Khaptad — Rara Trip: यात्रा अनुभव

Narayan Kandel
14 min readJun 20, 2019

June 1–11, 2019

मुर्मा टप बाट रारा लाई हेर्दै

धेरै अघि देखिको सुदुर पश्चिम घुम्ने इच्छा बाट प्रेरित भई योजना बनायौ खप्तड - रारा यात्रा।५ दिन अफिस बिदा लिदा अघि/पछि को weekend गरि जम्मा भयो ९ दिन। खराब स्थितिमा १-२ दिन थप्न मिल्ने गरि तालिका बनायौ। पहिलो पल्ट फानी आधीले धनगढीको हवाई यात्रा बिथोल्दा सिमित बिदा र बिग्रेको मौसमको मध्य नजरमा रोकिएको यात्रा दोस्रो पटक सुरु भयो जेठ १८ गते । यसपल्टको साथी: सुशील श्रेठ।

दिन १, २ काठमाडौँ ➡️ बझांग 🚍

शनिबारको दिन ११ बजेको घाम। गाडी चड्न पुग्यौ नया बसपार्क गोंगबु।मध्य दिनको टन्टलापुर घामले अघिको यात्रामा केहि समस्या दिने संकेत गरे पनि पहाडी भेगको घामले हाम्रो यात्रामा खासै असर नगर्ने आसमा थियौ हामी।

ठिक ११:३० मा हिड्यो बझांग जाने एक मात्र गाडी । हामी खुसी थियौ। हाम्रो सिट अघि बझांगका यात्रुहरु रहेछन। उनीहरुसंग चिना परिचय पछि हामी खप्तड र बझांग बारे गफ गर्यौ। २ चोटी पुगेका रहिछन। “अहिले भन्दा गंगा दशहरा मेला लाग्ने (जेठको अन्तिम हप्ता) समय धेरै रमाइलो हुन्छ। अझ असारको १५ पछि आउदा पाटनहरु सबै हरिइइइयो हुने र फूलहरु पनि मज्जाले फुल्ने हुन्छ।” भन्दै थिए। “अहिले नै बिदा मिल्यो। त्यो बेला धेरै भिड भएर बस्न पनि समस्या हुन्छ।” मैले भने। “पछि समय मिल्यो भने अर्को अर्को वर्ष आउनुपर्ला।” खप्तड, बझांग अनि आफ्नो सोख बारे गफ गर्दै हामी गाडीमा मस्त थियौ। गाडी यात्रामा।

बिहान ६ बजे अतरिया (कैलाली) पुगेको गाडी डोटी, डडेल्धुरा, बैतडी हुदै साझ ४ बजे बझांगको सदरमुकाम चैनपुर पुगेर रोकियो। खप्तड जान दिपायलबाट भन्दा बझांगबाट छोटो पर्ने भएकोले हामी बझांग आएका थियौ। चैनपुर भन्दा १० १२ km वरै रहेको तमेल झरेर खप्तड लाग्ने भए पनि एक चोटी बझांग गएको बेला सदरमुकाम देखौ, अनि धेरै होटेलहरु सदरमुकाम मै भएको र इन्टरनेट (3G ), बिजुली उतै राम्रो भएको सुनेपछि हामी चैनपुर तर्फ आकर्षित भयौ । चैनपुर पुगेर साथी राकेशको सल्लाह अनुसार होलिडे होटेलमा आफ्नो झोला राखेर केहि बेर बजार घुम्यौ र खाना खाएर सुत्यौ।

दिन ३ चैनपुर ️️➡️खप्तड 🚍 🚶🚶

बिहान ६:३० मा धनगढीको लागी छुट्ने पहिलो गाडीमा तमेल आयौ। झुलुङ्गे पुल तरेर खाजा खायौ अनि खप्तड तिर जाने गाडी बुझ्यौ। साधारण तया फेदी(?) सम्म जाने गाडी हामी दुई र अरु दुई तिन जना पाए पछि दारुगाउ सम्म जाने भयो एउटा सर्तमा: हामी दुईले २५० भाडा भएको ठाउमा ५०० दिने सर्त । कुरा सुन्दा एक -डेड घण्टा जतिको हिडाई बच्ने कुरा गरे। हामी सहमत भयौ र गाडी चड्यौ (९:१०)।

रोकिदै रोकिदै हिडेको गाडी दारुगाउ (खप्तड छान्ना -३, डोप्के बजार) पुग्दा करिब १०:४५ बज्यो। हामीले उजाला होटेलमा खाना खायौ र एकछिन आराम गरेर हिड्यौ।

गाडीमा अरु यात्रुहरु संगको कुराकानी अनुसार खप्तड छिर्ने ठाउको आर्मी क्याम्प सम्म अब छिटै बाटो पुग्छ भनेका थिए। हामी खनिरहेको बाटो हेर्दै हिड्यौ। बाटो टुङ्गिए पछि पनि मानिसका पाइला हेर्दै हिड्दा जुकाको जंगलमा पुगेपछि mobile को नक्सा मा बाटो देखिएन र हामी पुरानै बाटो तिर फर्कियौ। र maps.me ले देखाएको बाटो समातेर उकालो लाग्यौ। एक ठाउमा झुकिएर बाटो बारे सोद्धा “दाई बाटोमा सर्प आउछ। बाटो देखाउना आउन पर्छ ?” भन्दै थिए एक भाई ले। “सर्प आयो भनेर त त्यो सित लड्ने हो नि भाई।” भनेर मैले जिस्किदै भनेको थिए। यस्तो पहाडमा नि के सर्प आउला भन्ने सोचेर। सर्प चाई होइन जुकाले चै एकछिन आतिने बनाएको थियो हामीलाई।

दारु गाउमा हामी

maps.me को सहारामा हिडेर ४ बजेतिर सुन्दर दारुगाउ पार गरि आर्मी इन्ट्री गेट मा पुग्यौ र करिब ६ बजे तिर खप्तड। थाकेका थियौ। धेरै समय पछिको लामो हिडाई थियो त्यो। केहि बेर ओरिपरि घुमेर तेहा आएका अरु फिरन्ते संग गफ गरि समय बितायौ। भोलि घुम्ने ठाउँ हरु बारे कसरी जादा ठिक हुन्छ भन्ने बारे होटेलको दाईलाई सोधेर खाना खाई सुत्यौ।

खप्तडको एक मात्र होटेल

दिन ४ खप्तड घुमघाम 🚶🚶🚶

बिहान खाजा खाएर निस्की दिउसभरी घुम्ने तालिका थियो। सोहि अनुसार रोटि तरकारी खाएर ७:३० तिर निस्कियौ। घुम्ने तालिका लाई सबै ठाउँ घुम्ने र थोरै समय लाग्ने तरिकाले मिलायौ (travelling salesman problem)। बाजुरा हुदै झर्ने भएकोले खप्तड दह अर्को दिनलाई राख्यौ। र नागढुंगा, घोडा दह पाटन , जेठी बहुरानी, भिम लौरी, सीता पाइला, त्रिवेणी मन्दिर, सहर्स लिङ्ग, केदार ढुंगा, केदार धारा, खप्तड बाबा आश्रम घुमेर दिन बितायौ।लिस्टमा भएको भिम घट्ट चाई छुटेछ।

घोडा दह पाटन

थुप्रै नाग सर्प को छाप रहेछ नागढुंगा मा। परापुर्बक काल देखी नाग देउता रहेको विश्वास रहेछ। नाग पंचमीमा केहि मानिसहरु पुजा गर्न आउदा रहेछन तेहा।

घोडा दह पाटन खप्तड को सबै भन्दा ठुलो पाटन रहेछ। निकै नै ठुलो र सुन्दर थियो त्यो। बर्खा मा अझै धेरै हरियाली भएर धेरै सुन्दर देखिन्छ भन्दै हुनुहुन्थ्यो स्थानीय गोठाला दाईहरु। धेरै गाई बस्तुहरु चराएकोले गर्दा होला माटो कमजोर भइ बर्खाको पानीले बगाउदा धेरै पाटनहरुमा टाटा लागेजस्तो भएको थियो। कुरुप हुन खोजे जस्तो।

जेठी बहुरानी भनेको चाई ढुंगा को नाम रहेछ।

भिम लौरी भन्ने ठाउँ मा सानो मन्दिर जस्तो थियो।

नाग ढुंगा, जेठी बहुरानी? , सिता पाइला , त्रिवेणी मन्दिर

सितापाइला मन्दिरमा सीताको पाइला अंकित शिला को संरक्षण गरिएको रहिछ।

त्रिवेणी धाममा गंगा दशहरा मेला को समय मा स्नान गर्दा आटेको पुग्ने किम्बदन्ति रहेछ। तिन तिरको खोलाको समिश्रण जस्तो। हामी तेहा स्नान गरि केहि बेर आराम गर्यौ अनि सहर्स लिङ्ग तर्फ़ लाग्यौ। करिब ३ - ४ km टाडा रहिछ। पानी पर्ने मौसम मा बाटो बिग्रेला जस्तो थियो। अहिले चाई राम्रो थियो। केहि उकालो र जंगल नै जंगल को बाटो। करिब डेड दुइ घण्टा पछि हामी सहर्स लिङ्ग पुग्यौ। बाटोमा लंगुर बादरहरु देखिएका थिए। डाडा तिर दिउसो मोबाइल को टावर पनि टिप्ने रहिछ। सोलार टावरहरु दिउस चल्ने, राती नचल्ने हुदो रहिछ। ब्याट्री बिग्रेर। बेला बेला टिप्ने टावर ले हिडाई को गति चाई कम गर्दो रहिछ। बानी निकै बिग्रेको छ इन्टरनेट ले गर्दा।

सहर्स लिङ्ग दुई ओटा ठुला चट्टान मा मन्दिर जस्तो बनाएर पुजा गरिदो रहिछ। राम्रो थियो त्यहाँ को दृश्य।

तेहा बाट फर्किएर त्रिवेणी आई केदार ढुंगा, केदार धारा हुदै खप्तड बाबा को आश्रम तर्फ लाग्यौ।

खप्तड बाबा आश्रम, खप्तड दह, केदार ढुंगा र सहस्र लिङ्ग

खप्तड बाबा को आश्रम घना जंगल को बीच मा रहेछ आश्रम। केहि बेर तेहा बसी मेडिटेसन गर्यौ र होटेल तिर फर्कियौ (५:३०)।

निकै मनमोहक खप्तड।अझ राम्रो प्रचार प्रसार र तेहाका ठाउँहरुको राम्रो सम्भार भए सम्भावना धेरै। बस्ने ठाउको राम्रो बेबस्थापन अझै नपुगे जस्तो। हामी केहि बेर आराम गर्यौ। जडिबुटी चिया खायौ। फिरन्तेहरुसंग गफ गरेर खाना खाई सुत्यौ।

ठुलो क्षेत्रफल अनि maps मा खासै data नभएकोले गोठालाहरु नभेटीदा बाटो भुल्न सकिने टन्नै ठाउँहरु रहेछन। अहिले सोच्दा केहि पैसा दिएर स्थानीय मानिस लिएर घुम्नु उत्तम लाग्छ। होटेल को दाई लाई सोधे घोडामा घुमाइदिने पनि भेटिन सकिने रहिछ। कति ठाउँ घुम्छु भन्ने मतलब छैन भनेर बरालिन मन हुने हरुलाई चाई यतिकै घुम्दा नै रमाइलो हुन सक्छ।

दिन ५ खप्तड ➡️ मार्तडी (बाजुरा ) 🚶🚶🚜🚙

मार्तडी सम्म पुग्ने तालिका (अलि बढी नै बनाइएछ भन्ने लाग्छ अहिले सोच्दा 😄) भएकोले बिहानै ५ बजे नै यात्रा थाल्यौ।काठमाडौँ तिर पुस माघको बिहान हुने जतिकै चिसो थियो। कुहिरो ले गर्दा बाटोमा पर्ने डाफे भ्यु टावर कता हो देखिएन। अघि को खप्तड दह मा केहि समय बिताएर गोरेटो बाटो हिड्यौ। बाटो राम्रो थियो।बेला बेला मा short cut बाटाहरु ले झुक्याउने बाहेक अरु तेस्तो झुक्किने ठाउँ पनि खासै थिएन। तर थामलेक, दोगड़ी, छेडे दह हुदै मार्तडी जाने भनेका हामी गल्ति बाटो लिएर सेरा गाउ (काँडा -२, सेरा गाउ, काट्टे बाजुरा) झरेछौ।

गाउका प्राय सबै जना बारीमा वेस्त थिए।कोइ गहु काट्न, कोइ खेत जोत्न। करिब ११ बजे तिर दुर्गा भवानी नि. मा. बि. मा रहेको canteen मा खाना बनाइदिन भनि केहि बेर आराम गर्यौ अनि मार्तडी जाने सडक सम्म पुग्ने भर्खर खनिएको गाडी हिड्ने बाटो हिड्न थाल्यौ। खोला किनार जादा हल्का छोटो पर्छ भने पनि बिहानको धेरै (ओरालो) हिडाईले घाएल भएको घुडाले गर्दा गाडीको बाटो नै हिड्ने निर्णय गर्यौ।बेला बेलामा हिड्ने बानी बनाएर आएको भए धेरै नै सजिलो हुने रहिछ अहिले भन्दा भन्ने लाग्थ्यो जिउ गलेको देख्दा। कतिपय कुराहरु जोस, इच्छा ले मात्र अलि नपुग्ने हो कि जस्तो। हाम्रो शरीर गाइडहरु लिएर हिड्न तयार तर गाइड बिना हिचकिचचहाट गरेजस्तो लाग्ने। बाटो भुल्दा पर्ने थप हिडाईको डर देख्दा। सिमित विदा भएर नि होला। तर जस्तो यात्रा भए पनि हामीलाई नया र रमाईलो नै थियो। सिर्फ दिमाख र मन को बीच मतभिन्नता। मन भन्छ “हिडु हिडु”। दिमाख भन्छ “शरीर गलेको छ धेरै दबाब नदे”। जस्तो।

बेलुका ४ बजे सम्म हिड्दा पनि मार्तडी जाने पिच सडक सम्म पुग्ने छाट नदेखेसी उतै जादै गरेको टेक्टरमा लिफ्ट माग्यौ। कच्ची बाटोमा टेक्टरको कम्पन नै ज्यादा। कता टाउकोमा तुटिल्को उठ्ने हो भन्ने डर लाग्ने खालको।फेरी पनि जसोतसो यात्रा गर्नैपर्ने वाध्यता ।

केही अघि पुगेपछि बाटोको छेउमा ढलाई राखेको सल्लाको रुखनेर ट्याक्टर रोकियो । रुख अलि पर बजारसम्म लानुपर्ने रहेछ ।तर त्यति लामो रुख ट्याक्टरमा कसरी अटाउँछ? झ्वाट्ट मनमा यही प्रश्न उब्जियो । सोधेँ पनि — अनि कसरी लाने हो र दाई यो रुख । उनले सहजै भने जसरी पनि लाने नै हो । नभन्दै जहाँ इच्छा त्यहाँ उपाय । ट्रेलरको पछाडीको ढाला खोले । अनि रुखलाई लमतन्न हुने गरि पछाडीबाट अगाडीको ढालासम्म धकेले । र अगाडीको भागमा बाँधे । दिमाग त लाकै हुन् गाँठे ।

ट्याक्टर फेरी गुड्न थाल्यो । तर अघि हालेको रुखले झन पो दुख थपिदियो हामीलाई । अगाडी बाँधेको त्यो रुख ट्याक्टरको गान्द्राङ गुन्द्रुङसँगै वल्लो छेउ र पल्लो छेउ हल्लिन थाल्यो। अब परेन त फसाद ।

रुखले कतै मोडहरुमा balance बिग्रेर ट्रेलर (अनि टेक्टर ) नै भिर तिर जाकिने त होइन भन्ने डर। घुम्तीहरुमा रुख दायाबाया गर्दा धड्कन पनि पुरै तल माथि गर्थ्यो। एक पटक त झरेर हिडौ यस्तो बाटोमा टेक्टर चडनु भन्दा भन्ने सोचेर सुशील लाई भने पनि। उसले सुनेन।आउदै गरेको रात अनि driver भाई को confidence देखेर चुप भए। पछि, बानेको डोरी चुडेर रुख बाटो खस्यो ।अझ खुशी त त्यतिबेला लाग्यो जब ड्राइभर भाईले रुख यसरी लान गाह्रो हुने रहेछ भनेर यत्तिकै छोडिदिए र ट्याक्टर अघि बढाए । अनि त आनन्द भयो। ढुक्क साथ बाकी यात्रा पुरा हुने विश्वासमा ।

केहि बेर हिडेपछि खाजा खान डुगरसैन बजारमा (बुढीगंगा नगरपालिका — १०) रोकिएको टेक्टर अघि बढेन। साहुले ड्राइबर भाई लाई अन्तै पठाएछन। ‘अब मार्तडी त पुगीदैन। तल रोड छेउ बस्न पाए भोलि बिहान सजिलो हुन्थ्यो।’ भन्ने थियो मनमा।

यतिकैमा ६ बजे तिर मार्तडी जाने जीप आयो। हामीलाई लैजाने भयो। हामी जीपमा चड्यौ । कहिले कहाँ, कहिले कहाँ रोक्दै रोक्दै १० बजे तिर मार्तडी पुरायो।

बडा मालिका मन्दिर , मार्तडी बजार अनि बाटो बनाउदै कामदारहरु

संगै आएका एकजना दाजुले संगै बसौला भनेर आफ्नो पछि लाग्न अर्हाए।लगभग बन्द बजारमा हामी उनको पछि लाग्यौ। पानी परेर बाटो हिलो भएको रहिछ। दाजुले Hill Top Hotel को बन्द सटर खोलेर भित्र गइ साहुनीलाई सोधे। बास मिल्यो। “के हो साहुनी अहिले सम्म सटर खुल्ला ?” केहि बेरमा बाहिरबाट पुलिस कराउदै थिए। ९ बजेपछि पसल बन्द गर्नुपर्ने नियम रहिछ। दाजुले तिन जना एउटै कोठामा बस्ने पस्ताब राखे। अहिले सुत्ने अनि बिहानै उठेर हिड्ने त हो नि भनेर केहि नसोची हुन्छ भने। पछि त्यो मान्छे खराब intension को रहिछ भने ? भन्ने कुराले हल्का तनाब दियो। कहिले काहिँ हल्का बढी सोच्ने बानी ले पनि नचाहिने तनाब दिने क्या। best र worst case बारे सोच्ने बानीले धेरै चोटी नसोचेको तनाब दिराको हुन्छ। थाहा नपाउने गरि उनको photo खिचे। नाम, ठेगाना सोधेँ अनि घरमा दाईलाई messenger मा पठाइदिए। अब केहि ढुक्क भयो। हाहा

दिन ६ मार्तडी ➡️ सुकाढीक (झुगला पुल, मुगु ) 🚙🚶🚶

बिहान उठेर मार्तडी बजार घुम्यौ। तेही नजिक रहेको बडिमालिका मन्दिर गयौ। आज पनि बाटो भुल्ने समस्या हुन सक्छ भनेर कोल्टी सम्म गाडीमा जाने अनि बल्ल हिड्ने सोचेका थियौ। तेसो गर्दा हाम्रो तालिका अनुसार भ्याइने र शरीरलाई पनि धेरै pressure नपर्ने अनुमान थियो। खाजा खाएर होटेल जादा पहिले जिप जाने तयारीमा रहिछ। हामी तेसैमा जाने भयौ।

कच्ची बाटो र हिजोको पानीले बनाएको हिलोले कहिँ भासिदै अनि कहिँ उफ्रिदै हामी पाण्डुसेन हुदै २ बजे तिर कोल्टी पुग्यौ।बिग्रेको बाटो अनि चर्को घाम लाई पछाडी संगै बसेका रोहित लगायत अरु साथीहरुको गफले भुलायो। हामी गाडीमा जादै गर्दा रोहितले हिड्ने बाटो पनि बताइ राख्थ्ये। खोलाको छेउ छेउ हिडेर पाण्डुसेन पुग्ने अनि छोटो बाटो सातेर कोल्टी पुग्ने। कतै कतै गाडीको बाटो भेटिने भए पनि आजकल गाडीले गर्दा मानिसहरु धेरै नहिड्ने कारण ले हामी यतिकै हिड्दा झुकिने सम्भावन पनि देखिन्थ्यो।

कोल्टी बाट अझ पर (फिलुचौर ?) सम्म अर्को गाडी जाने भए पनि हामी हिड्ने सोच गरि अघी बढ्यौ।संगै आएका साथी हरु बाटोबारे बताउदै गर्दा मैले openstreet map मा लगाएको मार्कर हरु देखाएर अब को बाटो खासै confusing नरहेको बताए।कन्फ्युजन भए उनीहरुसँग फोनमा सम्पर्क गर्ने गरि हामी आफ्नो गन्तब्य तर्फ़ मोडीयौ ।

मेवा बेच्दै एक महिला, जुगलामा बास बसेको होटेल र बन्दै गरेको झोलुङ्गे पुल

ठुला ठुला उजाड चटानी पहाड बीच बगेको कर्णाली को तिरै तिर बधु, अर्थागे चौर, पुरानो जुगला, हुदै ६ बजे तिर जुगला (मुगु र बाजुरा को सिमाना)पुग्दा हावा हुरी र चट्टान पर्न थाल्यो। सके रातापानी नत्र अमा सम्म पुग्ने सोच लाई मौसमले रोकिदियो । हावा हुरी ले गर्दा छाता काम नगर्ने रहिछ पहाडी भेग तिर। जुगला पुल तरेर करुणा किराना पसल (मुगु) भएको घरमा बस्यौ।

बाजुरामा खाने पानी को अलि समस्या रहिछ। मानिसहरु कर्णालीको पानी थिग्राएर खादा रहिछन। फिल्टर गरेर क्लोरिन हालेर खादा मात्र पनि धेरै बिसेक हुन्थ्यो यतिकै खादा भन्दा भन्ने लाग्यो। मुगु पुगेपछि भने डाडाका मुहान बाट ल्याइएको पानी खादा रहिछन।

दिन ७ जुगला ➡️ माझ घट्ट 🚶🚶🚶

बिहानै उठी ५ बजे जुगाला बाट हिड्यौ। सकेसम्म राराको नजिक गएर बस्ने सोच थियो हाम्रो। openstreet map मा राम्रो संग थियो बाटोको नक्सा। बाटोमा मानिसहरु पनि हिडी राख्ने हुदा बेला बेला मा बोलचाल गर्ने साथी हरु भेटिन्थे । अमा, सियाला, होडी हुदै रातापानी पुग्दा करिब ७ बजेको थियो। धेरै ठाउमा राम्रो भए पनि कतै कतै गाडी गुड्ने सडक खन्दै गरेको डोजर ले हिड्ने बाटो पुरेको रहिछ। हामी बिस्तारै बिस्तारै अघि बढिरहेका थियौ। तेतिकैमा जुम्ला जाने बाजे भेटिए। उहासंग बात मार्दै माझ चौर नजिकै पुगेर छुटियौ।

हिड्दै गर्दा केही साना भाईहरुको आवाज आयो - पुलुङ पुलुङ । यसो हेरेको कोही देखिएनन् । फेरी उसैगरि आवाज आयो - पुलुङ पुलुङ । यो पटक रुखको हाँगाँ हल्लिएको पनि देख्यौँ । भाईहरु त रुखमा चढेर पो चिच्याएका रहेछन्। हामी रोकियौँ । उनीहरु ओर्लेर आए ।६-७ वर्षका जस्ता देखिने २ जना भाईहरु । भने - पुलुङ किन्ने हो दाई पुलुङ । यसो हेरेको पुरानो स्कुल ब्यागभित्र केही आरु बखरा रहेछ ।

कति रुप्पे हो भाई - मैले साेधेँ ।

१० रुप्पेको ८ वटा - दुईमध्ये अलि सानो भाई बोले । ठुलो भाई चाहीँ बोल्न अलि लजाउने रहेछन् ।

अनि किलोको चाहीँ कति रुप्पे नि - एकछिन गफ गर्न मन लागेर साेधेँ ।

दुबै भाईहरु मुखामुख गरेर बसे। केही बोलेनन्। सायद किलो बेचेको अनुभव नभएर मुल्य तोक्नै नजानेको हो कि भन्ने लाग्यो ।

कहाँ लगेर बेच्ने हो नि भाई यो - फेरी साेधेँ ।

ब्यापारी भाईहरु

फुपुलाई लगेर दिने हो फुपुले नै बेच्छ - यो पटक चाहीँ सजिलै बोले ।

एकछिन अरु कुरा गरेपछि हामीले केही किन्यौँ र अघि बढ्यौँ ।

यी भाइहरुलाई देख्दा सुशील ले पनि आफ्नो सानोमा तरकारी बेच्ने कहानी सम्झियो। मैले पनि टमाटर बोकेर गाउमा बेच्न गएको दिनहरु सम्झिए। यात्रा को एक फाइदा नै भनौ: आफ्नो बालापनसंग जोडिने घटनाहरु संगको भेटलाई।

हामी करिब १० बजेतिर माझचौर पुगेर खाना खायौ। केहि बेर आराम गर्यौ र हिड्न थाल्यौ। चर्को घाम, हरिया डाडाकाडा छेउ मा बगेको खल्याड खोला (रारा बाट सुरु भएको) बीच हिड्दै गर्दा अरु २ जना साथी भेटिए रारा जाने।बाटोमा मानिसहरु रोपाईको चटारोमा बेस्त थिए । देउडा गीत गाउदै धान रोपिरहेका रोपारहरू लाई हेर्दा नै बेग्लै आनन्द आउने। आमा बुवा खेतमा, बाल बच्चा खोला मा। सबै आ आफ्नै धुनमा।कोहि बाल बच्चा भने बुवा आमा संगै हिलोमा। साच्चै रोमान्चक थियो त्यो दृश्य। एउटै frame मा धेरै कुराहरु अटाएको।

हामी श्रीकोट (खत्याड गा.पा.-३), सेरी (खत्याड गा.पा.-२), बाउपानी, जेउड खोला हुदै अघि अघि बढी रहयौ। बाजेहरू संग गफ गर्दै गर्दै हिड्दा समय गएको पत्तो नै भएन। बेलुका ७ बजेतिर माझ घट्ट पुरेर बिस्राम लिग्यौ। हामीसंग हिडेका एक बाजेको मितको छोराको घर मा गएर। करिब १४ घण्टा को हिडाई ले थाकेको जिउ लाई खाना पश्चात आराम गरायौ।

दिन ८ रारा घुमघाम 🚶🚶🚶

हामीसंग आएका बाजे हरु बिहानै निस्कनु भयो। हाम्रो आज मुर्मा टप जाने र रारा घुम्ने मात्र तालिका भएकोले बिस्तारै मुर्मा टप तिर लाग्यौ। करिब ३ घन्टामा मुर्मा टप पुग्यौ। तेहाबाट देखिने सुन्दर रारालाई अवलोकन गर्यौ र करिब २ घण्टा जति बसेर डाफे होटेल तर्फ़ निस्कने अर्को बाटो ओरालो लाग्यौ। करिब ३ घन्टामा तल पुगेर रारा ओरिपरि बस्यौ। करिब २ घण्टा जति बसेपछि हामी बसेको होमइस्टे तर्फ़ फर्कियौ खाना खान।

रारा

खाना खाएर केहि बेर आराम गरेपछि फेरी रारा आयौ र साझ सम्म बस्यौ अनि फर्कियौ। एकदिन छिटो रारा आएकोले आज आराम गरेजस्तो भएको थियो।

पहिले आउदा डाफे होटेल मा बसेको थिए। तेहा खाना खानेबेला लाग्ने गरेको झिंगा देख्दा वाक्क दिक्क भएको थिए। एस्तो चल्ने ठाउमा अलि राम्रो सेवा दिनु नि के एस्तो फोहोर गरेका हुन भनेर। अहिले होमस्टे मा बस्दा सफा राम्रो खाना खान पाइयो। बस्ने ठाउँ चाई अझै राम्रो गर्न सकेको भए बेस हुन्थ्यो भन्ने लागेको थियो। होमस्टे का मानिसहरुले सस्तो दिएका छौ भनेर गर्ब गर्न भन्दा बरु केहि बढी पैसा लिएर बस्ने ठाउँ सफासुग्गर गरे तेहा जाने मानिसहरु बढी खुसि हुने थिए भन्ने लाग्यो।

दिन ९ रारा ➡️ ताल्चा 🚶🚶🚶

बिहान रारालाई एक फन्को लगाउने र खाना खाएर ताल्चा विमानस्थल फर्किने योजना थियो। तेही अनुरुप ५ बजे हिड्यौ। रारा पुग्दा ५:३० जति भएको थियो। रारालाई एक फन्को लगाउदा करिब १० बज्यो। साचिकै सुन्दर र विशाल रारा। ओरिपरि हिड्दा पनि बेग्लै प्रकारको आनन्द आउने। रुखका कलात्मक पुल, घना जंगल, कतै कतै देखिने मैदान अनि निलो पानी। सम्झदा पनि आनन्द आउछ अहिले पनि।

रारा बाट फर्केर होटेल गइ खाना खाएर केहि बेर आराम गर्यौ। र करिब १ बजे तिर ताल्चा विमानस्थलको गन्तब्य पछ्यायौँ। ताल्चाको बाटोमा नि रारालाई आधा फन्को मार्नु पर्ने रहेछ। तेस पछि जंगलको बाटो रहेछ । {google Maps । Openstreet Maps । maps.me} app को थियो साहारा। बिस्तारै हिड्दै, आराम गर्दै ताल्चा पुग्यौ बास बस्न।

दिन १० ताल्चा ➡️ नेपालगंज ✈️, नेपालगंज ➡️काठमाडौँ 🚍

बिहान उठेर ताल्चा घुम्यौ अनि खाना खाएर ब्याग बोकी विमानस्थल गयौ। १२ बजे आउने भनेको तारा एअरको जहाज करिब १ बजे तिर आयो। अहिले मानसरोबर जाने मान्छे को भिड ले गर्दा पहिलो प्राथमिकता सिमिकोट (हुम्ला सदरमुकाम) रहिछ। तेता धेरै हावा लागेसी यता आउदा रहिछन जहाजहरु। जहाज उडेको ३० ३५ मिनटमा नेपालगंज झर्यौ।

विमानस्थल बाट बसपार्क गइ बेलुकाको गाडीको टिकट काटेर बागेश्वरी मन्दिर गयौ। सारै गर्मि रहेछ।केहि बेर मन्दिरमा बसेर सहर घुम्यौ र बेलुका बसपार्क फर्की गाडी चड्यौ।

भोलि पल्ट करिब १० बजेतिर काठमाडौँ आएर टुंगियो हाम्रो ११ दिने यात्रा।

बझांग, बाजुरा र मुगु बारे केहि शब्द

अदभुत प्राकृतिक सौन्दर्य भएता पनि अलि व्यवस्थित अझै नभएको हो कि भन्ने लाग्यो मलाई। पहिला भन्दा अलि धेरै मानिसहरु खप्तड जान थालेका छन् भने पनि तेताका होटेलहरुमा सफा सुग्गर को चेतना अझै नभएको हो कि भन्ने लाग्ने। खाना खाने बेला लाग्ने झिंगा हेर्दा। मानिस हरु सारै सोझा। उहाहरुको मिठो बोली र हसिलो अनुहारले गर्दा अझ धेरै कुरा गरु गरु लाग्ने। तेताको जीवन काठमाडौँ भन्दा पनि धनगढी संग धेरै जोडिएको रहेछ। बिजुली बिस्तारै पुग्दै गरेको रहेछ। सोलार बत्तिको भर रहेछ धेरै ठाउमा। खप्तडले गर्दा मानिसहरु गाई बस्तुमा अलि धेरै भर पर्ने रहिछन। “खेतीको लागि धेरै ठाउमा आकासे पानीको भर पर्नु पर्ने हुदा उब्जनीले मात्र घर धान्न गार्हो छ। मानिस हरु इंडिया जान्छन कमाई गर्न। ” भनेर बताउदै थिए एक स्थनिएवासीले । धेरै केटा केटीहरुको १५ -१६ वर्ष तिरै बिहे हुदो रहिछ।

बाजुरामा पक्कि बाटोहरु कम पुगेको र कतिपय कच्ची बाटोहरु बर्खामा नचल्ने हुदा दैनिक उपभोग्य सामान जहाज बाट ढुवानी गर्नुपर्ने बाध्यता रहिछ। कालिकोट तिरबाट आएको बाटोले अब केहि सहज हुन्छ कि भन्ने विश्वास थियो धेरै को। गाडी नचल्ने ठाउमा कोइ बिरामी भयो भने के गर्ने भन्ने प्रश्नले गंभिर बनायो ? जीवनजलको अभाबमा केहि महिना अघि पखाला बाट टन्नै ले ज्यान गुमाएको भन्ने समाचार सम्झदा अझै पनि काठमाडौँ भन्दा धेरै धेरै पछि रहेको भान भयो। डीस होम र मोबाइल इन्टरनेट ले सूचना र संचारमा अरु क्षेत्र जस्तो पछि नपरेको लाग्यो । कर्णाली को पानी यतिकै खाने कुरा अझैपनि चित्त बुझिरहेको छैन। जहितहि झिंगा देख्दा हैजाको महामारी जतिबेला पनि फैलन सक्ने डर लाग्यो।

बाजुरा भन्दा धेरै बढी हरियाली पहाडहरु रहेछ मुगुमा। रारामा धेरै खर्च गर्ने खालको पर्यटकहरु बढे पनि स्थानिए होटलहरु ले गर्दा उनीहरुको राम्रो अनुभब नभएको जस्तो लाग्यो। मानिसहरुलाई कसरी ब्यबहार गर्ने भन्ने बारे चेतना दिदा पोखरा को विकल्प रारा हुन सक्ने भान भयो। समग्रमा भन्नु पर्दा खर्च गर्ने कुराहरु अझै धेरै चाहियो। निकुञ्जले पर्यटन क्षेत्र मा अझै खर्च गर्नु पर्यो। online र offline media मा। बाटो, नक्सा हरु राम्रो बनाउन।

यात्रा ले हामीलाई हाम्रो comfort zone बाट बाहिर ल्याउछ। अझ खासै पर्यटक नजाने ठाउको ले त झन् धेरै भनौ। अनि बीच बीच मा आइपर्ने समस्याहरु तथा अरुको जीवन भोगाईहरुले आफ्नो कतिपय धारणाहरु परिवर्तन गरिदिदो रहेछ। यात्रा दौरानका घटेका विभिन्न भोगाईहरुले तथा भेटेका पात्रहरुले गर्दा यो यात्रा नि एउटा रमाइलो र यादगार यात्रा हुन पुग्यो। आशा छ भविष्य मा अझै धेरै यस्तै यात्राहरु गर्ने अवसर मिल्नेछ।

हाम्रो खर्च प्रति व्यक्ति: करिब १८००० /-

लगेका सामानहरु

power bank, power adaptor, charging cable, camera, head light

toothpaste, toothbrush, sunblock cream, toilet paper, sanitizer, mosquito coil, soap, shampoo, oil

medicine for high altitude, diarrhea, bleeding, headache, high fever, Jeevan Jal (ORS), chlorine drop

down jacket, trouser, half pant, full tshirt, cap, stick etc

some noodles, energy chocolates, Raisin (kismis), peanut

*बाकी फोटोहरु बिस्तारै हाल्ने छु।

*जागर लागेमा खप्तड रारा यात्रा दौरान भेट भएका फरक फरक पात्रहरु बारे अर्को ब्लग मा लेख्ने छु। अहिले लाई यात्रा अनुभव यति नै।😎😎😎

Jun 21, 2019

यहाँ सम्म पढ्दा तपाईको मनमा केहि जिज्ञासा अथवा सुझाव भए Response मा गएर बाढ्नु होला।

https://www.setopati.com/social/251977

--

--