथ)
(ग) “आगे श्री जनरल भीमसेन थापा के अघि श्री ६ बुबाज्यूको अढाई बर्षको उमेर हुँदा श्री ६ बुबाज्यूबाट गादि तिलक बक्सनु भै राज्याभिषेक गराई आफू श्री ब्रह्मरुपका चिन्तन गर्न लाग्नु भयाको रहेछ ।” ‘त्रिरत्न–सौन्दर्य गाथा, वि॰सं॰ १८९२ मा भीमसेन थापाले राजेन्द्र विक्रम शाहबाट गराइ लिएको लालमोहर, पृष्ठ ३०९ ।
२५. बालचन्द्र शर्मा — नेपालको ऐतिहासिक रुपरेखा, २०१५, पृष्ठ २७८ ।
“२० नवेम्बर १८१६ ई॰ मा महाराजाधिराज गीर्वाणयुद्ध विक्रम शाहको शीतला रोगले मृत्यु भएकोले उनका दुई वर्षका नाबालक छोरा राजेन्द्र विक्रम शाह ८ दिसम्बर १८१६ ई॰ को दिन नेपालको राजसिंहासनमा राखिए ।”
२६. ऐजन, सुरेन्द्र विक्रम शाहको राज्याभिषेक, पृष्ठ ३१८ ।
(क) “१२ मई १८४७ ई॰ को दिन १८ वर्षका युवराज सुरेन्द्र विक्रम शाह नेपालको महाराजाधिराज 
 घोषित गरिए ।”
(ख) १९०४ ज्येष्ठ ृअ॰ ज्येष्ठ शुदि १३।१४ का राति ३ घडी जाँदा वंशावली १२ मई जंगे सुरेन्द्र 
 राजगद्दीमा अभिषेक । राजेन्द्र गद्दीबाट उत्रे ।” ‘बाबुराम आचार्य–राजेन्द्र विक्रम शाहको शासन, 
 पूर्णिमा — २७, पृष्ठ १७७ ।
२७. ऐजन, बालचन्द्र — पृथ्वी वीरविक्रम शाहको राज्याभिषेक, पृष्ठ ३४६ ।
‘श्री ५ युवराजाधिराज त्रैलोक्य वीरविक्रम शाहको परलोक भईसकेकोले’ “१ दिसम्बर १८८१ ई॰ को दिन बालक पृथ्वी वीरविक्रम शाह राजगद्दीमा राखिए ।”
२८, ऐजन, पृष्ठ ३५८ ।
“॰॰॰ ११ डिसेम्बर १९११ ई॰ मा पृथ्वी वीरविक्रम शाहको मृत्यु भयो र २० फरवरी १९१३ का दिन एक मात्र नाबालक छोरा त्रिभुवन वीरविक्रम शाहको नियमानुसार राज्याभिषेक भयो ।”
२९. (क) श्री शुभराज्याभिषेक रेडियो सप्ताह ‘रेडियो कार्यक्रम सम्बन्धी पुस्तिका’, पृष्ठ २२ मा २ मई १९६५ बुधबार ‘२०१३ वैशाख २० गते’ मा नारायणहिटी दरवारदेखि हनुमान्ढोका दरवारसम्मको प्रत्यक्ष वर्णन ।
(ख) धर्मोदय, ९ः७ ‘२०१३ वैशाख, जेठ तदनुसार मई, जून १९५६’, राज्याभिषेक ‘समाचार’ पृष्ठ ४५७ ।
“काठमाडौं, २ मई । ॰॰॰ अले परम्परागत विधिवत दश बजे जुया दश मिनेट वंका अभिषेक जुल । पलख लिपा लं सुरुवा व धाखा तपलिं पुया जें खुकुरी भ्याना श्री ५ महारानी नापं सिंहासने फेतू विज्यात, गन १०।४६ स राजगुरूं सिन्हःतिका मुकुट पुइका दिल ।”
अनुवाद — काठमाडौं, २ मई । ॰॰॰ अनि परम्परागत विधिवत् दश वजेर दश मिनेट जांदा अभिषेक भयो । एकछिन पछि दौरा सुरूवाल र ढाकाको टोपी लाइबक्सी कम्मरमा खुकुरी भिरी बक्सेर श्री ५ महारानीका साथ सिंहाहनमा राज हुन सवारी होइबक्स्यो, तब १०।४६ बजे राजगुरुले टीका लाइदिनु भई मुकुट पहिराउनु भयो ।

पूर्वप्रकाशन ः
स्मारिका २०७५ काठमाडौंः हनुमानढोका दरवार संग्रहालय विकास समिति, विसं २०७५ (ई॰ २०१८), पृ॰ ११–१४ । (पुनर्प्रकाशन) 
धर्मदर्शन, (त्रैमासिक, गुठी संस्थान (शुभराज्याभिषेक विशेषांक), १ः४ (२०३१ माघ–चैत्र), पृ॰ ७१–७८ । (प्रथम प्रकाशन)